बालिग

 

उही कोखमा
उही रक्तपिण्डमा
जेलिएर
नौ महिना झेलिएर
त्यो सृष्टि पनि उस्तै थियो,
आमाको चीत्कार र प्रसव वेदना पनि उही !

तर साँच्चै !
छैटीमा लेख्यो होला
कर्म, धर्म, वर्ग र जात
उही कुलीन र सामन्ती विधाताले
उसको भाग्य
तिमीले छोएको पानी चल्दैन ।

आमाको दुध
ती तोतेबोलीहरू, तातेतातेहरू
रातका लोरीहरू
ती शैशव, अनि कैशोर
उही बाटो, कोक्रो, र बुईहरू
आखिर त्यो हावाले सबैलाई छोयो,
शिव, बुद्ध, पैगम्बर, जिसस
तिमी अनि मलाई,
तर किन त्यो क्रुद्ध अभिमान बोल्दै छ मान्छेको ?
मेरो पनि मेरै तेरो पनि मेरै !

कस्तो न्याय ?
प्रेमका लागि बालिग हुन नसकेको
त्यो जातलाई समाजले
मृत्युदण्डको लागि बालिग सावित गर्यो !!
निर्मल भेरीका सङ्ला छालहरूमा
मेट्नै नसक्ने खतहरू, धब्बाहरू
छताछुल्ल पारेर ।

त्यो बिहानी, हरेक पातहरू
टिलपिल टिलपिल थिए
सायद, रातभरि रोएजस्तो छ त्यो जून,
समान सृष्टिको एक्काइसौं शताब्दी र
बहुलवादले चिरा पारेको आँगन र बलेसीमा
तप्पतप्प चुहिँदै ।

लाग्दै छ,
देशपनि यो सृष्टिको काखमा
एक्लै छ, नाङ्गो छ र नाबालक छ !
बामे सर्दै, खुट्टा कमाउँदै
अनि यस्ता अनेकौं दुर्भावनाले अन्धो छ ।

नत्र भन्नुपर्छ,
कुपुत्र र कुजात जन्माउने
ती आमाहरूको दुर्भाग्य बदल्न
यो देश कहिले बालिग बन्दछ ??

Facebook Comments

You may also like

error: Content is protected !!