तपाईं

भागेर कहाँसम्म पुग्न सकिन्छ ? 

मान्छे— आफ्नो जीवनकालमा कति हिँड्छ ? कति दौडिन्छ ? कति लड्छ ? यसको हिसाब कसले राख्छ ? हिसाबकर्ताहरू कहाँ बस्छन् ?

मान्छेलाई कहाँ जानू छ ? कता पुग्नु छ ? कहाँ जाँदैछ ? किन हिँड्दैछ ? फर्केर फेरि यहीँ आउनु छ । जहाँको त्यहीँ । सुरुवात जे हो अन्त्य पनि त्यही हो । जन्म र मृत्यु अलग होइनन्बरु यी एक हुन् । पर्याय हुन् ।

जन्मपछि मृत्यु निश्चित छ । मृत्यु पछि हामी जन्मिएका हौँ । किन विश्वास गर्नुहुन्न तपाईंं ? जन्म र मृत्यु सत्य हुन् । यी टर्दैनन् । टारिँदैनन् । यो एउटा घेरा होवृत्त होयो घुमिरहेको छ घुमिरहन्छ । 

*

तपाईंं भाग्दै हुनुहुन्छ ।

किन भाग्दै हुनुहुन्छ ? अँभर्खरै तपाईंंले एउटा लास फेला पार्नु भएको छ । गल्लीमातपाईंं सधैँ हिँड्ने गल्लीमा एउटा लास लम्पसार परेको थियो । तपाईंंलाई थाहा छैनत्यो लास कसको हो ? त्यहाँ कसरी आयो ? कसले राख्यो ? कसले छोड्यो ? या कसले मार्यो ?

तपाईंं त्यही देखेर तर्सिनु भयो । किन तर्सिनु भयो ? किनकि तपाईंले आजसम्म कुनै मुर्दा देख्नु भएको थिएन । यसरी कहिल्यै गल्लीहरूमा लास फेला पार्नु भएको थिएन । यो कति रहस्यमय कुरा छ तपाईंं हिँड्दाहिँड्दै बाटोमा लास भेटाउनु हुन्छ ।

तपाईंं अचम्मको मान्छे हुनुहुँदो रहेछ । मरेकाहरूसँग पो डराउनु हुँदोरहेछ ! यहाँ डरलाग्दा त जिउँदाहरू छन् । जिउँदाहरूलाई पो मर्ने डर हुन्छमार्ने साहस हुन्छ । मुर्दासँग के डराउनु ? मुर्दाहरू निर्जीव वस्तुसरह हुन् । शरीर त माटो हो । माटो त्यति डरलाग्दो देखिन्छ र ?

तर तपाईंं मैले भनेको सुनिरहनु भएको छैन । सुने पनि, तपाईं मेरो कुरा मान्नेवाला हुनुहुन्न । किनकि तपाईंंलाई डरले तलदेखि माथिसम्म छोपेको छ । तपाईंंको मस्तिष्कमा भयले एउटा भयानक घर बनाइसकेको छ । तपाईंं भयङ्कर डराइसक्नु भएको छ ।

*

तपाईंं दौडिरहनु भएको छ, एकपछि अर्को गल्लीहरूमा । तपाईंं जतिजति दौडिनु हुन्छ गल्लीलाई अँध्यारोले झनझन छोप्दै जान्छ । लामो समयसम्म दौडिँदा पनितपाईंं कतै पुग्नु हुन्न । बाटो भेट्नु हुन्न । एक गल्ली । अर्को गल्ली । अर्को… । अन्धकार । अन्धकार । 

एउटा गल्लीले दुईवटा गल्ली जन्माएको छ । दायाँ ! बायाँ ! कता जाने ? तपाईंं अन्योलमा पर्नु हुन्छ । तपाईंं केही सोच्न सकिरहनु भएको छैन । तपाईंंलाई के भइरहेको छ ? किन भइरहेको छ ?

तपाईंं यस्तो सोच्न बाध्य हुनुभएको छ यो सब एउटा सपना हो । म एकछिनमा बिउँझिने छु । सब ठिक हुनेछ । तपाईंं यथार्थमा फर्किनु हुने छ । तपाईंं यो स्वप्निल दुनियाँबाट फुत्किनु हुनेछ । 

तर तपाईंं गलत सोच्दै हुनुहुन्छ । हुन त यो कथाको, कथावाचक भएर यो कुरा अहिले खुलाउनु उपयुक्त हुँदैन थियो । नियमविरुद्ध हुन्थ्यो । तर पात्र र पाठकदुवै यहाँ अलमलमा छन् । तपाईंंलाई आफ्नै जिन्दगीको कहानी थाहा छैन ।

म को हुँ ? यो कुरा छोड्नुस् कथासँगै मेरो परिचय पनि खुल्ला ।  अहिले भने, तपाईंं आफ्नो कथामा पूरा ध्यान दिनुहोस् ।

अँपाठक अल्मलिएपाठकले फेरि पढ्न सक्छ । उसले बुझ्न सक्छ कथाको भाव । तर पात्र अल्मलिएको कथा सधैँ गन्जागोल नै हुन्छ । त्यसैले अहिले नै भन्दैछु तपाईंं सपनामा हुनुहुन्न । तपाईंं सत् प्रतिशत आफ्नो हकिकत बाँचिरहनु भएको छ

गल्लीलाई अन्धकारले पूर्ण छोप्छ । अब तपाईंंले केही देख्न सकिरहनु भएको छैन । यति हुदाँ पनि तपाईंंका खुट्टा भने रोकिएका छैनन् । तपाईंं दौडी नै रहनुभएको छ । स्याँस्याँमानौँ त्यो मुर्दाले तपाईंंलाई खेदिरहेको छ । के साँच्चै खेदिरहेको छ ?

तपाईंंलाई लाग्छ त्यो मुर्दासँग तपाईंंको घनिष्ठता छ । तपाईंं उसलाई चिन्नु हुन्छ । तपाईंंले ऊसँगै बसेर कफी पिउनु भएको छ । किताबका कुरा गर्नु भएको छ । फिल्मका गफ गर्नु भएको छ । उसलाई अँगाल्नु भएको छ । कविता सुनाउनु भएको छ ।

त्यतिमात्र होइन तपाईंंलाई लाग्छ, तपाईंं र ऊएकै समयमा एउटै योनिबाट जन्मिनुभएको हो । तपाईंंको दिमागमा घन्टी बज्छ के ‘ऊ’ तपाईंं नै हो ?

अब भने तपाईंंका खुट्टाहरू रोकिन्छन् । तपाईंं सोच्नु हुन्छ के म मरिसकेको छु ? के मसँग भागिरहेको म एउटा आत्मा मात्र हो ? तपाईंं जुन अँध्यारो गल्लीबाट आउनु भएको थियो त्यही अँध्यारो गल्लीतिर खुट्टा मोड्नु हुन्छ बढाउनु हुन्छ । दौडिनु हुन्छ । 

अन्धकार । अँध्यारो । खुट्टाका पदचापहरू । तपाईंंले श्वास फेर्दाका आवाजहरू । तपाईंंको मुटुको धड्कन धड्कनको ढुकढुकी । गल्लीले एउटा सांगीतिक रातको मज्जा लिइरहेको छ ।

तपाईंं त्यो लास भए ठाउँमा पुग्नु हुन्छ । अँध्यारोमा त्यो लासलाई चिन्न सक्नुहुन्न । तर तपाईंंलाई भित्र कतै यो कुरा आभास भइसकेको छ त्यो लास तपाईंंकै हो । लासछेउ जानुहुन्छ । त्यो दाहिने हातको घडी छाम्नुहुन्छ । तपाईंको शंका दूर हुन्छ । 

हो, तपाईंं घडी दाइने हातमा लगाउनु हुन्छ । र  त्यो तपाईंं कै लास हो । तपाईंं मरिसक्नु भएको छ । तपाईंं मुर्दा हुनुभएको छ । तपाईंलाई ‘हार्दिक श्रद्धाञ्जली छ ।

कथा यहाँ सकिँदैन । 

यो त कथाको एउटा कमजोर मोड हो । मलाई थाहा छ यो मोडले, तपाईंं रतीभर पनि अचम्मित हुनुभएको छैन । तपाईंंलाई धक्का लागेको छैन । तपाईंंको कथा त्यति रहस्यमय छैन । सायद, यसले त्यस्तो झट्का दिने पनि छैन । त्यसैले धेरै आस नराख्दिनु होला । तपाईंंलाई तपाईंंकै कथाले निराश बनाउन सक्छ ।

तपाईंं आफ्नै लासको छेउमा, थचक्क बस्नु हुन्छ । तपाईंंका डरहरू सबै, तपाईंंदेखि नै डराएर अघि नै कतै भागिसके । कुनै झुसिलकिरा पुतली बनेझैं तपाईंं जीवात्माबाट मृतात्मा बन्नु भएको छ । तपाईंं रुपान्तरण हुनुभएको छ । तपाईंंलाई बधाई छ ।

*

तपाईंंलाई मैले एकछिन मात्र एक्लो छोडिदिएको हुँ आफ्नो लाससँग केही पल भएपनि समय बिताउनुहोस् भनेर । अब भने तपाईंंले जानुपर्छ । विलम्ब नगर्नुहोस् उठ्नुहोस् !

तपाईंं उठ्नुहुन्छ । तपाईंंको नाकले एउटा मीठो बास्ना सुँघ्छ । तपाईंं त्यही बास्नालाई पछ्याउनु हुन्छ । तपाईंंको कानले एउटा सुमधुर धुन सुन्छ । तपाईंं त्यही धुनलाई पछ्याउनु हुन्छ ।

तपाईंंलाई थाहा छैन, तपाईंं कहाँ जानुहुँदैछ । तपाईंंलाई कहाँ लगिँदैछ । तपाईंं होसमा हुनुहुन्न । तपाईंं मदहोस हुनुभएको छ मन्त्रमुग्ध हुनुभएको छ ।

*

अहिले भने तपाईंं ठिक मेरो सामुन्ने हुनुहुन्छ । मैले तपाईंंको आत्मालाई देखिरहेको छु । तपाईंंलाई देखिरहेको छु । तपाईंंको अनुहारमा आश्चर्यका धर्साहरू यत्रतत्र छन् । तपाईंं त्यो अन्धकारबाट, यो उज्यालोमा आइपुग्नु भएको छ ।

यो एउटा विशाल बगैंचा हो । कति विशाल ? यो नसोध्नुस् । तपाईंंको काल्पनिक सिमा बाहिरको कुरा हो । यसको नाम ‘मोक्षकुञ्ज’ हो ।

तपाईंं वरिपरि आफ्नो आँखा डुलाइरहनु भएको छ । नियालिरहनु भएको छ ती हजारौं रङ्गका फूलहरू । पुतलीहरू । तपाईंं सुनिरहनु भएको छ सयौं चराहरूको मधुर आवाज । यो मोक्षकुञ्जमा धर्तीमा नपाइने फूलहरू पाइन्छन् । पुतलीहरू पाइन्छन् । यी कति चराहरूलाई त तपाईंंले कहिल्यै देख्नु नै भएको छैन ।

हुन त तपाईंंले अहिलेसम्म, मलाई पनि देख्नुभएको छैन । र कहिल्यै देख्नु पनि हुन्न । किनकि म अदृश्य छु । अब भने कथाले मेरो परिचय मागेको छ । र मैले दिनुपर्छ म एक ‘योनि’ हुँ ।

म यही कुरा तपाईंंलाई बताउँछु । तपाईंं एकचोटि तर्सिनु हुन्छ । यो गह्रुंगो आवाज कताबाट आयो भनी तपाईंं एक फन्को लगाउनु हुन्छ । तर तपाईंंले मलाई देख्नु हुन्न । देख्न सक्नुहुन्न । भनेँ त म अदृश्य छु ।

म फेरि भन्छु ‘म योनि हुँ यो मोक्षकुञ्जको सेविका । तपाईंंलाई म यहाँ स्वागत गर्छु ।’

तपाईंं एक अनौठो मुस्कान मुस्कुराउँदै फेरि एकचोटि आफ्नै वरिपरि घुम्नु हुन्छ । मलाई थाहा छ, तपाईंंको मस्तिष्कमा अहिले एउटा स्त्रीयोनीले बास गरेकी छिन् । तर तपाईंंको मस्तिष्क मात्र यस्तो अपवाद होइन । यहाँ आउने सबैको दिमाग मैले पढेको छु । सबैको दिमागमा यही हुन्छ जो अहिले तपाईंंको दिमागमा छ । तर म त्यो हैन । म स्त्री हैन । न पुरुष नै हुँ ।

तपाईंं भन्न सक्नुहुन्छ, म एक चेतना हुँ यो ब्रह्माण्डको एक अदृश्य चेतना । तपाईंं मलाई मृत्यु र जन्मबीचको ढोकामा बसेको एउटा पाले पनि भन्न सक्नुहुन्छ । या कुनै मध्यस्थकर्ताको नाम पनि दिन सक्नुहुन्छ । म कुनै गुनासो गर्नेवाला छुइनँ ।

तर म जे हुँ, त्यो हुँ । म एक योनि हुँ र म तपाईंंको आत्मालाई तपाईंंलाई स्थानान्तरण गर्ने काम गर्छु । सार्ने काम गर्छु तपाईंंको आत्मालाई एउटा शरीरबाट, अर्को शरीरमा ।

तपाईंंले अघि जे सुँघ्दै आउनुभयो त्यो एक ‘योनिगन्धा’ हो । र तपाईंंलाई जुन धुनले डोहोर्‍याएर यहाँसम्म ल्यायो त्यो एक ‘योनिधुन’ हो । यी यस कुञ्जका दुई स्तम्भ हुन् । मरेपछि, जो कोहीले यिनलाई अनुभव गर्ने मौका पाउँछन् ।

अब तपाईंं मलाई काल पनि भन्न सक्नुहुन्छ । या  यमराज पनि भन्न सक्नुहुन्छ । यो ठाउँलाई कुनै स्वर्ग र नर्कको उपनाम पनि दिन सक्नुहुन्छ । तर सत्य यही होजो अहिले तपाईंंले देखिरहनु भएको छ । तपाईंं मरेपछि यही हुन्छ । यस्तै हुन्छ ।

तपाईंंलाई मैले यी सब कुरा भनेँ । बेलिबिस्तार लगाएँ । तपाईंं विश्वस्त देखिनु भयो । तर पनि तपाईंंको मस्तिष्कमा एउटा प्रश्न रुमलिरहेको छ । त्यो कुरा तपाईंंको चेहरामै देखिन्छ । त्यो प्रश्न के हो, मलाई थाहा छ । तपाईंं सोधूँ, नसोधूँको अन्योलमा हुनुहुन्छ । तपाईंंको द्विविधालाई म बुझ्छु । तपाईंंले प्रश्न नगरेको प्रश्नको उत्तर दिन्छु म

हो, तपाईंंको हत्या भएको हो । तर तपाईंं यो कुरामा नअल्झिनुहोस् । तपाईंंको हत्यारा पत्ता लगाउने काम जिउँदाहरूको हो । तपाईंंले अब आफ्नो मृतअतितलाई  बिर्सनु पर्छ । बिस्तारै तपाईंले आफूलाई पूर्ण भुल्नु हुन्छ । त्यहाँ, कसैको कोखमा एउटा निर्दोष शरीर तपाईंंलाई नै पर्खिरहेको छ ।”

* * *

Facebook Comments
error: Content is protected !!