प्रिय याद
केही चिने जस्तै लाग्ने
एक अँगाला यादहरू
मनको आँगनीबाट
लेफ्ट-राइट खेल्दै जान्छन्
मनकै आँखीझ्याल
घरक्क उघारेर हेर्छु
थोपा-थोपामा भन्छु
‘प्रिय याद पनि दूर गएको?’
आवेशमा
सब मेटाऊँ जस्तो हुन्छ
कुनामा थन्किएर रोऊँ हुन्छ
किचनको छुरा तानेर
छाती वार-पार पार्दिऊँ हुन्छ
झीरले कानको जाली फुटाऊँ हुन्छ
झर्को लाग्ने गरी मन रुन्छ
उही घरक्क खोलिएको आँखीझ्यालमा
राइट-लेफ्ट गर्दै
ढिका-ढिकामा सम्झिन्छु
‘प्रिय याद नजिकिएको हुन्छ’
सपना
यो निद्रामा
यी आँखाले कति देखेका !!
खास सपना .. सपनै हुन्छन्
र भई रहून्

PencilArt by Lukman Bello
यो शहर हो प्रिया…
यो शहर हो प्रिया…
तिमी यो सहरमा पाइला टेक्दै नटेक्नु
यहाँको बालुवाको कण-कणसँग
जोगिएर हिँड्नु पर्छ,
माटोको स्पर्श हानिकारक छ,
विषाक्त छ, मन्द विष जस्तै,
जीवनको होस् कि जगतको
हावा पनि प्रदुषित छ…
यो पाइला र माटोको स्पर्शसँगै
जिन्दगीको धरातल डगमगाउने शहर हो प्रिया !
यहाँका अग्ला अट्टालिकाहरू
सभ्यताका परिचायक हुन्,
घामको उदाउँदो किरण टक्क ठोकाएर
परावर्तन गर्दै
आँखा तिरमिर गराउने सिसाहरू
मन, मस्तिष्क र हृदयका नौलो परिभाषा हुन्
माकुराका जालो जस्तै
गुजुमुजु फैलिएका सडकहरू
दुई हृदय र सम्बन्धको प्रतिविम्ब हुन्
यहाँ सम्बन्ध दमको रोगी हुन्छ
हृदय जतिबेला पनि ‘मेजर अट्याक’ को सिकार
सभ्यता कुनैबेला पनि गर्ल्याम्म ढल्न सक्छ
यो कन्ट्री साइडको प्रेम पनि
एकाध माइलको यात्रा पछि हराउने शहर हो प्रिया !
जिन्दगीको धरातल डगमगाउने शहर हो प्रिया!
यहाँ अस्तित्वको लागि
सह-अस्तित्व खण्डित गराइन्छन्
प्राय: सबै चोकहरूमा
बृहत अक्शनको आयोजना हुने गर्छ
प्रत्येक साँझ र जहाँ जो कोही पनि
अस्मिताको लिलामी हेरेर रमाउँछ केही क्षण
झिलिमिली होर्डिङ बोर्डमा लेखिएका
डिस्को नाच्ने अक्षरहरू हेरेर
कोही पनि आकर्षित हुन सक्छ
भित्र छिर्ने बित्तिकै समर्पण गरिदिन्छ आफ्ना सपना
र पछुतोको फिका रङ्गको होली खेलेर निस्किन्छ
हो! यो ‘बर्मूडा ट्रेंगल’ ले जहाज निले जस्तै
कैयौँ सपना निलेर कहिल्यै नअघाउने शहर हो प्रिया !
जिन्दगीको धरातल डगमगाउने शहर हो प्रिया !
प्रत्येक प्रहरहरूमा मौसम झैँ
फेरिई रहन्छन् आवश्यकताहरू
सो रुममा सजाइएका ग्याजेटहरू जस्तै
अपग्रेड भएर आउँछन् अभिलाषाहरू
यही होडमा ‘जिन्दगी’ नामको बजेटपनि
चोक्टा-चोक्टामा विभाजित भइदिन्छ नचाहँदा नचाहँदै
हेर्दा उन्मुक्त देखिने अनुहारहरू
वास्तवमै डेट एक्पायर्ड ग्रोसरीका प्रोडक्ट लाग्छन्
गहिरो सागर जस्तै देखिने आँखाहरू
कति पटक सुनामीको चपेटामा परिसकेका हुन्छन्
गुलाब झैँ कोमल लाग्ने मुटु
वर्षौँ अघिको कङ्क्रिट बनी सकेको हुन्छन्
हुन्छन् त केवल बाहिर हाँसेर भित्र रुनेहरूका कथा
बाहिर रोएर भित्र महोत्सव मनाउने प्रोपोगाण्डा
हो! यो गोहीले सिकार गरिसकेपछि झैँ
हृदयमा सेलिब्रेट गरेर बाहिर आँशु बगाउने शहर हो प्रिया !

Painting by Number Kits
सच्चा नागरिक बन्नु छ
मैले च्याँ गरेर रुँदा
आमाले मुस्कुराउँदै अठ्याउँदाको
माटो भुल्नै सकेको छैन
बा’ ले ताते गराएको
दाजुले दगुर्न सिकाएको
दिदीले खले गहरामा बियाँ
टिप्न सिकाएको
त्यो माटोको सुगन्ध
मेरो हृदय भरी मग्मगाई दिन्छ
भुल्ने दुस्साहस अहँ पटक्कै छैन ।
पर तिरको चप्लेटी ढुङ्गो
जहाँ मेरो बच्पन थाहै नपाई
खुसी-खुसी हुर्कियो
जहाँ मैले नजानेर जिन्दगीको
सानो पुर्वार्ध हाँसेर बिताई दिएँ
कुकु-देखेँ खेल्ने ढिस्किनाहरू…
घामपानीको पानी जस्तै
छचल्किदिन्छन् आँखाभरी…
हुन त पानीको आकार हुँदैन
र त मेरो हृदयभरि अटसमटस छ
नसा भरी धनसिरी बगेर
भुल्न दिए पो!!
मेरै आँगन मलाई पराई लाग्छ
मेरै गाउँ मलाई परदेश लाग्छ
छिमेकीका प्रत्येक ढोकामा
आफैँलाई हुलाकी जस्तो देख्छु
जामपानीको संग्लो पानीमा टल्किने
आफ्नै अनुहार नचिने जस्तै लाग्छ
माटो चाहीँ मेरै लाग्छ
बाटो मेरै लाग्छ
मान्छे मेरै लाग्छन्,
भुल्नेहरूले भुले होलान्
सम्झिनेले सम्झिएका होलान् ।
जीएनएच* हेर्नु छ
र खुब मुस्कुराउनु छ
यी ओठहरूमा जबरजस्ती
हाँसो ल्याउनु छ
जोमोलहरीलाई अङ्गाल्नु छ
दैफाम र साम्ची समेट्नु छ
अरे यार!
सपनामा सही म मेरो माटोकै
सच्चा नागरिक बन्नु छ ।

Image Source : Sagar Poudel Twitter (@sagarpodel14)