यसै

मेरो मनले बुझिसकेको छ आज मौसमको मन दुखिरहेको छ । ऊ बहुत दुखी छ । सायद मभन्दा पनि बढी । अक्सर मन दुखेकाहरु न खुलेर रुन सक्दारहेछन् न खुलेर हाँस्न नै । तपाईँ उदाहरणको रुपमा मलाई लिन सक्नुहुन्छ या त आजको मौसमलाई । त्यो छुट तपाईँलाई छ ।

अफिस बाहिर बसेर टोलाइरहेको छु । टोलाउनुको कुनै कारणहरु छैनन् मसँग । यसै टोलाइरहेको छु । जस्तो कहिलेकाही हामी यसै मुस्कुराउँछौँ । यसै चित्त दुखाउँछौँ । यसै रुन्छौँ । यसै दुखी हुन्छौँ । यसै प्रेम गर्न पुग्छौँ ।

जिन्दगी विज्ञान होइन ता कि हरेक कुरामा कारण लागू होस् ।

पारी डाँडालाई सर्लक्कै छोपेर बसेका छन् बादलहरु । कुनै फोकाहरू सेता सेता छन् त कुनै काला काला । तैपनि झगडा नगरी मिलेर बसेका छन् । कति जाती देखिन्छन् । सायद मान्छे हुदो हो त तिनिहरुको रङ्गमा विभेद जन्मिन्थ्यो होला । वजनमा विभेद भैइसक्थ्यो होला । आ-आफ्नो अधिकार जमाउन खोज्थे होलान् । अधिनायकवाद कायम गर्न खोज्थे होलान् । कमजोर शक्ति भएकाहरु माथि उडेर जान्थे होलान् । तर बादलहरु स्वतन्त्र हुन्छन् । किनकि तिनिहरु मान्छे होइनन् । तिनिहरुलाई कसैले कसैलाई जित्नु छैन । र त सुन्दर देखिएकै छन् ।

कुनै कुनै कुराहरु छोपिएरै पनि सुन्दर देखिदाँरहेछन् ।

मेरो अफिसतिर आउँदैछन् एकहुल बादलहरु । बेजोडले दौडिएर । तिनिहरु जति नजिक आउँदैछन् त्यति बढी हुँदै गएको छ मौसमको अँध्यारोपन । धन्न रोइहालेको छैन आकाश । तर रुने तयारी भने भव्य गरिरहेको छ ।

अफिसको भित्तामा रहेको घडी तिर नजर घुमाउन पुग्छु । आफ्नै हातको मोबाइल बिर्सेको हुन्छु । समय त त्यसले पनि देखाउँछ । तर यसै हेरिदिन्छु घडीतिर। कसैले भनेको सम्झिन्छु – ‘हामी कहिलेकाहीँ टाढाको ताराहरु गन्दा नजिकको चन्द्रमा बिर्सन पुग्छौँ ।’

घन्टा सुई र मिनेट सुई संसर्गमा तल्लीन छन् । मैले बुझिसकेँ – १२ बजिरहेछ । अब ती दुई सुईहरुको मिलनबाट आजको दिनको लागि समयहरु जन्मिनेछन् । जस्तो – १ बजे, २ बजे, ३ बजे….! बाँकी ऐजन ऐजन् । यत्ति बुझ्छु – एकदिन हारहरुबाट पनि जितहरु जन्मिनेछन् । आँशुहरु बाट हाँसोहरु जन्मिनेछन् । असफलताहरुबाट सफलताहरु जन्मिनेछन् । पीडाहरुबाट हर्षहरु जन्मिनेछन् । दुखहरुबाट एकदिन सुखहरु जन्मिनेछन् । बस्, धैर्यता बचाइराख्न सक्नुपर्छ ।

घरमा केही जोडी परेवाहरु बसेका छन् । परेवा शान्तिको प्रतिक भएर पनि शान्तिसँग बस्न पाएका छैनन् यहाँ । तिनीहरु भर्खरै मात्र उडेर आएका छन् । लाग्छ – ढुक्कले सास फेरिरहेका छैनन् । ढुक्कले सास फेर्नु भनेको ढुक्कले बाँच्नु हो रहेछ ।

‘जब तिमीहरु कामको लागि बाहिर जान्छौ तब यहाँ कोही आउँछ । एउटा हातमा गुलेली हुन्छ अर्को हातमा मट्याङ्ग्रा । हामीलाई जोडले ताक्छ । हान्छ । हामी बयस्कहरु त ज्यान जोगाउछौँ तर हाम्रा बालकहरु खस्छन् । तिनिहरु फेरि कहिल्यै फर्किदैनन् ।’ – तिनिहरुको आँखाले यस्तै केहि भनिरहेको छ। हामी मानव हौं यसकारण प्रेमको भाषा बुझ्छौँ । आँखाको भाव बुझ्छौँ ।
‘खस्नु भनेको फेरि कहिल्यै नफर्किनु रहेछ । हामी खस्न चाहदैनौँ ।’ – एउटाको आँखाले यस्तै भनिरहेको छ । मेरो आँखाबाट एकथोपा आँशु खस्छ जुन फेरि फर्केर कहिल्यै आँखामा आउँदैन ।
म मनमनै भन्छु – ‘ढुक्क होउ । म उसलाई कहिल्यै नआऊ भन्छु । ऊ मेरो आफ्नै साथी हो । मैले नै बोलाएको हुँ उसलाई ।’
‘पक्का है दोस्त ।’ कुनै युवाजस्तो लाग्ने चाहिँले भन्छ ।
‘पक्का दोस्त । पक्का ।’ म मौन रहन्छु । मेरो बोली बन्द हुन्छ ।

००००

संसारमा सबैभन्दा पातलो साबुनको फिँज होइन रहेछ । बरु जीवन रहेछ, छुन खोज्यो कि फुटिहाल्ने । सांसारमा सबैभन्दा छोटो पनि जीवन नै रहेछ, भेटाउन खोज्यो कि सकिहाल्ने । संसारमा सबैभन्दा छिटो सकिने पनि जीवन नै त रहेछ ।
फेरि,
संसारको सबैभन्दा बाक्लो चिज भन्नू जीवन नै रहेछ । हामी एक विन्दुबाट यात्रा गर्छौं, अर्को विन्दुमा नपुग्दै सकिहाल्ने । संसारमा सबैभन्दा लामो पनि जीवन नै रहेछ । भेटाउन खोज्दा खोज्दै सकिहाल्ने । संसारमा सबैभन्दा लामो जस्तो लाग्ने पनि आफ्नै जीवन रहेछ ।

खासमा जिन्दगी पानीको फोका जस्तै रहेछ, राम्रोसँग सङ्ग हातमा राख्न नपाउँदै फुटिजाने ।

यत्तिकैमा ‘जिन्दगी’ लेखेको नम्बरबाट फोन आउँछ । जिन्दगी अर्थात मेरो जिन्दगी । अरुमा आफ्नो जिन्दगी भेटाउनुमा कत्ति मजा हुनेरहेछ । आफ्नो जिन्दगीमा अरु कसैको जिन्दगी मिसिँदा जिन्दगी झन् कति मीठो बन्नेरहेछ । साथीले पैसा तिरेर खुवाएको चिया भन्दापनि मीठो हुनेरहेछ । प्रेमिकाले आफ्नै हातले बनाएर दिएको कफीभन्दा पनि मीठो हुनेरहेछ । भागवनले प्रसन्न भएको दिएको आशीर्वाद भन्दापनि मीठो हुनेरहेछ ।
‘हेल्लो ।’ म फोन रिसिभ गर्छु ।
‘बाब्बा । नमत्ते।’ छोराको बोलीभन्दा पनि छिटो उसको प्रेम कानमा ठोक्किन्छ ।
‘बाबू । तिमी ?’ म प्रश्न गर्छु। यसै ।
‘तिम्रो छोराले आफै फोन गर्न सक्ने भएछ ।’ आमा नेपथ्यमा यस्तै केही बोलिरहनुभएको छ ।
समय कत्ति छिटो बित्दोरहेछ । आफुलाई भने ‘बच्चाले बच्चा जन्माएछ’ भनेर हस्पिटलमा नर्सले जिस्काएको हिजो जस्तो लाग्छ ।
‘बाबा ! सन्तै हुनुहुन्थ ? – छोराले प्रश्न गर्छ । म यसै सन्चो भैजान्छु ।
‘सन्तै छु। तिमिलाई कस्तो थ बाबू ?’ – म पनि उसकै लवजमा बोलिदिन्छु । किनकि मलाई आफ्नै छोरासङ्ग छोराजस्तै बनेर कुरा गर्नु छ ।
‘सन्तै थु बाप्बा। हजुल कहिले आउनुहुन्थ ?’ – ऊ प्रश्न गर्छ । फेरि आफै जवाफ पनि दिन्छ – ‘भोलि भोलि आउनुहुन्थ ?’
‘उम् बाबू । म भो…लि आउथु है ।’ मेरो रेडिमेड उत्तर खसिहाल्छ । म सधैँ छोरालाई भोलि आउँछु भनेर टारीरहेको हुन्छु । सायद छोराले बुझिसकेको हुन्छ, भोलि कहिल्यै आउँदैन भनेर ।
भन्छ – ‘ बाब्बा । हजुलको भोलि कहिले आउथ ?’
म नाजावाफ हुन्छु । बोल्नलाई वाक्यहरु फुट्दैनन् । कति निर्दोष हुन्छन् बालकहरु ?
‘भन त बाबू! तिमिलाई के ल्यादिने बाबाले घल आउँदा ?’ म कुरा अन्तै मोडिदिन्छु । सायद यो परिस्थिति निकै जटिल बनेको छ अहिले मलाई ।
‘दुत्ता ल्याइदिनु है बाब्बा ।’ ऊ भन्छ ।
‘किन ल्याइदिने दुत्ता मेरो बाबुलाई ?’ – म भन्छु ।
‘मम्मीले भन्नुभाको – दुत्ता लगाएन भने ढुंगाले काट्न सक्थ रे । काँडा बिझ्छ ले ।’ – उसलाई यति जवाफ फर्काउन सकस पर्छ । तर मलाई थाहा छ – यो उसको आफ्नै मनको जवाफ हो ।

‘मेरो प्यारो छोरा ! जिन्दगीमा काँडा बिझाउनेहरु दिनदिनै भेटिन सक्छन् । सधैँ भरी जुत्ताको भर परेर बस्नु हुँदैन । खाली खुटा हिडेर आफ्नो पैतालालाई मजबुत बनाउन सक्नुपर्छ ।’ यस्तै भन्न मन थियो तर सक्दिनँ । मलाई थाहा छ, यो कुरा उसले एकदिन आफै बुझ्नेछ ।

भन्छु – ‘दुत्ता बाहेक अरु के ल्याइदिने बाबू ?’
‘उम्…..!’ धेरैबेर सोच्छ सायद । भन्छ – ‘बाब्बा! मिठाई, चोकोपन, दुध, हिलिकप्टर ल्याउनु है ।’
म हाँसिरहन्छु मात्रै ।
‘बाब्बा ! मिठाई त नल्याउनु है । दाँत सब्बै किराले खा’छ ।’ फेरि आफै बोलिरहन्छ । म केवल मुस्कुराउदै सुनिरहन्छु । आखिर सुन्नुमै त छ मज्जा ।
‘बाब्बा ! म प्रीन्सले खेल्न बोलाको छ । जान्छु है । बाई बाबा । लप यु बाबा ।’ ऊ हतारमा बोलिरहन्छ ।
‘लप यु मेरो छोला ।’ मैले यति भन्न नपाउँदै फोन काटिन्छ ।
मेरो मन खेल्नकै लागि बेतोडले दौडिरहेको मेरो छोराको पछिपछि दौडिरहेको छ ।
‘बाबू! पख न! पख! यो टोपी लगाएर जाऊ । घाम लाग्छ ।’
००००

जिन्दगी अनौठो यात्रा रहेछ सबैभन्दा ढिलो भेटिनेहरु नै सबैभन्दा छिटो छुट्नुपर्ने । जिन्दगीमा एकपाइला स्थान नपाउनेहरु नै मनमा महल ठड्याएर बसिरहने ।
कत्ति छिटै आममान्छे बाट बिशेष बनिदिन्छ मान्छे । कति छिट्टै आम मान्छेबाट च्याटलिष्टको निकनेम ‘सनम’ सम्म आईपुग्छ मान्छे । ऊ मेरो लागि त्यस्तै विषेश बनेकी छे ।
ऊ मेरो च्याटलिष्टमा ‘सनम’ भनेर बसिसकेकी छे । तर जिन्दगीमा ? यसको उत्तर सायद अब कहिल्यै भेटिदैन ।
कोहिकोहि मान्छेहरु प्रेमीका कम र गुरु ज्यादा बनिदिन्छन् जिन्दगीमा ।
उनी मेरी प्रेमिका होइनन् गुरु हुन् । जसले आफ्नै वरिपरिको खुशी खोज्न सिकाई । जिन्दगीको सरलहरुलाई हल गर्न सिकाई । गणितमा कहिल्यै अभिव्यन्जकहरुको सरल नबुझ्ने मैले उसकै कारण जिन्दगीको अभिव्यन्जकहरुलाई सजिलै सँग हल गरेर जिन्दगीको मान पत्ता लगाउन सक्ने बनाई ।
नैतिकतावन बन्न सिकाई । ब्यबहारिक बन्न सिकाई । देशको असल नागरिक बन्न सिकाई । नयाँ नयाँ खुशीहरु अविष्कार गर्न सिकाई । स्वस्थ्य रहन सिकाई । पढ्न सिकाई । लेख्न सिकाई । बोल्न सिकाई । बुझ्न सिकाई । जे होस् – उसले जिन्दगी जिउन सिकाई । म यसरी विस्तारै विस्तारै उसको प्रेममा पर्न थालेँ ।

प्रेम जतिबेला पनि हुनेरहेछ । जोसङ्ग पनि हुनेरहेछ । फरक यत्ति हो धेरैसँग नहुने रहेछ । एउटै मान्छेसँग फरकफरक तरिकाबाट प्रेम हुनेरहेछ ।

सायद उसलाई थाहा छ, म आफुलाई धेरै प्रेम गर्छु भन्ने कुरा । उसलाई यो पनि थाहा छ कि म विवाहित मान्छे हुँ, मैले प्राप्तिको लागि प्रेम गरेको होइन भन्ने कुरा । तर उसलाई यो थाहा छैन कि प्रेममा प्राप्ति भन्दा ठूलो त्याग हुन्छ भन्ने कुरा । र उसलाई यो पनि थाहा छैन, मलाई प्रेम गर्न सिकाउने उनी आफै हुन् भन्ने कुरा ।

मलाई थाहा छ, ऊ म बाट टाढा हुन चाहन्छे । हुनपनि मेरो नजिक आएर उसलाई फाइदा मिल्दैन । जमाना त नाफा र घाटामा अल्झिरहेको छ । तर म उसलाई टाढा जाऊ भन्न सक्दिनँ । आफ्नै नजिक आऊ भन्न सक्दिन । बस् म उसलाई प्रेम गरिरहन सक्छु । यो कस्तो प्रेम ?

बाहिर सिमसिम पानी परिरहेको छ । हावा मन्द मन्द गतिमा चलिरहेको छ । म अनलाइनमा उनैलाई पर्खिरहेको छु । अर्थात सनमलाई पर्खिरहेको छु ।
‘हिजो खाना खाएर आउँछु ।’ भनेर अफ भएकी उनी आजसम्म आएकी छैनन् । ऊसँग गफ गर्नलाई म केही रिसहरु, केही घुर्काईहरु, केही प्रेमहरु बोकेर बसेको छु ।
‘ए हजुर !’ ऊ आउछे ।
‘खाना त सकियो नि ?’
‘हजुर सकियो ।’
‘अनि किन अन आउनुभएन त हिजो ?’
‘यसै ।’
कत्ति अपरिक्व जवाफ दिन्छन् मान्छेहरु । ‘यसै’ भन्यो सकियो । तर मन खोइ किन ? दुखिहाल्छ ।
‘साँच्चिकै बोल्न मन छैन ?’
‘छ ।’
‘अनि किन अन नआउनुभएको त हिजो ?’
‘यसै ।’
सायद संसारमा सबैभन्दा बढी आँशु प्रेम गर्नेहरुकै खस्छन् होला सायद । कमसेकम मान्छेहरू आफुलाई प्रेम गर्नेहरुसँग त केही मीठो बोलिदियोस् न । आँखामा आँशु आइसकेछ ।
‘एउटा कुरा भनुँ ?’ म सोध्छु ।
‘हस् । भन्नुस् न हजुर ।’
‘आँखामा आँशु आईराछ ।’
‘त्यसो भए डाक्टरकोमा जानुस् न ल । जचाँउन ।’
खासमा दुखेको त मन थियो । मन दुखेको जचाउँन चाहिँ कहाँ जानु ?
‘अनि अरु भन्नुस् न ।’ म भन्छु ।
‘केही छैन ।’
‘साँच्चिकै भन्नलाई केही छैन ?’
‘उम् ।’
‘किन ?’
‘यसै ।’
मनमा भित्र कतैबाट दुखेर आएर जस्तो लाग्छ । यो आँशु समेत किन खस्छ होला अरुलाई सम्झेर ? मलाई आफैसँग रिस उठ्छ । आफ्नै आँशुसित रिस उठ्छ ।
‘हजुरलाई धेरै सताएको छु । सरी ल । अब धेरै टाढा जान्छु नि । हजुरको जिन्दगीमा कहिल्यै आउँदिन । गुड बाई ।’ यस्तै केही लेखेर पठाउछु । आँशु मिसिएको आँखाले खासै स्पष्ट देख्दैन ।
उताबाट म्यासेज सीन हुन्छ तर रिप्लाई आउँदैन । सायद म टाढा जाने कुराले खुशी भएकी पनि त हुनसक्छ नि । के म बिना खुशी हुन सक्लिन् त ? थाहा छैन ।
यत्ति सोच्छु – अब उसको जिन्दगीबाट धेरै टाढा जानुपर्छ । तर कसरी ? थाहा छैन ।
कहिलेकाही उत्तरहरु थाहा नभएका प्रश्नहरु गरिरहन मन लाग्नेरहेछ ।
मेरो मनलाई मेरो दिमागले एउटै प्रश्न गरिरहन्छ आजकल – ‘ओए ! तँ कि कहिल्यै आफ्नो नहुने मान्छेलाई प्रेम गरेर आफैलाई दुखाउँछस् ।’
म मुस्कुराउछु । जवाफ मेरो मनले दिन्छ – ‘यसै !’
००००

Image Surce: Art by LT

Facebook Comments

You may also like

error: Content is protected !!