बलले दबाइएको चीत्कार

बाजकाे पञ्जामा परेवा पर्‍यो भने परेवा बाँच्दैन पुरुष आफूलाई बाज सम्झिन्छ र बेलाबेला आक्रमण गर्छ महिलाहरूकाे शरीरमाथि । यस्तै अश्लील हर्कतले गर्दा पुरुषहरू आफ्नाे शिर निहुराएर हिँड्नु पर्ने दिन आएकाे छ । भनिन्छ मान्छे चेतनशील प्राणी हाे । भनिन्छ मानिस बाैद्धिक हुन्छ । तर यस्ताे पनि साेच्न नहुँदाे रहेछ । मान्छे कहाँ गएर फस्छ । मान्छेले कतिबेला कस्ताे घटना घटाउँछ ? पत्तै नपाइँदाे रहेछ । साेच्दै नसाेचेकाे मान्छेबाट किन यस्ताे निर्लज्ज घटना घटिरहेकाे छ ? पुरुषवादी समाजमा यस्ताे अश्लील हर्कत परापूर्वकालदेखि नै चलिआएकाे छ । एउटा किशाेरीमाथि अश्लील हर्कत गर्नेहरू देश, समाज र गाउँमा अझैपनि देख्न भेट्न सकिन्छ  । निर्धक्क भएर बाटाे हिँड्न सकिने वातावरण अझै बनी सकेकाे छैन । छाेरी स्कुल जान्छिन् । घर नआइपुगुन्जेल पिर भै’रहन्छ । यस्ताे समाजमा जन्मेकाे छु कि आजसम्म छाेरी स्कुलबाट घर फर्की नआन्जेल बाटाे हेरिरहनु पर्ने हुन्छ । कारण मेराे देशमा दिनदहाडै छाेरीहरू बलात्कृत हुन्छन् ।

 

पुरुषवादी याे समाजमा परापूर्वकालदेखि नै महिलाहरूलाई दास बनाइरहेकाे तपाईं हामीलाई अवगत नै छ । एउटा किशारीमाथि अश्लील नजर लगाउने प्रवृत्ति हामीले पुज्दै आएकाे भगवान श्रीकृष्णदेखि हालसम्म पनि यथावत् नै छ । न ढुङगे युगमा महिला सुरक्षित थिए न याे आधुनिक युगमा पनि याे समाजमा किशाेरीहरू सुरक्षित नै छन् । साना बालिकाहरू आफू सुरक्षित भएर हिँड्ने वातावरण कसले निर्माण गरिदिने साेच्ने बेला आएकाे छ । तपाईं हाम्रा छाेरीहरू पनि छन् तर दिनानुदिन बलात्कारकाे घटनाले चिन्तित बनाइदिएकाे छ । तपाईं हाम्रा छाेरीहरू सुरक्षित भएर बाटाे हिँड्ने दिन कहिले आउँछ ?  बा’आमाले आफ्ना छाेरीहरू याे देशमा सुरक्षित छन् भन्ने दिन कहिले आउँछ ? यी तमाम प्रश्नहरूकाे जवाफ सरकारले दिनुपर्ने बेला भै’सकेको छ । तर सरकार कुनैपनि हालतमा जनतालाई जवाफ दिने तयारीमा देखिँदैन । आफ्नै बुबाबाट याैनकाे शिकार हुनुपर्ने देश नेपाल हाे भन्दा फरक नपर्ला यस्ता घटनाहरू पत्रपत्रिकामा दिनदिनै पढ्नु परेकाे छ । 

 

यस्ता घटनाले साना बालिकादेखि किशाेरी महिलाहरूकाे मानसिकतामा कति असर परेकाे हाेला ? सरकार किन माैन बसेकाे छ ? यस विषयमा सरकार किन जिम्मेवार हुँदैन ? सरकारलाई जनताले राशनपानी तलव दिएर कुकुर पालेझैं पाल्नुकाे के अर्थ ? अब हामी जनताले पनि साेच्ने बेला आइसकेकाे छ । कम्तिमा याे कम्युनिष्ट सरकारले देश विकास गर्न नसकेपनि हरेक मानिसलाई सुरक्षित छु भन्ने प्रत्याभूति दिन सक्नु पर्थ्याे तर सकिरहेकाे छैन ।

 

हामी जनता पार्टीकाे झण्डा ओढेर यस्ताे नालायक सरकारकाे गुणगान गाइरहेका हुन्छाैँ आखिर किन ? दुःखकाे कुरा हामी यहि कारणले विभाजित छाैँ जुन नहुनुपर्ने थियाे । सरकारले याे नभुलाेस् कि दुइतिहाइ बहुमत जनताकै भाेटबाट आएकाे हाे तर चुनाव जितेर बहुमतकाे आधारमा ठूलाे पार्टी बनेर सरकारमा पुगेपछि जनतालाई गल्लिकाे कुकुर जस्तै साेचिदिएकाे छ । एउटा सानाे बालिकालाई बलात्कार गरेर पुरुषार्थ देखाउने पुरुषलाई कारबाहीकाे दायरामा किन ल्याउन सक्दैन प्रहरी ? जनताले भाेट दिएर बनेकाे सरकारले यति धेरै अपराध देखेर सुनेर पनि किन नाेट अफ डिसेन्ट जारी गर्दैन ? स्कुल पढ्न गएका किशाेरीहरूकाे मानसिकतामा नै म याे देशमा सुरक्षित भएर घर आइपुग्छु कि पुग्दिनँ भनेर मानसिक तनावले अन्ततः आत्महत्यासम्म गरेकाे देखिन्छ । घर बाहिर कतै घुम्न गए भने घरमा बसेका बा’आमा, छाेरी वा आफ्नाे श्रीमती घर नआइपुगुन्जेल चिन्तामै दिन बिताउने गर्छन् । एकाइसौं शताब्दीमा पनि बर्सेनि सयाैँ नारीहरूकाे अस्मिता लुटिएकाे छ । तैपनि सरकारले अझै कानुन कडा नबनाएकै कारण आज महिलाहरू बलात्कृत हुनु परेकाे छ । सबैलाई थाहै छ निर्मला पन्तलाई बलात्कारपछि हत्या गरियाे र अझै पनि दाेषी पत्ता लगाउन सकेका छैनन् ।

 

याे घटना सेलाउन नपाउँदै महिलाहरूमाथि दिनानुदिन पुरुषहरू हावी भएर बलात्कार हुनु परेका छन् । मिडियाहरू बलात्कार जस्ताे केसमा पनि जातियताकै आधारमा घटना बाहिर ल्याउने गरेका छन् । निर्मला पन्तकाे बलात्कारकाे केसलाई मिडियाकर्मी, कवि, साहित्यकारले जति साथ दिएका थिए त्यति साथ दलित महिलाहरू बलात्कृत हुँदा साथ दिएकाे पाइएकाे छैन । याे असफल सरकारकने झाेला बाेकेर कच्चा पदार्थ जस्ताे कर्याकर्ताले त्यहि सरकारकाे गुणगान गाइरहेकाा छन् । निर्मला पन्त एउटा उदाहरण मात्रै हुन् । उनी बलात्कृत हुनु अघि पनि दिन दिनै बलात्कार हुनु परेकाे थियाे महिलाहरू जति अहिले भएका छन् । तथ्यांक अनुसार नेपालमा बलात्कार हुनेकाे संख्या बढ्दाे क्रममा छ । तर पनि कम्युनिष्ट सरकारले जनताकाे आवाजलाई सम्बाेधन गर्न भने सकेकाे छैन । 

निर्मला पन्तको बलात्कार हुँदा मिडियाहरू निर्मलाकाे आवाज लिएर सडकमा गएकाे हामी सबैले देखेकै हाे । निर्मलाकाे पक्षमा उभिएर आवाज उठाउनेहरू आज निर्मला पन्त जसरी बलात्कारपछि हत्या गरिएकी बझाङ कि सम्झना कामीकाे आवाज लगिनुपर्ने जति किन सडकसम्म लगिएकाे छैन ? बलात्कारमा पनि जातियता देखिएकाे छ । 

 

मस्ट गाउँपालिका २ खिकालाकी कि १२ बर्षिय बालिका सम्झना कामीकाे शव असाेज ७ गते स्थानीय शिवमन्दिर नजिकै फेला पर्‍यो । दुःखकाे कुरा महिलाहरू शिव मन्दिरकाे पूजा गर्छन् तर त्यहि शिव मन्दिर नजिकै एउटी बालिका बलात्कृत हुनु परेकाे छ भने शिवकाे प्रतीक मानेर महिलाहरूले आफ्नाे श्रीमानलाई  पुज्नुकाे कुनै तात्पर्य देखिँदैन । सरकारले हामी दलित भएकै कारणले न्याय पाउन नसकेकाे यथार्थ हाम्रै आँखा अगाडि छर्लङ्ग छ ।

 

निर्मला पन्तकाे केसमा जसरी कवि साहित्यकारहरूले आवाज बुलन्द बनाएका थिए । हाे त्यसरी नै सम्झना कामीकाे लागि हामी बुलन्द आवाज उठाउनु पर्ने थियाे तर कवि साहित्यकारहरूले नै जातियताकै आधारमा आवाज उठाउने रहेछन् भन्ने महसुस हुन थालेकाे छ । निर्मला पन्तकाे विषयमा धेरै कविता लेख लेखिए । अभियान चलाए तर सम्झना कामीकाे लागि कवि साहित्यकारले एक अक्षर पनि नलेकाे देख्दा दुःख लाग्दाे रहेछ । 

 

ए कवि साहित्यकार हाे ! हाम्रा पनि छाेरी छन् यदि हाम्रा छाेरीहरूले निर्मला र सम्झना जसरी बलात्कार भए भने हामी कति रुन्छाैँ ? र कति न्यायकाे माग गर्छाैँ ?  साेचाैँ त आज सम्झनाकाे बाआमा कति राेएका हाेला  । कति छट्पटी रहेका हाेला । कम्तिमा हाम्राे आवाजले सम्झनाका बुआमालाई याैटा दर्बिलाे आँट त आउँछ । 

 

बलात्कारजस्ताे जघन्य अपराधलाई पनि जात हेर्ने हाे कि न्याय दिलाउनकाे लागि आफ्नाे कविता लेखबाट आवाज बुलन्द पार्ने हाे ? कि सरकारले जस्तै पाेर्नाेग्राफी हेरेर समय खर्चने हाे ? हामी बुद्धिजीवी वर्गमा पर्छाैँ भने हामीले आवाज उठाउन किन सक्दैनाैँ । सम्झनालाई बलात्कार पछि हत्या गर्ने राजेन्द्र बाेहाेरालाई फाँसी दिने कानुन जुन दिन बन्ने छ त्याे दिन महिलाहरूमाथि न्याय मिल्ने छ ।

 

अनुसन्धानले भन्छन् ८२ % भन्दा बढी अपराध आफ्ना नातेदार, चिनेजानेका छिमेकीबाट हुने गर्छ । यति थाहा हुँदाहुँदै किन सरकारले कानुन फितलाे बनाएकाे हाे बुझ्न सकेकाे भने छैन । पछिल्लाे ४ बर्षकाे तथ्यांकले भन्छ याैनजन्य अपराधमा चिनेजानेकै मानिसकाे संलग्नता बढी देखिन्छ । यस काेराेना महामारीमा २०७६ चैत्रदेखि २०७७ भदाैसम्म मात्रै मुलुकभर १ हजार २ सय २१ जनाकाे बलात्कार भएकाे छ । यसरी बलात्कार बढ्नुमा देशमा कडा कानुन नभएकै कारणले गर्दा भएका हाे । यहि बिचमा सम्झना कामीकाे बलात्कार भएकाे छ । द युनिभर्सिटी अफ क्यार्लिफाेनियाका अनुसन्धानदाता नेल मालामुथले पाेर्नाेग्राफी र याैनहिंसाबारे झण्डै तीन सय जनामा गरेकाे अनुसन्धानकाे निचाेड थियाे – “जाे सँग पहिल्यैदेखि नै तिब्र याैन इच्छा छ र उ सेक्सकाे लागि जस्ताे सुकै कदम उठाउन तयार हुन्छ त्यस्ता ब्यक्तिले पाेर्नाेग्राफी हेरे भने याैनजन्य अपराध गर्ने सम्भावना बुढी हुन्छ ।” अनुसन्धान भन्छ – ” अत्याधिक पाेर्नाेग्राफी हेर्नेहरू याैनकाे मामिलामा आफ्नाे लाईफ पार्टनरसँग कम सन्तुष्टि हुने हुँदा यस्ताे बलात्कार गर्ने तिर लाग्ने गर्छन् भन्ने तर्क गरेका छन् – युनिभर्सिटी अफ वेस्टर्न के नरिक ।” 

 

बारम्बार महिलाहरू बलात्कृत हुनुकाे मुख्यकारण मध्ये पाेर्नाेग्राफी पनि एउटा कारर रहेकाे बताउछन् विज्ञहरू तर सरकारले विभिन्न खाेजअनुसन्धानका आधिकारीक कुराहरूलाई प्रमुख रुपमा लिएकाे पाइएकाे छैन । अनुसन्धानदाताकाे कुरा अनुसार के कुरा प्रस्ट हुन्छ भने पाेर्नाेग्राफीका साइडहरू यदि बन्द गरिदिने हाे भने महिलाहरू बलात्कृत हुनुबाट जाेगिन सक्छन् । याे त एउटा माध्यम मात्रै हाे । पुरुषहरूले बलात्कार गर्नु हुँदैन । कसैकाे अस्मितामाथि खेल्नु हुँदैन भनेर साेचेर मनन गर्नु पर्ने देखिन्छ । सरकारले यदी फाँसीकाे सजायकाे कानुन बनाउने हाे भने महिलाहरूकाे आत्मबल अझ बढ्ने देखिन्छ । देशमा सानादेखि ठुलासम्म ठुलादेखि बुढासम्म बलात्कारकाे सिकार हुनुपर्दा मस्तिष्कमा कति असर परेकाे हाेला महिलालाई ? किन जिम्मेवार भएर साेच्न सक्दैन सरकार ? देशकाे चलाउने सरकारले जनताकाे सुरक्षा गर्न नसक्दा  जनताकाे विश्वास गुमाइसकेकाे छ । जुन सरकारमाथि विश्वास र भराेसा थियाे त्यहि सरकारले जनताकाे खुसी लुटिरहेकाे छ । के चाहन्छ सरकार ? यदि नेताहरूकै छाेरी वा तीनका श्रीमतीहरू बलात्कृत भए भने माैन बस्थे कि अपराधी पत्ता लगाउने गर्थे ? धेरै प्रश्नहरूकाे जवाफ मागिरहेका छाैँ सरकारसँग तर पनि जवाफ दिन तयार छैन ।

 

ग्यास्टिककाे बिरामीले लम्पसार परेकाे सरकारबाट अब जनताहरूले केही आस गर्नु पर्छजस्ताे मलाई लाग्दैन । चुनावमा सरकारले गर्ने भाषण याैटा बिरालाे बाँध्ने चलन मात्रै हाे भनेर बुझिसकेका जनताबाट अब सरकारले बुझे हुन्छ । नेपाली जनताले बुझ्नुपर्ने के छ भने याे घटिया सरकारलाई झाेला बाेकेर टिकाइरहनु भनेकाे हामी सम्झनाहरूकाे आँसुमा पाैडी खेल्नु हाे । त्यसैले याे सरकारलाई बाईबाई गर्नुपर्ने दिन आइसकेकाे छ । तपाईं हामी सबैलाई अवगत नै छ १७ हजार जनताले बलिदान दिएर ल्याएकाे गणतन्त्रबाट के पायाैँ ? किन बुझ्दैनाैँ हामी ? सरकारकाे मात्रै दाेष छैन भाेट दिनु अघि पैसामा बिकेर भाेटसँगै स्वाभिमान बेच्नु नेतालाई बेच्नु एउटा जघन्य अपराध हाे । वीर सहिदहरूकाे बलिदानीबाट राजतन्त्रलाई फालेर गणतन्त्र ल्याएकाे के महिलाहरू बारम्बार बलात्कृत हुन भनेर हाे त ? नेपाली जनताहरू सुबुद्धी कहिले आउने हाेला याे चिन्ताकाे बिषय हाे । जुन सरकार जनताकाे खुसी लुटेर मस्त निदाउँछ त्याे सरकारलाई कसरी सफल सरकार भन्न सकिन्छ ? गाउँमा विभिन्न पार्टीमा आबद्ध जनताहरू छन् । एउटा निम्न वर्गले सरकारकाे विरुद्धमा आवाज निकाल्याे भने कारबाही गर्नसम्म पछि हट्दैन तर सरकारकाे कार्यकताले साेच्दैन कि उ समाज, गाउँ र सरकारबाट पीडित छ । अब प्रत्येक नेपालीलाई म नेपाल भन्ने देशमा छु भनेर गर्वकाे साथ भन्न सक्दैन । यी सबै कारणहरूकाे दाेषी सरकार नै हाे । अचेल मलाई पनि मान्छेदेखि घृणा जागेकाे । यथार्थ भन्नू पर्दा म सहि हुँदाहुँदै पनि म आफूलाई मान्छे हुँ त्याे पनि पुरुष हुँ भन्न कता कता अप्ठ्याराे लाग्ने गरेकाे छ ।

 

म यस्ताे देशमा छु कि ! जहाँ याैनकाे प्यास मेटाउनकै लागि छाेराेले आमा भन्दैन, बाउले आफ्नाे छाेरी भन्दैन, भतिजले काकी भन्दैन, भाइले दिदी भन्दैन, दाइले बहिनी भन्दैन र पुरुषले महिला भन्दैन । त्यसैले महिलाहरू हरेक काेणबाट असुरक्षित छन् । सबै पुरुषले के कुरा ख्याल गर्नु पर्छ भने आफ्नै श्रीमतीलाई सेक्स गर्नुपुर्व श्रीमतीसँग अनुमति लिनु पर्ने हुन्छ । असहमती बिना यस्ताे अश्लील हर्कत नगर्न मेराे विनम्र अनुराेध छ । याे देशमा महिलाहरू असुरक्षित भएकाे देख्दादेख्दै, महिलाहरू बलात्कृत भएकाे देख्दादेख्दै राष्ट्रिय मिडियामा आएर अराजक नालायक गृहमन्त्री रामबहादुर थापा बादल भन्छन् बलात्कार घटना बढे पनि विश्वभर अरू देशकाे तुलनामा नेपालमा चिन्ताजनक अवस्था छैन । याे सामान्य हाे भन्ने तर्क दिन्छन् । देशकाे गृहमन्त्री जस्ताे गरिमामय पदमा बसेर यस्ताे अभिव्यक्ति दिने गृहमन्त्रीबाट हामी जनताले के आश राख्ने ? गृहमन्त्रीले यसरी अभिव्यक्त गरेकाे सुनेका छन् प्रधानमन्त्री केपी ओलीले तर प्रधानमन्त्रीले गृहमन्त्रीलाई कारबाही गर्न सक्दैनन् । गृहमन्त्रीकाे विचार सुन्दा के लाग्छ भने कतै बलात्कार गर्नमा यिनकाे हात त छैन ? यस्ताे निर्लज्ज अभिव्यक्तिले गर्दा बलात्कार झनझन बढी रहेकाे छ पुरुषले पुरुषार्थ देखाएर बलात्कार गरिरहेकाे छ । के भन्दा के असर गर्छ जनतालाई भन्नेसम्म हेक्का नभएकाे मानसिक सन्तुलन गुमेकाे गृहमन्त्री बादल यतिबेला जनताकाे लागि बीस बनिसकेका छन् । महिलाहरू कहिले बाेक्सीकाे आराेपमा कुटिन्छन् कहिले दलितहरू मन्दिर छाेएकै निहुमा मारिन्छन् । कहिले धाराेमा पानी छाेएकै निहुँमा रेटिन्छन् । हामी मान्छे हाैँ कि जनावार हाैँ छुट्यान मुस्किल बनिसकाे छ । कुनै काेणबाट पनि याे देशमा सुरक्षाकाे महसुस गर्न सकेकाे छैनन् जनताले । 

 

महिलाहरू बलात्कृत नहुने दिने कहिले आउँछ । पत्रपत्रिकामा बलात्कारकाे समाचार नछापिएकाे दिन आउँछ ? याे सबै कल्पाना गर्दा गर्दै एकदिन मर्ने दिन आउँछ र मान्छे मरिदिन्छ ।

 

तथ्यांक अनुसार अन्य जातीका महिलाहरूभन्दा ज्यादा दलित महिलाहरू बलात्कृत हुने गरेका छन् । पुरष भनाैँदाे महिलामाथि आँखा लगाउछ । पुरुष प्रवृत्ति यस्ताे छ कि सुरुमा महिलालाई साथी बनाउछ अनेक सपना बाँढ्छ महिलारू बाेलुन् नबाेलुन् फरक पर्दैन र उसले आफ्नाे पुरुषार्थ देखाइहाल्छ र बाेल्न सुरु गरि हाल्छ अनि बिस्तारै महिलाहरूकाे याैवनसँग मनमनै खेल्न सुरु गर्छ र अन्तमा बलात्कार गरिदिन्छ र हल्ला फैलिने डरले हत्या गरिदिन्छ । युवाहरू देश विकासमा लाग्नुकाे सट्टा सरकारकाे आडमा रहेर छाती फुलाउँदै बजारमा अपराधी गतिबिधिमा संलग्न पुरुष खुलेआमा ढुक्क भएर बजार घुमिरहेकाे हुन्छ तर न प्रहरीले पक्राउ गर्न सक्छ न सरकारले फाँसीकाे कानुन बनाउन सक्छ । सरकार यतिबेला बलात्कारीकाे छाता बनेकाे छ । नेपाली साहित्यकारहरूले याे सरकारले जस्तै पाेर्नाेग्राफी हेरेर समयकाे बर्बादी गर्ने हैन तर साहित्यकारहरू यस्तै क्रियाकलाप लागि परेका छन् जस्ताे महसुस हुन थालेकाे छ । किन कि निर्मला पन्तकाे विषयमा आवाज उठाउने साहित्यकारले किन सम्झनाकाे किषयमा आवाज उठाउन सक्दैन ? कि याे घटनामा पनि जातियतामै अल्झिनु भएकाे छ ? नत्र साहित्यकारहरू बुद्धिजीवी वर्गमै पर्छाैँ भने घटना घटेकाे यत्राे दिनसम्म किन माैन छाैँ ? कहाँ छन् लेखक साहित्यकारहरू ? के गर्दै हाेलान् यतिबेला ? लाग्छ कुन फिल्म हेर्दैछन् ? अंग्रेजी फिल्म कि साउथ इन्डियन फिल्म ? कम्फाे फिल्म कि हिन्दी फिल्म ? कि पाेर्नाेग्राफी हेर्दै बसेका छन् ? यदि यी कुरामा व्यस्त नभएका हुन भने बलात्कारकाे आवाज किन उठाउँदैनन् ? हामी लेखकहरूले यत्ति बुझाैँ कि बलात्कारकाे रङ्ग एउटै हुन्छ । म कहिले कहीँ साेच्छु मेरी छाेरी सानी छन् उनी आफ्नाे सुरक्षा आफैँ गर्न सक्दिनन् । घरमा म नभएकाे बेला काेही मति भ्रष्ट पुरुष आउला र बलात्कार गरिदेला भन्ने चिन्ता लागिरहन्छ किन कि म कानुन नभएकाे देशमा जन्मेकाे छु ।

 

छाेरीहरू स्कुल पढ्न जाँदा हामीले छाेरी सुरक्षित छैन भनेर चिन्ता नगर्नु पर्ने दिन कहिले आउला ? उस्तै प्रश्नमा अल्झिरहेकाे छाेरीकाे बाउ म पनि हुँ । बलात्कारजस्ताे विषयमा पनि जातियताकै फैसला गरिन्छ । दलित वर्गहरू अझै माथि उठ्न नसकेकाे सबैलाई जानकारी छ । दलितहरू गरिब भएकै कारणले फाइदा उठाउने काम हाम्राे समाज गाउँ र सरकारले गरेकाे छ । दलितका छाेरीहरू बलात्कृत भए भने गाउँमा समाज बसेर पैसा दिएर मुद्दालाई छाेपछाप गर्न लगाइन्छ । दलितकाे पक्षमा बाेलिदिने उपल्लाे जातीहरू भेटिन अझै मुस्किल छ । दलितहरूलाई प्रयाेग अझै कति वर्षसम्म गर्ने हाे र ? के दलितहरू मान्छे हैनन् । यदि मान्छे हुन भने किन जातियताकाे आधारमा मुद्दाकाे फैसला गरिन्छ ? अब दलितहरूले बुझ्नुपर्ने दिन आइसकेकाे छ । अब हामीले सिंहदरबारकाे ढाेका फाेर्ने दिन आइसकेकाे छ तयार रहनु हाेला । याद राख्नुहाेस् सम्झनाकाे ठाउँ अरू कुनै वर्गकाे बालिका वा किशाेरी बलात्कृत हुन्थिन् भने यतिबेला फेसबुकभरि फाेटाे टाँसिने थियाे । यस मुद्धालाई बुलन्द गरिन्थ्याे फेसबुक नै ह्याक हुने गरि यस घटनालाई प्रचार गरिने थियाे । दबिएका आवाजहरू फैलिने थियाे विश्वभरि ।

 

 तपाईं हामी सबैलाई थाहा छ साहित्यकार नेता माेदनाथ प्रक्षित बलात्कार करणीकाे मामिलामा मुछिएका छन् । उनलाई शारादा भुसालले आफ्नै किताबमा लेखेकी छन् तर सरकारले माेदनाथ प्रक्षित नेता भएकै कारणले यस विषयलाई घाममै सुकाइदिएकाे छ । यसरी पनि थाहा हुन्छ कि याे सरकार विदेशी रिमाेर्टबाट संचालित छ । माेदनाथ प्रक्षितलाई कारबाही गर्नुकाे सट्टा माेदनाथका अनुयायीहरू भन्ने गर्छन् माेदनाथकाे याेगदान धेरै छ । कस्ताे अचम्म छ याेग्दान कसले नगरेकाे हाेला र ? के याेगदान गरेकाे छ भन्दैमा बलात्कारी कारबाही छुट हुने हाे र ? यसरी किन अपराधी बचाइराखेकाे छ ? कमजाेर मानसिकता छ सरकार र माेदनाथका भक्तहरूकाे ? मार्क्स र लेलिनका बिचार पढेका नेपालका हाम्रा नेताहरूकाे सु-बुद्धी कहिले पलाउने हाेला ? मान्छेले मान्छेमाथि विभेद गर्ने याे देशमा रहनु र नरहनुमा के फरक छ र ? महिलाहरू पुरुषबाट बलात्कारकाे सिकार भइरहेकाे देख्दा ‘म पुरुष हुँ’ भनेर सगरमाथाजस्ताे याे शिर झुकाउन बाध्य भएका छन् असलकर्ममा लाग्ने पुरुषहरू । नेपालमा बलात्कार गर्ने छुवाछुत गर्नेलाई सिधै फाँसी कानुन बन्ने हाे भने यस्ता घटनाहरू न्यूनीकरण हुनेमा म ढुक्क छु । तर सरकार फाँसीकाे कानुन बनाउन भने तयार छैन । कानुन बनाउने नेतालाई डर छ कि कतै आफैले बलात्कार गरियाे भने पनि फाँसीकाे सजाय सुनाइनेछ । 

 

सरकार यतिबेला के गर्दैहाेला ? कुनै हाेटलकाे सिसिटिभी फुटेज हेर्दै हाेला कि कुनै डान्सबारमा भाेट्काकाे तालमा “डार्लिङ तेरे लिए” गीतमा झुम्मिरहेकाे छ ? कि मिक्का सिंहकाे गीतमा बेल्ली डान्स गर्दैछ ? कहाँ छ सरकार ? मैले जुनदिन बालिका सम्झना बलात्कृत भएकाे सुनेँ त्यसदिन आँखाबाट आँसुका थोपाहरू परेलाबाट झरिरहे तप्प …तप्प… !

 

सम्झनाकाे हत्या प्रकरण सुनेपछि यतिबेला सम्झनाका बुबाआमा कुन अवस्थामा छन् सम्झिरहेँ र मेराे आफ्नै छाेरीलाई सम्झेँ यदि सम्झनाकाे ठाउँका मेराे छाेरीमाथि यस्ताे घटना घटेकाे थियाे भने मलाई कस्ताे हुँदाे हाे ? कति रुन्थेँ हुँला ? दिन भरी मनमा कुरा खेलि रह्याे । कति सपना थियाे हाेला त्याे कलिलाे मस्तिष्कमा । कति रहरहरू थिए हाेलान् ? उनलाई पनि सकल पढ्ने रहर थियाे हाेला । पढेर देशकाे लागि केही राम्राे काम गर्ने चाहाना थिए हाेलान् जसले बलात्कार गर्याे उसकाे दिदी बहिनी जसरी आकाशे रङ्गको सर्ट, निलाे फ्रक र झाेलाभरि किताब काम बाेकेर स्कुल पढ्न जाने रहर थियाे हाेला किन साेचेन त्यसले ? जसले मात्रै सम्झनाकाे सपनाहरू खरानी बनाइदियाे । कति मज्जाले बनमाराकाे पात टिपेर चुङ्गी लेख्थिन् हाेला सम्झन्छु । साथीहरूसँग कति मज्जाले हाँस्थिन हाेला सम्झन्छु । सम्झन्छु कति उदास हाेला सम्झाले ढ्याग खेलिरहने घरकाे आगन । सम्झन्छु कति उदास हाेला यतिबेला त्याे सम्झनाकाे घर कति रुँदा हुन् छाेरी सम्झँदै सम्झनाका बा’आमा । कति राेइन हाेला ? कति चिच्याइन् हाेला ? प्राण चुँडिनु अघि आमा ! आमा ! भनेर कति पुकारिन् हाेला ? तर त्याे अपराधीले त्यस पल आफ्नाी छाेरीपनि सम्झेन ? 

 

सम्झना, बहिनी तिमी बलात्कृत भएकाे कुराले मलाई चिमाेटिरहेकाे छ । मलाई पुरुष भएकाेमा गर्व महसुस हुन छाेडेकाे छ । गणतन्त्र आएकाे देशमा महिलाहरू बलात्कृत हुनुपर्छ ए, कम्युनिष्टी सरकार फिर्ता लैजा फेरि यहि आतंककारीकाे शैलीमा तेराे गणतन्त्र । हामीलाई गणतन्त्र हैन न्याय चाहिएकाे छ । जनताहरूले पनि याे साेच्ने बेला भएकाे छ । हाम्रा दिदी बहिनीहरूले हामी पुरुषहरूबाट सुरक्षित महसुस गर्न पाउँदैनन् भने ए पुरुष हाे ऐनामा उभिएर हेर्नुस् र प्रश्न गर्नु आफैलाई ” के म ठिक छु ?” पुरुषले पुरुषार्थ नदेखाऔँ । हाम्रै कारणले छाेरी जन्मँदा दुःखी हुन्छन् आमाहरू । हामीले महिलाहरूलाई सुरक्षित महसुस गराउन सक्याैँ भने र पुरुषहरूले अश्लील हर्कत नगरिदिने हाे भने नेपालमा महिलाहरू बलात्कृत हुनुपर्दैन । पुरुषहरूमा पुरुषार्थ भएन भने पुरुषबाट लुटिने छैनन् किशाेरीहरू हामीले हाम्राे मानिसिक सन्तुलन नगुमाऔँ । हाम्राे कारणले सम्झनाहरू मर्न नबनाऔँ । महिलाहरूलाई हामीले सत्कार र सम्मान गर्न सक्याैँ भने कुनै दिन यिनै महिलाहरूले देश बनाउन सक्छन् । देश हाँक्न सक्छन् ।

Facebook Comments

You may also like

error: Content is protected !!