यात्रा
टुट्न लागेको चप्पल
र भासिएका पैताला हेर्दै
बाबा मुस्कुराइ रहनु भएको थियो
निधारमा पसिनाका छहारीले
बाबाका कति सपना
बगाउनुसम्म बगायो
बाबालाई पनि अथाह नै छ
हातका रेखा पढ्न पनि
सम्भव नभएका
संघर्षका डाँडाहरूबाट
हिमालको शीत
पोखिरहेको छ
सायद
बाबा त्यसैमा सन्तुष्ट
हुनुहुन्छ पनि होला…..।
वहाँको काँधमा
हाँसिरहेको मेरो ओठ हेर्दै
हाँस्दै हुनुहुन्छ
एउटा फक्रेर पनि
झर्न नसकी
सुवास दिइरहेको फूलझैं….
यात्रा हाम्रो भए पनि
चप्पल बाबाका थिए
सपना हाम्रो भए पनि
आँखा बाबाका थिए
यो यात्रा कहिलेसम्मको हो ?
यो प्रश्न
मनमा उम्रँदा उम्रँदै पनि
फुल्न सकेको छैन
सायद ओइलाउनेको डरले हो या……
Facebook Comments