‘झिम्के मामा’ हेरेपछि…..

एकोहोरो शंख मान्छेको इहलीला सकिएपछि उसको अन्तिम यात्रामा बज्छ । तर कहिलेकाहीँ त्यही एकोहोरो शंखले कुनै नवीन यात्राको जनाऊ समेत दिँदो रहेछ । जब टिकाराम ‘बाहुन’ले एउटा सार्कीको लाशलाई मुसारेर आँशु बगाउँछ र उसको अन्तिम यात्रामा शंख बजाउँछ तब जातीय छुवाछुतको पर्खाल भत्काउने यात्राको यो शंखनाद बन्न जान्छ ।

मण्डला नाटकघर अनामनगरमा माघ ४ गतेदेखि नियमित मंचन हुँदै आएको नाटक ‘झिम्के मामा’को अन्तिम दृश्य हो यो । प्रदीप कुमार चौधरीको लेखन तथा निर्देशनमा मञ्चन भइरहेको नाटकमा शीर्ष भुमिकामा अंकित खड्काले ‘झिम्के मामा’लाई जीवन्तता दिएका छन् भने जातीय छुवाछुतलाई धर्म र परम्परासँग जोडेर त्यस कुरितिको कठोर साङ्लो बनाउने धर्मभीरू पण्डितको चरित्रमा संयोग गुरागाईँ खरो उत्रिएका छन् ।

हामीकहाँ दलितलाई गरिने व्यवहार र दलितप्रति राखिने धारणा कतिसम्म छ भने आज पनि काठमाण्डु कै कतिपय घरहरूमा आफ्नो जात र थर ढाँटेर डेरा बस्न विवश मान्छेहरू छन् ।

एउटा व्यक्ति आफ्नो कर्मले, विद्वताले जति नै उचाईमा पुगे पनि अन्तत्वगत्वा आफ्नो जन्म र कुल अनि जातीय पृष्ठभुमिका आधारमा ऊ बहिष्करण र हेलत्वमा बाँच्न विवश भइरहेको आजको यथार्थ हो । मानिस आफूले गरेको कर्मका कारण सम्मानित वा अपमानित हुनु पर्ने हो । तर त्यही मानिसको जन्म कुन जातमा भयो भनेर समाज उसको योगदानको अवमुल्यन गरिरहेछ । यही कर्मले जितेर पनि जन्मले हारेका तमाम ‘झिम्के मामा’हरूको कथा हो ‘झिम्के मामा’ ।

scene from Jhimke Mama at Mandala Natakghar

scene from Jhimke Mama at Mandala Natakghar

नाटकले जातीय भेदभावको मर्म मात्र देखाउँदैन । पछिल्लो समय युवाहरू विदेशिन थालेपछि रित्तिएको गाउँघरको यथार्थ पनि बोल्दछ । अन्तरजातीय प्रेमलाई समेत नसहने समाजको कुरूप चित्रसमेत देखाउन सफल छ नाटक ।

कुनै एउटा दृश्यमा स्कुलकी मिसलाई भगाउन लागेको भन्ने आरोप लागेर गाउँलेहरूले नियन्त्रणमा लिइएको युवकलाई झिम्केले भन्छ – “स्कुलकी मिसलाई भगाउन खोज्ने हो ? भोलिबाटै बच्चाहरू पढाउने मान्छे खाँचो पर्दैन ?” सुन्दा हाँसो लागे तापनि हरेक गाउँको यथार्थ यही हो । शिक्षित जनशक्तिको अभाव जो छ ।

खित्का छोड्नेगरि हाँसो निकाल्न ल्याकत राख्ने नाटक हाँसोका नाममा प्रहसन हुनबाट भने जोगिएको छ । यो एकदम सकारात्मक कुरा हो । योबाहेक एकापट्टि पँधेरो, घरहरू, अर्कोपट्टि केही उकालो चढेर पुगिने चौतारो र मन्दिर ! अनि, नेपथ्यमा खोला र पुलको अवस्थितिले मञ्चको सज्जा पनि सुन्दर देखिन्छ । संवादहरु पछिसम्म सम्झना आउने खालका छन् । सबै कलाकारका साथै बालकलाकारहरूको अभिनय पनि तारीफयोग्य छ ।

हरेक सिर्जनामा सीमितताहरू पनि हुने गर्छन् । ‘झिम्के मामा’ पनि केही कमजोरीहरूसहित आएको छ । चरित्रप्रधान नाटकले समाजका सबैखाले चरित्र देखाउन भने असफल देखिन्छ । जातीय भेदभावलाई बढावा दिन समाज, धार्मिक अगुवाहरू जिम्मेवार छन् तर यसलाई हटाउन राजनीतिको अहम् भुमिका रहने गर्छ । भनाई नै छ नि, समाजको कुनै पनि पाटो राजनीतिबाट अछुत रहन सक्दैन । तर यस मामिलामा भने नाटक थोरै चुकेको छ । स्थानीय तहसम्म चरम राजनीतिकरण भएको आजको परिस्थितीमा नाटकमा राजनीतिक चरित्र नदेखिनु अलि खल्लो लाग्दछ । उता अन्तरजातीय प्रेममा परेर कारवाही समेत भोगेकी मीसको बाँकी जिन्दगीको बाटो पनि स्पष्ट देखिँदैन । मुलकथालाई बढाउन खोज्दा बलियोगरि उठेका सहायक घटनाहरू या त ओझेलमा परेका छन् या त त्यतिकै छोडिएका छन् । नाटकको अन्त्य दुखद हुँदा हुँदै पनि सकारात्मक सन्देश दिन सफल छ यद्यपि, मुख्य पात्रको यथार्थ परिचय खुलाउने घटना भने केही नाटकीय लाग्दछ ।

scene 1, Jhimke Mama staged @ Mandala Natakghar

scene 1, Jhimke Mama staged @ Mandala Natakghar


जेहोस् ‘झिम्के मामा’ काल्पनिक गाउँ देउरालीमा साठीको दशकको सुरूवाती वर्षहरूमा घटित घटनाहरूको यथार्थपरक नाटकिकरण गरिएको कथा हो । प्रचुर मनोरञ्जन र मुटु चिमोट्ने संवेदना बोकेको यस नाटकले नयाँ नयाँ नाटक हेर्न थालेका धेरै व्यक्तिहरूलाई नाटक हेर्ने लत लगाइदिने पक्का छ ।

Facebook Comments

You may also like

error: Content is protected !!