बरू ‘खुत्रुकै मर्छु’ भन्यो भने बरू मरिएला । तर ‘दिमाग चल न’ भनेर कहाँ हुने रै’छ र ! मरे सम्झिन सकिएन कहाँ सुनेको हो त्यो शब्द ।

शब्द त्यत्रो लामो पनि हैन र त्यस्तो अफ्ठ्यारो पनि हैन । केही छैन भन्दा पनि हुन्छ । अलि ध्यान दिनुस् मैले शब्द भन्न लागेको छु । त्यो शब्द हो , ‘भै’हाल्छ’नि’ । कति सरल छ कति । यति शब्दले मेरो दिमाग खाइसकेको छ ।

“केही छाप्नु परो, तपाईं त लेख्ने मान्छे लेख लेख्नु भा’को होला ल्याउनुस् न ।” भनेर एकजना मित्रले ‘एउटा लेख चाहियो’ भनिहाल्नु भयो । लेखेको लेख दिनलाई लेखेको पनि हुनु पर्यो । ‘नलेखेपनि लेख्नु पर्यो’ भनेर गरेको अनुरोधलाई यो ‘भै’हाल्छ नि’ भन्ने शब्दले टारेर नहुने देखिएपछि केही लेख्नै पर्यो । अब नलेखी नहुने भएपछि ‘के लेख्ने?’ भन्ने प्रश्नले समाएपछि यसो सोचेँ – जे लेखेपनि ‘भै’हाल्छ नि’ । त्यसपछि विषय नै ‘भैहाल्छ नि’ बन्न गयो ।

ठ्याक्कै सम्झनु पर्यो भनेर करिब सिङ्गो एकघण्टा देखि ‘लौ न त पत्ता लगाउँ’ भनेर लागि परेको । दिमाग गोबर भरिएको छ कि किन हो काम देला जस्तो देखिएन । उहिले बच्चाबेलामा छुटेको साथी जस्तो भै’हालेछ यो शब्द पनि । जति सम्झिन खोजेपनि अनुहार चाहिँ ठ्याक्कै सम्झना नआउने भनेजस्तो । बच्चाबेलामा सुनेको त हो, तर कहाँ सुनेको ठ्याक्कै थाहा पाउन भने मुश्किल परेको छ ।

कहाँ सुनेको हो पहिलो पल्ट त्यहि थाहा पाउन सकिएन । के हुन्छ र थाहा नपाएर त्यति सानो कुरा थाहा नहुँदा नि भै’हाल्छ नि भन्ने कुरा पक्रिएर यत्तिकै लेख्दा पनि भै’हाल्छ नि भनेर ‘भै’हाल्छ नि’ सुरू गरियो ।

मैले लेख अलि विचार गरेर अलि राम्रै विषयमा लेखेको भएपनि हुने । गहन अध्ययन गरेर त्यसको बोक्रो मात्र हैन आन्द्राभुँडीदेखि लिएर विकार छान्ने किड्नी । अलिअलि भएपनि बुद्धि लाउने दिमाग नै केलाउन हुन्थ्यो । मलाई पनि ‘भै’हाल्छ नि’ भन्ने वाक्यले ‘भै’हाल्छ नि’ भन्ने बनाएको छ ।

मैले लेख्न आँटेको एउटा लेख मात्र हो । किताब नै लेख्ने लेखकले पनि ‘भै’हाल्छ नि’ नै प्रवृत्ति अपनाएका छन् । प्रेमको विषय भनेर एउटा केटोलाई केटीसँग भेटाइदिने,  लभ पार्दिने, छुटाइदिने यति गर्दिने हो भने त ‘भै’हाल्छ नि’ भन्ने जस्ता कुराले किताबलाई पित्तललाई सुन हैन सुनलाई पित्तल बनाउने काम जस्तो भएको छ ।

अब पढ्ने बेलामा कुरा गरौँ । त्यसबेला पनि भै’हाल्छ नि भनेरै पढियो ।

शिक्षक सोचाइ हुन्थ्यो- हुन त दश घण्टा पढाउनु पर्ने हो । यो पाठ यसो मिलाएर तीन घण्टा जतिमा सकिदिँदा भै’हाल्छ नि । लु पढ है केटाकेटी हो । आफैले पढने हो । तिमीहरूले नपढुञ्जेल केही हुँदैन ।

अनि जवाफ त्यहि त हो – ‘भै’हाल्छ नि !’

हामी विद्यार्थी त्यहि हो । पढ्नु छ एकसय पचास घण्टा । पाँच घण्टा जति पढेपछि भन्न मन लागि हाल्ने , “कसले पढ्छ यति धेरै । यति पढेपछि पास नम्बर आइहाल्ला नि । पास भइयो भने त भै’हाल्छ नि ।”

जिन्दगीमा हरेक कुरामा भै’हाल्छ नि अपनाइयो ।

एकजना मित्रसँग एकचोटि अंग्रेजीको एक शब्द समथिंग भन्ने विषयमा खुब विवाद नै भयो ।

मैले भनेँ, हामी भैहाल्छ नि भन्ने प्रवृत्तिले बाँधियौं मित्र । हामी एबोर्सनको अर्थ भन्न सक्छौँ तर एउटा शब्द के भने समथिंग भनेको के हो ठ्याक्कै भन्न सक्दैनौँ । त्यसैले त हामी बिग्रिएका छौँ त, यो भै’हाल्छ नि भन्ने चिजले ।

त्यसपछि हामीले समथिंग भनेको के रै’छ भनेर पुरै डिक्सनेरी पल्टायौँ । त्यसपछि अहिलेसम्म पढेको सानो फुच्चे शब्दको ठूलो अर्थ पत्ता लगायौँ । त्यसको अर्थ हुने रै’छ – ”अ थिङ द्याट इज अननोन”

हामीलाई ठूलाठूला कुरा थाहा छन् तर साना साना कुराले जिन्दगी कति बिगारिरहेको छ त्यो कसको ध्यानमा होस् !

त्यसपछि म ती मित्रसँग छुटिनु अगाडि भन्छु- “हामी त पुराना साथी । कहिलेकाहीँ त्यसै कारण नभएपनि भेट्न हुन्छ नि ।”

त्यसपछि मित्रले ‘भै’हाल्छ नि’ त भने तर भेट चाहिँ धेरै वर्ष भयो भा’को छैन । मैले यसो बोलाएर मित्र भेटनु पर्यो भनेपनि उनले ‘भै’हाल्छ नि’ भन्न भने अझै छोड्दैनन् ।

हाम्रो वरिपरि रहेका केही चलिआएका ‘भै’हाल्छ नि’लाई एकछिन कोट्याएर काउकुति लगाइदिउँ ।

-हेलो मित्र । अस्ति लगेको पैसा फिर्ता गरिहाल्छु भनेको थियो नि ? त्यो व्यवस्था मिलेन ?

-अहिले त कहाँबाट हुनु ? साथीभाइमा आठदश हजारमा पनि ल्यागल्यांग गरिरहिन्छ ? त्यो त अलि दिनमा ‘भै’हाल्छ नि’ । बरू अहिले छ भने पाँचसय रूपैयाँ दिइराख न ।

यो त भयो मित्रतामा हुने ‘भै’हाल्छ नि’ ।

ट्राफिकले भन्नुहुन्छ- “खै लाइसन निकाल्नुस त । ”

चालक जी पनि के कम भनिहाल्नु हुन्छ – “लाइसन त छैन । दुइसय रूपैयाँ छ । हुन्छ सर ?”

ट्राफिकपनि भनिहाल्नु हुन्छ- , “ए त्यस्तो पो हो । भै’हाल्छ नि । ल्याउनुस न त त्यही भएपनि भरे बुढीले तरकारी किन्छे ।”

हामीले देखिरहेका हुन्छौँ बाटोमा , कुकुरलाई एक बाइकले हानेर जान्छ । कुकुर मरिहाल्दैन । बाइक गइहाल्छ । यता कुकुर पिडाले छट्पटाइरहन्छ । केही परबाट दुइजना मान्छे त्यतै आउँदै हुन्छन् । यसो कुकुरलाई हेर्छन् र भन्छन् – “यस्तो बाटोमा कति देखिन्छ कति । बाटोमा यस्तो त भै’हाल्छ नि । जाउँ जाउँ ढिला भै’सक्यो ।”

अस्पतालमा डाक्टर भन्नुहुन्छ – “यो औषधीले निको हुँदैन । यसलाई त अप्रेशन गरिहाल्नु पर्छ । लु, जतिसक्दो छिटो पैसाको बन्दोबस्त गरिहाल्नुस् ।”

उपचार जस्तो कुरामा ‘हुँदैन’ भन्ने कुरा भएन । भन्नु परिहाल्यो भै’हाल्छ नि’ । जम्मा गर्नै पर्यो ऋण गरेर भएपनि ।

यता डाक्टर पाटीमा सल्लाह हुन्छ- “अप्रेशनबाट राम्रै पैसो हात पर्ला जस्तो छ । हामीलाई कति भाग पर्ने हो ।” हुन त औषधी खाएपनि निको त हुने हो । बल्लबल्ल भेटेको छोडनु त भएन । बल्लबल्ल मिलेको कुरा हुदैन भन्नु त भएन । भन्नु परिहाल्यो- “भै’हाल्छ नि । तपाईंलाई पनि भाग पर्छ भै’हाल्छ नि किन चिन्ता गर्नु हुन्छ !”

यस्ता ‘भै’हाल्छ नि’ कति छन् छन् हाम्रो वरिपरि । विदेशमा भा’को बुढोलाई भन्ने ‘भै’हाल्छ नि’ पनि राम्रै चलेकै विषय हो नेपालको लागि ।

धर्मकर्ममा पनि अचेल ‘भै’हाल्छ नि’ चलन खुबै फस्टाएको छ ।

पण्डित जी भन्नु हुन्छ – “पण्डित भनेर दौरासुरूवाल दान गर्ने विचार गर्नु भा’को छ भने ल है, त्यो छोडेर सुटको व्यवस्थातिर लाग्नु ।”

-“भै’हाल्छ नि ।”

अर्को पनि छ ।

-“लौ है पण्डित जी । अब शहरमा गाइदान भनेर कताबाट गाइ खोज्नु । यहाँ दुइचार हजार हात्तीका नोट छन् हुन्छ ? “

पण्डितजीलाई किन गाई चाहिन्थ्यो र । उहाँ भन्नु हुन्छ – “भै’हाल्छ नि यसैले भएपनि । दुनामा पैसा राखेर कुशको टुक्रो पक्रिएर पानी समाउनु होस् ।”

अर्को हुन्छ नेता र जनतामा हुने ‘भैहाल्छनि ।’

-“लौ नेता ज्यु । तपाईंलाई हामीले जिताएर पठाएका हौँ । यहाँको यति बाटो पिच गर्ने व्यवस्था मिलाइदिनु भए हुन्थ्यो ।”

-“भै’हाल्छ नि ।”

-“गाउँको पुरानो पानीको मुहान सुकेर गाउँका मान्छेलाई गाह्रो भएको छ । यसो नयाँ खानेपानी बारे व्यवस्था मिलाइदिनु हुन्थ्यो कि !”

-“भै’हाल्छ नि ।”

नेताज्युले शहर आएपछि विचार गर्नुहुन्छ । यहाँ एउटा सुइमिंग पुल बनाउनु पर्ला । अनि अब मन्त्री जस्तो मान्छेले के पुरानो गाडी चढ्नु, नयाँ गाडी त किन्नै पर्यो । “मेरो घर छेउमा एउटा बगौँचा बनाउनु थियो के छ त मन्त्रालयतिर ? “

कुरा त्यहि हो । “त्यो त भै’हाल्छ नि । कहाँ यस्ता कुरामा चिन्ता लिइरहनुभाको । बरू कर उठेको छ छैन त्यो पो बिचार गर्ने हो त । जनतालाई निचोरेर भएपनि लिनु त पर्यो नि ।”

यता यस्तो चलिरहन्छ ।

-गाउँमा पहिरो गयो ।

-पहाडमा यस्तो त भै’हाल्छ नि ।

-बाढीले घर बगायो ।

-पानी आएपछि बाढी यस्तो भैहाल्छ नि ।

एक समुह भन्छ ,नेताले देश बेचेर खाइसकेँ ।

अर्को समुह भन्छ ,नेपाल भन्ने देशमा यस्तो त भइहाल्छनि ।

कुरा गरेर कहाँ सकिने रै’छ र हजुर  ?

हामीले बुझेर पनि नबुझेजस्तो गरिरहेका छौँ । त्यसबारेमा बोल्नु पर्यो भनेपनि हामी भै’हाल्छ नि भन्न छोड्ने हैन । अनि केहि कुरा निस्किएपनि भनिहाल्न मन लाग्छ, भै’हाल्छ नि । यो भै’हाल्छ नि ले घर, परिवार,समाज र देश नै खत्तम भै’सकेको रहेछ ।

हतार हतार लेखर मित्रलाई जिमेल भन्ने जिनिसमा लेखलाई जिमेल गरी पठाइहालेँ । मैले जति हतार हतारमा लेखेर पठाएँ मित्रले कहाँ त्यति सजिलै हतारमा हेर्छन् भनेर म्यासेजसम्म धाउने सोच आयो । ‘लौ मित्र मैले एउटा लेख जिमेल गर्देको छु, हेर्नुहोस’मात्र के भनेको थिएँ , उनले म्यासेज गरेँ ‘भै’हाल्छ नि’ ।

उनले पढिहाले या पढेनन्, मलाइ छटपटी छ । अनि आफै म्यासेज गरेँ, “पढनु भयो त लेख ?”

“उम पढिसक्दै मात्रै थिएँ, म्यासज गरिहाल्नु भयो ।”

“अनि कस्तो छ मित्र ? यत्तिको लेखले काम दिन्छ त ?” म एक दुइ तिन प्रश्न क्रमश ठड्याइ हाल्छु ।

उनी जवाफ दिन्छन्,- “आ ! किन नहुनु  ?यति भएपछि त भै’हाल्छ नि’ !

Facebook Comments

You may also like

error: Content is protected !!