मलाई बाल ! | ढिच्क्याउँ | काव्यालय-Kavyalaya

बाल भनेको कुनै बच्चा हो कि झैं लाग्थ्यो पहिला पहिला । या कुनै सामाजिक संजालको कुनै भित्तालाई कसैले अंग्रेजी माध्यममा भन्दैछ । या कोठा भाडा भनेको हो ? कि टाउकाको कपाल पो भनेको हो ?

बुझ्नै कठिनाइ भयो । कोट्याउँदै जाँदा गनायो । कपाल त कपालै रहेछ । तर गोप्य ठाउँको पो भनेको रहेछ । जसको मतलब नै “मलाई के मतलब” हुँदोरहेछ । भन्दाखेरि त छाडा हो। तर अचेल चलन-चल्ती यस्कै रहेछ ।

फलानो दुर्गम ठाउँमा यतिजनाको समयमा अस्पताल पुग्न नसकेर । उपचार पाउन नसकेकाले मृत्यु । सामाचार छापियो । देश खायो समाचारले । समाचार छाप्ने पत्रिकाले केके खायो कति खायो आफ्नो ठाउँमा होला । मलाई बाल !

स्वास्थ्य मन्परिलाई सबैले घेरे । र्‍याख-र्‍याख्ती बनाए । जुलुस निस्कियो । नारा लाग्यो । लाज शर्म पचाए । हाँसेरै भनिदिए उन्ले पनि “मलाई बाल !”

प्रधानमन्परी त झन के टेरपुच्छर लगाउनु । उन्लाई के-को टन्टा । कि त चुट्किला सुना[दियो । कि बर्सायो डन्ठा ।

पढ्न पाइएन भनेको सुनियो कतै । मास्टर आउँदैनन् । आए पनि जाडो महिनाको घाम जसरी आउँछन् । एकछिन तताउँछन । हराउँछन् । यसरी त बिग्रेला नि देशको भविष्य । अलिअलि त पढेका जनता पनि त हुन पर्यो नि । भोलि भोट बाँड्ने बेलामा । रक्सि-मासु के-कति ख्वाउने ? आफ्नो पार्टीमा के-कसरी भोट हाल्ने ? सिकाउने मान्छे पनि त चाइयो । कि सबै नेतै हुने हो र ? यत्ति के बोलेको थिँए मैले । शिक्षा मनपरीलाई भाउन्न छुटिहाल्यो । कराइहाले,

“अरूलाई मतलब छैन, मलाई बाल !”

बाटो भएन भने कसैले । तुइनबाट दिक्क थिए कोहि । पुलको पैसा मागे । बिजुली छैन भन्दै कसैले कुम्ल्याए । मेलम्ची थाहै होला । पानी क्या त ! टेलिफोनको गुनासो । अनेक बहानामा अनेक तरिकाले अनेक मान्छेले ढुकुटी भर्दै गए । आफ्नै हौ देशको होइन । कसैले केही सोधिहाले उत्तर तयार छँदै छ, “म एक्लैले केके हेर्नु ? सक्दिनँ म त, मलाई बाल`!”

सिमाना मिचिएको मिचियै छ । सेनाका दाजुभाइ दिदीबहिनी के हेर्दै हुनुहुन्छ? सोध्छन् जनता । सैनिक भन्छ “माथिबाट आदेशै आएको छैन”। माथि फर्किएर थुक्यो आफ्नै मुखमा छिटा । भो नथुकौँ । चल्न दिऊँ । हामीलाई बाल !”

भोक लाग्यो ! भन्दै कराउँछन् फेरि कोही । चुनावको बेलामा ख्वाएको मासु-भातले अघाएनौ ? उनलाई लाग्दो हो भोक पनि पाँच वर्षमा एकपटक लाग्छ । ठाडो प्रश्नको ठाडै उत्तर “जम्मै तपाईंकै कार्यकर्ताले सके नि, एक दुईजनाले चाख्नसम्म भ्याए होलान् ।”

दिएको बेला खाएनछौ । अब मलाई बाल ?”

“प्रहरी दाइ, अपराधीलाई समाउन पर्यो ।”

” समाउन त पर्ने हो । ईच्छा पनि भएकै हो । तर कानुनको हातमा आदेशको हतकडी बाँधिदिएका छन् ।”

“न्यायाधीश अंकल अपराधीलाई सजाय दिन पर्यो ।”

“अपराधी म चिन्दिनँ । अरूले चिनाएर हुँदैन । चिनाउन पर्नेले चिनाउँदैन । थोरै कमाई मैले पनि गर्नै पर्यो ।”

एकदुई दिन आँसु झर्छ । मन भक्कानिन्छ । कन्पारो तात्छ । सडक उठ्छ । सदन जाग्छ । जर्याक जुरुक ।

“ए! को हो त्यो आदेश दिने यसरी ? खुरुक्क सुध्री !”

उताबाट आवाज आउँछ “मलाई बाल !”

विरोध हुन्छ, पुत्ला जल्छ, सकिन्छ ।

फेरि उही ताल उही रमिता । बढ्दो भ्रष्टाचार । ठाउँ-ठाउँमा बलात्कार । न्यायको हाहाकार । भत्केको बाटो घच्याक घुचुक। पानी तप्ल्याक तुप्लुक । फाइलहरूमा पुल, विद्युत , विद्यालय, अस्पताल । भोकले लगेका दुई चार जना। सरकारी कर्मचारी उहि हो काम, कहिले जाला घाम । विदेश जानेको उत्रै लाम ।

पाँच वर्ष सकियो । फेरि उसैलाई या त ऊ जस्तैलाई भोट । रक्सी मासु एकदुई हजारको नोट । पाँच वर्षलाई पुनः आफ्नै खुट्टामा चोट ।

यस्तै ताल हो भने देश हिँड्छ एकदिन अरुकै शरणमा । अनि जोगाउनु भक्ति थापा, बलभद्रको स्वभिमान परेर उसकै चरणमा ।

ठड्याइरहनु सगरमाथाझैं नाक । फरफराइरहनु मनमा चन्द्र-सूर्य ।

ए भएन हौ यसरी । अब त कोही बोलौँ । केही बोलौँ भनेको । सबैजना व्यस्त छन् । कोही लुट्न । कोही लुटाउन ।

र भनिरहेछन् साङ्केतिक रूपमा
“मलाई बाल ?!।”

Facebook Comments

You may also like

error: Content is protected !!