वार्शन शियर र तीन कविता | VINTAGEखोज | काव्यालय-Kavyalaya

वार्शन शियर र तीन कविता :

वार्शन शियर (१ अगस्ट १९८८) एक दुर्लभ कवि हुन्, जो अफ्रिकाको युरोप बसाइँ सराइबारे खुलम्खुला लेख्न आँट गर्छिन्, भिएच वान(VH1) रियालिटी शो ‘प्रेम र हिप-हप : एटलान्टा’को बारेमा हास्यास्पद ट्वीट गर्छिन् । 

लेखक एवं पाठकहरूको प्रत्येक पुस्ताले हाम्रो जीवनमा कवितामार्फत आदर्शको चित्रण गरिरहने गर्दछन् । तर सङ्कुचनमा पारिएको क्षेत्रहरूको बारे ऊ  शोकसम्म व्यक्त गर्ने साहस गर्दैन । र, त्यही एक यस्ती कवि अनुहार प्रष्टसाथ विश्वसामू आउँछ, जो सोमाली-ब्रिटिश महिला हुन् । तर उनको कविता लेखनको छुट्टै अन्दाज-ए-बयाँ छ ।

शियर सन् २०१४ मा लन्डनको वास्तविक युवा कवि पुरस्कार (Young Poet Laureate of London)  विजेता हुन् । सोमालियाका बाबुआमाको सन्तानको रुपमा केन्यामा जन्मिएकी शियर लन्डनमा हुर्किन । युरोपको रंगीचंगी वातावरणमा बसेर उनी अफ्रिकाको अँध्यारो समाज र परिस्थितिलाई आफ्नो मनमगजमा संगालiरहेकी छन् । आफ्नो देश र आफ्ना पुर्खाहरूको संस्कृतिप्रति उनी झ्याम्मिरहन्थिन् । 

उनले एक अन्तर्वार्तामा भनेकी पनि छन्, “हरेक आप्रवासीको जीवन अतियथार्थवादजस्तो हुँदो रहेछ । एकदिन तपाईं आफ्नो देशमा हुनुहुन्छ, रमाइलो वातावारणमा झुमिरहनु भएको छ । आँपको जुस पिएर रमाइरहनु भएको छ । तर अर्को दिन नै तपाईं लन्डनमा भूमिगत जीवन बिताइरहनु भएको छ र तपाईंको बच्चाहरू एउटा नबुझिने भाषामा बोलिरहेका छन् । यो कति दुर्भाग्यपूर्ण छ

उनको ‘घर’ शीर्षकको कविताले हर पाठकलाई उत्तेजित पार्ने गर्दछ- एक उदासीन उत्तेजना । उनको आफ्नो विगत पनि सोही कविता जस्तो छ । उनको आमाबाबु, हजुरबा हजुरआमा, काका-काकी अझै पनि त्यही जीवनचर्या बाँचिरहेका छन् । 

पचास हजार ट्विटर फ्लोअर्स र त्यस्तै संख्याका टम्बलर पाठकहरूको माया संगालिरहेकी एक प्रशंसनीय युवा कवि शियर आफ्नो पुर्खा र जन्मभूमिको कल्पनामा हराइरहेकी हुन्छिन् ।

सन् २०११ मा शायरले टिचिङ माइ मदर हाउ टु गिभ बर्थ (Teaching My Mother How to Give Birth) प्रकाशित गरिन् । जहाँ, कविताहरूको अतिरिक्त  कामुकता, बुद्धिमत्ता र शोकको छ्यासमिसे कोलाजहरू छन्।

“मसँग मेरी आमाको मुख छ र मेरो बुबाको आँखा छन्,
मेरो अनुहारमा तिनीहरू अझै एकसाथ छन्।” – उनले संग्रहमा लेखेकी छन् ।

‘सौन्दर्य’ नामक कवितामा  उनी कसैकी दिदीको बारेमा बताउँछिन्:

“कति कति रात मैले उनको कोठामा चिच्याहट सुन्ने गर्थे,
हामी त्यो आवाज भुलाउन ‘सुरा अल बकरह’ खेल्थ्यौं,
उनको मुखबाट आउने जुनसुकै कुरा यौन जस्तो लाग्छ,
हाम्रो आमाले उनलाई प्रतिबन्धित गरिसक्नुभयो ‘परमेश्वर’को नाममा । ” 

[भावार्थ : ‘सुरा अल बकरह’- कुरानको दोस्रो र सबैभन्दा लामो  च्याप्टर ]

‘तिम्रो आमाको पहिलो चुम्बन’ मा उनी लेख्छिन्;

“तपाईंको आमालाई चुम्बन गर्ने पहिलो केटाले
पछि उनैलाई बलात्कार गरे 
जब युद्ध सुरु भयो। “


प्रस्तुत छ, वार्शन शियरका तीन  कविताहरू :



१. घर 

घर किन छोडोस् कोही व्यक्ति,
तबसम्म जबसम्म घर विषालु शार्कको जिब्रो नलागोस् ?
तिमी बस्, भागिहाल्छौँ सीमापारि
जब पत्तो पाउनेछौ तिमीले
सम्पूर्ण शहर नै भागिरहेको छ
टाउकोमाथि आ-आफ्नो पैताला राखेर ।

तिम्रो छिमेकी भागिरहेको छ, तिमीभन्दा रफ्तारमा
रगतमा लात्पिएर अड्किएर रहेको छ उसको श्वास, उसकै घाँटीमा ।
त्यो केटा जसको साथसाथ तिमी स्कुल आऊ-जाऊ गर्थ्यौं,
जसले लिएको थियो विवाहको घुम्टो भाँती तिम्रो चुम्बन,
जस्तापाताको त्यो पुरानो कारखानाको पछाडि..,
उसले समाएको छ स्वयं हातमा एक लामो बन्दुक ।
तिमी बस्, भाग्न सक्छौ,
जब घर स्वयं तयार छैन तिमीलाई आश्रय दिनको लागि भने ।

कोही यसै घर किन छोड्छ  ?
तबसम्म जबसम्म घर स्वयं तिम्रो पछाडि नलागेको होस् !
पैतालाले आगोको ज्वाला नभेटेको होस् !
तातो रगत तिम्रो पेटदेखि नबगेको होस्  !
तिमीले सपनामा पनि कहाँ सोचेका थियौ र
कि कुनै दिन यस्तो पनि आउला भनेर ?

अनन्तसम्म फैलिरहनेछ तिमीविरुद्ध सन्देहहरू,
र, रहिरहनेछ तिम्रो घाँटीमा आरनको रापमा पोलिएर रातो भएको छुरा
र, त्यतिखेर पनि जतिखेर तिमी लैजानेछौ लुकाउँदै
आफ्नो फोक्सोभित्र आफ्ना मौलिक गीतहरू ।
त्यतिबेला टुटेफुटेको तिम्रो पासपोर्ट
कुनै हवाईअड्डाको शौच क्षेत्रमा, 
कागजात भरिएको मुखदेखि चीत्कार ओकल्नेछ,
यो पक्का गर्दै कि अब कहिल्यै 
जान पाउनेछैनौ तिमी फर्किएर फेरि आफ्नो घर ।

तिमीलाई सम्झना होला,
कि कोही आफ्नो कलेजोको टुक्रालाई
तबसम्म यसै धकेलिदिँदैन कुनै नौकामा,
जबसम्म पानी सबैभन्दा सुरक्षित नलागोस् उसलाई

पैताला मुनिको जमिनमाभन्दा,
कोही पनि खप्नै नसक्ने गरी सेक्न चाहँदैन आफ्नो हत्केलाहरू
रेलका डब्बाहरूभित्र, गाडीका छतहरूमा ।
कोही बिताउन चाहँदैन, आफ्नो रात र दिनहरू भोकभोकै
भोको पेटहरूले भरिएको ठूला-ठूला ट्रकहरूमा,
अखबारहरूमा खाना चपाउँदै माइलौं लामो यात्रामा निस्कन चाहँदैन कोही ।
– यो एक यात्रा मात्र कदाचित् होइन ।

कोही पनि रुघ्न चाहँदैन काँडेतारको बार फेरिफेरि,
कुटाइ खान चाहँदैन कोही,
कोही चाहँदैन कि दया देखाओस् कसैले उसमाथि ।

शरणार्थी शिविर कुनै मतदाता केन्द्र होइन ।
कोर्रा कसैलाई ठिकठाक लाग्दैन,
यो खोज्दै कि आफ्नो जीउमा
अब कहाँ कहाँ चोट लाग्न बाँकी छ ? 

जेल कसैलाई ठिकठाक लाग्दैन,
तबसम्म जबसम्म कि सुरक्षित महसुस नगरोस् जलिरहेको कुनै शहरभन्दा !
र, यदि शरण दिन्छ रातको समयमा भने पनि 

खचाखच भरिएको ट्रकहरूभन्दा राम्रो लाग्नेछैन उसलाई जेल,
जहाँ हर अनुहार उसको बाउको अनुहारसँग मिल्दछ भने पनि
कोही यसलाई सहन सक्दैन
कोही यसलाई पचाउन सक्दैन
कसैको छाला यति मजबुत हुन सक्दैन ।

आफ्नो नाम र आफ्नो परिवारलाई गुमाएर
वर्षभरि, दुई वर्ष या दश वर्षका लागि
खोज्दै कुनै आश्रयस्थल या वासस्थान,  

नाङ्गोबाङ्गो यताउता भड्कँदै गर्दा
हर कहीँ बाटोमा भेटिनेछन्- जेलहरू..
र, यदि बाँची पनि हाल्यौँ जिउँदो भने
कुन शब्दहरूले सत्कार हुनेछ तिम्रो ?

‘निस्क, निस्किहाल…,
आ-आफ्नो घर जाओ-
अश्वेतहरू,
शरणार्थीहरू,
गह्नाउने आप्रवासीहरू,
यी आश्रय खोज्दै हिँड्नेहरूले
चुसिसकेका छन् हाम्रो देशलाई
यी कंगालहरू,
यी हब्शीहरू ,
एक अजिब दुर्गन्ध बोकेर आउने जंगलीहरू,
तिमीहरूले तहसनहस पारेर छोड्यौ आफ्नो देश,
के अब  तहसनहस पार्न चाहन्छौ हामीहरूलाई पनि  ?’

‘ढेडुहरू, 
सोहोरेर जाऊ,
आफ्ना काला चाक र पुट्ठाहरू यहाँदेखि  !’
उनीहरूको आवाज तब पनि मुलायम हुनेछैन
जब उनीहरूको आवाजको थर्काहटले चोइटिओस्,
तिम्रो-हाम्रो कुनै पनि एक अंग ।

के यी आवाजहरू अधिक चिसा छन् ?
ती चौध व्यक्तिको मृत शरीरभन्दा ?
जो च्यापिएका थिए तिनीहरूकै तिघ्राको चेपमा ।
या यसप्रकारको अपमानलाई चुपचाप घुट्काउनु अधिक सजिलो छ,
सडक-एवं गोरेटामा तितरबितर भएका पत्थरहरूभन्दा  ?
वा हाडखोरहरू भन्दा ?
या हाम्रा बच्चाहरूको शरीरभन्दा,
जो बाडिएका छन् टुक्रा-टुक्राहरूमा ?

म घर जान चाहन्छु;
तर घर त कुनै विषालु शार्कको जिब्रो हो,
बन्दूकको नाल हो घर ।

र, कोही पनि तबसम्म घर छोड्दैन,
जबसम्म घर स्वयं  खेद्दै आउनेछैन उसलाई
समुन्द्रको आखिरी किनारासम्म ।
जबसम्म घर आदेश दिन विवश हुने छैन;
‘आफ्नो पैतालाको रफ्तार तेज गर,
छोडेर भाग आफ्नो लत्ता-कपडाहरू, 

चार हातपाउले घिस्रँदै पार गर मरुभूमि,
महासागरहरूमा हाम फ्याल,
डूब त्यहीँ,
पौडेर बाहिर निस्क,
भोकभोकै मर,
भीख माग,

बिर्स- आत्म सम्मान, मान-सम्मान,.,
यतिबेला तिमी जिउँदो रहनु नै सबैभन्दा जरूरी छ ।’

कोही पनि घर छोड्दैन तबसम्म 
जबसम्म घर कानमा साउती मार्दै सानो स्वरमा पिल्पिलाउँदैन, 
‘जाऊ,
म बाट निकै टाढा जाऊ,
मलाई पत्तो छैन के बनिसकेको छु म,
तर यत्ति चाहि मलाई थाहा छ कि
दुनियाँको कुनै पनि किनारा
सुरक्षित नै होला मभन्दा ।’



२. दुःखी कदापि छैन म

दुःखी कदापि छैन म,
तर त्यो केटो
जो खोजीमा निस्किरहन्छ,
दुखी केटीहरूको
हमेशा भेट्टाएरै छोड्छ मलाई ।

केटी होइन म,
अब त म बिल्कुल होइन,

र, दुःखी ? कदापि छैन म ।

तिमी देख्न चाहन्छौ मलाई
एक कारुणिक पृष्ठभूमिसहित
ता कि आफूलाई भेट्टाऔ तिमी,
ज्वाजल्यमान, चैतन्य या ज्ञानी !

र, देख्नेहरू तिमीले सुन्ने गरी यो भनुन् कि,
‘क्या बात, यो केटो हदभन्दा ज्यादा दयालु छैन ?
जो प्रेम गर्छ एक यस्तो केटीसँग
जो हरहमेशा दुःखी एवं कमजोर देखिन्छे ?”

तिमी चाहन्छौ कि बनूँ म
रातको गाढा अँध्यारो आकाश
ता कि तिमी बन्न सकिरहौ चम्किरहने तारा ?

याद रहोस,

निगल्ने छु,
तिमीलाई सम्पूर्णतः … !



३. त्यसपश्चात त्यो रात :

त्यसपछि त्यस रात
मैले आफ्नो काखमा एउटा एट्लस राखेँ 
आफ्नो औंलाहरू दगुराए वरपर 
दुनियाँको तमाम किनाराहरूसम्म
र, सुस्तरी फुस्फुसाउँदै सोधेँ उसलाई,
‘कहाँ कहाँ घाउँ भएको छ ?
कहाँ कहाँ दुखेको छ ?’

उसले जवाफ दियो,
“हर ठाउँमा
हर ठाउँमा
हर ठाउँमा ।”



(खोज, संकलन, अनुवाद : राजु झल्लु प्रसाद )



 

Facebook Comments

You may also like

error: Content is protected !!