विसर्जनाभिमुखी

कुनै समय थियो (अस्ति जस्तै लाग्छ), भक्तपुरको कुनै (नाम नखुलाए पनि हुने) टोलको मन्दिरछेउको गल्लीमा एउटा दाह्रीवाला केटो थियो । चिया पसलमा घण्टौं झोक्राएर बस्ने त्यो ‘तक्लु’ केटो सायद ‘मिनिएचर’ दार्शनिक थियो ? अथवा त्यो थियो कुनै कवि, जो ‘डिप्रेसन’ को सुरुवाती चरणमा घस्रेर हिँडिरहेको थियो ? मान्छे यस्तै भन्छन् ! कुरा उसैको मात्र होइन हाम्रो पनि हो, तर पनि उसैमा केन्द्रीत छ ।

बिहानै टोलको चक्कर लगाएर चिया पसलमा भेला हुने नियमित मान्छेको भीडमा दाह्रीवाला पनि पर्थ्यो । माघे बिहान, ठीकै चिसो । छेउमा चिया उम्लिरहेको छ । साँझ यहाँ मदिराको नशामा यिनै भद्र मान्छेहरू अर्कै हुन्छन् – दाम्लो-फुकुवा वस्तु झैं उन्मुक्त । बिहान यहाँ निःशुल्क पत्रिका पढ्न पाइन्छ। जग्गाको पछिल्लो भाउ, भ्रष्टाचारको पछिल्लो ‘अपडेट’, ठेक्कापट्टाको सदाबहार रमाइलो गफ, र ‘लोकल विद्वान्’ को राजनीतिक विश्लेषण सुन्न पाइन्छ । देशका हजारौं अरु टोलजस्तै यो सानो रङ्गमञ्चमा भर्खर, हिजोकै ‘धर्म बिक्रेता’ (दाह्रीवालाकै शब्दमा) भाइ आइपुग्यो । सुकिलो, हँसिलो, सधैँ टाइ लगाउने सत्र वर्षीय भाइको नाम चाहिँ साँच्चै कसैले अहिलेसम्म सोधेको पनि छैन । सधैँजस्तै मुसुक्क हाँसेर हात उचाल्यो । सबै उसको कुरालाई हाँसोमा उडाउँछन् किनभने ऊ बौलाहाको शैलीमा एउटै कुरा भन्छ, “फलानो मात्रै सच्चा ईश्वर हुनुहुन्छ ।” आजकल कसैले उस्तो वास्ता पनि गर्दैनन् तर पनि ऊ आइरहन्छ, ‘फुच्चे पादरी’ धेरै बोल्छ र जान्छ । प्रायः दाह्री र म बसिरहेको टेबलमा बस्छ । दाह्री लामो हाइ गर्छ, मुखबाट बाक्लो बाफ उडाएर, मौन बसिरहन्छ ।

राजनीतिक हल्लाको अनवरत पार्श्व-ध्वनी बीचमा, दाह्रीभित्रबाट बाक्लो आवाज निस्किन्छ,
“All weak seeming people are at risk of conversion by proselytizing groups of deluded fanatics!”
“हजुर? नेपालीमा भन्नुहुन्छ कि दाइ ?” टाइवाला धर्मव्यापारी भाइले (हत्तेरिका !) हतारमा बोलिहाल्छ । दाह्रीवाला रिसाएन, बाँचियो ! थोरै बोल्ने, सत्य बोल्ने मान्छे भयानक हुँदैन र ?
दारीवाला हाँस्दै बोल्यो, टेबलमा हात टेकेर सिधा बस्दै, “हेर्दै कमजोर देखिने सबै मान्छे जोखिममा रहेका छन्; धर्म रुपान्तरण गराउने भ्रमित अतिवादीहरुको जोखिममा ।” उठेर फ्यात्त थुक्यो, पर्दा खोलेर।

दाह्रीवाला- “तपाईंलाई यो देशको संविधान पढाइन्छ ?”
टाइवाला- “.. किन दाइ ? संविधानसँग हाम्रो के सम्बन्ध ?”
दाह्रीवाला- “नेपालको संविधानले धार्मिक स्वतन्त्रताको हक स्थापित गरेको छ । तर अर्को कुनै धर्म मान्ने मान्छेलाई आफ्नो प्रभावमा पारेर धर्म रुपान्तरण गराउने काम, जुन तपाईंको जागिर हो, माफ गर्नुहोला अपराध भनेर परिभाषित गरेको छ । सजायको व्यवस्था समेत गरेको छ !”

टाइवाला फुच्चे पादरी अँध्यारो अनुहार लिएर हिँड्यो ।

***

यस्तै धेरै भोलिहरू । आउनुहोस्, एकछिन  भलाकुसारी गरौँ भनियो । हुन्छ त्यसै गरौँ न त, भनियो। ‘धर्मव्यापारीको दलाल’ भन्दा नमीठो सुनिएला कि? भनेर दाह्रीवालाले ‘प्रोजलटाइजिङ्ग एजेन्ट’ अर्थात् पि. ए भन्दा हुन्छ नि ? भनेर सोध्यो । टाइवाला मक्ख परेर ‘भैहाल्छ नि हजुर’ भन्दै धैरे चोटी मुस्कुराइरह्यो ।

पि. ए- “मानौं परमेश्वर र प्रभुको नाममा तपाईंलाई आफ्नो विगतका वर्षहरुमा फर्केर पुनः ती क्षणहरु ताजा अनुभव गर्न दिइन्छ । तब तपाईं के गर्नुहुन्छ ?”
दाह्रीवाला- “तपाईंको प्रभुलाई किन बीचमा ल्याउने ? मलाई आफ्नो विगतबाट केही पनि फेरि अनुभव गर्नु छैन । हो, म हिजोको रिजल्ट बाँचिरहेको छु । सपना र एकांकी क्षणहरुमा म विगतमा विचरण गर्न रुचाउँछु पनि । तर फेरि दोहोर्याएर किन बासी खुशी हुने ? किन बासी रुने ? अहिले ताजै हाँस्ने, ताजै दुःखले डामिने नि ! तपाईं बासी कुरा बेच्ने, उपभोक्ताको स्वास्थ्य धरापमा पार्ने टाइपको मान्छे हो कि, शंका लाग्यो ! पछाडि जाने होइन भने त्यता नहेर्दै ठीक । होइन ? हो नि । कसो ?”
पि. ए- “तपाईलाई आफ्नो भविष्यलाई अहिल्यै देख्ने मौका दिइयो भने नि ?”
दाह्रीवाला – “सरी, म भविष्यमा त्यति विश्वास गर्दिनँ । भोलि हुँदैन । इतिहास आफूलाई दोहोर्याइरहन्छ- वियोगान्तको रुपमा, घिनलाग्दो प्रहसनको रुपमा… एक मिनेटपछि म के सोच्दै हुनेछु मलाई अहिले नै थाहा पाउनु छैन । तपाईं मेरो डर, खयाली उडान, छटपटी मबाट नखोस्नुस् न प्लिज ! मलाई अज्ञेय र अज्ञात भोलिको ‘एड्भेन्चर’ र ‘सस्पेन्स’ बाट वन्चित गर्ने झूर कुरा नगर्नुस् न यार ! जीवन अद्भुत र आकर्षक छ, मात्रै यस कारण कि हामीले थाहा नपाउनुपर्ने कुरा थाहा पाउँदैनौं ।”
पि. ए.- “कुनै समय तपाईं कट्टर क्रान्तिकारी हुनुहुन्थ्यो । समाजको पूर्ण ‘युटोपियन’ रूपान्तरण गर्न चाहनुहुन्थ्यो होइन ?”

(पि. ए. विषयान्तर भयो तर दाह्रीवाला रिसाएन)

दाह्रीवाला- “बैंसमा स्याल पनि बाघ हुन्छ । एकबारको जुनीमा दुईवटा कुराको जकडबन्दी हुन्छन् युवा हृदयहरु – क्रान्तिकारी तृष्णा अथवा रुमानी प्रेम । – भन्दै थिएँ, यौवनमा प्रेममा नफस्ने लठ्ठक सायद क्रान्तिको सेडक्सनमा पर्छन् । यसमा कुनै नयाँपन छैन । छ त प्रिय प्रश्नकर्ता पि. ए ? क्रान्तिको खेती यहाँ धेरै भइसकेन र ? र, अझै पनि बाँकी नै छ – निर्णायक क्रान्ति ! उफ् ! “
पि. ए.- “छैन छैन । तर एकाएक आध्यात्मिक भूत चैं तपाईमा कसरी चढ्यो त? (ङिच्च!) तपाईं त धेरै आध्यात्मिक मनुष्य हुनुहुन्छ रे नि ? कृपया यो पनि पढ्नुहोस् न !” (आकाशे रङको सुन्दर गाता भएको मोटो पुस्तक मायाले अगाडि बढाउँदै) यो पढ्नुभा’छ ? संसारका सबै समस्याको समाधान केवल यस्सैमा छ, ख्याल गर्नुपर्ने मूल कुरो नै यै हो, दाजु !”
आफ्नो स्कृप्ट पढेर अरुको अनुहारमा त्यसको प्रभाव हेर्दै गरेको अभिनेता झैँ ऊ ठूलो आँखाले हेरिरह्यो । दाह्रीवाला शान्त हेरिरहेको छ । हात बाँधेर बिस्तारै ।

दाह्री- “जीवनको वाहियातपन, संसारको असंगत दुःख र अन्यायको चौतर्फी शासन देखेपछि म उदास भइदिएको मात्र हो । खासमा बाइबल पनि त्यही सद्भावनाका साथ पढेको छु, पुरानो युगको जीवन दर्शनको कवितात्मक लयमा झुमेर अहिलेको कुरुपता क्षणिक बिर्सिन, जसरी कुनै पनि गौरवग्रंथ पढिन्छ ।”

यस्तो संवादको के अर्थ हुन्छ, थाहा नपाएर अधबैँसे पसले आँखामा तनाव ल्याएर हेर्दै हुन्छ । दाह्रीवाला कहिलेकहीँ यस्तो पनि भन्छ, ‘विरोध ओइलाएको मान्छेमा हिंसा निदाइरहेको हुन्छ।’ र, हाँस्छ सबैलाई जिल्याएर ! कतिपय यस्ता वाक्य बोलिसकेपछि ऊ भयानक लाग्दछ हामीलाई । खासखुस गरिरहेका हुन्छन् बूढाहरु, ‘दाह्रीवाला भाइ माओवादीे हो’ , ‘अराजक हो’, ‘पढेलेखेको मूर्ख हो’ इत्यादि ।

पि.ए. आजकल आफ्नो समूह लिएर गाउँका कन्दराहरूमा गइसक्यो समाजसेवा गर्न । भन्छ, सरकार नपुग्ने दुर्गम गाउँमा गइसके उसका समूह । दाह्रीवाला पिच्च थुक्दै हाँस्थ्यो त्यसको उल्लासवाणी सुनेर । दाह्रीवाला कहिलेकाहीं निकै उदास भइदिएर रुन्चे स्वरमा भन्ने गर्छ, “कुनै पनि समाजलाई पूर्ण रुपमा ध्वस्त पार्नु छ भने त्यसको धर्म-संस्कृतिमा फूटको बिउ छरिदिनु पुरानो साम्राज्यवादी चलाखी हो । बुझेर बुझ पचाउने शासन छ देशमा ! विचरा हामी !”

भन्थ्यो,
‘पचास सालतिर पश्चिमाहरु बाइबल लिएर नेपाल पसे । ठीक यहाँ हिंस्रक विद्रोह सुरु हुँदै थियो । यहाँका सोझा मान्छेलाई त्यो विद्रोहले आफ्नो पक्षमा ल्याउन राजनीतिक हतियारको रुपमा हिन्दु धर्मको विरुद्ध तर्कहरू पेश गर्न थाल्यो– शोषणको कारण नै हिन्दू धर्म हो भन्यो । भन्यो, जातीय विभेद नै हिन्दू धर्मको कारणले हो । भन्यो, संस्कृत भाषा नै हिन्दू धर्मको आधार हो, यसलाई अन्त्य गर्नुपर्छ । अनि भन्यो, हिन्दू धर्मको टाउको नै राजा हो, यसलाई फाल्नुपर्छ !

एकातिर नेपाली समाजको हिन्दू आधार भत्काउन थालियो, अर्कोतिर ईसाई धर्मव्यापारीको लागि समाजसेवाको बहानामा ठाउँ खाली बनाइयो । ईशाई धर्म पश्चिमा बलिया देशको लागि राजनीतिक हतियारको रुपमा प्रयोग भइरहेको खै देखेको ?

उनीहरू आए । मिती नाघेर काम नलाग्ने विचार र वस्तु बेच्ने सस्तो बजारको निरन्तर खोजीमा, नयाँ साम्राज्यवादी सञ्जालको प्रयोग गर्न । कसरी ? दोस्रो विश्वयुद्धमा जति निर्दोष बालबालिका, वृद्धवृद्धा र युनिभर्सिटी पढ्ने आम युवाहरू मारिए, त्यसले हरेक मान्छेको हृदयबाट ईसाई ईश्वरको कथित् असलपन विरुद्ध न्यायिक प्रश्न तेर्सायो । ईश्वरप्रतिको पुरानो आस्थाको जग मज्जाले हल्लियो । हिटलर ‘यातना-क्याम्प’ को कुनै भित्तामा कुनै निर्दोष यहुदीले मर्नुअघि लेखेको ‘यदि कहीँ ईश्वर छ भने त्यसले मसँग माफी मागोस्’ भन्ने वाक्यले घोषणा गर्यो “नैतिकताको आधार बनेको ईश्वर मरिसक्यो । जब त्यहाँ बिकेन, यहाँ बेचिरहेका छन्- तिनको ईश्वर !”

आजकल टोलमा महायज्ञ हो कि सप्‍ताह चलिरहेको छ । दाह्रीवाला ‘भागवतगाथा’ सुनेर मुसुमुसु हाँसिरहेको हुन्छ । भन्छ, “संविधान वाचन कार्यक्रम किन गर्दैनन् यिनीहरु ?” अस्ति नै चुनावको सभाहरूमा पनि पर बसेर यस्तै गरी पिच्च थुकेर मुसुमुसु गरिरहेको थियो । भन्थ्यो, “तीसौं वर्ष एउटै कुरा बोलेको पनि नबुझ्ने थुक्क हामी ! तीसौं वर्ष बोलेको एउटै कुरा पनि व्यवहारमा लागु नगरेको देखेर पनि अझै ताली पिट्ने थुक्क हामी !”

राजनीतिक कुरा कसैले सोध्यो भने दाह्रीवाला भन्थ्यो, “अबको क्रान्ति हरेक प्रवृत्तिको म्याद नाघिसकेको मगजमा ‘ख्याक्क थुक्क!’ गर्नु हो !” अनि मातेको मान्छे जस्तै चिच्याएर हाँस्थ्यो ।

***

साँझ धुम्म आकाश थियो, पानी परिहाल्ला जस्तो ।
उसलाई कहीँ जानु छैन । त्यसैले हिँडिरहेको छ । यस्तै मौसममा गहिराइमा लुप्त स्मृतिहरु सतहमा उत्रन थाल्छन् । ‘स्मृति’ शब्दसँग नतमस्तक हुन्छ । शब्दहरुको अनुहार हुने भए स्मृति पक्कै पनि सुन्दर हुनुपर्छ। पुराना सम्झनाहरु, यादहरु, सुइराहरु, तीरहरु, भालाहरु, तोपहरु, दुश्वप्नहरु उसलाई अपराधी साबित गर्न खोज्छन् । मलामी, शनिग्रस्त यादहरू लखेटिरहेछन् उसलाई कुनै कैफियत, वाहियात अपराधमा साबित गर्न । मगजभरि अविरल मनोवाद खप्दै हिँड्छ, “हिजो म अर्कै मान्छे थिएँ । समेटिएको थिएँ । खुशी थिएँ । उत्सुक थिएँ । ममा न्यानो आगो थियो । आँखाले सौन्दर्य देख्न सक्थ्यो । अहिले म भत्किरहेको छु । उदास छु । चिसो छु । निभ्दै छु । साँझ बिहान सुन्दर छैन । कविता छैन । धून छैन । रंग छैन । केके छैन छैन ।”

अकस्मात् यो दश वर्ष पुरानो साथी ? गुरु ? मास्टर ? सन्न्यासी ? आदि भेटिन्छ । पानी ओइरिन थालेकोले उसलाई मदिरा भोजनालयतिर लैजान्छ । ‘फरेस्ट गम्प’ झैं, ‘wu wei wu’ भएर ऊ पस्छ र पृष्ठभूमिबेगर प्यालामाथि प्याला रित्याएर आफ्नो रित्तोपन हेर्न थाल्छ, टोलाएर, घरि नियालेर । मगजभरि मनोवाद ओइरीरहेछ, “मेरो रित्तोपन, ‘माइ प्रेसियस्, माइ प्रेसियस’ ! चित्ताकर्षक मेरो रित्तोपन ! चित्ताकर्षक मेरो शून्यता !.. नशालु यो खालिपन !..” पछाडि बसेर हल्ला गरिरहेका चार जना ‘टिनेजर्स्’ लाई ब्रुस लीले झैं बिजुली-चम्काइमा कुटेर चिच्याउँछ, “मलाई छोइस् कि खरानी । म निभेर सकिन लागेको भर्भराउँदो आगो । नछो । नचला । नत्र खरानी !” बौलाएको मान्छेसँग देउता, देउवा, परचन्ने, कोको त थर्थरी हुन्छन् भने दलाल टाइपका तिनीहरू पुलिस बोलाउने हल्ला गर्दै हराए ।

साथीको नशा उत्रियो । ट्वाँ परेर टोलाइरहेछ । दाह्रीवाला निरन्तर बोलिरहेको छ आफैँसँग, “म खत्रै बलियो रै’चु रे ! वर्षौंको आक्रोश जम्मा भएकोले होला । अझै चार जना आए पनि गोदेर हिँड्छु झैं लाग्छ । ममा कहाँबाट आयो यो पागल ताकत ? अमिताभको जन्जिर, कालिया आदि हेरेर ? या बच्चादेखि नै ब्रुस लीको कपि गरेर ? अचम्म छ बा ! आखिर कसरी ?”

स्नेही आवाजमा साथी भन्छ, “दश वर्ष अघि तिमी यस्तै थियौ । दमीत नैराश्यको गहिराइबाट आएको हो यो आक्रोश ! सोच त? हरेक मानिस यसरी दमित छ व्यवस्था विरुद्धको असन्तुष्टिले थिचिएर । प्रत्येक नागरिकले यो आक्रोश एकै पटक बजारोस् व्यवस्थाको घृणित अनुहारमा । कसरी भत्किन्छ त्यो ? कुन अत्यासलाग्दो आर्तनाद गरेर ? सोच त ?”

गिलास भरेर स्वाट्ट पार्दै साथी गम्भीर घाइते स्वरमा भन्छ, “याद छ ? तिमी कहिल्यै सुखी नहुने जन्तु हौ । तिमीले भन्ने वाक्यले मलाई अझै बिथोल्छन् । भन्थ्यौ – नीत्सेले मान्छेको स्वभाव उदांगो पारिदियो । म अब कसैलाई विश्वास गर्नै नसक्ने भएँ । भन्थ्यौ – मार्क्सको किताबमा यस्तो छ – ‘विवाह दासप्रथाको अर्को रूप हो ।’ भन्थ्यौ – खासमा सोपेनहावर मान्छेलाई घृणा गर्छन् । के म चाहिँ गर्दिनँ र ? हरेक मानिस दुम्सी हो । नजिक हुने बित्तिकै सुइराले घोचिहाल्छ । एक्लोपन र निकटताबीचको द्वन्द्व नै मान्छेको दुःखद नियति हो । न एक्लै सुख सम्भव छ, न अतिनिकट सम्बन्धमा सुख छ ।

किएर्केगार्डको धङ्धङी बोकेर कति तड्पियौ नि ! यहाँसम्म भन्यौ- किएर्केगार्डले प्रिय रेजिना ओल्सनसंग इन्गेजमेन्ट नतोडेको भए दार्शनिक किताब केही लेख्ने थिएनन् होला । म पनि पछि त्यही गर्छु ! र, पीडाको बन्दी बनेर किताब लेख्छु । उफ्! संसारमा सबैभन्दा मन पर्ने मान्छे त्यो उदास किएर्केगार्ड हो, जो रुँदै केही लेखिरहेको छ ।

के तिमीले यस्तो समेत भनेनौ र ? दोस्तोएव्स्कीको गहिरो उदासी गोर्कीको धेरै कथाहरूमा पनि पाइन्छ भनेर कसरी मान्यौ ? ‘कोनोभ्यालोभ’ कथामा असल श्रमिक युवाले आत्महत्या गर्दा तिमीले रुँदै भनेका थियौ- ‘हरेक इमानदार श्रमिकले आफ्नो जीवनसँग हार खाएर आत्महत्या गर्ने व्यवस्था खारेज गर्नुपर्छ।’ ओह! ती दिनहरू ! एकचोटि आफैँलाई हेर ।… माफ गर, तिमीले यत्तिका वर्ष के गर्यौ ? तिमी के खोज्दैछौ ?”

दाह्रीवाला करिब याचना गरिरहेझैं भन्छ-
“म के खोज्दैछु ? हेराक्लाइटसको ‘लोगोस्’, लाओत्जुको ‘ताओ’, शंकराचार्यको ‘ब्रह्म’, बुद्धको ‘निर्वाण’, मार्क्सको ‘साम्यवादी समाज’ ? होइन, म एक्लोपनको खोजी गरिरहेको छु । आजकल म समाजलाई बिर्सिन खोज्दैछु । शंका लाग्छ, बाल्यकालदेखि नै म एकान्त र स्वतन्त्रताको निरन्तर खोजीमा छु जहाँ म आफू हुन सकूँ । सभ्यताले लादेको फोहोरदेखि मुक्त श्वास फेर्न सकूँ ! सायद म घर, आफन्त, विश्वास, प्रेम खोजिरहेको थिएँ । त्यो सपनाबाट ब्यूँझनुको भयानक मानसिक धक्काले छरपस्ट छु अहिले । सायद म भरिन खोज्दैछु । सायद म नबहुलाउन खोज्दैछु । सायद म आमूल परिवर्तन हुँदैछु गुरु ! मभित्र भत्किएको एउटा इतिहासको अवशेष छ कि ? जसबाट ‘फिनिक्स’झैं म नयाँ जन्मिने संघारमा पुगेको छु । दोस्त, यो जे भइरहेछ यो के भइरहेछ नसोध । मलाई थाहा छ तर भन्ने शब्द नै छैन ।”

साथी हत्तुहैरान हुन्छ । करिब काँपेको क्रोधित स्वरमा भन्छ, “मलाई थाहा छ तिमी केही खोजिरहेका छैनौ । बस्, मेरो वाहियात प्रश्नको जवाफ दिँदै छौ ।” मान्छेहरू उनीहरूलाई अचम्म परेर क्वारक्वार्ती हेर्दै हुन्छन् ।

दाह्रीवाला मातेको अधीर लवजमा बिस्तारै भन्दै हुन्छ, “म यस्तै असंगतिहरुसंग उम्कन खोज्दैछु । तपाईंले मेरो बारेमा बनाएको धारणामा म जे हूँ, मेरो नभएको विवाहबाट नजन्मेको छोरीको नबनेको धारणामा र अहिले भत्किएको मेरो आफ्नै धारणामा कहीँ कुनै संगति छैन । म त्यही संगति खोज्दैछु छु, डियर दाइ ।”

र, जुरुक्क उठ्यो अनि फटाफट हिँड्न थाल्यो ।
पछाडिबाट चिच्याएर साथीले भन्यो, “तिमी स्वार्थी छौ । आफू बाहेक आफू बाहिर केही मतलब छैन ।”

अँध्यारोमा टक्क अडियो र पछाडि फर्कियो । ठीक उसको भारी टाउकोमाथि मौन ताराहरु टिमटिमारहेका छन्, परबाट कुकुर रोइरहेको आवाज सुनिन्छ ।

दाह्रीवालाले भन्यो, “हो, म परिभाषामा नपर्ने ‘पाखण्डी’ , तपाईं परिभाषामा नपर्ने ‘महात्मा’ । हामी उस्तै उस्तै! ‘ख्याक्क थुक्क!’ ! उस्तै उस्तै! कुरिकुरि!”

अनि दाह्रीवाला अँध्यारोमा देखिएन । मोडमा उभिएको साथीले आफ्नो आँखा पुछेर हेरिरह्यो । सुनसान गल्लीमा निकै बेर उभिएर त्यो अँध्यारो हेरिरह्यो ।
साँच्चै नै देखिएन ऊ त्यसपछि ! उसले खाली छोडेको चिया पसलको बेन्चमा अर्को कोही युवक बसिरहेको हुन्छ आजकल, मोबाइलमा गेम खेलेर । बाँकी साबिककै गतिमा चलिरहेको छ, जस्तो देशको अरु कुनै टोलको मन्दिरछेउको कुनै गल्लीमा सामान्य चिया पसलमा चल्ने गर्छ।

Facebook Comments

You may also like

error: Content is protected !!