वाङ्माचा

यो हरेक दिनको दिनचर्या । सूर्यको लुकामारी पश्चात अब अँध्यारो र उज्यालोको युद्ध हुँदै थियो, मानौँ दुबै पक्षबाट बराबर टकराव भइरहेछ । रात्रिभोजको आनन्दपश्चात बुबाहजुरको बेचैनीले गति लिँदै थियो । मस्तिष्कले चाहनाको चित्र बनाइरहेजस्तो, ओठहरु बरबराएजस्तो, ब्रेक फेल भएको गाडी ओरालोमा गुडेजस्तो । भगवानले उत्तिर्ण गर्न नसकेको परिक्षामा अझ म मामुली मनुष्य कसरी वर्णन गरूँ ?  ठिक साढे सात भयो बुबाहजुरलाई दैनिक जसो एक चिलिम गाँजा र हुक्का नगुडगुडाएसम्म निद्राले पुकार्ने थिएन । आजपनि सधैँ जसो पिँढीमा गुन्द्रीमाथि गलैँचा बिछ्याएर आसन तयार पारी, पुरानो बाघे हुक्कामा पानी फेरेर बुबाहजुरको हातमा थमाइदिएँ ।

यो हुक्काको पुरानो कहानी छ, बुबाहजुर भन्नुहुन्थ्यो “गाउँमा भट्किएको बाघलाई बिरालो बन्ने गरी धोएर पाएका हुम् ! साना कहानी होइनन्, श्री ५ ले इनाम बक्सिएको हो ।” बुबाहजुरले तानेको गाँजाको धुवाँ नाकपुर हुँदै मस्तिष्कपुरसम्म पुग्थ्यो सायद, मैले सारा ब्रह्माण्ड नै भ्रमण गर्थेँ पिँढीमै बसेर कुनै अन्तरिक्षयानविना नै । मुमाहजुर सधैँ उजुरी गरिबक्सिन्थ्यो “नानीहरु अगाडि राखेर किन हुक्का र गाँजाको मिजास लिइबक्सिन्छ ? बालखालाई क्षति पर्ने हुन कि?” बुबाहजुर नाकबाट धुवाँ निकाल्दै भनिबक्सिन्थ्यो, “ऐ भिमेकी आमा, मेरापनि मगज नचल्ने त होइनन् होला !” त्यसपछि बुबाहजुरसँग बोल्ने दुस्साहस कसले गरोस् ? म ५ दिदीपछिको एक्लो कुलरक्षक थिएँ । अझ भनुँ  भने बुढ्यौलीको उपहार ।

गाउँमा बुबाहजुर नामी हुनुहुन्थ्यो, कुनै नयाँ काम, झगडा, विवादको अन्त्यको लागि बुबाहजुरकै इजलास चाहिन्थ्यो । म बुबाहजुरको गाँजाको धुवाँले निकै आकर्षित हुन्थेँ जसरी एक पुतली फूलमा आकर्षित हुन्छ । बुबाहजुरको व्यक्तित्वपनि निकै उत्कृष्ट थियो  । वहाँ आफू गाँजाको नशामा भएका बेला पनि वैद्य र योगगुरुको रूपमा प्रस्तुत हुनुहुन्थ्यो । मलाई बिस्तारै आफू बुबाहजुरझैं बन्ने चाहना जाग्यो, मेरो जीवनका शिक्षा मैले घरबाट नै पाएको थिएँ ।अब औपचारिक शिक्षाको लागि म नेपाल जाने निर्णय गरेँ । नेपाल अर्थात्, अहिलेको काठमाण्डौँ । म करिब सोह्र वर्षको घर बसाइँपश्चात नेपाल जाँदै थिएँ  पहिलो पटक, शहरको नयाँ अनुहार बनेर ।

बसमा मलाई बुबाहजुरका ‘अर्ति’ याद आइरह्यो । गाउँले बसलाई छोड्दै गयो  तर मेरो मनलाई भने छोडेन । म शहर पुगेँ । त्यस दिन नातेदारले मेरो स्वागत सत्कार गरे । बुबाहजुरकै वर्णन त्यो दिन घरभरि सुन्न पाइयो । भोलिपल्ट थापाथलीमा बहालमा कोठा लिएँ । सबै सामान घरबाट र नातेदारले जुटाइदिए । एक थान स्टोभ र मटितेल किनेँ, खाना बनाउन लागेँ  । स्टोभको आगो हुर हुर बलिरहेको थियो, मलाई स्टोभको आगोको रापले भन्दा गाउँको सम्झनाले पोलिरहृयो । म त्यो दिन खानाले भन्दा बढी बुबाहजुरको सम्झनाले अघाएँ ।

भोलिपल्ट मैले क्यापसमा भर्ना पाएँ, अब भने क्यापस गएर पनि मेरो केही समय व्यतित भइरहेको थियो । क्याम्पसमा मैले धेरै साथीहरु बनाएँ, मलाई एक आफ्नै समकक्षी केटीसँग प्रेमभाव जाग्यो । त्यतिबेला मलाई प्रेमको चाहनाभन्दा बढी आवश्यकता थियो किनकी शहरले मलाई एक्लो बनाएको थियो । मैले हरेक रात प्रेमप्रस्ताव गर्ने अनेकौं उपाय र तर्कना खेलाउँदै बस्थेँ  । तर भोलिपल्ट, ती सब रहरहरू फुक्दै गरेको बेलुनबाट निस्केका हावाजस्तो हराएर जान्थे । कोही थिएन मनको व्यग्रता सुनिदिने  । कोठामा सुतेर एक्लै कल्पना गर्थेँ । मैले गरेको माया हावाजस्तो थियो देख्न नसकिने मात्र महसुस गर्न सकिने ।

मलाई उसको प्रेमको आवश्यकता थियो किनकी यो शहरमा मेरा मनका कुरा सुनिदिने, बुझिदिने कोही थिएन । मसँग बुबाहजुरको तस्वीर थियो जसको अगाडि  म हरेक दिन आफूलाई बसालेर तस्वीरलाई मेरो दैनिकी सुनाउथेँ ।

“बुबाहजुर ! म कसैलाई असाध्यै प्रेम गर्थेँ । भन्न सकिरहेको थिइनँ । डरको अगाडि प्रेम मौन थियो । बरु ढुङ्गा बोल्थ्यो होला, प्रेम बोलेन । मलाई एउटा साथीले विशेष जुक्ति सिकायो, ‘ज्वाइन खायो भने प्रपोज गर्न कुनै प्रब्लम हुँदैन ।’ “

‘हो त ?’ मैले भनेँ ।

‘हो’ उसले भन्यो ।

‘साच्ची हो ?’ म अझ विश्वस्त हुन खोजेँ ।

‘आम्मा कसम !’ उसले भन्यो ।

‘त्यसो भए जाऊँ हिँड्’ मैले भनेँ । किनकी बुबाहजुरको अगाडि बसेर मैले धेरै पटक गाँजाको धुवाँलाई महसुस गरेको थिएँ ।

त्यसपछि टोलछेउको मन्दिरको कुनामा लुकीलुकी मैले त्यहि साथीसँग जीवनमा पहिलो पल्ट ‘ज्वाइन’ हानेँ । चुरोटमा भरेर खाएको गाँजाले गुड ट्रिप दियो । म बहादुर प्रेमी भएँ ।

गाँजाकै सुरमा सरासर केटीलाई भेट्न गएँ । मनको कुरा भनेँ । केटीले पनि मानिहाली । हामीहरु क्यापसमा असल विद्यार्थी थियौँ । ऊ अठार वर्ष भएको त्यहि वर्षको त्यहि दिनबाट हामी प्रेमी-प्रेमिका बन्यौँ ।

डेट सुरु भयो । तर, डेट जान पनि मलाई गाँजाले दिने जोश चाहियो । म प्रत्येक डेट जानुअघि गाँजा खान थालेँ । बुबाहजुर ! त्यसरी म गाँजाको लतमा फस्दै थिएँ ।

कहिले चिलिममा भरेर त कहिले चुरोटमा । युद्धतोपका विमानमाजस्तै, कोठामा चुरोटका खिल्लीमा माल भरि हुन्थ्यो । नजिकैको पसलको चुरोट र अगरबत्ती मैले नै किनेर सकिदिन्थेँ । ‘अगरबत्ती’ कुनै पूजा आजाको लागि होइन त्यतिबेला रूम फ्रेसनरको रूपमा अगरबत्ती प्रयोग गर्थेँ ता कि घरबेटीलाई थाहा नहोस् । चाँडै नै स्थिति यस्तो आयो, म केटीलाई भन्दा गाँजालाई बढी प्रेम गर्न थालिसकेको थिएँ ।

कहिलेकाहीँ कोठामा यति धेरै धुवाँ भरिन्थो कि लाग्दथ्यो साक्षात आकाशको बादल नै कोठामा कोचिन आइपुगेको छ । त्यसैले ढोकाको चरमा पनि पुराना कपडाले टाल्थेँ । यदि कोही कोठाभित्र प्रबेश मात्र गर्यो भनेपनि सायद गाँजाको बास्नाले नै झ्याप हुन्थ्यो होला । गाँजाले मलाई धेरै अनुभव दियो कहिले भर्खरै खाएको पेट भोको हुन्थ्यो कहिल्यै विना कारण डर लाग्दथ्यो त कहिले अर्कै संसारमा भएजस्तो भान हुन्थ्यो । कहिले समय बिस्तारै चलेजस्तो हुन्थ्यो त कहिले छिटो । कहिले काम ढिलो गरेजस्तो हुन्थ्यो त कहिले छिटो । एकदिन त साथीले २ किलो मासु किनेर ल्याएको थियो हामी दुई जना मिलेर २ कसौडी भात पकाएर खाँदा पनि भोक लागेजस्तो भइरह्यो । कहिले भोकै बस्नु पर्थ्यो कहिले खाना धेरै खपत हुन्थ्यो । कहिले हाँसेर  सिङ्गो दिन जान्थ्यो त कहिले रोएरै । बुबाहजुर ! म त हजुरभन्दा निकै जेठो भएछु । म त झ्यापिस्ट भएछु ।

केटी त आँखा र ह्रदयमा मात्र थिई । तर, गाँजाको रसायन मेरा प्रत्येक अंग-अंगमा गहिरोसित सलबलाइरहेका थिए । नसानसामा गाँजाको रौनक थियो । गाँजाले मेरो नसाका प्रत्येक प्वालमा जरा गाडिसकेको थियो ।

ती दिन मलाई केटीको सौन्दर्यले कम र गाँजाको आशक्तिले बढी आकर्षित गरिरहेको थियो । मलाई बुबाहजुरको बानी देखेर पनि गाँजा खान कुनै अफसोस्, लागेन बरु म हौसिइ नै रहेँ ।

बिस्तारै म डेट जान छाडेँ । मलाई गाँजाको संसार सबभन्दा सुन्दर लाग्न थाल्यो । गाँजा खान सिकाउने त्यहि साथीले फेरि अर्को विशेष जुक्ति सिकायो, ‘गाँजाभन्दा सजिलो । चुरोटमा भर्न पनि नपर्ने । कहाँ खाने भनेर चिन्ता पनि गर्नु नपर्ने । गोटी खा  गोटी । ट्याबलेट  !’

त्यसपछि म गोट्टीको ट्रिप्समा मस्ती गर्न थालेँ । मेरो अलग संसारमा मेरा केही साथी थिए त ती हुन् कल्पना र नशा। नशाको त्यो संसारमा म त्यसरी डुबिसकेको छु भन्नेबारे म र मेरा ती साथीबाहेक कसैलाई पनि थाहा थिएन । बुबाहजुर ! तपाईंहरुलाई त थाहा थिएन नै । मेरी गर्लफ्रेन्डलाई पनि थाहा थिएन ।

दृश्यमा एकाएक ट्रेजेडी आयो । मेरो कुलत थाहा पाएपछि केटीले मलाई छाडिदिई । त्यसो त हामीबीच खासै प्रेम हुनै पनि पाएको थिएन । मैले सुरुमा बलियो गरी प्रपोज त गरेको थिएँ । तर, बुवाहजुर ! गाँजाको सुरमा गरेको थिएँ ।

केटीले जब मलाई चटक्कै छाडी, म विक्षिप्त भएँ । यद्यपि ‘बालै भएन । जुत्ता भए खुट्टा कति आउँछ कति’ भन्ने गर्थेंँ म । बुबाहजुर ! म नि स्त्रीलाई सामानभन्दा बढी नसोच्ने समाजकै एउटा बलियो हिस्सा रहेछु । तर, मेरो जमिन कमजोर भइसकेको थियो । त्यसको जगमा गाँजा र ट्याब थियो । जति जग बलियो बनाउन खोज्यो त्यति पिल्लर हल्लिरहेको थियो।

दिनहरु झन् झुर हुँदै थिए ।

म कुलतमा अझ फस्दै गएँ । तर, ममा सानैदेखि आध्यात्मिक झुकाव थियो । काठमाण्डौँको केन्द्र हनुमानढोका क्षेत्रको वातावरणमा बसिरहन्थेँ । मैले कुमारी र कालभैरवलगायत त्यहाँका अनेक मन्दिरहरु अगाडि उभिएर धार्मिकभन्दा बढी आध्यात्मिक अनुभव गर्दै थिएँ । आक्कल-झुक्कल म लोकल गाइडिङ पनि गर्थेँ । गाँजाकै सुरमा म अझ बढी आध्यात्मिकजस्तो पनि देखिन थालेको थिएँ ।

मलाई पैसाको अभाव थिएन । गाइडिङ गर्थेँ । म आफूलाई चाहिने आफै कमाउथेँ । सुरुमा त मैले घरलाई पनि भरथेग नगरेको होइन । तर, गाँजा र गोटीमा लोगेपछि मैले आफूलाई चाहिने मात्र कमाउन थालेँ । मलाई सुरुमा केटीले आकर्षित गरी । त्यसअघि मलाई पैसाले पनि आकर्षित गर्थ्यो । तर, बिस्तारै मलाई गाँजा हुँदै अब त गोटीले मात्र आकर्षित गर्न थाल्यो ।

बुबाहजुर ! म भित्रभित्रै खोक्रो भइसकेको थिएँ । तर, बाहिर कसैलाई थाहा थिएन । एकान्तमा सय  बिसामा किनेको सेकेण्ड ह्यान्ड गितार बजाउँदै कहिले अंग्रेजी त कहिले नेपाली गीत गुनगुनाउँदै म आफ्ना भावना व्यक्त गर्थेँ । खैर, सुनिदिने कोही थिएन । शहरले मलाई धेरै आधुनिक बनाउँदै थियो । तर, बुवाहजुर ! गीतमा भन्दा गाँजामा छोराको जीवन डुबिसेकको तपाईंहरुले चालै पाउनुभएन ।

मैले गाइडिङको काम पनि छाडिदिएँ । तर, पैसाको आवश्यकता त परिहाल्थ्यो । खासगरी गोटी किन्न । एक डोज लिएपछि फेरि पैसाको लालसा हुन्थिएन । तर, एकाध घण्टापछि अर्को डोजको लागि पैसा चाहिन्थ्यो । गोटीको टिपमा हुँदा आफ्नालाई पनि चिन्दैन थिएँ। त्यसपछि म पैसाको लागि पागल हुन्थेँ। मेरो अगाडिको संसार सबै स्वार्थी लाग्थ्यो ।

दिनहरु बित्दै थिए । म २२ वर्षको भएँ । मभित्रकै एउटा अर्को मान्छेले मलाई भन्न थाल्यो, “तँ गइस् । तँ खत्तम भइस् । तँ बर्बाद भइस् । तेरो अब कुनै खैरियत छैन ।”

यहि कुरा बारम्बार मेरो कानमा बजिरहन थाल्यो, ‘तँ गइस् । तँ खत्तम भइस् । तँ बर्बाद भइस् । तेरो अब कुनै खैरियत छैन ।’

मैले मुक्तिको बाटो खाजेँ । मलाई रक्सीको बास कहिल्यै मन परेन । त्यसअघि खाएको पनि थिइनँ । गाँजा र ट्याब छोड्न मैले रक्सीको साहारा लिने निधो गरेँ । नाक थुनेर मैले रक्सी पिउन थालेँ । प्यागका प्याग रक्सी नै मेरो नयाँ जीवनको शितन बन्यो।

ट्याब र गाँजा खाँदाजस्तो शान्त होइन, म आक्रामक देखिन थालेंँ । बुबाहजुर ! म, समाजमै जड्याहाको रुपमा चिनिन थालेँ । पैसाको अभाव टार्न म भयानक रुपमा प्रस्तुत हुन थालेँ । चिनेका/नचिनेका जोसुकै देख्दाभेट्दा पनि सके धेरै, नसके पाँच रुपियाँ भने पनि माग्न थालेँ । देख्नेबित्तिकै मलाई सबैले जा-जा भन्न थाले । छिछि र दुरदुर गर्न थाले ।

कुलतको दास भइसकेको मैले अँध्यारो मात्र देखेँ । मसँग कुनै आशा बाँकी थिएन । जीवनमा फेरि उज्यालो छ भन्ने मैले बिर्सिसकेको थिएँ । मेरो घरबेटीले पनि सधैँ किचकिच गरिरहन्थे । त्यहाँबाट पनि म हिँड्न पर्ने भइसकेको थियो । किचकिच पनि किन नहोस्, सधैँ ८/९ जना साथीहरू कोठामा आइरहन्थे । भाडा तिर्ने पैसा गोटी, गाँजा र रक्सीमा सकिन्थ्यो । हरेक दिनजसो म घाइते हुन थालेँ । रक्सी खाएर मातेपछि यो बोल्ने र त्यो नबोल्ने भन्ने कुनै व्याकरण मसँग हुन्थिएन । परिणाममा कहिले टाउको फुट्थ्यो । कहिले हात भाँचिन्थ्यो । मन त यसै पनि भाँचिएकै थियो ।

म हरेकजसो रात सोच्थेँ, ‘टन्न रक्सी खाएर चोभारतिर जान्छु । राती चिसोमा त्यतै सुतिदिन्छु । चिसोले गर्दा बिहान त सायद मरिसकेको हुन्छु ।’

यसरी मैले जीवनसँग हारेको थिएँ । मैले बाँच्ने कुनै आधार बाँकी देखेको थिइनँ ।

एक बिहान भर्खरै घाम लागेको थियो । किन हो ? त्यो दिनको घाम मलाई निकै मीठो लाग्यो । मङ्की टेम्पलको सिढीमा थिएँ म । मैले वाङ्माचा देखेँ । वाङ्माचा कुनै बेला यस्तो थियो, जसलाई देखेपछि मान्छेले मलाईजस्तै वा मलाईभन्दा पनि बढी छिछि र दुरदुर गर्थे । ऊ पुरै गँजेडी थियो । ट्यापे थियो । जँड्याहा थियो । तर, त्यो दिन माइलाचा अरु सामान्य मान्छेजस्तै सामान्य देखिएको थियो ।

बदलिएको वाङ्माचा देखेर मलाई अचम्म लाग्यो ।

मैले जीवनको एउटा झिनो उज्यालो भेटेँ । मलाई लाग्यो, जीवन बाँकी रहेछ । ‘वाङ्माचाजस्तै मपनि सामान्य जीवनमा फर्किन सक्छु ?’ मैले यहि मात्र सोचिरहेँ । एउटा समय थियो, वाङ्माचा आएपछि म स्वयं पनि वाङ्माचालाई परैबाट जा-जा भन्थेंँ। तर, त्यो दिन मेरो यस्तो हालत देखेर वाङ्माचाले त्यस्तो व्यवहार गरेन ।

वाङ्माचालाई देखेर मैले हारेर लडिसकेको आफ्नो मनलाई उठाएँ । र फेरि आफ्नै छातीमा टाँसिदिएँ ।

वाङ्माचा नजिकिँदै गर्दा मैले सोधेँ, ‘तपाईंको जीवनमा जस्तै मेरो जीवनमा पनि यो सम्भव छ ?’

‘सम्भव छ ।’

‘कसरी ?’

‘पुनस्थापना केन्द्रमा गएर ।’

म हारिसकेको थिएँ । कुनै उपाय नै बाँकी थिएन, मेरो चेतनामा । तर, घडी फेरिन लागेको थियो । मैले त्यो घडीको सिसामा पुरानो ‘म’लाई देखिरहेको थिएँ । जसले मलाई निम्ता दिइरहेको थियो पुरानो ‘म’ बन्न भूतकालमा फर्किन । मान्छे बन्न  ! हो, ‘मान्छे बन्न’,  तत्समय म मान्छे होइन, पशु थिएँ ।

तर, मलाई त्यति नै बेला नियमित डोज चाहिसकेको थियो । मैले वाङ्माचासँग दश रुपियाँ मागेँ । तर, वाङ्माचाले पैसा दिएन । पुनस्थापना केन्द्र लगिदिन्छु मात्र भनिरह्यो ।

त्यहाँ उसले निःशुल्क जाने व्यवस्था मिलाइदिने भयो । तर, त्यसअघि ५ सय रुपैयाँ चाहिन्छ भन्यो । मञ्जन, बुरुस, साबुन आदि किन्न ।

दश रुपियाँ कसैले नपत्याउने मलाई पाँच सय रुपैयाँ कसले पत्याउने ? कसले दिने पाँच सय ? बुवाहजुर ! मैले धरै दिनपछि तपाईंलाई सम्झेँ । अब तपाईंको नाम बर्बाद गर्न चाहँदैन थिएँ ।

* * *

मैले भोलिपल्टको गाउँको टिकट काटेँ ।  मसँग भएका प्रत्येक त्यो समान बेचेँ र पैसाको जोहो गरेँ । त्यो रात मैले बुबाहजुरको सम्झनामा सिरानी भिजाएँ । किनकी मैले बुबाहजुरका नाममा गलत कामलाई अन्जाम दिइरहेको थिएँ । म एकपल्ट गाउँ पुगेर परिवारलाई भटेर फर्किन चाहन्थेँ । भोलिपल्ट गाउँ पुगेँ । घरमा सबैजना खुशीले गदगद हुनुभएको थियो कसैले मेरो पढाइका विषयमा सोधेन, किन ? “मेरा आफ्नालाई पढाईको भन्दा मेरो असेट लागेको थियो ।” मैले साँझ बुबाहजुरलाई हुक्का तयार पारिदिएँ र आफ्ना आँखाभरि आँसु भरेर एक टकले बुबाहजुरलाई हेरिरहेँ केही नबोली, मौनताले मलाई उत्प्रेरित गर्दै थियो । कता, कता मनमा तलतल भइरहेको थियो बुबाहजुरसँग गाँजाको एक सर्को मागौँ कि जस्तो तर यो दुस्साहस म कसरी गर्न सक्थेँ र ! म त बोल्न पनि सक्दैन थिएँ, आखिर म परिवर्तन पनि त चाहन्थेँ । दुई चार दिनको बसाइँ पछि म नेपाल फर्किएँ । नेपालमा मेरो कोठा थिएन । मैले बसपार्कको एक होटलमा रात बिताएँ ।

भोलिपल्ट बिहान; वाङ्माचालाई मैले सोधेँ, “लास्ट एक पटक रक्सी खान्छु । हुन्छ ?” वाङ्माचाले अनुमति दियो । मैले एक क्वार्टर रक्सी एकै पटकमा घ्वाट्ट पारेँ ।

सुधारगृहमा पुगेपछि मैले तीन महिनाभित्रमा आफूलाई बदलिसकेको थिएँ । त्यहाँ मलाई सिकाइएको थियो, ‘दुर्व्यसनी एक पारिवारिक रोग हो , परिवारको एउटा व्यक्त्तिले सेबन गर्छ तर सम्पूर्ण परिवार पीडित हुन्छ। अब उनीहरुका लागि बाँच ।’

त्यसपछि म परिवारमा फर्किएँ । परिवारको हार्दिकताले म झनै पग्लिएँ । बुवाहजुर ! परिवारको स्वागत मेरो जीवनको अर्को उज्यालो थियो । समाजमा मलाई सबैले माया गर्न थाले । हिजो दश रुपियाँ माग्दा नदिने समाज अहिले आवश्यक पर्दा लाख, दुई लाख दिन तयार छ ।

मैले बुझेँ, न परिवार न त समाज बदलिएको रहेछ, बुवाहजुर ! बदलिएको त म पो रहेछु । आज म ठीक छु । सबै ठीक छ ।

सप्ताहन्तमा म पुरानो सुधारगृहमा गएर भोलन्टियरिङ गर्छु । कुलतमा फसेकालाई जीवनमा फर्काउने अभियानलाई म एउटा संस्था खोलेरपनि अगाडि बढाउँदै छु ।

ठमेल क्षेत्रमै मैले एउटा म्युजिकल इन्सटुमेन्टको पसल चलाएको छु र पसलको नाम ‘वाङ्माचा’ राखेको छु । आम्दानीको आधा हिस्सा तेलका पोका फुक्दै हिँड्ने र डेन्ड्रोइड सुँघ्ने सडक बालबालिकाकाको पुनःस्थापनमा खर्च गर्ने मेरो योजना छ ।

मैले रक्सी छाडेको पनि ७ वर्ष भइसकेछ । झण्डै दुई वर्षअघि बिहे गरेको म केही महिनापछि बाबु पनि बन्दैछु । र, बुवाहजुर ! तपाईं हजुरबुवा बन्दै हुनुहुन्छ। म दोस्रो वाङ्माचा !

Facebook Comments

You may also like

error: Content is protected !!