आमाको आँसु र दशैंका यादहरू | संस्मरण | दशैं विशेष | काव्यालय-Kavyalaya

“आमाकाे आँसु र दशैंका यादहरू”

“आमाकाे आँसु र दशैंका यादहरू”

दशैं आउनु
फगत मेरो लागि दशैं आउनु मात्रै थिएन
धानकाे भात खान पाउनु पनि थियाे
आमाले आफ्नाे लाज च्यातेर
स्कुलकाे नयाँ ड्रेस किन्दिनु हुन्थ्यो
म संसारकै खुशी हुन्थेँ
आज सम्झिन्छु,
म संसारकै खुशी हुँदा
आमा कति दुखी हुनुहुन्थ्यो ।

बिर्सिदिएँ,
ओख्रेबाट नुनकाे भारी बाेकेर ल्याउँदा
छरुवा बढेपछि
म किनार भएको बिर्सिदिएँ
यानेकी,
म बगर भएको बिर्सिदिएँ
बिर्सिनुपर्ने पनि बिर्सिदिएँ
सम्झिनु पर्ने पनि बिर्सिदिएँ

सबै सबै बिर्सिसकेपछि
नबिर्सेकाे एउटा समय
दशैंताका भिनाजुकाे घरबाट
दिदी माइत आउनुहुन्थ्याे
र घर फर्कने बेलामा
आमासँग दुखेसाे पाेख्दै आँसु खसाल्नु हुन्थ्यो
त्यहि आँसुकाे अर्थ खाेज्न
यतिका सालपछि
म कवि भएको छु ।

उसाे त दशैंमा टीका थाप्न राणा शासकहरूकाे आदेश पालना नगर्दा आदिवासी जनजाति राम्लिहाङ राई र रिदमा राईलाई झुण्ड्याएर मारिएकाे इतिहास जिउँदै छ । सन् १८३१ मा लिम्बूहरूकाे सुब्बाङ्गी र किपट खाेस्ने धम्की दिएर लिम्बूहरूलाई दशैं मान्न बाध्य बनाएको इतिहास आलै छ । जाेगीकाे भेषमा आफ्नाे जासुस पठाएर दशैं नमान्ने लिम्बूहरूलाई चरम यातना दिइएको इतिहास पनि ताजै छ । जब मैले यति बुझेँ त्यसपछि मैले दशैं मान्न छाेडेँ ।

तथापि, माथि कवितामा भनेजस्तै जस्तै सानाे छँदाकाे एउटा अजर याद अझै सम्झना छ ।

म सानै थिएँ । सानाे छँदा रहरहरू पनि आफूजस्तै सानाे तर मीठाे र सुन्दर हुँदाेरहेछ । आखिर सपनाभन्दा सुन्दर के हुन्छ जिन्दगीमा ?आखिररहर भन्दा मीठाे के हुन्छ जिन्दगीमा ? दशैं आउनु धेरै अगाडि नै मैले आफ्नाे रहर आमालाई सुनाएको थिएँ । दशैंमा मलाई मुमेन डामेन भएको भेष किन्दिनु ल भनेर । हामी छाेराहरूकाे रहरमा आमाले कहिल्यै हुँदैन भन्नु हुन्थेन उसैगरी त्याे साल पनि आमाले हुन्छ नै भन्नुभएको थियाे ।

मलाई अझै सम्झना छ उसबेला खेताला गर्दा दिनकाे ४ माना धान पाइन्थ्यो । बनिबुत्ताे गरेर जाेहाे गरेकाे धान ढिकीमा कुटेर थाेरै धानकाे चामल आमाले दशैंकाे लागि भनेर केही दिन अगाडि नै घैलामा लुकाउनु भएको थियाे । मैले माथि कवितामा भनेजस्तै दशैं आउनु फगत मेरो लागि दशैं आउनु मात्रै पनि थिएन । धानकाे भात खान पाउनु पनि थियोे त्यसैले म दशैं चाडै आवाेस् सम्झिन्थेँ । जब एउटा साँझ डुब्थ्याे । जब एउटा रात सकिन्थ्यो । हर रातकाे समाप्तिमा म आफ्नाे खुशीकाे नजिक पुगेझैं लाग्थ्यो ।

समय न हाे बितिजान्छ । नभन्दै मैले हर साल उसैगरी पर्खिरहने दशैं आयाे। नभन्दै आयाे मेरो रहरकाे विजयादशमी।

पूर्व फाट्याे । कटुसका रुखमा बास बसेकाा हलेसाेकाे बथान डुम्रिलाङतिरै उडि गए । खाेँगीबाट भुर्भुराउँदै आँगनमा निस्किए र माटो खाेस्रिन थाले कुखुराका चल्लाहरू । तल यवरा दाेभानबाट बहँदै आउने बतासकाे बयेँलीले सुस्तरी हल्लाइरहेछ उतिसका पातहरू । वर्षाैंदेखि उसरी नै बगिरहेको  छरुवा खाेला उसरी नै बगिरहेछ । घरबारीमा काेदाेका बालाहरू आमाकाे केशझैं फुलिरहेछन् ।

आमाले पहिरेनीबाट ल्याएकाे कमेराे र ठूली भन्ज्याङ ल्याएकाे राताे माटाेले घर पाेतिन् । साेह्र श्रृङ्गार मेक अपमा सजिएकी कुनै सुन्दर युवतीझैं सुन्दर देखिन्छ बाउकाे काँधमा अडिएझैं गरेर अडिएकाे हाम्रो सानाे चीमकाे घर ।

त्यसपछि, आमाले तल्सिङ् घरबाट ल्याएकाे अँधिया सुङ्गुरकाे २ वटा बुच्चाहरू बेचेर हाम्रो रहरकाे लुगा र भुटुन मसला किन्नु भनेर सुङ्गुरकाे बुच्चा पाठाहरू बाेकेर शुक्रबारे हटिया हिँड्नुभयो । म पनि आमासँगै आमाकाे पछिपछि गएँ । शुक्रबारे हटिया पुग्यौँ आमा र म । आमाले हटियाकाे माथिल्लो छेउकाे वरकाे फेदमा सुङ्गुरका पाठाहरू बिसाउनुभयाे र व्यापार थाप्नुभयाे । हामी रुँगेर बसिरह्याैँ । छेवैमा मालबासेबाट जाँड बेच्न आएका थिए केही लिम्बूनीहरू । ऐंसेलुखर्कबाट उक्लिएका केही तन्नेरीहरू मस्किँदै जाँड पिएर मातिसकेका थिए । माथि लेकबाट निगुराे र आलु बेच्न आएका लेकालीहरू छेवैमा थिए । मान्छेहरूकाे आवतजावत पनि उतिकै थियाे । अलिक मुन्तिर जुलाफी र समाेसा बेचिरहेका थिए काेही । मेरो मुख रसाइसकेकाे थियाे । मैले आमालाई समाेसा किनिदिनु भनेँ, आमाले पाठाहरू बिक्री भएपछि भन्नुभयाे । मैले मुन्टाे हल्लाएँ । 

दिन ढल्दै गयो  । पारी ताङ्खुवा डाँडामाथि घाम ओर्लिदै जाँदै थियाे । हाट भर्न आएकाहरू फर्किन थाले । सायद मातेकाे थियाे हाेला गाला राताे पार्दै फर्किँदै थिए गाेस्वालाहरू । अघि मस्किँदै जाँड खाने तन्नेरीहरू पनि फर्किसकेका थिए । निगुराे बेच्न आएका लेकालीहरू पनि उकालाे चढे । स्थानिय पसलहरू बन्द हुँदै गयाे । मैले हेरिरहेको समाेसा दाेकान पनि बन्द गर्न लागेकाे थियो । केही फाट्टफुट्ट हाेटलहरू मात्रै बाँकी थियाे बन्द हुन । बिडम्बना हाम्रो सुङ्गुरका पाठाहरू बिकेनन् । आमाकाे मुहार मलिन र निराश देखिन्थ्यो । हामीले मुमेन डामेन भएको भेष किन्न सकेनौँ जाे मेरो रहर थियाे । हामीले भुटुन मसला पनि किन्न सकेनाैँ जाे हाम्रो घरकाे आवश्यकता थियाे । आमाले पाठाहरू उठाउनु भयाे र मेराे हात समातेर ऐंसेलु पानी हुँदै ठूली भन्ज्याङ ओरालाे लाग्यौँ  । यसरी हामी घर रित्तै फर्कियाैँ । मैले सानै भए पनि आमाकाे खिन्नता र निराशा बुझेँ क्यारे मैले फेरि दाेहाेर्याएर आमालाई पिराेलिनँ ।

घर आइपुग्दा झमक्कै भइसकेको थियाे । घरमाथिकाे थुम्किमा एकै स्वरमा कराइरहेका थिए झ्याउँकरीहरू । बा थान्कुमान्कु गर्दै हुनुहुन्थ्यो । चल्लाहरू खाेँगीमा राखेर जाँताे छेउमा राखिसक्नु भएको थियोे । सुङ्गुरलाई फाक्चा दिइसक्नु भएको थियाे । गाउँमा दशैं भित्रिसकेकाे थियाे । राेटेपिङ डाँडामा राेटेपिङ कराएकाे रहर लाग्दाे सुनिन्थ्याे । मलाई पनि तुरुन्तै दाैडिएर जान मन नलागेको कहाँ हाे र ? काेही लिङ्गेपिङ मच्चिमच्चि मच्चाउँदै थिए ।

सुङ्गुरकाे दुईवटै पाठाहरू फर्काएको देखेर बा’ले साेध्नुभयाे । बिकेन ? आमाले खिन्न हुँदै उदास स्वरमा भन्नुभयो,  अहँ, बिकेन । बा माैन हुनुभयो । अगेनाेमा धिपधिप आगाे बलिरहेकाे थियाे । बा’ले एकछिन पछि भन्नुभयो यसपाली पनि गाउँकाहरूले हामीलाई मासु भाग लगाएनछन् । आमा केही बाेल्नु भएन । छाेराहरूकाे रहर पूरा गर्न सकिनँ सम्झिन् कि कतै ? गाउँलेहरूकाे हेला सम्झिन् कि कतै ? खै के सम्झिन्, आमा अचानक पाेखिइन् । बर्खायाममा उर्लिआउने यवरा खाेलाझैं आमा निकैबेर बगिरहिन् । आमाकाे आँसुसँगै म पनि थाहै नपाई निकैबेर बगेछु र बग्दाबग्दै निदाएछु ।

जसैकारण हरेक साल दशैं आउँदा म मेरो आमाकाे आँसु सम्झिन्छु । बाउकाे खिन्नता सम्झिन्छु । त्यसैले पनि दशैंप्रति मेरो माेह एउटा भ्रम मात्रै हाे सम्झिन्छु ।

 

Facebook Comments

You may also like

error: Content is protected !!