धैरै पहिले,
जब म बालक थिएँ तब आफ्नै सोचाइको तीक्ष्णताले चकित अरुलाई केही भन्न चाहन्थेँ। जति जे भन्थेँ, भन्न चाहेको कुराको अनुपातमा त्यो अत्यन्त न्यून र भन्ने उत्कण्ठाको ऐँठनको तुलनामा त्यो अति छुद्र एवं निरिह नै लाग्थ्यो। ठीकसँग व्यक्त नहुने र अरुद्वारा नबुझिने। ठीक त्यही बेलादेखि भन्न नसकेका कुराहरू बारे निरुपाय ध्यान दिन थालेछु। समयको बहावमा आज भुलिसकेको त्यो कुरा के थियो? थाहा छैन, तर भन्ने उत्कण्ठा भने अलिकति यहाँसम्म आएछ, यद्यपि भन्नुपर्ने कुराभन्दा नभन्नुपर्ने कुराको नै आवश्यकता छ, फजुलको समस्या पन्छाएर सजिलो बाँच्नको लागि। डायरी, क्यानभास वा गिटार समातेर आफूलाई खोतल्दै ओकल्नुको रहस्यमय अनिवार्यतामा परेका, बाल्यकालमा प्रशस्त एक्लोपनसँग परिचित भएका मान्छेले नै यो कुरा थाहा पाउँदा हुन्।
बाढीझैं उर्लिने अप्रिय घटना र मान्छेका अविश्वसनीय विविधतायुक्त दुष्टताले (अलिकति नै भए पनि) छोइने जोसुकैले कहीँ न कहीँ यो सोचेकै हुन्छ- जीवन या संसार निस्सन्देह राम्रो कुरा होइन। आफ्नै मनलाई आफैँले हेर्न सक्ने मान्छेको चेतना तलाउमा जोडले फालिएको ढुङ्गाले झैं तरङ्गहरूमा मृत्युपर्यन्त छटपटिरहन्छ। सोच्छ- आफू यहाँ हुनु भन्दा नहुनु निको। चेतनाको मूल्यसँग साटिएको अस्तित्व कुनै प्रकारको सजाय पो हो कि? किनभने, यसले छुने बित्तिकै केही न केही, कतै न कतै, कुनै प्रकारले दुख्न थालिहाल्छ। तर खुलेर उसले यो कुरा अरुलाई त के आफैँसँग पनि हत्तपत्त भन्ने आँट नै गरेको हुँदैन। यसदेखि भाग्नुमा नै आफ्नो र अरुको कल्याण छ। तत्कालका प्रिय मान्छेहरुलाई अनायासै अप्रिय चिन्ताको गर्तमा धकेल्नुको नरमाइलो अनुभूतिबाट पलायन हुनपनि यस्ता कुरा भन्न सकिँदैन। मान्छेलाई निराशाको अँध्यारो अनुहारले तर्साउँछ, र सशंकित बनाएर पन्छाउँछ। आशाको उज्यालो मुहारमा फैलिएको मुस्कानले नै विश्वास जगाउँछ, सुरक्षित महसुस गराउँछ र आकर्षित गर्छ । वास्तवमै हँसमुखेहरुकै हो यो संसार!
सम्भावित दुष्टताको कल्पनाले मन्द त्रसित मान्छे मनैमन, बाँचिरहेको भन्दा राम्रो जीवन र भोगिरहेको भन्दा राम्रो संसारको कल्पना गरिरहन्छ। तथापि प्रतिदिन अनावृत हुने अनपेक्षित घटनाको निर्मम पाङ्ग्रामुनि कुल्चिइएर जीवनको सतह धमिलो भइरहन्छ र थाहै नपाई राम्रो कुराको कल्पना कमजोर भइसकेको हुन्छ जसले गर्दा हरेक कुरामा साधारणीकरण नै स्वाभाविक लाग्न थालेको हुन्छ । असलपनको आकाङ्क्षा बाह्य परिस्थितिको आक्रमणले जतिसुकै कमजोर भएतापनि मधुर स्वरमा बोलिरहन्छ हरेक मान्छेको हृदयमा। कुनै न कुनै रुपमा निरीह र कमजोर नै हुन्छ हरेक मान्छे। यही कमजोरी-बोधबाट त्रसित अर्को मान्छेलाई नैतिकताको बलमा अलिकति दूरीमा राख्ने यत्न गरिन्छ। आफूले गरेको राम्रो व्यवहारसँग अरुबाट असलपनको अपेक्षा साटासाट गर्नुमा ठूलो सुरक्षा हुन्छ। त्यसैले, संसार जबर्जस्ती राम्रो भएको हुनुपर्छ, मान्छे त्यसैले मान्छे नै भइराखेको हुनुपर्छ। अनि कतिपय अवस्थामा आफूलाई पीडामुक्त गर्ने नाममा अरुलाई पीडादायी बनाउन कदापि सकिँदैन। त्यसैले, भन्न नसकिएका कुराहरूले मौनधारण गर्छन्।
वयस्क दुनियाँमा मनको बह कसैलाई कुनै मौका छोपेर सुनाउनु पनि ठूलो दुस्साहसको विषय बनेको हुन्छ। “हटाऊ यस्तो गम्भीर विषय !”, बीचमा कसैले रोकिहाल्छ। कारण, जुन कोणबाट जे बोले पनि मान्छेलाई मनोरञ्जन र आनन्द बाहेक अरू केही लिनु नै छैन । तसर्थ आफ्नो प्रगतिको डम्फु जोडले बजाउनु नै संस्कार हो। त्यसको चर्को संगीतले अर्काको हृदयमा शुष्क ईर्ष्यालु मान्छेलाई झस्काई ब्युँझाउनु नै व्यावहारिक हुनु हो ! आफ्ना पीरको कुरुप पहाडलाई झूटो प्राप्तिको श्रृङ्गार ओढाई प्रदर्शनमा राखिदिनु नै सामाजिक हुनु हो ! आडम्बरको लेपन दलेर यथार्थलाई लुकाउने कला नै सफलता हो !
व्यावहारिक दुनियाँको हाँस्दो-खेल्दो जीवनको कुनै विदीर्ण क्षणमा अनायासै सोच्न पुगिन्छ – चीजहरूको प्राप्ति /अप्राप्तिको सजिलै नमिल्ने हिसाबले थकित जिन्दगी आखिर किन अनावश्यक रुपमा पीडादायी हुन्छ ? कोही समस्या दुनियाँमा देख्छन् र अरुलाई दोषको भारी थोपर्दै आफू गैरजिम्मेदार सन्तोषको ओत लाग्छन् । कोही समस्या आफूमा देख्छन् र पीडारहित आदर्शको गन्तव्य पुग्न आत्मबोधको करौँती सडकमा दुखेर हिँड्छन्।
जे होस्, बलजफ्ती घिसारिएर, अनेक झूटको साहारामा, आँखै नहेरी आफूलाई र अरुलाई चोट पुर्याएर पनि एक आयुको जिन्दगी बाँच्न अभिशप्त छन् मान्छे। दिन बिराएर ग्लानीले पोल्दा बेहोसीको काखमा खसेर होस् वा बेलाकुबेला बेअर्थ चिमोटिने अहंको घाउ दुख्दा कसैमाथि बज्रिएर होस् वा वैराग्यको किनारैकिनार चुपचाप पन्छिएर होस् – मान्छेको पीडादायी यात्रा- जीतको सिन्दूरजात्रा, परम्पराको जन्ती अनि मर्दाको मलामी भएर गइरहन्छ- भन्न नसकेका कति कुराहरू सकिनसकी बोकेर।
के यो जरुरी छ? जिजिविषा जीवको अस्तित्वगत स्वभाव हो जसको विरुद्ध कोही कसरी जान सक्छ ? हजुर, मपनि मान्छु यो कुरा। नबाँच्न सकिँदैन।
म भनूँला,
“तर…”
अनि तपाईँ भन्नुहोला,
“खबरदार जीवनविरोधी एक शब्द नबोल ! कसैलाई निराश बनाउने तिमीलाई कुनै अधिकार छैन !”
“जान्दछु। तर मलाई केही बोल्न त दिनुहोस्।…”
आखिर तपाईं रिसाउँदै हिँडिदिनुभयो। त्यसरी देखिने नै गरी तर्सिनुपर्ने त्यस्तो केही मैले बोल्नै नपाई तपाईं मदेखि तर्किनुभयो। पर गइरहेको तपाईंको आकृति मैले पर्खाल देखेँ। आफैँसँग छचल्किन लागेको मपनि पर्खाल भएँ।
गह्रुँङ्गो हृदयको काप फोरेर निश्रृत मौनतामा मभित्रको सुदूर बालक चेतनाको सतहमा उत्रिएको हेरेँ- गणितको कक्षामा शिर झुकाएर एउटा कुनामा सुँक्कसुँक्क गरिरहेको छ । आफैँसँग भन्नको लागि त ऊसँग धेरै कुरा छन् तर गणितको शिक्षकलाई सुनाएर स्याबासी पाउन ऊसँग कुनै कुरा छैन। भित्तामा अडेस लागेर झोक्राउने त्यो बालक आजसम्मपनि ठीक त्यही पर्खाल नै रहेछ जो वाचाल छ तर त्यसले अरुबाट सुनिन र बुझिनको लागि केवल तिनै कुरा मात्र बोल्नुपर्छ जुन अरु सुन्न चाहन्छन्। कहिलेकहीँ लाग्छ, भाषाले मान्छेलाई साँच्चै बोल्न सजिलो बनायो ? कि मौन रहन? सुन्न नचाहेको कुरा जति नै चर्को स्वरमा या मधुर वाणीमा बोलिएपनि तपाईंले सुन्न सक्नुहुन्न भन्ने मलाई थाहा नभएको त होइन। तैपनि… खैर, मभित्र साबिकको आत्मगफ सुरु हुन्छ – आफूले आफैँलाई मात्र सुन्नको लागि, अरुबाट नसुनिने अविरल आत्मालाप नै त होइन र मान्छे? अर्थात्, वाचाल, तर अभेद्य पर्खाल !

The Lonely Boy from Pinterest
आफूसँग बोलिने र अरुलाई सुनाउने कुरामा अन्तर बढ्दै जान्छ जति उमेर छिचोलिँदै गएको हुन्छ। अरुको भलाई गर्नुमा मात्रै आफ्ना विचार व्यक्त गर्नुको उपादेयता रहन्छ। सायद यही सभ्यता पनि हो। तैपनि सोचिहालिन्छ – कसैलाई भन्न नसकेका कुराहरू सहज रुपमा अरुलाई सुनाउनु, अरुले बुझिदिनु र त्यसको साटोमा आफूले पनि ठीक त्यस्तै गरिदिन सकिए ! संसार कति समझदारीमा चल्ने थियो होला ! कति शान्त, अनि त्यसैले सुन्दर हुने थियो होला ! अनि कोहीपनि गह्रुँगो एक्लोपनको कैदी हुने थिएनन् !
कस्तो बालहठ भयो नि यो सोचाइ ! हो यस्तो कल्पना वयस्क दुनियाँमा कमसेकम सस्तो स्तरको ठट्यौलीमा समेत गणना हुन अवश्यपनि सक्दैन । अवश्यपनि, भन्न नसकेका कुराहरू भन्न सकिँदैन, अवश्यपनि ती भनिन लायक नहोलान्। कसैले राम्रोसँग भनिदिएको पनि छ (सायद रुसि उपन्यासकार दोस्तोएभ्स्कीले) – अरूलाई भन्न सकिने कुराको अनुपातमा आफैँलाई समेत भन्न नसकिने कुरा नै मान्छेसँग बढी हुने गर्छ।
साँच्चै,
भन्न नसककिने कुरा भन्नु हुँदैन पनि । अन्यथा, सभ्यता धरापमा पर्न सक्छ !