रङको अदृश्य पाटो | SATURDAYकलम | Kavyalaya - काव्यालय

रङको अदृश्य पाटो

मध्यान्नको एउटा समय, खैरो रङका प्लास्टिकका झोला किचनको मार्बल काउन्टर टेबलमाथि छन्। धेरै सामानको बीचमा प्लास्टिकको एउटा झोला खोतल्दा कालो रङको कपडा मेरो आँखाअघि पर्छ। त्यो टेबलमा कालो कपडाका नजिक खैरो रङका अरु प्लास्टिकका झोला पनि छन्। जसमा डाईपर, केरा, अंगुर, अनार र स्याउ लयागतका सामान छरपस्ट छन्।
‘यो कालो रङको कपडा चाहिँ..?’ म अनुहार खुम्च्याउँछु। सोच्न लाग्छु, ‘किन श्रीमतीले कालो रङको कपडा नै ल्याइन् होला! उनी सँधै रातो, पहेंलो, निलोहरियो रङको कपडा किन्ने मान्छे के कारण कालोमा नजर पुगेको होला?‘ म सोचाइमा मस्तिष्क कहाँ कहाँ पुर्याउँदैछु। यी सामान भर्खर बजारबाट घर भित्रिएको हो, त्यसमा टाँगिएको ट्यागले जनाइरहेको छ। ती सामान गाडीको ट्रङ्कबाट भर्खर घरभित्र प्रवेश गरेका हुन्। केही सामान फ्रिज पस्नु पर्ने र केही बाहिरै रुममा बस्ने हुन् तर यो कालो रङको कपडा देखेर पनि मैले केही बुझ्नै सकिनँ। उनको प्रिय रङमा रातो कि हरियो या अरु नै भए पनि उज्यालो रङ नै पर्थ्यो। ‘तर, कालो रङको कपडा नै किन?’ उनलाई सोध्न भनि पुलुक्क हेर्छु। उनी छोरीसँग भुलिरहेकी छन्। आमा छोरीको गजबको मिलन देखेर केही भन्न सक्दिनँ। बजारबाट ती सामान ल्याई काउन्टर टेबलमा राखी उनी हात धोएर नानीलाई समाती खेल्दैछन्। आफूले सोध्न लागेको प्रश्न बिर्सिएर आमा छोरीको त्यो प्रेमिल संसार यस्सै हेरिरहन्छु।
कालो नै किन ? मस्तिष्कमा यही प्रश्न घुमिरहेको छ। हुन त यो टाइप गरिरहेको मङ्गल फन्टका अक्षर पनि कालै छन्। कालो रङलाई भेदभाव गर्ने मेरो आँखाको नानी पनि कालै छ। यति हुँदाहुँदै पनि यो चेत मान्छेको मस्तिष्कमा किन नपसेको होला? रङहरूलाई प्रिय र अप्रिय भनी वर्गीकरण गर्ने म त्यही मनुवा परेँ।
त्यसदिन मलाई मस्तिष्कभरि खड्किरहेको थियो ‘कालो नै किन? अरु कुनैपनि रङ हुन सक्थ्यो !’ म उक्त रङलाई कालो भएकै कारण हेय भावले हेर्न थाल्छु। उक्त कपडा के प्रयोजनको ? कतिको आवश्यक छ ? कति मूल्य ? मलाई केही मतलब छैन। खाली आँखामा कालो रङ परेको छ। उक्त रङको कपडा हेरी अनुहार खुम्च्याइरहेको छु। तर उनीलाई उक्त कपडा हेरी मन नपरेको व्यवहार देखाइहालेको छैन। अथवा देखाउन सकिरहेको छैन। मन नलागे पनि बुझ्न रेक्टेङ्गुलर अथवा लाम्चो आकारमा पट्याइएको उक्त कपडाको ट्याग र बिचमा टाँसिएको बारकोड हेर्छु। अरे! अनि मात्र खुट्याउँछु, यो कालो रङको पर्दा पो रहेछ। अर्थात् ब्ल्याक आउट पर्दा !
यसको एउटा कथन छ । यस लेखलाई पूर्णता दिन कालो पर्दासँग सम्बन्धित उक्त कथन यहाँ प्रस्तुत गर्छु।
पूर्वतिर फर्किएको हाम्रो ‘लोनको छानो’ -जसलाई म ‘घर’ पनि भन्छु, त्यसलाई बिहानको घामले सोझै हान्छ। मध्यरातमा जागिरबाट आएर ढल्किएको म घामको उज्यालोका कारण बिहान पख राम्ररी सुत्न पाउँदिनँ। रातो रङको पर्दाबाट छिरेको त्यो उज्यालो किरणले मेरो निद्रालाई विथोलिरहन्छ, दुःख दिइरहन्छ। मेरो लागि बिहानको निद्रा प्यारो तर झ्यालबाट आएको उज्यालोले दश बजेसम्म ओछ्यानमा ओल्टिपल्टि हुन दिँदैन। मेरै लागि श्रीमतीले विकल्पको रूपमा कालो पर्दा अर्थात ‘ब्ल्याक आउट’ ल्याएकी रहिछन्। विचरीलाई झण्डै कस्तो कालो रङको कपडा ल्याएको भनि झर्को व्यवहार गरिनँ। आफ्नो नियतप्रति मनमनै पछुतो मानेँ। केही क्षण धैर्यतापूर्वक बसेकाले ठूलो साथ दियो।
तत्कालै विगतका केही स्मरण सम्झी झस्कन्छु। एकपल्ट मुस्काउँछु। छोरीसँग टिभीतिर फर्किएकी श्रीमती सोध्छिन, “एक्लै हाँस्नु भयो ! के भयो?” मेरो यो पागलपन देखेर उनलाई अनौठो लाग्नु सामान्य थियो।
एउटा कुरा सम्झेर हाँसेको। उनलाई स्पष्टीकरण दिन थालेँ। मेरो चित्रकार मित्र देउ राई भन्थे- ‘कालो पनि एउटा रङ हो, त्यसैले यो सुन्दर रङ भनेर पढाउनु आवश्यक छ सर। बुझ्नु र बुझाउन आवश्यक छ।’ उक्त वाक्य उनले मलाई यसरी नै फेसबुके सञ्जालमा भनेका थिए। त्यो फरक विचारको वाक्यले मलाई कालो रङको पर्दामार्फत् आज झट्का हान्छ जसका कारण म हाँसिरहेको थिएँ। यो शायद, म आफैमाथिको उपहास हुनसक्छ। मेरै लागि कोठाको झ्यालमा लगाउन भनी ल्याएको त्यो कालो रङको पर्दा जसका बारे म के के अनर्थ सोचिरहेको थिएँ। केही क्षणअघि म अनुहार बिगारी हातमा कालो रङको पर्दा लिएर बसेको थिएँ। पछुतो र आत्मग्लानीले होला। लज्जाबोध भयो।
मित्र देउका कुरा सम्झेर अब मेरो आँखामा अरूजस्तै कालो रङ एउटा सुन्दर रङका रूपमा रहने भएको छ। देउ जी चित्रकार मान्छे, उनी जति रङको निकटतामा म पुग्न सम्भव नै थिएन, अझै छैन पनि। कालो रङको कलमले यदि ‘अन्य रङका कुरा लेख्दिनँ..’ भने के हुने थियो? त्यो गम्भिर प्रश्न सम्झेर म तर्सन्छु।
‘ब्ल्याक आउट पर्दा’,
यो घट्ना डिसेम्बर महिनाको मध्यतिरको हो -टिभीमा छोरीको नेपाली कार्टुन चल्दै थियो। उनकै छेउमा बसेर म बखान लगाउँदै थिएँ। मेरो रङप्रतिको दुर्व्यवहार देखेर श्रीमतीले हातले देखाउँदै भनिन् , ‘त्यसो त यो टिभीको रङ कालो छ। किचनका कपबोर्ड कालै छन्। अझ हामी बसेको घरको दैलो, झ्याल, पलंग सबै कालै छन्। हामीले यो घर किन्दा कालै थियो अर्थात् कालो रङ मन पराएर त यो घर किनियो !’ अँ, हो त नि! म किन अघिसम्म कालो रङ मन पराइरहेको थिइनँ? अन्जानमै म कालो रङपनि मन पराउँदो रहेछु, कस्तो विरोधाभाष! सम्झदा हाँसो उठ्छ।
कालो पर्दा कोठाको झ्यालमा टाँग्न भनी माथि उक्लन्छु। तब मात्र याद हुन्छ मेरो सँधै सुत्ने बोर्ड पनि कालै रङको छ। यो कालो देखेरै ल्याएको हुँ। भनेपछि मेरो मस्तिस्कको सुषुप्त चेतनामा कालो रङप्रति पनि प्रेम रहेछ। देउ जी र श्रीमती दुवैका कुराले म आफैलाई सच्याउँछु। आफ्ना गल्तीहरू देखेर लाज लाग्छ, सम्भवतः अब हुँदैनन्। यो बुझ्न जरुरी हुँदोरहेछ कालो रङको सुन्दरता नै कालो हुनुमा छ। सजीवलाई गर्न हुँदैन भनेर त हामीले सिक्यौँ तर, रङकै आधारमा निर्जीवलाई पनि दुर्व्यवहार वा पराया व्यवहार गर्न ठिक होइन रहेछ। यी दुई व्यक्तिका कारण मलाई चेत पस्यो कालो भएकै कारण कुनै वस्तु अपहेलित हुनु नपरोस्! या सेतो भएकै कारण त्यो प्रिय बन्न नसकोस्। वस्तुको बाहिरी रूपकै आधारमा केही सोच्नु र व्यवहार गर्नु ठिक होइन रहेछ।
म यो निष्कर्षमा निस्किएको छु कि,
कालो पनि अरूजस्तै एउटा सुन्दर रङ हो, अरू रङ समान यसले पनि व्यवहार पाउनु पर्छ। तर, श्रीमतीले भनेजस्तो मैले त्यसरी भित्री आँखाले कहिल्यै आफ्नै घरको रङ हेरेको रहेनछु। त्यसपल घर नहेर्नु आफैलाई नहेर्नुझैं लाग्यो। मैले देउ जीबाट केही सिकेँ। श्रीमतीको कथनबाट केही झस्किएँ। अहिले मेरो हेराइ, मेरो दृष्टि सबै रङप्रति समान छ।

Facebook Comments

You may also like

error: Content is protected !!