UNDERGROUND

“माथि के छ आमा ?” म उत्साहित हुँदै सोध्छु ।
“माथि नर्क छ,” आमाले भन्नुहुन्छ ।
“नर्क ?” आवाजको व्यास बढ्छ ।
“हो, बाबू । माथि नर्क छ,” बिस्तारै बोल्नुहुन्छ आमा ।
“तर, नर्क त तल हुन्छ होइन र ?” म निधार खुम्च्याउँछु ।
“कसले भन्यो तिमीलाई यो कुरा ?” मलाई गहिरोसँग नियाल्दै आमाले प्रतिप्रश्न गर्नुहुन्छ ।
“मैले सुनेको,” मुस्कान चुहिन्छ ।
“सुनेका सबै कुरा सत्य हुँदैनन्, बाबू ।” आमाले मलाई बुझाउन खोज्नुहुन्छ ।
“अनि सत्य चाहिँ के हो त ?” यो मेरो कस्तो ढिपी ?
“सत्य यो हो कि, नर्क माथि हुन्छ र स्वर्ग तल यहाँ हुन्छ ।” आमाको अनुहार भावहिन देख्छु ।
“कसरी ?” म झन् जिज्ञासु बन्छु ।
“किनभने माथि मृत्यु छ र यहाँ जिन्दगी ।” आमाको आवाज थकित सुनिन्छ ।
“तर, हामी त माथिले गर्दा बाँचेका होइनौँ र ?” म आफ्नो तर्क राख्छु ।
आमा केहीबेर टोलाउनुहुन्छ र भन्नुहुन्छ, “जिन्दगी दिनेहरुले नै जिन्दगी लिने हुन् बाबू ।”

म झस्किन्छु । के आमाले भनिरहनुभएको कुरा सत्य हो ? जिन्दगी दिनेहरुले नै जिन्दगी लिन्छन् र ?

मलाई माथि जान मन छ । माथिको दुनियाँ हेर्न मन छ । कस्तो छ होला माथिको दुनियाँ ? कस्ता प्राणीहरु बस्छन् होलान् त्यहाँ ? म धेरै जसो समय यस्तै-यस्तै कल्पना गर्दै बसिरहन्छु । सपनामा माथिको दुनियाँमा अक्सर पुग्ने गर्छु । बुबालाई भेट्ने गर्छु । बुबालाई आफूसँगै साथमा लिएर आउँछु । मेरो उद्देश्य नै यही हो । म माथि गएर बुबालाई यहाँ ल्याउने । आफ्नो घर फर्काउने । धेरैले भन्छन्, ‘तेरो बुबा अब कहिल्यै फर्किनु हुन्न । माथि गएकाहरु तल कहिल्यै आउँदैनन् ।’ तर, म यो कुरा मान्दिनँ ।

“आमा, बुबा किन नफर्किनुभएको ?” म सोध्छु ।

आमाको आँखा रसाउन थाल्छन् । मेरो पनि मन अमिलो हुन्छ । आमालाई व्यर्थ रुवाएछु । व्यर्थ सोधेछु कहिल्यै जवाफ नआउने प्रश्न ।

बुबालाई मैले कहिल्यै देख्न / भेट्न पाइनँ । म जन्मिँदा बुबा माथि गइसक्नुभएको थियो । फर्केर कहिल्यै तल आउनुभएन । अरुले सुनाइरहन्छन्, ‘तेरो बुबा बहादुर थिए । सहयोगी थिए । सबैलाई माया गर्थे ।’ म बुबाको आकृति कल्पन्थेँ । दङ्ग पर्थेँ । रुन्थेँ । कसरी बुबा बिना बाँच्न सक्नुभएको होला आमा अहिलेसम्म ? आमालाई बुबाको याद आउँदैन ? के आमालाई बुबा भएको ठाउँमा जान मन लाग्दैन ? उहाँलाई फर्काउन मन लाग्दैन । माया लाग्दैन । कहिलेकाहीँ त आमादेखि खुब रिस उठ्छ । कति निठुर हुनुभएको आमा ।

जब आमालाई एक्लै रोइरहेको देख्छु, मपनि पग्लिन्छु । कुनै बाध्यता हुनुपर्छ आमासँग । यहीँ रहनका लागि केही कारण हुनुपर्छ । नभए आफ्नो आत्मासँग कसले पो माया गर्दैनन् होलान् र ! सायद आमाको बाध्यता म हुनुपर्छ । कारण म हुनुपर्छ । मलाई छाडेर कसरी जान सक्थिन् र आमा ! आमा निठुर होइन कमजोर हुनुहुन्छ । सायद उहाँ मलाई पनि गुमाउन चाहनुहुन्न । तर, म जानुपर्छ । म नगए को जान्छ ? यो मेरो छोरा हुनुको जिम्मेवारी हो । बुबालाई तल ल्याएर आमाको ओठमा मुस्कान फुलाउनु पर्छ । मैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ ।

Mother and Baby by Fanny Diaz

Mother and Baby by Fanny Diaz

राती सुत्नेबेला आमाले भन्नुहुन्छ, “छोरा, तेरो बुबा ठ्याक्कै तँ जस्तै थिए ।”

मैले आफ्नो बुबाको बारेमा जति सुनेको छु, अरुबाट मात्रै सुनेको छु । मैले कहिल्यै आमाको मुखबाट बुबाको बारेमा सुनिनँ । उहाँले केही पनि सुनाउनु भएन । जहिल्यै मेरो प्रश्न अनुत्तरित हुन्थे। तर, आज आमा खुल्दै हुनुहुन्छ । सायद मेरो लगातारको प्रश्नले उहाँ घायल हुनुभयो ।

म आमालाई एकोहोरो हेरिरहन्छु । आमाको मुखबाट शब्दहरु फुत्त-फुत्त खस्न थाल्छन्,
“तेरो बुबालाई लाग्थ्यो, यो नर्क हो र माथि स्वर्ग छ । माथि उज्यालो छ । यो अन्धकारमा बसेर हुँदैन । हामी सबै यो नर्क छाडेर माथि जानुपर्छ । माथि नै आफ्नो घर बनाउनु पर्छ ।

तेरो बुबा सबैको भलाइ चाहन्थे । सबैलाई माथि उज्यालोमा लैजान चाहन्थे । सबैलाई सुन्दर भविष्य दिन चाहन्थे । तर, कसैले तेरो बुबाको कुरालाई मानेनन् । विश्वास गरेनन् । सबैले तेरो बुबालाई पागल भने । सबैलाई यहीँ स्वर्ग लाग्थ्यो र माथि नर्क । कसैले माथि जान नमानेपछि तेरो बुबा निराश हुनुभयो । एक्लै जान खोज्नुभयो । मैले कति सम्झाएँ । रोकेँ । अहँ, मेरो आँसुले उहाँको पाइलालाई रोक्न सकेनन् । आखिर गएरै छाड्नुभयो, एक्लै ।” आमा रुन थाल्छिन् । मपनि निचोरिन्छु । आमालाई मैले त्यही कुरुप समय पुनः बाँच्न बाध्य बनाएँ । पुनः याद दिलाएँ । मैले आमालाई रुवाएँ । अब कहिल्यै यो विषयको बारेमा सोध्ने छैन । बोल्ने छैन ।

तर, माथिको रहस्यमाथि म भित्र-भित्रै छट्पटाउन थाल्छु । आखिर केही त छ माथि, जसलाई पाउन बुबा माथि जानू भयो । हामी सबैका लागि सपना देख्नुभयो । सायद बुबा सत्य हुनुहुन्थ्यो, माथि स्वर्ग छ । उज्यालो छ । हामी सबै स्वर्गमा जानुपर्छ ।मैले मन बनाइसकेको छु । म एकदिन जानेछु माथि । बुबाले सबैलाई पुर्याउन खोजेको स्वर्गमा पुग्नेछ । बुबाको सपना पूरा गर्नेछु । सबैलाई मनाएर माथि लिएर जानेछु । सबैले स्वर्ग ठानिरहेको यो अन्धकार नर्कको जिन्दगीबाट मुक्त गराउनेछु ।

म सही समयको प्रतीक्षा गर्न थाल्छु । आमालाई आफ्नो उद्देश्य सुनाऊँ कि नसुनाऊँ ! अरुलाई आफ्नो सपना बताऊँ कि नबताऊँ । होस्, म कसैलाई सुनाउदिनँ । कसैलाई भन्दिनँ । फेरि मलाई सबैले आफ्नो बुबा जस्तै पागल भन्छन् । म बुबामा लागेको दाग मेटाउन चाहन्छु फेरि आफूमा दाग लगाउन होइन ।

त्यो दिन तेज गतिमा दौडिँदै आउँछ । म कसैलाई केही नभनी आफ्नो बाटो लाग्छु । उकालो चढ्न थाल्छु । यसरी म तलबाट एकाएक गायब हुन्छु । मलाई बाटो थाहा छैन । तर, मलाई यत्ति थाहा छ, उकालो चढ्नुपर्छ लगातार । म निरन्तर चढिरहन्छु । आराम गर्दै चढ्छु । घिस्रिँदै चढ्छु । थाहा छैन, कति समय बित्यो । मस्तिष्कबाट मात्र एउटै आवाज आइरहन्छ, ‘मलाई जसरी पनि माथि पुग्नु छ ।’ बेला-बेला अनौठो भावाना प्रवेश गरिदिन्छ,
सायद स्वर्ग भन्ने ठाउँ नै छैन कि !
बुबा जस्तै मपनि मात्र कल्पनाको पिछा गर्दै त छैन !

होइन, म आधी बाटोबाट फर्किनु हुन्न । मैले हरेस खानु हुँदैन । म धेरै टाढा आइसकेको छु । गन्तव्यको नजिक आइसकेको छु । अब केही उकालो । अब केही पाइला । अब केही साहस । स्वर्ग नजिक छ । उज्यालो नजिक छ । नभन्दै, म देख्छु उज्यालो चुहिएको । म रमाउँछु । लाग्छ, म यति खुसी अहिलेसम्म भएको थिइनँ । हामी सबैलाई लाग्थ्यो, हाम्रो अस्तित्व भनेको अन्धकार मात्रै हो । उज्यालो भनेको भ्रम हो । कल्पना हो । मिथ हो । यसको कुरा गर्नेहरु सबै पागल हुन् । तर, हामी सबै गलत रहेछौँ । बुबा सत्य हुनुहुँदो रहेछ । उज्यालो हुन्छ । स्वर्ग हुन्छ । हामी बस्ने अन्धकार नर्क हो ।

म उज्यालोतिर बढ्दै जान्छु । उक्लिँदै जान्छु । मेरो थकाइ सबै हराइसकेको छ । म झनझन उत्साहित हुँदै जान्छु । लाग्छ, बुबा मलाई माथि प्रतीक्षा गरेर बसिरहनु भएको छ । मेरो स्वागतमा बसिरहनु भएको छ । उकालोको अन्तिम पाइला चढ्छु । अन्धकार कता-हो-कता पछि छुट्छ । म माथि पुग्छु । उज्यालोले मलाई निथ्रुक्कै रुझाइदिन्छ । लाग्छ, म अर्को जन्म लिँदैछु । मलाई उज्यालोले पवित्र बनाइदिँदै छ । मलाई सबै नयाँ लागिरहेको छ । फरक लागिरहेको छ । मलाई सब सपनाझैं लाग्न थाल्छ । कतै मैले सपना त देखिरहेको छैन !

म चारैतिर नजर ओछ्याउँछु । कतै बुबालाई देखिन्छ कि ! म देख्छु, चारैतिरको भित्तामा चिप्लो पत्थर टासिएको । एक भित्ताको प्वालबाट पानीको ठूलो धारा बगिरहेको । ठूलो धारा मुनि एक अजङ्गको, भयानक आकृति नग्न नुहाइरहेको । म तर्सिन्छु । यो कस्तो प्राणी हो ? बडेमानका दुई खुट्टा । लामा-लामा दुई हात । भिमकाय शरीर र त्यसमा जोडिएको डरलाग्दो टाउको । सायद यो दुनियाँमा यस्तै प्राणीहरु बस्छन् । म उक्त प्राणी नजिक-नजिक बढ्छु । नुहाइरहेको आकृतिको बडेमानका दुई ठुला-ठुला आँखा म मा पर्न जान्छ । उसले चिप्लो पत्थरको बिचबाट आइरहेको पानीको धारालाई बन्द गर्छ । म सोच्न थाल्छु, त्यति ठूलो पानीको धारालाई कसरी उसले बन्द गर्यो ?

लाग्न थाल्छ, यहाँ बस्ने प्राणीहरुमा अनौठो शक्ति छ । उक्त प्राणी मलाई देखेर आफ्नो अनुहार खुम्च्याउँछ र केही बोल्छ । आवाज मलाई ठूलो र भयानक लाग्छ । म उसले बोलेको बुझ्दिनँ । सायद यहाँ बस्ने प्राणीको भाषा अर्कै हुन्छ । फरक हुन्छ । यति ठूलो आवाज मैले अहिलेसम्म सुनेको थिइनँ । प्राणी म देखेर खुशी भयो या दुखी म छुट्याउन सक्दिनँ ।
म उसको चाललाई पछ्याइरहन्छु । उसले भित्तामा राखिएको एक ठूलो भाँडो उठाउँछ र केही बोल्दै म माथि खन्याउँछ । त्यो भाँडोमा भएको बाक्लो चिप्लो पदार्थले म रुझ्छु । मलाई शितल हुन्छ । लाग्छ, यो दुनियाँमा यहाँ पाहुनाहरुलाई यसरी नै स्वागत गरिन्छ । केही समयपछि शीतल भएको मेरो शरीर जल्न थाल्छ । मलाई पीडा हुन थाल्छ । म छट्पटाउन थाल्छु । बटारिन थाल्छु । कराउन थाल्छु । अन्ततः मेरो सास रोकिन्छ । म मर्छु ।

***

“मम्मी, आज पनि दाइले ट्वाइलेट सफा नै गर्नुभएन जस्तो छ ! प्यानबाट कस्तो घिनलाग्दो गुहे किरा निस्किरहेको थियो, छ्या !”

Ground Squall Abstract painting by Nancy Merkle

Ground Squall Abstract painting by Nancy Merkle

Facebook Comments

You may also like

error: Content is protected !!