UNDER THE SHADOW | THE REAL HORROR | रंगमञ्च | काव्यालय-Kavyalaya

UNDER THE SHADOW | THE REAL HORROR

सन् १९७९ मा भएको इरानियन क्रान्ति पछि लथालिङ्ग भएको इरान सरकारको फाइदा उठाउँदै सन् १९८० को २२ सेप्टम्बरमा इराकले इरानमाथि हमला गर्यो ।

सो युद्धका पानाहरू पल्टाउँदै सुरु हुन्छ ‘अन्डर द स्याडो’ । ८० को दशक, युद्ध सकिएको छैन । ‘शिदे’ (Narges Rashidi), पूर्व मेडिकल विद्यार्थी, आफ्नो पढाइलाई निरन्तरता दिन चाहन्छे । खुल्ला झ्याल भएको अफिसमा बसेर ऊ प्रधानाध्यापकसँग कुरा गरिरहेकी छे । आफूले रोजेको बाटोको पछाडिका कारण ऊ प्रधानाध्यापकलाई भन्छे । त्यही समय बाहिर बम पड्किन्छ र धुवाँका मुस्लाहरू उठ्छन् । प्रधानाध्यापक भन्छ- ‘हरेक गल्तिको परिणाम हुन्छ ।’ उसको पढाइ रोकिनु पछाडि उसले रोजेको बाटो हो । त्यति नै किन ? यो युद्धको कारण पनि उसले रोजेकै बाटो हो भन्ने कुरामा प्रधानाध्यापक विश्वस्त देखिन्छ । अन्ततः विगतमा उसले गरेको राजनैतिक फैसलाको कारण उसले आफ्नो पढाइलाई निरन्तरता दिन पाउँदिन ।

pic 1; from the movie

pic 1; from the movie

इराक-इरान युद्धको चपेटा सहिरहेको इरानको राजधानी तेहरानमा ‘शिदे’, ‘इराज’ (Bobby Naderi) र ‘दोर्सा’ (Avin Manshadi) गरि तिनजनाको एक परिवार बस्छ । युद्धको त्रास, सपनाको त्याग र आमाको निधन, यी सबै कुराहरूले शिदेको निद्रा छिनेको छ । आँखा वरिपरि कालो बादलझैं माडरिएको कालो घेरा (डार्क सर्कलस्) उसको अभिन्न अङ्गझैं प्रतित हुन्छ । उसै पनि निद्रामा हिँड्ने इतिहास छ उसको । उसकी छोरी ‘दोर्सा’लाई पनि निद्राको समस्या छ । दुःस्वप्नले ग्रसित छे दोर्सा । इराज, शिदेको पति, जो डाक्टर हुुन्छ, कामको शिलशिलामा तेहरान छोडेर जानु पर्ने हुन्छ । जानु भन्दा अगाडि ऊ शिदेलाई आफ्नो बुबाआमाको घरमा जान आग्रह गर्छ तर शिदे मान्दिन, त्यहीँ बस्ने जिद्दी गर्छे र बस्छे पनि ।

चलिरहेको युद्धका कारण, एक-एक गरेर सबैले शिदे बस्ने भवन छोड्न थाल्छन् र अन्त्यमा मात्र आमा-छोरी त्यस भवनमा बाँकी रहन्छन् । उनीहरूलाई अदृश्य केही चिज (जिन)ले सताउन थाल्छ । असामान्य दृश्यहरू देख्न थाल्छिन शिदेले । दोर्सा पनि नदेखिने महिलासँग कुरा गर्न थाल्छिन् । आमा छोरीबिच मनमुटाब बढ्न थाल्छ । कसरी उनीहरू त्यस जिनबाट बच्छन् ?

 

SPOILERS AHEAD

‘अन्डर द स्याडो’, जिनबाट बच्ने प्रयास गरिरहेका आमा-छोरीको कथा मात्र होइन । तत्कालीन इरानको कथा हो यो । ‘युद्ध र मृत्युको छाँयामा रहेको इरान’ भन्ने बिम्ब बोकेको छ शिर्षक स्वयंले । खतराको संकेत दिने साइरनको आवाज सुन्नासाथ बेसमेन्टमा भाग्दै जानु, रातभरि सुत्न नसक्नु, रिसाउनु..यो सबै सामान्य जस्तै हो शिदेको जीवनमा तर भित्रभित्रै ऊ ग्रसित छे । देशमा भइरहेको युद्ध, आमाको निधन, चक्नाचुर भएको सपना ! यस्तोमा निद्रा नपर्नु मनासिब प्रतित हुन्छ ।

कसैलाई आफ्नो वशमा नपारुन्जेल जिनहरू हावाको माध्यमले हिँड्ने कुरा शिदे बस्ने भवनकी घरबेटिले शिदेलाई बताउँछे । जिन भय हो वास्तवमा, युद्धको र मृत्युको । मानिसक असन्तुलनको परिणाम हो जिन । कति नै समय लाग्छ र भयलाई कसैमा हावी हुनलाई ? केही क्षण ? केही पल ?

शिदेले पुस्तकमा हेर्छे । त्यहाँ लेखिएको हुन्छ‍- “जहाँ भय र तनाव हुन्छ त्यहाँ हावा बहन्छ ।” युद्धको बिचमा भएको देशमा कतिखेर मिसाइल खस्छ ? मरिन्छ वा बाँचिन्छ जस्ता कुराहरूको भयमा बाँच्नु भन्दा ठूलो भय र तनाव के हुन सक्ला ? किताब पढ्दै गर्दा हामी सुन्न सक्छौँ, सरसर बगिरहेको हावाको आवाज । ऊ डराइरहेकी छे । ऊ तनावमा छे ।

pic 2; from the movie

pic 2; from the movie

आफूलाई प्राण भन्दा प्यारो केही कुरा जिनले लगेको खण्डमा उनीहरूबाट भाग्न सम्भव नहुने कुरा पनि घरबेटिले शिदेलाई बताएकी हुन्छे । दोर्साको गुडिया हराएको पनि हुन्छ । ऊ यो सबै कुरामा विश्वास गर्न चाहन्न तर भइरहेको घटनाक्रमले गर्दा उसको मन भयभित छ । ऊ दोर्सालाई हकार्दै भन्छे –“जिनहरू केही हुँदैनन्” । ऊ यो कुरा दोर्सालाई भन्दा आफैलाई भनिरहेकी हुन्छे ।

त्यो गुडिया हात नपरेकाले चाहेर पनि उनीहरू निस्कन सक्दैनन् । टुक्रिएको गुडिया फेला पर्छ त्यहाँ, जहाँ शिदेले आमाले दिएको किताब जतनका साथ राखेकी थिइन् । तर किताब भने हराएको हुन्छ । पछि जब उनीहरू जिनबाट उम्किएर निस्कन्छन् दोर्साको गुडियाको टाउको र शिदेको किताब भवनमै छुट्छ । उनीहरू त्यहाँ बाट भागे तर उनीहरूले जिनबाट छुट्कारा पाएनन् । उनीहरूले भयबाट छुट्कारा पाएनन् । तेहरानमा होस् वा अन्य कुनै गाउँमा युद्धको डोब त जताततै हुन्छ, देश भरि असर परिरहेको हुन्छ । उनीहरू त्यो सत्यबाट भाग्न सक्दैनन् ।

pic 3; from the movie

pic 3; from the movie

झ्यालका सिसा नफुटुन भनेर तिनलाई टेप लगाइएको छ, ‘क्रस’ आकरमा, जसलाई हामी चलचित्रमा बारबार देख्न सक्छौँ । ‘क्रस’ले यस चलचित्रको ‘मोटिफ’को काम गर्छ । ‘द डिपार्डेट’मा पात्रहरूको मृत्युलाई पूर्वचित्रण गर्न ‘क्रस’को ‘मोटिफ’ प्रयोग गरिएको थियो । यहाँ पनि मृत्यु र खताराको बिम्बको रुपमा सो ‘मोटिफ’लाई प्रयोग गरिएको छ । एउटा दृश्यमा ‘टाँसिएको त्यो टेपको छाँया शिदेको ठिक मुखमा पर्छ । उसलाई खतरा छ । उसको परिवारलाई खतरा छ ।

pic 4; from the movie

pic 4; from the movie

घरमा डीभिडी राख्न नपाइने हुँदा हुँदै शिदेको घरमा डीभिडी छ । डीभिडीमा व्यायमका भिडियो लगाएर शिदे व्यायम गर्ने गर्छे । यहाँसम्म कि निद्रा नलाग्दा पनि उसको काम यही हुन्छ, पसिना निस्कने गरी ऊ व्यायम गर्छे, झ्याल लगाएर, पर्दा लगाएर, बाहिरको दुनियाँबाट लुकेर ।

त्यसबखतको इरानमा महिलाको स्थितिको बारेमा पनि फिल्मले बोलेको छ । पुूरै भवनमा कार चलाउने शिदे एक मात्र महिला भएकाले ग्यारेजको गेटको ढोका राम्रोसँग बन्द नगरेकाले खिया लागेको र गेट खओल्न बल लगाउनु पर्ने दोष शिदेको टाउकोमा पर्छ । भवनको ढोकामा एउटा दृश्यमा उसको घर मर्मत गर्ने मान्छे आउँछ । पाखुरा देखिने लुगा लगाएकी हुन्छे शिदेले । ढोका खोल्नु अगाडि उसले आफ्नो जिउलाई ढाक्छे र सलेले टाउको छोप्छे । यहाँ सम्म कि आफ्नो र बच्चाको ज्यान बचाएर भाग्दा हिजाबले टाउको नछोपेको आरोपमा ऊ गिरफ्तार हुन्छे ।

बाबक अन्बरीको निर्देशनमा बनेको चलचित्र ‘अन्डर द स्याडो’ एकदमै जतनका साथ बनाइएको चलचित्र हो । सिनेमामा घरभित्र घटिरहेका भयानक अलौकिक घटनाहरू घर बाहिर भइरहेको घटनाका अगाडि केही होइन जस्तो प्रतित हुन्छ । कसिलो पटकथा र राम्रो छायांकन भएको यो फिल्म देखिरहेको ‘हरर’ फिल्म भन्दा भिन्न छ । रंगीबिरंगी परिवेशमै पनि भय उतपादन गर्न सकिन्छ भनेर ‘किट फ्रासेर’को छायांकनले सावित गरेको छ । सिनेमामा ‘CHEKOV’S GUN’ को प्रयोग कसरी गरिन्छ भनेर कसैलाई उत्सुकता छ भने, थाहा पाउनलाई ‘अन्डर द स्याडो’ हेर्दा हुन्छ ।

Facebook Comments

You may also like

error: Content is protected !!