एउटा बाबुको कथा, जो विश्वास गर्न सकिन्न

मनोहर सरासर सडकमा निस्केर त्यो विशाल जनसमूहमा बिलायो । नीला शून्य आँखाले आफ्नो कपबाट छुटेर बाङ्गो, तेर्सो, सीधा अनेकौँ रुपमा माथि उठेर हावामा रुमलिइरहेको तातो बाफलाई हेरेको हेर्यै उभिइरहन्छे । उसका आँखाअगाडि सडकमा अनेकौँ मानिस, मोटर, बस, रिक्सा आदि दगुर्छन्, तर निला केही पनि देख्दिन । निकैबेर यो अवस्थामा रहेपछि ऊ आफैँ स्वभाविक अवस्थामा फर्किन्छे र आफ्नो कोठातिर जान पाइला चाल्छे । घिमिरिनीको कोठा बाटैमा, बरण्डाको अर्को कुनामा पर्दछ । नीलाले सकेसम्म हलुका पाइलाले तर्किन खोज्दाखोज्दै पनि घिमिरिनीले ऊ हिँडेको छाल पाइहाल्छिन् । उनी करायें परेको ढोकाको खापाबाट मुन्टो छिराएर सोध्छिन्- “किन, के भयो नीला नानी? … चिया नखाई जानुभयो? … आज फेरि किन त … ?”

नीलाले कुनै जबाफ दिन सकिन । उसका आँखा गहन व्यथाको भारले ज्यादै बोझिला भएर आउँछन् । लोग्नेको व्यवहारभन्दा पनि छिमेकीको सहानुभूतिले उसलाई ज्यादा पोल्ने गर्छ । ओठलाई दाँतले टोकेर ऊ कोठामा पस्छे र दराजको नजिकै टेबिलतिर गैर उभिन्छे । टेबिलमाथि काँचको फूलदानमा एउटा बासी केमराको ट्वाक कहिलेदेखि त्यसै छ । त्यसका पत्रहरु सुकेर टेबिलमा छरिएका छन् । नीला शून्य मनले ती सुकेका पत्रहरु सहेज्न थाल्छे ।

एक दिन यी फूलका पत्रहरु कति ताजा र जीवित थिए । त्यसैले त उसले यिनलाई कति प्रेमसँग टिपेर ल्याएर यस गमलामा सजाएकी थिई । अनि दिनभर त्यसको बास्नालाई घरीघरी आफ्नो फोक्सोमा भर्ने प्रयत्न गरेकी थिई र त्यसको सुकुमारतालाई, त्यसको पूर्ण विकसित फूलपनालाई आफ्ना हत्केलाले कतिपल्ट मुसारेकी थिई । तर आज यो फूल सब सुकेको पत्रमा साटिएको छ । यसलाई हावाले उडाएर फूलदानमा भुँमा छरिदिएको छ, जसरी उसको जीवन यो बिरानो मुलुकमा आएर छरिएको छ । यो भावनाको तरङ्ग मनभरि फैलिएपछि उसको छाती चर्केर आउँछ, उसको हृदय भरिएर आउँछ र उसलाई भाउन्न भएझैँ हुन्छ । अनि ऊ आफ्नो दुई वर्षको सानो छोरो नरहरिलाई खोकिलामा लुकाएर सधैँ झैँ आँसु बगाउन थाल्छे ।

तर छातीभित्र आँसुको भण्डार पनि सुकिसकेपछि ऊ आफ्नो र लोग्नेका बीचमा दिनदिनै गहिरो हुँदै गएको खाडलको सुरुको धाँजो पैल्याउने चेष्टा गर्दछे । कहाँनेर छ त्यो धाँजो जहाँबाट यखाडल सुरु भयो । परन्तु लाखे चेष्टा गर्दापनि ऊ यसको टुङ्गोमा पुग्न सक्दिन । ऊ आफ्नी गृहस्थी जीवनको सुरुमा कुनै पनि त्रुटि पाउँदिन । जीवनको सुरु त्यत्तिकै स्वभाविक थियो, जस्तो हुनुपर्छ । उनीहरुको विवाह पनि प्रेमबाट सुरु भएको थियो । – त विवाहमा पनि अस्वभाविकता थिएन । तब ?

“किन … के भएको तपाईंलाई? “- मनको बोझ साह्रै असह्य भएर ऊ कहिलेकाहीँ लोग्नेसँग सोध्दछे । तर मनोहर उसको मनको जटिलतालाई हटाउनुको साटो झन् बढाइदिन्छ । “किन ? … के भएको छ र ? … तिमीलाई कुनै दु:ख छ ? … किन बाहिर जाने कपडा छैन ? … के पल्लापट्टि धनको जस्तो डिजाइनको कानपासा चाहियो ? … भन कस्तो डिजाइनको ? … ”

हुन त मनोहर उक्त कुरा ठट्टामा भनेझैँ पार्न खोज्छ । तर किन हो नीला यसलाई स्वभाविक विनोदको रुपमा लिन सक्दिन । उसको लोग्ने, उसको मनोहर स्वभाविक छैन; कताकता उसको भित्री प्रेरणामा अस्वभाविकता छ, हलुङ्गोपाना छ । अनि ऊ उसको अनुहार हेर्छे साँच्चै मनोहरको एक तहमुन्तिर त्यहाँ केके चिन्ता, पीडा र अस्वस्थताको गहन बादल घनीभूत भएझैँ देखिन्छ । तर त्यो अगम्य पीडा र व्यथाको भार कति छ र यसको वास्तविक रुप कस्तो छ पैल्याउन कठिन पर्छ उसलाई । किनभने मनोहरको अनुहारमा सधैँ एउटा आवरणले ढाकेको हुन्छ – गाम्भीर्यको दुर्बोध आवरण । उसको चरित्र आँक्न नसकिने खालको छ । त्यसैले उसको अन्तरको पीडा तहलाई छिचोलेर माथि अनुहारको सतहमा देखा पर्दैन । … हो, कहिलेकाहीँ एकाध पटक भने सायद झुक्किएर यी एकाध रेखाका – कठोर र गहिरा रेखाका रुपमा देखा परिहाल्छन् । अनि यसैबाट नीला उसको अन्तरको अगम पीडाको आभास पाउँछे । यस बेलामा उसलाई त्यो पीडित, व्यथित र अस्वस्थ लोग्नेप्रति दया लाग्छ । सहानुभूति पैदा हुन्छ । ऊ उसको मनको भित्री तहमा उकुसमुकुस भएर रहेको बोझलाई स्वयं पनि बाँडीचुँडी गरेर त्यसलाई हल्का गराउने प्रबल इच्छा लिएर उसको नजिक जान्छे । तर मनोहर उसलाई उपेक्षा गरेर झन् जटिलता उसको मनमा भरिदिन्छ । “बारम्बार फोस्रो सहानुभूति छरेर मेरो मगज नतताऊ न नीला … मलाई किन पिरल्छ्यौ ? … मेरो के दोष ? … आखिर तिम्रो मनोकामना पूर्ण भएन ? … छोरो छ, घरबार छ, जे भन्यो पुर्याइदिने लोग्ने छ । … अब के चाहियो? … के ? … ”

यति भनेर मनोहर अनौठो दृष्टिले बालक नरहरितिर हेरेर निस्किन्छ । त्यो दृष्टिमा नीला केके अमंगल अकल्याणको भावनाको राँको रानपाउँछे अनि छोरालाई गम्ल्याङ्ग अंगालामा बाँधेर अनिष्टको आशंकामा घन्टौं आफूलाई डुबाइरहन्छे । किन यस्तो गर्छ उसको लोग्ने ? उसको के दोष छ ? किन यसरी दुर्बोध र जटिल भएको मनोहर ? … किन मरेर कुहेको कुकुरको लासबाट नाक थुनेर पन्छेझैँ उसबाट भाग्न खोज्छ त्यो मान्छे ? … नीला चाहन्छे त्यो मनोहर त्यस्तो दुर्बोध नहोस । त्यो – उसको लोग्ने – ऊ र आफ्नो बीचमा कुनै किसिमको व्यवधान नरहोस, कुनै लुकाउने कुरा नरहोस । यदि उसको दोष छ भने त्यो देखाएर पिटोस, कुटोस, गाली गरोस ! तर यो मौन विवशता, ओहो, कति असह्य छ, कति उ:ख दिने ! नीला छटपटाउछे ।

नीला टेबिलबाट फर्केर ओछ्यानतिर जान्छे, हातको चियाको कप उसले ढोकैनिरको डुँडमा घोप्ट्याइदिन्छे । अब उसका आँखा उठेर भित्तामा टाँगेको एउटा क्याबिनेट साइजको इन्लार्जमेण्ट फोटोग्राफमा पर्छ । यो मनोहरको चार वर्षअगाडिको तस्बिर थियो- ओठ र आँखाका कुना किञ्चित खुम्चिएर एउटा मोहन मुस्कानको करेण्ट दौडिरहेको, रेसमी कपाल, बांकिलो मोहडामा बांकिलो नाक, आकर्षक मझौला व्यक्तित्व । तर आज यही मनोहर यति दुर्बोध र यति जटिल हुँदै गएको छ ! किन ? … ऊ तस्बिरमा आँखा गाड्छे तर तस्बिर उही आकर्षक मुस्कान छरिरहेको हुन्छ । त्यसमा कुनै किसिमको दुर्बोधपना, कुनै जटिलता छैन ।

ऊ तस्बिरबाट आँखा हटाएर अर्कैतिर लान्छे । भित्तामा जोडेको सानो भुँइओछ्यानमा सानो नरहरि छ । यो संसारको सबै व्यापारदेखि अनभिज्ञ, आमाबाबुको बीचको सबै जटिलतादेखि पर, आफ्नो निर्दोष निद्रामा लुटुक्क सुतिरहेको छ । नीला केहीक्षण अपलक त्यसमा हेर्छे । अनि फेरि आँखा तस्बिरमा लग्छे- यही तस्बिरको प्रतिलिपिजस्तो त्यो सानो ज्यान थियो । उही आँखा, उही नाक, उही किञ्चित खुम्चिएको ओठ । उसको आँखाअगाडि यो बालकको जन्मदिनको घटना दौडन्छ ।

यो दिन उसको र मनोहरको प्रेमको चरम परिणतिको दिन, यो उसको नारीत्वको चरम सार्थकताक दिन । उसको भित्रकी नारी आफ्नो फुल्दो सपनामा डुबेकी थिई । उसको काखमा मातृत्वको सपना साकार भएर खेलिरहेको थियो । यही कोठा थियो । यसका सम्पूर्ण वस्तुहरु उसको प्रफुल्लातामा प्रफुल्लित भएर झुलिरहेझैँ उसलाई भान भइरहेथ्यो । तलको गङ्गाजीको छातीमा डुङ्गाहरु मस्त भएर डोलिरहेका थिए । माझीका छाउराहरुको बाँसुरी वातावरणमा काँपिरहेको अनि प्रकृतिबाट शीतल सुवास बोकेर झ्यालबाट पस्ने मन्दमन्द बतास पनि मानौँ त्यो शिशुको आगमनमा स्वागतगान गर्दै थियो । हर्षतिरेकले ऊ बारम्बार शिशुको गालामा असंख्य म्वाइँ जड्दै जान्थी । तर त्यतिबेला मनोहरको अनुहारमा भने हुनुपर्ने प्रफुल्लता थिएन; बरु शिशुको मुखमा बर्सने आमाका प्रत्येक चुम्बनको उत्तरमा एउटा नजानिँदो छटपटी, नजानिँदो पीडा र व्यथाको रेखा कोरिएको झैँ लाग्यो ।

त्यो एखेर उसको मनमा तत्कालैको निम्ति एउटा आशंकाले टाउको उठाउन खोजेको थियो । यही आशंकाले प्रेरित भएर उसले आफ्ना भित आँखामा मूक प्रश्न भरेर लोग्नेतिर हेरेकी थिई- “किन ? के भयो ? … छोरो मन परेन ?”

अनि तत्कालै त्यो सम्पूर्ण अमंगलको आशंकालाई उसले मातृत्वको अनन्त धारामा बगाएर पठाइदिई । उसको अनुहार त्यो सबै बिर्सेर मातृत्वको गौरवले दीप्त भयो । उसले आफ्नो मातृत्व र आफ्नै शिशुमा तल्लीन रहेर घर, छिमेकी, लोग्ने सबैलाई बिर्सिदिई । यी सब वस्तुदेखि ऊ पूर्ण अनभिज्ञ रही । ऊ थिई, शिशु नरहरि थियो- यसबाहेक मानौँ कुनै कुराको अस्तित्व थिएन ।

यसरी आफ्नो शिशुमा डुबेकी आमाले त्यहाँ गएर आफ्नो स्थितिको होस् पाई । अहिले उसले पहिलो पटक छोरालाई बिर्सेर लोग्नेलाई नियाली । उसको लोग्नेको उपेक्षा निकै मात्रामा बढिसकेको रहेछ ।

उसलाई लोग्नेको अहिलेसम्मको विचित्र व्यवहारको एक-एक सम्झना आउँछ । एकदिन उसले टक्र्याउन लागेको चमेना र ‘बा, पापा’ भन्दै कमिजको फेर समात्न गएको नरहरिको किञ्चित वास्तै नगरी मनोहर बाहिर निस्केको थियो । त्यस्तै कुनै बखत दुध ख्वाउँदा लोग्नेले मागेको वस्तु दिन ढिला हुँदा ऊ त्यो वस्तुकै उपभोग नगरी घरबाट निस्केर रातारात बेपत्ता भएको थियो । त्यतिबेला त शिशुको वात्सल्यमा डुबेकी आमले यस कुरालाई त्यति महत्व दिइन । कहिलेकाहीँ यस्तो हुनु स्वभाविकै हो ।

त्यस्तै अर्को एक रात कुनै अज्ञात प्रेरणाले निद्राको मध्यमै ऊ बिउँझन पुग्छे । आँखा खुल्दा उसले देख्छे मनोहर सानो नरहरिको घाँटी मुसार्दै एकटक उसको अनुहार हेरिरहेको छ । उसका आँखामा एउटा भयानक भोक छचल्किएको छ । बालक आफ्नो निर्दोष सपनामा मुस्काईरहेको छ । नीला आफ्ना आँखामा शंकित प्रश्न भरेर लोग्नेको मुख हेर्छे । मनोहर खिस्सिएको हाँसो हाँस्छ ।

“कति मज्जासँग लुटुक्क निदाएको । … कस्तो कलिलो गर्दन यसो माडिदियो भने गुलाफको कोपिलाजस्तै मिचिएर जाला जस्तो, कस्तो !” यति भनेर मनोहर खित्का छोडेर हाँस्छ । नीला केही बुझ्दिन । ऊ वाल्ल पर्छे । अनि अरुको अगाडि लाज लागेर एकान्तमा माया गरेको होला भन्ने लागेर ऊ पनि हाँस्छे । साँच्चै कस्तो लोग्नेमान्छे । वास्तवमा धेरै जस्ता बाबुहरू यस्तै गर्छन्- आफ्नो पहिलो सन्तानलाई खुलेर माया गर्नै सक्दैनन् । उनीहरुलाई सरम लाग्छ रे ! यति बेला ऊ यस्ता घटनालाई स्वभाविक रुपमा लिन्छे ।

तर आज घटनाक्रमलाई जोडेर मनोहरको यो सबै विचित्र व्यवहारलाई केलाएर हेर्दा ऊ झस्कन्छे । मातृत्वको भावना एकातिर पन्छाएर जुरमुराएको पत्नीत्वको भावना आफू पत्नीत्वबाट धेरै टाढा पुगिसकेकी र लोग्नेको पतित्वले उसलाई आफूबाट धेरै टाढा पन्छाइसकेको कुरा गहिरोसँग अनुभव गर्छे ।

नीलाको मुटु एक्कासि जोरले काँपेर आउँछ । अनि छोराको अनुहारमा अमंगलको छायाँ देख्छे । कतै यस्तो पनि हुन्छ ? … कस्तो रहस्य हो यो ? … ऊ त्यो बालकको अबोह अनुहारमा हेरिरहन सक्दिन । उसका आँखा काँप्छन् । ऊ वेगले उठ्छे, कोठाबाट हुरिँदै निस्केर पूर्वपट्टिको बरण्डामा गएर उभिन्छे ।

दिनभरको उल्झनमा घाम कहिलेको गङ्गाजीको खोकिलामा घुस्रन गइसकेको हुन्छ । गङ्गाजीको विशाल छातीमा एकाध डुङ्गा सलसल बगिरहेका हुन्छन् । माझीको डाँडबाट निस्केको छपछप आवाज र उसको गलाबाट निस्केको विरहको तानले सन्ध्याको त्यो धमिलो शून्यलाई निकै टाढासम्म खल्बल्याइरहेको हुन्छ ।

अघिपछि भए नीलालाई त्यो अस्ताउन लागेको सूर्यलाई रातो प्रतिबिम्व गङ्गाजीको लहरमा काँपेको कति सुन्दर लाग्थ्यो । खास गरेर पहिलो पटक नेपालको माया मारेर आएर- मनोहरको बगलमा उभिएर त्यो सन्ध्याकालीन दृश्य हेर्दा उसको हृदय कति उल्लसित भएको थियो । सूर्यको त्यो गङ्गाजीमा परेको रातो प्रतिबिम्व आफ्नै निधारको सिन्दूरको टिकोझैँ उसलाई लागेको थियो । पश्चिम आकाश बादलका अन्तरकुन्तर छरिएका रक्तिम सान्ध्य रेखालाई उसले आफ्नै सिउँदोको अनुभव गरेकी थिई । अनि टाढाटाढा माझीहरुले फुकेको बाँसुरीको तान आफ्नै नौलो प्रेमको नयाँ रागिनीझैँ लागेको थियो । साँच्चै त्यो दिन यो सान्ध्य दृश्यको एकान्तमा आफ्नो बगलमा मनोहरलाई पाएर आफ्ना आमाबाबु, आफ्नो देश, आफ्नो घर अनि आफूले प्रेमको लागि गरेको विद्रोह सबैलाई उसले बिर्सिदिएकी थिई । यही भावमग्नतामा मनोहर र ऊ दुवै परस्पर मुखामुख गरेर हाँसेका थिए । “कस्तो लाग्यो नीलु?”
“ज्यादै सुन्दर !”

तर आज नीलाले हेर्छे । जति टाढासम्म आँखा जान्थ्यो केवल कालो र धमिलो दृश्य- पूर्वपट्टिको वनको मट्याइलो छायाँ, रामनगरको धमिलो दृश्य, क्षितिजको मलिन रेखा सबै वस्तु उसको मनस्थितिका अनुरुप छन् । ऊ संसारका सबै धमिलो वस्तुको छायाँ आफ्नो अन्तरमा फैलिएको अनुभव गर्छे । एकमन यसै गङ्गाजीको शान्त पेटमा आफूलाई हेलिदिउँ भन्ने उठ्छ । तर त्यसै बेला भित्र नरहरि रोएर उसको उद्वेगलाई सेलाइदिन्छ ।

अब नीलालाई रात परिसकेको बोध हुन्छ । उसले बिहानदेखि केही खाएकी छैन । हुन त उसको भोक मरिसकेको छ, तर सानोलाई त ख्वाउनै पर्छ । ऊ कोठातिर जान बढ्छे । घिमिरिनीको कोठाको ढोकाको खापाको अन्तरबाट छिरेको धमिलो प्रकाशले बरण्डाको केही परसम्म उज्यालो पारिराखेको छ । नीलालाई त्यो उज्यालो निको लाग्दैन । भित्र घिमिरिनी बज्यै निर्गुणका केही शुद्ध-अशुद्ध स्वरहरु गुनगुनाइरहेकी थिइन् । नीला त्यो उज्यालो र हिँडाइको आहटलाई बचाएर तर्कन खोज्छे, तर घिमिरिनीका सजग कानले उसको पदचापलाई समातिहाल्छन्- को ? … नीला नानी ? … यति बेलासम्म के गरिरहेकी ? … बाबु आउनुभो ? … सानो रोएकी सुनेथेँ नि ? … तपाईंले भान्साको तरखर गर्नुभएन ? … बाबु पनि कस्तो त ? … ”

नीला कुनै जबाफ नदिएर आफ्नो कोठाभित्र पस्छे । ऊ आफ्नो एकान्त व्यथालाई आफैँभित्र लुकाउन चाहन्छे । यसमा कसैको हस्तक्षेप उसलाई सह्य छैन ।

कोठाभित्र अँध्यारोको बोध भएर ऊ बत्ती बाल्छे । बत्तीको उज्यालोमा कोठाका सबै वस्तुहरु अस्तित्वमा झिलमिलाउँछन् । नरहरि उठेर ओछ्यानमा धुमधुमती बसेको छ । टेबिलमाथि केमराको बासी ट्वाक फ़ूलदानमा उसै गरी आफ्नो अस्तित्वको आँसु बगाइरहेको छ । अनि भित्ताको तस्बिर उसै गरी आफ्ना किञ्चित खुम्चिएका आँखा र ओठका कुनाबाट मुस्कान छरिरहेको छ । नीलालाई अनायासै रुन मन लाग्छ । उसले यही उद्धत तेज र कुटिल मुस्कानको आकर्षणमा परेर जिन्दगीमा ठूलो धोका खाई ।

तर ऊ यसलाई धोका नै भनेर मान्न पनि सक्दिन । किनभने मनोहरले कुनै आवाराले झैँ उसको नारीत्व लुटेर मात्र छोडेन । बरु उसले नीलाको प्रेमको लागि सम्पूर्ण वस्तुलाई त्यागेको छ- आमाबाबु त्यागेको छ, धनसम्पत्ति त्यागेको छ, इष्टमित्र बन्धुबान्धव र समाज त्यागेको छ; अन्त्यमा जन्मभूमिलाई नै त्यागेर प्रवासमा जीवन अपनाएको छ- समाज र उसको जर्जर प्रथासँग विद्रोह गरेर सम्पूर्ण रुपले उसलाई अँगालो हालेको छ- विवाह गरेको छ । अनि उसलाई नारीत्वको चरम अभिलाषा- मातृत्व प्रदान गरेको छ- हो मातृत्व । यदि साँच्चै नारीत्वको चरम सार्थकता र चरम कामना मातृत्व मात्र हो भने मनोहरले उसलाई त्यो प्रदान गर्नुमा कुनै कसर बाँकी राखेको छैन । तर … तर ।

नीला आफ्ना आँखा फेरि उही टेबिलमाथिको फूलदानमा लगेर बिसाउँछे । त्यहाँ त्यो सुकेको केमराको बासी ट्वाकमा आफ्नो जिन्दगीको सम्पूर्ण कथा चित्रित भएझैँ उसलाई लाग्छ । ऊ अरु हेर्न सक्दिन । छोरोलाई खोकिलामा च्यापेर ओछ्यानमा घोप्टो पर्छे ।

भोलिपल्ट बिहान नीलाका आँखा खुल्दा बिहानको दैनिक क्रिया सम्पूर्ण चालू भाइसकेको हुन्छ । घिमिरिनीको गङ्गाजीबाट फर्केर “हारे राम ! हारे राम ! …” को महामन्त्र जप्दै बरण्डामा कूचो लाउन थालेकी हुन्छिन् । अरु छिमेकी पनि आफ्नाआफ्ना धन्दामा लागेका हुन्छन् । ऊ हेर्छे, नरहरि बिहानको मीठो सपनामा निर्दोष हाँसो मुस्कुराइरहेको छ । उठेर ढोकातिर जान्छे । घिमिरिनी बज्यै कूचो बढार्दाबढार्दै सोध्छिन् – “उठ्नुभयो नानी ?”

नीला अब पूरा बिउँझन्छे ? … तर उसलाई थाहा छ राति धेरैबेरसम्म उसलाई निद्रा लागेको थिएन । ऊ कुन बेला निदाई ? … उसलाई अचम्म लाग्छ । साथै सम्झना हुन्छ- ढोका पनि त उदाङ्गै रहेछ । चोरले झिटिझ्याम्टा पारेर लगेको भए ? … कस्तो सुद्दी !

“बाबु राति सुत्न आउनुभएन ? …” घिमिरिनीको प्रश्नले उसलाई सबै स्मरण हुन्छ । आँखा घुमाएर कोठा हेर्छे- साँच्चै मनोहर राति सुत्न आएन । … बाटो हेर्दाहेर्दै आँखा टट्टाए तर ऊ आएन ।

“अहँ” ऊ छोटकरीमा जबाफ दिन्छे । उसलाई अब अरु सह्य हुँदैन, यी छिमेकीहरु किन अर्काको चासो गर्छन् ? … ऊ कोठामा गएर फेरि उही टेबिलनिर उभिन्छे । आँखा घुम्दाघुम्दै एक्कासि टेबिलमाथिको एउटा किताबमा गएर अडिन्छन् । त्यसको पत्रको बीचबाट एउटा चिठीको खामले चियाइरहेको थियो । नीलालाई एक्कासि रोमाञ्च भएर आउँछ । यो चिठी हिजो त त्यस किताबको पत्रमा थिएन । ऊ आफ्नो उत्सुकतालाई रोक्न सक्दिन । चिठी किताबको पत्रबाट झिक्छे । मनोहरको अक्षर । ऊ एकक्षण मूढ भएर त्यो चिठीको मोतीदानाजस्ता अक्षरमा हेर्दै रहन्छे । अनि खाम च्यात्छे । साँच्चै त्यसभित्र ऊ आफैँलाई सम्बोधन गरेर लेखेको मनोहरको चिठी छ । उसका आँखा भरिएर आउँछन् । त्यही आँसुको पारदर्शक पर्दाबाट ऊ चिठी पढ्छे । लेखेको छ-

“… नीला ! म पहिले तिमीलाई आफ्नो बालककालको एउटा घटना सुनाउँछु । त्यति बेला म खालि पाँचै वर्षको मात्रै थिएँ । मलाई मेरो मधेसको दाजुले एउटा मोटर किनेर- खेलौना मोटर- ल्याइदिनुभएको थियो । त्यो मोटरमा मेरो यस्तो एकाधिकार थियो कि त्यसलाई अरु कसैले छुने पाउँदैनथ्यो । त एकदिन अकस्मात मेरो डेढवर्षे भाइले त्यो छुने भूल गर्यो । त्यसको परिणाम के भयो थाहा छ ? … उफ् म कसरी यही मुखले बताउँ नीला ! कि यसको परिणाम मेरो मृत्यु भयो । हो मृत्यु !- मैले उसको घाँटी यति जोरसँग अँठ्याएँ कि उसको तत्कालै मृत्यु भयो !

“… थाहा छ नीला, मेरो मनको आत्मग्रासी कालसर्पले कुन दिन मेरो विवेकको दाउलाई पल्टाएर फेरि टाउको उठायो ? … त्यस दिन नरहरिको जन्म भएको थियो । नरहरिको जन्ममा तिमी कति खुशीले बलेकी थियौ । प्रसवको पीडाले पहेँलो र फुस्रो भएको तिम्रो अनुहारमा मात्तृत्वको अलौकिक आभा प्रदीप्त भएको थियो । तिमी मातृत्वको गर्वले यति उत्तेजित थियौ कि तिमी बारबार त्यो नवजात शिशुको मुखमा म्वाइँ जड्दथ्यौ। … तर थाहा छ ? त्यो बालकको मुखमा पर्ने तिम्रो प्रत्येक चुम्बन मेरो मुटुमा कसरी कीलाझैँ गडिरहेको थियो… म पीडाले छटपटाइरहेको थएँ । … कति अचम्म र पत्यार नलाग्दो कुरा । … तर नीला, यो मेरो जीवनमा घटेको अति तीतो सत्य हो – साह्रै आत्मपीडा दिने सत्य… मनको कुन अज्ञात रहस्य हो यो, म बुझ्न सक्दिनँ ।

“… यो पहिलो दिने उठेको राक्षसी प्रवृत्तिलाई दबाएर एउटा सरल र स्वभाविक वात्सल्यको प्रवृत्ति आफूमा भर्न मैले ज्यादै आत्मसङ्घर्ष गरेको छु । तर यो झन्झन् प्रबल हुँदै गएको म अनुभव गर्छु । तिमीले छोराको वात्सल्यमा हराएर मलाई बिर्सँदै गयौ, मेरो भित्रको त्यो भयङ्कर प्रवृत्ति झन्झन् सल्किँदै गयो । म सानो नरहरिलाई माया गरेर काखमा लिन चहान्छु । उसको तोतेबोली र बाललीमा बाबु बनेर आफुलाई हराउन चाहन्छु । तर जबजब उ बाललीलाले तिम्रो सम्पुर्ण मायालाई जितेर तिम्रो काखमा खेल्न थाल्छ, अनि मेरो अन्तरको ईर्ष्या प्रबल भएर हिंसाको रूपमा निस्कन छटपटाउँछ । त्यति बेला म उसले पछ्याउन खोज्दाखोज्दै पनि आफैँलाई लत्त्याएर भाग्छु ।

“… नीला ! तिमी मलाई घोर घृणा गरौली, तर मैले आफ्नो हिंसात्मक प्रवृत्तिलाई दबाउन यति मानसिक कष्ट पाएको छु, त्यसको सतांश मात्र पनि तिमीले अड्कल गर्न सक्यौ भने तिमीलाई ममाथि क्रोध र घृणाको साटो दया र करुणा ज्यादा हुनेछ । विचार गर एउटा बाबु आफ्नो एकमात्र शिशुलाई प्यारो गर्न सक्दैन, माया गर्न सक्दैन, यसको वात्सल्यमा रम्न सक्दैन र आफ्नो दुर्दमनीय राक्षसी प्रवृत्तिको वशमा परेर त्यो अबोध शिशुप्रति डाह र ईर्ष्या गर्छ । योभन्दा आत्मालाई कष्ट दिने कुरा के हुन सक्छ ? … विश्वास गर नीला, आफ्नो चेतन अवस्थामा मेरो भित्रको बाबु आत्मग्रासी प्रवृत्तिलाई दबाउन घोर संघर्ष गर्छ, रुन्छ, छटपटिन्छ, तर कहिल्यै जित्न सक्दैन सधैँ हार्छ । …

“… अब त मेरो त्यो अन्तरको राक्षस यति प्रबल भएको छ कि मलाई आफैँदेखि डर लागेर आउँछ- आफ्नो पाँच वर्षको उमेरको घटना सम्झेर म कहालिन्छु । सर्वाङ्ग काँपेर आउँछ ।

“… त्यसैले नीला, मैले आफूमा केही होस् छँदै आफूलाई तिमी र नरहरिबाट अलग्याउने निश्चय गरेको छु । किनभने मेरो मानसिक अवस्था कुनै बखत पनि विकृत हुन सक्छु, त्यसले घोर अनिष्ट गर्न सक्छ ।

“… त आज त जाँदै छु- कहाँ ? भन्न सक्दिनँ । मलाई यति मात्र थाहा छ, मैले धेरै टाढा जानु छ, जहाँबाट मेरो हिंसात्मक प्रवृत्तिको विचारको छायाँसम्म पनि तिम्रो र तिम्रो शिशुको माथि पर्न नसकोस् ।

“… बैंकमा तिम्रो निम्ति केही रुपियाँ जम्मा गरिदिएको छु; त्यसपछि विश्वनाथले तिम्रो डुङ्गा पार गर्नेछन् । …
– तिम्रो दु:खी मनोहर”

नीला सुरुदेखि आखिरसम्म सबै चिठी पढ्छे । तर धेरैबेरसम्म त्यो बुझ्न सक्ने शक्त्ति आफूमा पाउन्न । अन्त्यमा जब उसको बिचार शक्त्तिले त्यस चिठीमा लेखेको शब्द र वाक्यवलीको अर्थ समात्न सक्छन् ऊ एक्कासि ओछ्यानमा ढलेर मुर्च्छा पर्छे ।

त्यसै बेला गङ्गाजीबाट आएको एउटा तीक्ष्ण हावाको मुस्लाले झ्यालबाट पसेर टेबलमाथिको केमराको बासी फुलका सबै पत्रहरूलाई भुइँमा छरिदिन्छ । नरहरि एक्कासि बिउँझेर कङ्कला शब्द गर्दै रुन थाल्छ।

आज फेरि अर्को तन्ना फेरिन्छ” बाट सभार

Facebook Comments

You may also like

error: Content is protected !!