अघोषित

महाशिवरात्री आउँदै छ । मेरो प्रिय भगवानको परम पर्व ! हरेक सालको शिवरात्री आएसँगै त्यहि सालको शिवरात्रीको सम्झना हुन्छ ।

त्यतिखेर हामी ९ जनाको ग्रुप महाशिवरात्री उतै मनाउने तयारी गरेर गोसाइँकुण्ड गएका थियौँ । धेरैपछि कलेज पढ्दाताकाको साथीहरु भेला भएर गएका थियौँ । सबैजना काठमाडौँमा भेला भएर धुन्चेदेखि ट्रेकिङ गरेर २ दिनमा बल्ल गोसाइँकुण्ड पुग्यौँ । पुगेको रात खुप थाकिएको थियो, त्यहीँको लजमा बस्यौँ । थाकेको भएपनि मनमा उत्साह चुलिएकै थियो । लजको दाजुसँग कुरा गरेर भोलीको लागि टेन्टको बन्दोबस्त गरेर झन् उत्साहका साथ हामी सुत्यौँ ।

महाशिवरात्रीको बिहान । जाडो भएपनि हिउँ परेको थिएन । ढिलो गरि उठेर सबैजना पालैपालो लजकै बाथरुममा तातोपानीले नुहायौँ । अरु पनि थुप्रै पर्यटकहरु थिए तर, हाम्रो समूहको स्फूर्ती अरुको भन्दा भिन्न थियो र, सायद धेरै पनि हुनुपर्छ । तातो कफी पिउँदै क्याम्पिङको लागि उचित जग्गा हेर्न थाल्यौँ । कति साथीहरु खैरे अन्दाजमा तालको स्न्याप लिन थाले । ढुंगैढुंगा भएकोले तालको वरिपरि क्याम्पिङ गर्ने ठाउँ मिलेन । महाशिवरात्री भएर हो कि, या त घुम्ने मौसम चलेकोले हो, पर्यटकको भीड ज्यादा नै थियो, त्यहाँको जाडोजस्तै । कति मान्छेहरु हाई अल्टिच्युड सिकनेस ले फर्किने तयारीमा पनि लाग्दै थिए । हामीले पनि औषधीको रुपमा लसुन, अदुवा, कागती बोकेका थियौँ । थोरै उनीहरुलाई दियौँ ।

बल्ल-बल्ल तालभन्दा करिब २५ मिटरमाथि पूर्वपट्टि २वटा ठूलो टेन्ट गाड्न मिल्ने जग्गा भेट्यौँ । क्याम्पिङ पनि के भन्नू ? हिमाली बुट्यानका डाँठहरु गाडेर त्रिपाल टाँगेर गोठजस्तो बनायौँ । यौटामा केटाहरु सुत्ने, अर्कोमा केटीहरु !

यौवनको अन्तिम खुड्किलोमा हिँडिरहेका हामीले उधुम रमाइलो गरेर शिवरात्री मनायौँ । भगवान कै कृपाले होला, हिउँ पनि परेन । धुनी मज्जाले जगायौँ । बचपन र जवानीलाई समेटेर आफैँभित्र जति हुर्काएपनि घरिघरि आफ्नो औकातमा झरिहाल्ने रै’छन्, यी दुई चिज । हिँडेर थाकेको, त्यहि माथि नाचेर, उफ्रेर अनि उवाको छ्याङ्ले लट्ठिएर हामी झन् थाक्यौँ । थकानले चुर भएर हामी सुत्यौँ ।

Fire

Fire Image from PinImg.com

एक निंद्रा सुतिसकेपछि म ब्यूँझिएँ । मलाई एक्कासी गोसाइँकुण्डको चक्कर काट्ने मन भयो । औँशीको मुखैमा भएकोले अँध्यारो त बहुत थियो, सिरेटो पनि उस्तै । तर, तिनले मेरो मनलाई रोक्नै सकेनन् । मलाई लाग्यो, ‘अब फेरि यसरी गोसाइँकुण्डमा रात बिताउन पाउँछु/पाउन्न, बरु आजको रात गोसाइँकुण्डसँगै बिताइदिऊँ’। म उठेँ, कसैलाई केही नभनी चार्जिङ लाईट बालेर ओह्रालो झर्न थालेँ । पातलो हिउँ पर्न थाल्यो । तर, हिउँ पर्दा उति जाडो नहुने रै’छ ।

सबैजना उठेर लजतिर जाने तयारी गर्न थाले । मलाई बोलाए, मैले “म जान्नँ, आज तालको चक्कर लगाउँछु” भनेँ। २ जना साथीहरु त हामी पनि जान्छम् भन्दै थिए । साथीहरुको साथ नै मन परेर यहाँसम्म आइपुगेकी म, खै किन हो, यतिबेला भने एकान्त चाहिएको थियो । बाहिर चिसो छ, किन जानुपर्यो सबैजना भनेर उनीहरुलाई त्यतै रोक्न खोजेँ । तर उनीहरुले पनि जोड गर्न छोडेनन् । त्यसपछि मैले अन्तिम अस्त्र प्रयोग गरेँ, “यो मेरो ठूलो सपना? हो तर,तिमीहरु आयौ भने म जान्नँ” । यो इमोशनल ब्ल्याकमेलिङ पछि भने उनीहरुले मलाई एक्लै छाडिदिए । किन किन, गोसाइँकुण्डको त्यो अँध्यारोले एक्लै बोलाएजस्तो लागिरह्यो । हुन त यसमा खास त्यस्तो कुनै रहस्य नभएर, धेरै दिनको सामूहिक बसाइँबाट खाली दिक्दारिएको मात्रै पनि त हुनसक्थेँ । र त्यसै कारण सायद म एकान्त चाहन्थेँ । तरपनि, कुनै रहस्यले आफुलाई बोलाइरहेको होला भन्ने महशुस हुन छोडेन । यो अपत्यारिलो कुरा म पनि पत्याइदिन थालेँ ।

हिउँ पातलो गरि परिरहेकै थियो । आफुले चाहेको एकान्त बल्लबल्ल भेट्दा पनि खै किन हो मन शून्य थियो । भावनाहरु निस्तेज थिए । तालको किनारैकिनार आधाउधी हिँडेपछि मैले यौटा प्रकाश देखेँ, तालको अर्को छेउमा । त्यो अचल देखिन्थ्यो । चिसोमा मन झनै चिसो भयो । शून्य मनमा अनेकौं कुराहरु आए, कोही पर्यटक नै हो कि, म जस्तै, हामी जस्तै ? कोही बाबाजी पनि त हुन सक्छन् नि ! हुनसक्ने नै भए, कोही पागल पनि त हुनसक्छ ? हुनसक्ताने कुराहरु मनमा आउँदा आउँदै यो पनि आउन भ्याइदियो । तालहरुमा त प्रेतात्मा बस्छ रे, न त्यहि पो हो कि ? अब भने मलाई, म किन बाहिर आएँ ? बरु साथीहरुलाई नरोकेर साथै ल्याएको भए नै हुनेरहेछ जस्तो लाग्न थाल्यो । तर फेरि मन मोड्न खोजेँ प्रेतातमाको कल्पनाबाट भाग्न खोजेँ । सोच्न थालेँ, साथीहरु मलाई खोज्न आ’का हुन् कि? मैले हाम्रो गोठतिर दृष्टि पुर्याँए, त्यहाँ अस्तव्यस्त लाईटहरु चलायमान थिए। लाग्यो, आकाश पनि छक्क पर्दै होला, धरतीमा यी भूतहरु के गर्दैछन् ? अनि फेरि आफ्न‌ो अगाडीको भुतलाई हेरेँ ।

आ~~~ जे सुै होस् ! मरिहालेँ भने पनि गुमाउनलाई मैले केही बचाएको छैन, बरु यस्तो पवित्रस्थलमा मर्न पाउनु भाग्यको कुरा हो, यस्तै सोचेर आलो हिउँमा शून्य पाइलाहरु बढाएँ । कतिबेर हिँडे, कतिखेर पुगेँ, न ऊ पनि हिँड्दै म पुगे ठाउँ आइपुग्यो, सम्झना छैन । तर, आफ्नै अगाडि कालो लुगा लगाएको त्यो दाह्रीजुँगे आकृति देखेर झस्किएँ, तर्सिएँ । ऊ पनि तर्सियो ह‍ोला, सायद । भूत सोचेर एकक्षण सात्तो पनि उड्यो । ऊ मुस्कुरायो, जवाफमा अचेतनामै डरमिश्रित मुस्कुराईदिएँ म पनि ।

हात मिलाएर परिचय गर्यौँ । बाक्लो लुगाभित्र म कठ्याङ्ग्रिएर हिँडिरहेथेँ, एकैक्षणको लागि उसको पन्जाभित्रबाट न्यानो अनुभव भयो । चिसोमा तातोको पनि छिटै महसुश हुँदो रहेछ । ऊसँग दुई वात बोलेपछि मलाई भित्र कताकता मेरो पुरानो अघोषित प्रेमको रिल घुम्न थालेको अनुभव भयो:

म करिब १९/२० कि हुँदी हुँ। ऊ २७/२८ त मज्जैले पुगेको हुनुपर्छ। म धरान बस्दा त्यहीँको नाट्यशालामा यसै भेटिएको ऊ । नाटकहरु लेख्थ्यो र खेल्थ्यो पनि । म आफ्नै सोखले नाटक बुझ्न त्यहाँ जान्थेँ, रिहर्सलहरु हेर्थेँ । यसै भेटिएको ऊसँग मित्रता पनि यसै नै भयो। हामी भेटिरहन्थ्यौँ। भेट्नलाई हामीलाई न कुनै अवसर चाहिन्थ्यो न कुनै विशेष ठाउँ । थाहा छैन कहिलेदेखि, तर उसलाई मैले मन पराउन(प्रेम गर्न) थालेँ । तर, म सतर्क रहन्थेँ, कतै उसले थाहा पाई नहालोस् । घरिघरि लाग्थ्यो, उसलाई थाहा छ, म उसको प्रेममा फिट्टु छु तर, थाहा नभए झैँ गर्छ। कतिपल्ट सोचेँ, भनिदिन्छु, उसलाई प्रेम गरेको कुरा ! फेरि याद हुन्थ्यो, उसका सुन्दर अनि बौद्धिक केटीसाथीहरु । मलाई लाग्थ्यो, उसले ती मध्ये कुनै एकलाई आफ्नी प्रेमिका बनाउने सोचेको हुनसक्छ ।

ऊ आफूलाई योगी ठान्दथ्यो । म मान्दिन थिएँ । ऊ घरी सांसारिक मोहबाट मुक्त हुन्थ्यो घरी सांसारिक मोहको चुली उक्लिरहन्थ्यो । एकदिन उसैले भन्यो; ‘ओई! म नामको पिछाडी योगी थपौँ ?’
‘किन मनपरि राखिराख्न पर्यो ?’
‘म आफूलाई योगी ठान्छु नि त! बरु तिमी पनि योगिनी राख ।’
बिल्ला को हाँसो हाँस्दै मैले भनेकी थिएँ, ‘तिमी राख्ने भए राख । म त राख्दिनँ । म मा पुर्वाग्रहहरु बाँकी नै छन्, र मनमा पुर्वाग्रह बोक्नेहरुलाई म योगी मान्दिनँ ।’
मेरो पछिल्लो वाक्य उसैलाई ईङ्कित गर्नलाई थियो । तर, उसले हलुका तवरले जवाफ दियो;‘कसैलाई योगी मान्नु पनि पुर्वाग्रह हो, नमान्नु पनि ।’
-‘त्यसैले त मनमा पुर्वाग्रह बोक्नेलाई योगी मान्दिनँ । तिनीहरु योगी हैन, ढोंगी हुन्।’
ऊ हाँस्यो मात्र । सायद मैले भन्न खोजेको कुरा उसले बुझेन या त फेरि उसलाई त्यसले केही फरक नै पारेन ! उहि जानोस् !

म जागिरको खोजीमा थिएँ । यौटा बैँकमा ट्रेनी असिस्टेन्टको फारम भरेर जाँच दे’की थिएँ, भाईवाको लागि कल आयो, हेडअफिसबाट । यो बिचको समयमा हाम्रो भेटघाट शून्यप्राय: थियो । उसैले फोन गरेछ । भेट्यौँ, छाता चौकको पिपल रुख छेउको चियापसलमा । चिया पिउँदै भन्यो, ‘ओई ! म त बिहा गर्दै छु नि! आईज है, बिहाभरी मेरै घरमा बस्नेगरी ।’ अकाल्पनिक कुरा सुनेर म सक्ड त भएँ नै, अझ मेरो जागिरको बारेमा पनि सुनाउनु थियो । शुभकामना दिँदै भनेँ, ‘मलाई त भाईवामा बोलाएको छ, भ्याउदिनँ होला ।’
‘अनि पहिला कुरै गर्या थिइनस् त ?’
‘ट्राई मात्र गरेको फ्याट्टै बोलायो । तिमी पनि त बिजी थियौ, त्यसैले भनिनँ ।’ बिहाको कुरा तिमीले नि पहिला कहाँ भन्यौ र ? यति चाहिँ मनमनमा मात्र ।
‘प्रगति गरिछस् । ल राम्रोसँग भाईवा दिएस्, भ्यायो भने आऊ है !’
ल, ल । आउँला ।’ त भनिदिएँ तर, भित्रभित्र मन जलेको उसले कहाँ देख्थ्यो र ?

काठमाण्डौँ गएँ, भाईवा दिएँ, सेलेक्ट पनि भएँ । तर, पोस्टिङ धरान नै हुनेभयो । धरानको अनुहार पनि हेर्न चाहन्न थइएँ म, धरानभन्दा ज्यादा त उसकै अनुहार हेर्ने मन थिएन । त्यसैले, कलेज पनि ट्रान्सफर लिन्छु भनेर उतै यौटा क्याफेमा वेट्रेसको काम थालेँ । म काठमाण्डौँ बस्न थालेदेखि घरिघरि मात्र कुरा हुन्थ्यो । कुरैकुरामा एकदिन सोध्यो, ‘मेरो बिहापछि पनि बोलिराख्छस् मसँग?’ बिनाप्रसङ्ग नै खै, उसले किन यस्तो सोध्यो, मैले भनिदिएँ, ‘ब्वोईफ्रेन्ड बनाएपछि बोल्न छोड्दिन्छु तिमीसँग।’ ऊ जोडजोडले हाँस्यो ।

फेसबुकमा उसको ईंगेज्मेन्टको फोटो पोस्ट गरेछ, देखेँ, कत्ति सुन्दर थिई, उसकी हुनेवाली श्रीमती । कहिलेकाहीँ चिताको आगोले नजलाउने कुरा पनि यस्ता कुराहरुले कति सजिलै जलाइदिँदो रहेछ । मेरो मन जल्यो, साँच्चै नै । म खरानी खरानी भएँ । खरानी भएपछि संसारदेखि वाक्क लाग्दोरहेछ । त्यसपछि, मैले फेसबुक बन्द गरेँ, सिम फेरेँ । त्यति गर्दा पनि झन् मैले मेरै शहरमा कहीँ न कहीँ उसलाई आफ्नी श्रीमतीसँग देखिरहेँ । कुन्नी कहिलेदेखि र किन, रान पराइको र काठमाण्डौँ आफ्नो शहरजस्तो लाग्न थालेको रहेछ । उसलाई काठमाण्डौँमा देख्दा कोही पराइ आफ्नो ठाउँमा घुस्रिन आए झैँ लागिदियो । मलाई त्यहाँबाट पनि भाग्न मन भयो । तर कहाँ ?

त्यसपछि म अध्यात्मसँग जोडिएँ । देवघाट गएँ, गुरुकहाँ आश्रममा शरण लिएर बसेँ । गुरुलाई भनेर सन्यासी बन्न खोजेँ, गुरुले मान्नुभएन । भर्खर २२ बर्ष त पुग्दै थिएँ । विधिवत रुपमा सन्यासी नभए पनि म चित्तबाट सन्यासी भै’सकेकी थिएँ । आफैले मानिसकेपछि कसैले मान्नु या नमान्नुको कुनै तुक नहुँदो रहेछ । त्यसपछि मैले बुझेँ, मान्छेका पुर्वाग्रहहरु त मृत्युपश्चात मात्र सकिनेरहेछ । सन्यासी भएपनि चुरोटको लत छुटाउन सकिनँ र, त्यो मैले गुरुबाट पाएको विशेष छुट थियो । आमाबुवा लिन आउँदा पनि म जान मानिनँ, भनेँ, ‘मन लागे कुनै दिन आउँछु नत्र, आउन्न।’ उहाँहरुको चित्त दुखेको मलाई थाहा थियो । गुरुले के-के भनेर सम्झाएर फर्काइदिनुभयो । अब आश्रममा मेरो संगति बढिसकेको थियो । एकदिन कलेजका परम मित्रहरु आइपुगेछन् । म यस्सै उनीहरुबीचबाट हराएकी थिएँ । म तिनीहरुसँग बोल्न पनि सकिनँ । त्यसपछि म आश्रम छोडेर भरतपुर बस्न थालेँ, काम र पढाइ दुवै थालेँ फेरि एकपटक ।

खै, दिमागमा हो कि दिलमा, यतिका कुराहरु पलभरमै सर्र घुम्यो । उसले कुन्नी के सोच्यो, भन्यो ‘तिमी त उस्तै रहिछौ यार! १२/१३ वर्ष बितिसक्दा पनि नो चेन्ज।’ उसले मेरो मन परिवर्तन भएको कहाँ देख्यो र ? हुन त आवरणमै ऊ त धेरै परिवर्तन भएको थियो । धेरैपछि अचानक भेटेर होला, हामी शब्दमा भन्दा पनि मौनतामै संवाद गरिरह्यौँ । मौन संवादलाई अँधेरी रातले पनि खुब फेवर दियो ।

मौनता भंग गर्दै फेरिपनि ऊ नै बोल्यो, ‘यतिका सालसम्म एकपल्ट सम्झिनस् है? चटक्कै भुलिस् है मलाई??’
‘सम्पर्क नहुनु भनेको याद नै नगर्नु त होईन नि….’
अनि केहिबेर मौन बसेर फेरि भनेँ ‘…र याद नगर्नु भनेको भुलिजानु पनि होइन।’
उसमा के चिज थियो कुन्नी ? ऊसँग बितेका पलहरु सम्झिँदा पनि म दुख्थेँ, नसम्झिँदा पनि दुख्थेँ । न्याना हातहरुले मेरो हात सुस्तरी समात्यो, मलाई आफूतिर तान्यो अनि मेरो मुहार आफूतिर फर्कायो । मैले चाल पाएँ, चुरोट पिउन उसले पनि छोडेको रहेनछ । दुवै टर्च लाइटहरु सेतो हिउँमा झरे । दुई कम्पित फ्रोजन ओठहरु एकापसमा लीन भए ।

कुनैदिन “धरती-आकाश मिल्नैपर्छ भन्ने जरुरी छैन ।” भनेर चित्त बुझाएकी मैले बुझेँ, आखिर एक बिन्दुमा पुगेर धरती-आकाश एकअर्कामा मिल्दो नै रहेछ, अनि यसको एकमात्र गवाह गोसाइँकुण्डको फ्रोजन नीलो पानी मात्र थियो ।

Moonlight Over The Ocean Painting by Marianna Foster

Moonlight Over The Ocean Painting by Marianna Foster

Facebook Comments

You may also like

error: Content is protected !!