उधारो संभोग | Saturdayकलम | काव्यालय- Kavyalaya

उधारो संभोग

दुनियाँमा सबैभन्दा पवित्र यदि कोही छ भने त्यो वेश्या हो । ऊ छलकपट गर्दिन । मान्छेअनुसार फरक व्यवहार देखाउदिनँ । ग्राहकको रूप, रंग, पेशा, औकात, हैसियत, पुरुषार्थ, नियतजस्ता कुराहरू उसको लागि गौण हुन्छ । ऊ केवल पैसाको भाषा बुझ्छे । जसले तोके बमोजिमको दाम तिर्यो उसले केही घण्टा उसको शरीर गिजोल्न पायो । यौनको चरमसुख रूपी शिखरबाट स्खलित हुने हरेक पुरुषले वेश्यालाई कुरुप देख्छ । भोलिपल्ट पुनः ऊ आफ्नो भोक मेटाउन पैसाको बलमा वेश्याको योनि केही समय भाडामा लिन्छ।

वेश्याको एउटा मात्र नियम हुन्छ: नो क्रेडिट । यो कारोबारमा उधारोको कुनै ठाउँ हुँदैन । सक्छौ पैसा तिरेर संभोग गर, सक्दैनौ, यौनको फगत कल्पनामा रमाऊ । वेश्याको अगाडि रित्तो खल्ती र तिव्र यौनेच्छाका साथ उभिनु आफैमा अभिशाप मान्छन् शहरका नामुद भलाद्मीहरू । आजसम्म कुनै वेश्याले पनि उधारो संभोग गरेको छैन भनेर शहरको बदनाम गल्लीका वेश्याहरू छाती होइन नाक फुलाएर भन्छन्।

तर त्यस रात मैले आदिम कालदेखि चल्दै र मानिँदै आएको वेश्याहरूको अलिखित एक मात्र धाराद्वारा निर्मित संविधानलाई चुनौती दिने दुस्साहस गरेँ । त्यो रात मेरो जीवनको अरु रातहरूभन्दा यस मानेमा भिन्न थियो कि मैले त्यो रात संभोग नगरेको भए आत्महत्या गर्थेँ । खासमा भन्दा म संभोग गर्दागर्दै मर्न चाहन्थेँ । वेश्याको अंगालोमा निवस्त्र प्राण त्याग्न पाउनु भनेको आमाको गर्भबाट जन्मिनुको सुख दोश्रोपटक अनुभव गर्नु हो । समस्या भनेको मेरो खल्ती बिल्कुल रित्तो थियो, मेरो मनजस्तै।

हरेक घटना अनेकौं दुर्घटनाहरूको चिहानमाथि उभिएको हुन्छ । मान्छे जन्मिनु बडेमानको ऐतिहासिक दुर्घटना हो । मृत्यु मीठो घटना हो । मान्छेहरू उल्टो कुराको हर्ष र शोक गर्छन् । ह्युमन विल बि ह्युमन । लेट्स नट टक अवाउट देम् ।

त्यो भयानक रात अघिका हरेक रातहरू मेरो लागि उही हुन्थ्यो । एक्लो हुँदा मेरो मात्र शरीर प्रत्येक रात ओछ्यानमा मुर्दा हुन्थ्यो । विवाहपछि मेरो लासको छेउमा अर्को लास थपियो । दुई लासहरूको संभोगपश्चात मसानघाटमा भयानक सन्नाटा छाउँथ्यो । भोलिपल्ट लासहरूले पुनर्जीवन पाउँथे । औपचारिकताको अर्को अध्याय शुरु हुन्थ्यो।

लास १: गूड मर्निङ डार्लिङ।
लास २: (जबर्जस्तिको मुस्कान सहित) मर्निङ लभ।
लास १: (अर्को वाक्य के बोल्ने थाहा नभएपछि अचानक सोध्छ) निन्द्रा मज्जाले पर्यो नि ?
लास २: (लासको सहयात्री हुनुको धर्म निभाउँदै) मीठो निन्द्रा पर्यो।

लासहरूको दिनचर्या सधैँ यसैगरी शुरु हुन्थ्यो । एक बिहानबाट अर्को बिहानमा कुनै भिन्नता हुँदैन थियो । जति बिहान बढ्दै जान्थ्यो लासहरू उति चिसो हुन्थे । तर दुवै लासहरू आफूलाई हमेशा तातो पाउँथे । अर्को लासलाई भने ठण्डा गोश्त देख्थे।

मसानघाटको हरेक रातको उही परिदृश्य जुन त्यो रात अघि कहिल्यै बदलिएन।
– अफिसबाट दुवै लासको घर फिर्ती
– औपचारिकताको अनवरत श्रृङ्खला
– चिहानको साझा खाल्डोमा प्रवेश

अनि शुरु हुन्छ संभोगको बाध्यात्मक खेल । लास १ नाङ्गिन्छ । लास २ निर्वस्त्र हुन्छे । समाज नामक प्रभावशाली संगठनले दिएको इजाजत बमोजिम उनीहरू क्रिया सम्पन्न गर्छन् । क्रियाको प्रतिक्रियामा केही हुँदैन । त्यस क्षण लासहरूको दिमागमा आउने यौनिक सोचाइहरू:

लास १: कस्तो मुर्दाको फेला परिएछ । न कुनै जोश छ न कामुकता । रस बिनाको कागतीलाई महँगो मूल्यमा खरिद गरेर झन प्यासी भएको छु । आफ्नै कुवा हुँदाहुँदै म अतृप्त छु । आई हेट् माई सिट् लाइफ ।

लास २: कस्तो मुर्दारको फेला परिएछ । यस्तो नामर्दको स्वास्नी हुनुभन्दा अविवाहित बस्नु नै जाती थियो । केही गर्ने ल्याकत छैन । कुवाको मीठो पानी पिउन सक्ने हुति नहुनेले किन फुर्ती लगाउनु।

यसरी शहरको चिहानमा मेरो अस्तित्व हर दिन हर रात पराजित हुँदै जाँदैथ्यो । लासहरूको शहरमा कोही पनि लाससँग डराउँदैन थिए । सबैभन्दा धेरै डर आफूसित लाग्थ्यो । आई एम अफ्रेड अफ माइसेल्फ । अफ् माइ वन एक्जिस्टेन्स । म आफूबाट बच्न चाहन्थेँ।

त्यस रातको ठिक हप्ता दिन अघिको रात म अफिसबाट ढिलो घर फर्कँदै थिए । चानचुन ९ बजेको हुनुपर्छ । एउटा घरको अघिल्लतिर सुन्दर युवतीले बाइक रोक्ने इशारा गरिन् । मैले केही सोच्नु अघि नै ब्रेक लाग्यो । यौवन र यौनको अगाडि पुरुष चरित्र प्रदर्शित नभई रहन सकेन।

बाइकमा सवार चालक र अपरिचितबिचको संवाद अंश:
चा: कहाँ छोडौँ तपाईंलाई ?
अ: मेरो ग्राहकको घरसम्म ।
चा: (नबुझेर केही अचम्म मान्दै) मतलब ?
अ: मेरो आजको खरिददारको घरसम्म छोडीदिनु भए म आभारी हुने थिएँ ।
चा: (यो कस्तो घाँडो आइलाग्यो । वेश्याको सेवा गर्ने दिन पनि आयो । उफ्!)
अ: बोल्नु भएन त ! कि लाज लाग्यो ? (व्यङ्ग्य मिश्रित हाँसो)
चा: किन लजाउनु र ! (असहज महशुस हुन्छ)

केही मौनता अनि केही संवादको साथ अपरिचितको गन्तव्य आइपुग्छ । छुट्टिने बेलाको दृश्य:
अ: धेरै धन्यवाद यो कष्टको लागि।

चालक चुपचाप बस्छ । कुराको अभावमा बाइक स्टार्ट गर्छ । अपरिचित हत्तपत्त ब्यागबाट कार्ड झिकेर चालकको हातमा थमाउँछे र भन्छे, “यो कार्ड लिनुस् । यसमा मेरो नम्बर छ । कुनैदिन मैले गर्न मिल्ने सहयोग भए निर्धक्क सम्झिनु होला।” अर्ध बनावटी मुस्कानले ऊ चालकलाई बिदा गर्छे।

नाथे वेश्यासँग मैले सहयोग माग्ने ? कस्तो हाँस्यास्पद सुनिएको । दिमागमा यस्तै तर्कनाहरू गर्दै घर पुग्छु । त्यहाँ सधैँझैं सामाजिक खेलको अर्को म्याच थालनी हुन्छ । भोलिपल्टको रात जब म घरमा आउँछु, श्रीमतीको चालढाल केही फरक पाउँछु । ऊ चाहिनेभन्दा बेसि मुस्कुराइरहेकी छे । अचानकको लासको यो व्यवहारले मलाई बढ्तै चिढ्यायो । लासलाई खुशी हुने अधिकार हुँदैन । यदि कोही रमाउँछ भने उसले लास हुने अधिकार गुमाउँछ । त्यस्तो लासबाट दुर्गन्ध मात्र आउँछ । एउटा लासले अर्को लासको मुहारमा मुस्कान कदापि सहन सक्दैन।

उसको व्यवस्था विरोधी हाँसोले मलाई चिमोट्यो । पिडाले म रन्थनिएँ । शरीर गल्यो । मन अघि नै खरानी भइसकेको थियो । यसैबीच रातको कर्मकाण्ड शुरु भयो । फेरि अर्को रात अँध्यारोमै बित्यो । लासहरू थप मृत भए । त्यस भयानक रातको अघिल्लो रात प्राचीन मित्रबाट रक्सी पिउने निमन्त्रणा आयो । नकार्न सकिनँ । अथवा चाहिनँ । जे सुकै होस् मलाई रक्सीको मात लाग्दै लागेन । मित्र आवेशमा आयो । म झन् उग्र भएँ।

“यो रक्सी समेत पक्षपाती निस्कियो । जति पिउँदा नि लाग्दैन । तँलाई लाग्ने मलाई नलाग्ने कसरी हुन्छ हँ?”
“के गर्छस् त, चाहँदैमा मात्र हुँदैन । मान्छे नै पनौती छ्स्।”
“नचाहिने कुरा नगर् ! मलाई यो संसार देखेर विरक्त लागिसक्यो । मिल्थ्यो भने म यो संसारलाई आगो बालेर ध्वस्त पार्थेँ । लासहरू बौरिएको नाटक गरेर ताण्डव गर्दैछन् । अब लासहरूलाई लास बनाउनुपर्छ।”
“कसको लास ? के भनेको?”
“दुनियाँमा समस्याको जड भनेको संभोग हो । संभोगबाट समाधी होइन केवल बर्बादी निम्तिन्छ । अब संभोगमाथि आजीवन प्रतिबन्ध लगाउनुपर्छ । नियम तोड्नेलाई कठोर सजाय हुनुपर्छ । यसलाई अब इतिहासमा सिमित गरिनुपर्छ, त्यो पनि रातो अक्षरमा।”

म उत्तेजित हुन्छु । प्राचीन मित्र जिन्दगी भुल्न व्यस्त हुन्छ । ऊ मस्त हुन्छ । मेरा संभोग विरोधी विचारहरू स्खलित हुन्छन् । म शिथिल हुन्छु । मभित्र रिक्तता जन्मिन्छ । केही ठूलो कदम चाल्ने रहर पैदा हुन्छ । आँट भने बिल्कुल हुँदैन । रात छिप्पिन्छ । रक्सीका बोतलहरू रित्तिन्छ्न् । मेरो संभोग पुराण निरन्तर चल्छ । म धेरै अल्झिएँ । अब म सिधै त्यो भयानक रातको क्रिया र प्रतिक्रियामा प्रवेश गर्छु । अल्झिनु जीवन हो । बल्झिनु नियत । वि आर आवर वन स्लेभ।

त्यस रात शनिवार पक्कै थिएन । यदि हुँदो हो त सायद आज म त्यसलाई अर्कै रूपमा सम्झिन्थेँ । उही कुरा उही समयमा हुनु संयोग हो वा अरु केही, यसको जवाफ न नाटककार जान्दछ न कलाकार नै । सबै मस्त छन् । व्यस्त छन् । रंगमञ्चमा कसैलाई कसैको परबाह छैन । आफ्नो भाग आफ्नो हो वा अरु कसैको भन्ने सामान्य जानकारी समेत छैन । झुर नाटककारको झुरेष्ट रचना पनि यहाँ अनमोल साबित हुँदैछ।

सधैँझैं म रातको समयमा हाम्रो सामाजिक दायित्व निभाउनु अघि घर पुगिनँ । म केही घण्टा अघि पुगेँ । समयभन्दा अगाडि । समयलाई यो ठाडो चुनौती थियो । समय चुनौती सहँदैन । मान्छे समय हुन खोज्छ अनि आफ्नो चिहान आफै खन्छ । घर पुग्दा जुन दृश्य देखेँ त्यसले आज पनि मलाई गिज्याउँछ । छाती पोल्छ । ओठमा मीठो मुस्कान ल्याउँछ । त्यसबेला भने मुस्कान मेरो लागि बिरानो थियो।

मसानघाटको वातावरण पूरै शान्त थियो । कतै कुनै आवाज थिएन । चकमन्न । सुनसान । सन्नाटा । बैरागीको कुटिजस्तो। बेडरुमतर्फ बढेसँगै हाँसोहरू सुनिन थाल्यो । पाइला बढ्यो, हाँसोको आयतन बढ्यो । बिस्तारै ढोका उघारेँ, चिहाउने हिसाबले । त्यहाँ लासहरू थिएन । संभोगमा लिप्त ओछ्यानको दुई शरीर पूरै जिउँदो थिए । जुन वेगमा र उत्साहमा उनीहरू संभोगमा लिप्त थिएँ मैले विश्वास गर्न सकिनँ कि त्यो त्यही चिसो लास हो जोसँग मैले यत्रो समयदेखि कुरुप रातहरू भोग्दै बसेँ । ऊ यति जीवित देखिन्थी कि मानौँ उसका प्रत्येक अंगहरू आगो ओकल्दै थिए।

म चुपचाप घरबाट निस्केँ । जाने कहाँ थाहा थिएन । सिधै रक्सी पसल छिरेँ । तर पिउन मन फिटिक्कै भएन । मेरो मगजमा अघिकै दृश्य नाच्न थाल्यो । लासको क्रिया स्वरुप प्रतिक्रिया अत्यावश्यक भयो । भन्ने बित्तिकै को खोज्नु ? फेरि कहाँ खोज्नु ? जीवन पुनः अनिर्णयको बन्धि भयो । समय ढल्किँदै थियो, म उम्लिँदै थिए । त्यो लासले अरुसँग संभोग गर्नसक्छ भने मैले आफूलाई सावित गर्नैपर्छ । पीडाको ओखती पीडाबाहेक अरु हुन सक्दैन । म सन्त, महात्मा होइन । मेरो लागि मृत्युको बदला मृत्यु, मात्र मृत्यु हुन्छ । आदर्शको खोल ओढेर आत्मरतिमा रमाउने काम विद्वानहरूको हो । म सामान्य जीव हुँ । अ टाइनी क्रिचर लिभिङ वर्थलेस ला[फ !

जहाँ इच्छा, त्यहाँ उपाय । झट्ट वेश्याको याद आयो । उसले दिएको कार्ड पर्समा सुरक्षित रहेछ । त्यसपछि, फोन कल, उसको कोठातर्फ प्रस्थान । अन्तमा मोलमोलाइको सुरुवात।
वे: आखिर म पनि काम लाग्ने भएँ । (अर्को व्यवस्था विरोधि हाँसो)
म: म मूल्य तिर्दै छु ।
वे: मेरो योनि र वक्षको मूल्य भन्नुस् । ‘मेरो’ मूल्य तिर्न सक्ने औकात तपाईंको छैन । खासमा म अमूल्य छु । कोही मान्छेको मोल हुँदैन ।
म: वेश्या भएर दर्शन छाँटेको कस्तो भद्दा देखिएको । वेश्याले आफ्नो औकात भुल्नु हुन्न । (क्रोधको मात्रा बढ्छ)
वे: मेरा केही नियमहरू छन् ।
म: नियम ?
वे: (मतर्फ ध्यान नदिइकनै)
नियम १: ओठ आउट अफ रिच हो।
नियम २: नियम १ बाहेक अरु नियम छैन।
म: ओठ किन वर्जित?
वे: यो केवल मेरो प्रेमीको लागि हो । उसको ओठ बाहेक अरुलाई यो ओठमा प्रवेश निषेध छ।
म: तिमी वेश्या होइन साहित्यकार हुनुपर्ने । शब्दको जाल बुन्न खुब जानेकी रहेछौ।
वे: उनीहरू शब्द बेच्छन्, म शरीर । (ऊ कपडा फुकाल्न थाल्छे) अब कामको कुरा गरौँ । (म पनि कपडा फुकाल्न थाल्छु) मूल्य छ?
म: मूल्य?
वे: मेरो शरीरको मूल्य । पैसा ।
म: कति हो ?
वे: (अर्धनग्न भइसक्छे) घण्टाको २ हजार । पूरा रातको ११ हजार ।

म खल्ती छाम्छु । चानचुन गरेर १११० रुपैयाँ मात्र हुन्छ खल्तीमा । जति खोज्दा पनि अर्को रुपैयाँ थपिँदैन । लुगा फुकाल्दै मेरो चर्तिकला हेरिरहेकी वेश्या बोल्छे । “पैसा छैन?”
“छ तर पर्याप्त छैन।”
“उधारो चल्दैन।”
ऊ कपडा लगाउन थाल्छे । अचानक मेरो कानमा लासको विजयपूर्ण हाँसो गुन्जिन्छ । “तँ फेरि परास्त भइस् ।” लासले निरन्तर गिज्याउन थाल्छ । संभोगको चाहभन्दा पनि लासको अघि आफूलाई साबित गर्ने लालसा मभित्र उम्लिएर आउँछ । म पोखिन चाहन्छु । जीवनको अंतिम संभोग अर्थपूर्ण बनाउने हुटहुटी जाग्छ ।

“धेरै नसोच्नुस् । वेश्याहरूको अघोषित नियमको उलंघन गर्ने अधिकार मलाई छैन । तपाईं यहाँबाट गएकै राम्रो । मूल्य तिर्न नसक्नेले खरिदकर्ता बन्ने हैसियत राख्दैन।”
वेश्या र लासको एकैसाथको प्रहारले म चकनाचुर हुन्छु । म ऊसँग अनुरोध गर्छु । “आज मलाई उधारो संभोग गर्न देऊ । भोलि म डबल, तेब्बर मूल्य तिर्छु ।”
“अनुनय गर्नुको फाइदा छैन ।”

उसको मोबाइलको घण्टी बज्छ । ऊ फोनमा व्यस्त हुन्छे । कुनै ग्राहक होला । वा उसको ओठमाथि अधिकार भएको प्रेमी । उक्त क्षण म पूरै शुन्य हुन्छु । निमेष भरमै उसको टाउकोमा टेबलको एस्ट्रे प्रहार गर्छु । रगत लतपतिएको टाउको सहित ऊ भुइँमा बजारिन्छे । म बेकाबु भएर तबसम्म प्रहर गर्छु जबसम्म उसको प्राण पखेरु उड्दैन । उसको टाउको म:मको किमाजस्तै छ्याकछ्याक पर्छ । म वेश्याको लासमाथि खनिन्छु । रातभर म संभोगमा लिप्त हुन्छु । म गिद्द बन्छु । सिनोको लुछाइ गिद्द नअघाएसम्म जारी रहन्छ । म सन्तुष्ट हुन्छु, किनभने अब बल्ल ऊ अमूल्य भएकी छे, अब उसको मोलमोलाई कसैले गर्नेछैन । ऊ आफैले पनि गर्ने छैन ।

बिहानको प्रथम प्रहरसँगै गिद्द उठ्छ । खल्तीबाट १११० रुपैयाँ निकालेर लासको छातीमा राख्छ । कोठामा भेटेको कागजमा जिउँदो वेश्याले किनेको कलमले मृत वेश्याको लागि सन्देश छोड्छ –
“म उधारो संभोगको पैसा अवश्य तिर्नेछु।”

Facebook Comments

You may also like

error: Content is protected !!