मोडहरू

उसलाई आफ्नै जिन्दगीप्रति हीनताबोध लाग्न थाल्छ । आफ्नै कर्मप्रति घृणाभास हुन्छ । विगतका दिनहरूमा पैसा पनि, यश पनि । ‘मोजमस्ती पनि, जिन्दगीलाई बन्दोबस्ती पनि’ सोचेर लहलहैमा लागेको थियो त्यो कर्ममा । उसको नामपनि सुन्दर । मान्छेपनि नाम अनुसार कै सुन्दर । लोभलाग्दो जिउडालको लक्का जवान !

‘सौराह घुम्न जाने । तीन दिन उतै बिताउने । गाडी आफैँ व्यवस्था गर्नेछु । होटेलको बिल मेरै । पचास हजार नगद क्यास दिन्छु ।’ एक जना महिला साथीबाट फोनमा त्यो प्रस्ताव आएको थियो । “सोच्ने समय दिनुस् । भोलि कल गर्नेछु ।” भन्यो । कुनै समय त्यसरी नै बार्गेनिङ चल्ने गर्थ्यो । जवानीको मोलमोलाइ । उसको कर्म त्यही थियो । धन सम्पत्ति भएको तर पतिबाट टाढिएर बस्नु परेकाहरू या एकल महिलाहरू । जो अतृप्त प्यासमा छटपटाइरहेकालाई तृप्ति दिने कर्म । कलिङ बोय अर्थात प्ले बोय ।

उसलाई आफूले गरिराखेको कर्मप्रति दिग्दारी लाग्यो । नमज्जा लाग्न थाल्यो । त्यसपछि त्यो कर्मलाई छोड्ने निश्चय गरेको थियो । पहिलेजस्तै कतैबाट राम्रो प्रस्ताव आउँदा पनि उसले आनाकानी गर्नुको कारण त्यही थियो । कुनै बेला एक दुई हप्तामै लाख डेढ लाख नगद क्यास । कहिले खातावालाले हस्ताक्षर गरेको ब्लाङ्क चेक पाउँदा पैसाभन्दा ठूलो के छ र भन्ने मान्छे, पैसा नै ठूलो होइन रहेछ सोच्न थाल्छ । दशकभन्दा बढी त्यही कर्ममा रमायो । केही कमायो । केही जमाएको पनि थियो । जसरी छिटो र सजिलो कमायो । बालुवामा पानी हालेझैं विलाएर गयो पनि । उसले आफ्नो भविष्यको बारेमा सोच्न थाल्छ । बुढ्यौलीपनमा हुन सक्ने बेसाहारे जिन्दगीको झलक आँखामा देख्न थाल्छ ।

पढ्नको लागि राजधानी छिरेको थियो सुन्दर । बीस वर्षे जवानी उमेरमा । राजधानीको नाम चलेको क्याम्पसमा ब्याचलरमा भर्ना गर्न पुगेको थियो । धेरै पढेर सरकारी सेवामा लाग्ने इच्छा थियो । तर उसले सोचेको भन्दा अर्कै भइदियो । जिन्दगीले अर्कै मोड लियो । सरकारी सेवामा नभएर कोही कसैको सेवा गर्ने अवसर मिल्यो । सरकारी जागिरबाट भन्दा छिटो कमाउने धन्धा थियो । तर इज्जत र प्रतिष्ठालाई लात मारेर कमाउने अनुचित कर्म, कुकृत्य । त्यसैको कमाई । प्रशस्त पैसा कमाएर पनि खुलेर गर्व गर्न नसक्ने कर्म र कमाई ।

राजधानीको बसाई । नकिनेर मुखमा सितो नपर्ने । त्यसमाथि महङ्गीको समय । गाउँमा बा बिरामी परेर उपचार गराउँदा खर्च भयो । घरबाट पैसा पठाउन सक्ने अवस्था भएन । राजधानी छिरेको एक वर्ष पछिको एक समय थियो । घरबेटीलाई कोठाको भाडा समयमा दिन सकेन । दुई महिनासम्म कोठाको भाडा दिन नसकेपछि आफ्नो समस्याहरू बताउन र केही महिना कुर्नुस् भन्न घरबेटीकोमा गएको थियो । घरबेटी त्यति ठूलो घरमा एक्लै बस्थिन् । चार तलाको घर । धेरै जसो कोठाहरू भाडामै दिएका थिए । अर्धबैंसे महिला । रुप र जिउडालमा कुनै कमी थिएन । बोलीवचन मीठो । घरबेटीको लोग्ने छोराछोरी सहित अमेरिका बस्नु हुन्थ्यो । सुन्दरले निकै गाह्रो मानेर कोठा भाडा तिर्न समस्या परेको कुरा बतायो । सुन्दरको सुन्दरता र जवानीमाथि नजर हुलिरहेकी घरबेटीले उसलाई ठूलो अफर दिइन् । बम्पर अफर । सुन्दरले कल्पना नगरेको अफर । घरबेटीले चाहेको बेलामा उनले भनेको र चाहेको काम गरिदिए कोठा भाडा शतप्रतिसत मिनाहा हुने अफर । तर उसलाई विश्वास लाग्दैन । हुन्छ या हुँदैन दोधारमा परेर फर्किन्छ ।

अब ऊ मनमनै विगतलाई कोट्याउन थाल्छ । सुन्दर पहिले नै केही अश्चार्यमा थियो । एकदिन धारामा पानी भर्ने बेलामा कोही नभएको मौका छोपी घरबेटीले आफ्नो नरम र कोमल हातले सुन्दरको एउटा हातमा समाएर सुम्सुम्याएकी । तर उसले वास्ता नगरेको । अर्को एकदिन ऊ नुहाएर बाथरुमबाट निस्केर कोठातिर जाँदै गर्दा गल्लीमा पछाडिबाट उसको नाङ्गो कम्मरमा दुई हातले कोट्याएर कौकुती लगाई दिएकी । त्यसलाई पनि घरवेटी हो, माया गरेर जिस्किनु भएको भनेर मन शान्त पारेको क्षण । कतै मलाई फसाउँदै त हुनुहुन्न ? सोच्छ थाल्छ । तर उसको सोच र डरभन्दा फरक हुन्छ स्थिति । जुन अफर दिएकी थिइन् त्यही गतिविधि हुन थाल्छ । त्यसपछि कहिले घरबेटीको रहर पूरा गर्दा, कहिले उसको रहर पूरा गर्दा उनीहरू एउटै तन, मन र एउटै ओछ्यान हुन थाल्छ । त्यसपछि सुन्दरलाई हाई सन्चो । कोठा भाडामा बसेको छ या आफ्नै घरमा फरक पर्दैन । लगभग चार पाँच साल त्यही प्रक्रियामा समय बिताउँछन् ।

त्यसै बिचमा छोराछोरी सहित लोग्ने दुई पटक छुट्टी मनाउन नेपाल फर्कन्छ । पहिलो भेट हुँदा परिचय गराउँदै घरबेटीले लोग्नेसित भनेकी थिइन् ‘घरमा केही अप्ठ्यारो काम पर्दा उहाँ सुन्दर बाबूले सहयोग गर्नु हुन्छ । सोझो र इमान्दार मान्छे हुनुहुन्छ ।’ लोग्नेले सुन्दरलाई धन्यवाद दिएका थिए । घरबेटीसित हिमचिम बढेपछि सुन्दरको जीवनशैली फेरिन्छ, गाउँलेबाट सहरिया हुलिया हुन थाल्छ । कानमा सुनको कुण्डल झुण्डिन्छ । बोली र पहिरन पनि सहरिया । त्यही बेला घरबेटीले सुन्दरलाई आफूजस्तै एक्लोपनमा जिन्दगी गुजारिरहेका महिलाहरूसित नजिक गराइन् । उनीहरूको एक्लोपनलाई तोडिदिने अवसर दिलाइन् । त्यही क्रममा नेपथ्यमा छटपटाइरहेका महिलाहरूको लागि सुपरिचित साथी बन्न पुग्छ सुन्दर ।

घरबेटीले देखाएको बाटोमा हिँड्दै गर्दा महिला साथीहरूको बहकिएको मन शान्त पार्न राजधानीको ठूलठूला घरको कोठाहरू चहार्यो सुन्दरले । रमणीय ठाउँहरू, कहिले नगरकोट, कहिले पोखरा, कहिले सौराहा, कहिले लुम्बिनी त कहिले मुस्ताङ्ग गरी देशको चर्चित पर्यटकीय ठाउँहरूमा घुम्ने अवसर पनि पायो । रमाइलो ठाउँहरू घुम्न पनि पाइने, मीठो मसिनो खान पनि पाइने । मोज मस्ती पनि हुने र उसको बैंक खातामा अङ्कहरू पनि थपिँदै जान्थ्यो । ‘किन गर्नु पर्यो जागिर ? किन गर्नु पर्यो विवाह ?’ कुनै समय यस्तै पनि सोचेको हो उसले ।

राजधानीको कुनै कुना र गल्लीहरू उसलाई नौलो भएन । उसको सम्बन्ध आर्थिक रुपले मजबुत भएकाहरूसित बढी थियो । अरु महिलाहरूसित ऊ भाडामा बिक्थ्यो । घरबेटीको भने आफ्नै यारा थियो । उसको दु:खमा गुण लगाएकी थिइन् । बेसाहारे हुने बेलामा हात बढाउँदै साथ दिन आएकी थिइन् । उसले घरबेटीलाई कर्म गर्न बाटो देखाउने एक पथ-प्रदर्शक मान्थ्यो । सुन्दरले पैसाको लागि आफ्नो जवानी सौदाबाजीमा लगाएको थियो । त्यसै सिलसिलामा धेरै घरको कैयौं कोठाहरूमा पुग्यो । थुप्रै ढोकाहरू खोल्ने र बन्द गर्ने काम गर्यो । सामान्यदेखि सुकिला ओछ्यानहरूमा लडिबुडी गर्न पुग्यो । कैयौं कोठाहरूमा नाङ्गो खेल खेल्न पुग्यो ।

समाजको आँखा छल्ने बहानामा विभिन्न साइनो जोड्दै, कहिले गाउँले भाइ । माइतीतिरको आफन्त । बहिनीको लोग्ने । देवर बाबू । टिभी बनाउने मान्छे । इन्टरनेट जोड्ने मान्छे यस्तै यस्तै विभिन्न… नातामा । उसको उर्वरशील जवानी पैसाकै लागि महिला साथीहरूसित मोजमस्ती गर्दै जान्छ । राजधानीमा बसेर आफूले जस्तै कर्म गर्ने युवाहरूको संजालसम्म लिङ्क बढ्छ । त्यसपछि झन व्यस्तता बढ्दै जान्छ । हप्तादिनभन्दा बढी खाली बस्नै पर्दैन । कतैबाट अफर आएपछि त्यही संजालमा जो फ्री छ उसलाई सेवामा खटिन लिङ्कबाटै सूचना आदनप्रदान हुन थाल्छ । सुन्दरलाई जिन्दगी मालामाल लाग्न थाल्छ । उसले आफ्नै कर्मको कमाइबाट घाँटीमा सुनको सिक्री र हातमा चेन लगाउँछ । भक्तपुरमा एउटा घडेरी किन्छ । घरका बा-आमाले विहे गर्न जोड दिँदा पनि उसले मान्दैन । आफ्ना भाइ बहिनीहरू विहे गरेर आफ्नै घरजम गर्न थालेका हुन्छन् । तर ऊ भने अविवाहित नै बस्छु भनेर जिद्धी गर्छ । बेलाबखत घरमा पैसा पठाइदिन्छ । आफ्नो काम बारे कसैले सोधीहाले- ‘अनलाइन बिजनेश’ भनेर टारिदिन्छ ।

सुन्दरको व्यस्तता देखेर घरबेटीलाई कहिलेकाहीँ डाह लाग्न थाल्छ । मन कुँडिन्छ । कहिलेकाहीँ ठोक्किने गरि नजिक पर्दापनि नदेखेझैं गरेर हिँडिदिन्थिन् । सुन्दरले जिस्की जिस्की बोल्ने बनाउँथ्यो । जति नै रिसाए पनि हाँस्ने गराइदिन्थ्यो । त्यसपछि फेरि जम्थ्यो उनीहरूको चर्तिकला….।

‘सुन्दर, तिमी त यति व्यस्त भयौ कि, मलाई समेत भुल्ने भयौ है ?’ उनले कटाक्षमा बोलिन् । ‘म जति नै व्यस्त भए पनि हजुरको लागि टाइम दिन कन्जुस्याइँ गर्दिनँ नि । हजुर भन्नुस् न मात्र । चौबीसै घण्टा हाजिर छु मालिकनीको लागि ।’ मख्ख पारिदिन्थ्यो । ‘तिमी भाग्यमानी छौ सुन्दर । विद्यार्थी भएर राजधानी छिरेको केटो रातारात मालिक भयौ ।’ छिल्लिँदै उनी बोलिन् । ‘हो..म हजुरको दिलको मालिक जस्तै भइसकेको छु । नजानिँदो पाराले हजुरको माया जालमा फसेको छु । तर कहिलेसम्म हो खोई ?’ सिरियस भएर बोलिदिन्छ सुन्दर । ‘जब सम्म तिमी मलाई चाहन्छौ, तब सम्म नि मेरो हिरो ।’ मस्किँदै बोल्छिन् । ‘अमेरिकाबाट मालिकले थाहा पाउनु भयो भने म त चैट !’ हातले घाँटी रेट्ने इशारा गर्दै उसले बोल्छ । ‘सुन्दर त्यसो नभन । त्यस्तो अवस्था आउन दिनै हुन्न । आइहालेछ भने मपनि तिम्रै पछि लागौंला नि ।’ उसको साथ लिएर बोल्छिन् । सुन्दरको मनलाई पैसाले तानिरहेको हुन्छ । सुन्दरलाई प्रयोग गर्ने महिलाहरूलाई उसको लोभ लाग्दो जवानीले तानिरहेको हुन्छ । ‘दूध खानलाई भैँसी पाल्नै पर्छ भन्ने छैन’ भन्ने उक्तिको सार उनीहरूको जीवनमा मेल खाइरहेको हुन्छ ।

एक साँझ घरबेटीको नम्बरबाट कल आयो । तुरुन्त मेरो कोठामा आउनु केही कुरा गर्नु छ भनेर बोलावट हुन्छ । सुन्दर कोठामा पुग्छ । ‘सुन्दर, तिमी र मेरो खुशी साट्ने दिनहरू गए अब ।’ टोलाइरहेकी घरबेटीले निन्याउरो मुद्रामा बोल्छिन् । उनको मुहारमा चमक देखिँदैन । यत्रो घरकी मालिकनी किन दुखी देख्दैछु आज ? सुन्दरले मनमनै धेरै कारणहरु खोज्न थाल्छ । तर भेट्टाउँदैन । ‘किन निराश हुनु भएकी ? के भयो हजुरलाई ?’ उसले बुझ्ने चेष्टा गर्छ । ‘खै..सुन्दर बुढोलाई शंका लागेर हो कि या अरु नै हो, नन्दलाई मसँगै बस्न बोलाउनु भएको छ । नन्दकी छोरीलाई यतै बोर्डिङ्ग पढाउने रे ।’ उनको अनुहार बिग्रेको देख्छ । बोलीमा रुन्चे स्वर मिसिएको भेटाउँछ ।

‘किन चिन्ता लिनु भएको ? के बिग्रिएको छ र ? नन्द यहाँ बसेर के फरक पर्छ ? पैसा हुनेलाई जत्ति पनि छन् नि रमाइलो गर्न जाने ठाउँहरू। यति सानो कुरामा चिन्ता लिने र ? म मिलाउँछु नि ।’ उसको कुरा सुनेर घरवेटीको मुहारमा खुशीको किरणहरू दौडेको देख्छ । ‘तर पहिला जस्तो सजिलो कहाँ हुन्छ त नि मेरो हिरो ।’ सुन्दरको गालामा आफ्नो गाला टाँसेर बोल्छिन् । सुन्दरले अङ्गालो भरि कसिलो पारेर उनलाई अठ्याउँछ । उनी मख्ख पर्छिन् । र भन्छिन् । ‘तिमी मेरो समीप आएपछि मेरो हराएको खुशी फर्केको छ सुन्दर । मलाई एक्लो पारेर नजाऊ है ।’ दुबै जनाले एकछिन कसिकसाऊ गर्छन् । ‘मेरी मालिकनी, म गाउँले केटोलाई राजधानीमा टिक्ने र बिक्ने बनाउने को हो आखिर ? भन्नुस् त !’ लाडिएर बोल्छ सुन्दर । फेरि घरबेटी बोल्छिन्- ‘को होला….? सुन्दर, यो कुरा त म तिम्रै मुखबाट सुन्न चाहन्छु । तिमी नै भन्देउ न मेरो हिरो ।’ उनले सुन्दरलाई नै भन्न उक्साउँछिन् । ‘को हुनु नि…. उ….उहाँ नै हुन् । मेरी दिलकी रानी । सहाराकी खानी ! मेरी मालिकनी….मेरो सबै थोक ।’ उनको मिलेको नाकमा आफ्नो चोेर औंलाले छुने गरी देखाएर सुन्दर बोल्छ । घरबेटीले आँखा मिरमिर पारेर आनन्द मान्छिन् । उनीहरू फेरि रङ्गिन संसारमा हराउँछन् । छुट्टिन्छन् । दैनिकी त्यसरी नै बित्दै जान्छ ।

घरबेटीकी नन्द आइन् । एउटै फ्ल्याटमा सँगै बस्ने भइन् । तब सुन्दर र घरबेटीलाई हरेक पक्षमा पहिलेजस्तो सहज भएन । तर खाने मुखलाई जुङ्गाले कहाँ छेक्छ र ! खुल्ला दिलले मनोरञ्जन गर्नको लागि घरभन्दा बाहिर धाउने गर्छन् । उनीहरूले ती कुरालाई निकै गोप्य रुपमा व्यवस्थापन गरेका हुन्छन् । लामो समयसम्म लोग्ने टाढा रहेपनि उनलाई खासै न्यास्रो लागेको देखिँदैन । पतिको न्यास्रो मेटाउन, एक्लोपन र अतृप्त चाहनालाई तृप्ति दिन सुन्दरको कसिलो साथ उनले पाइरहेकी हुन्छिन् ।

एउटा रात । कालो रात बनी दिन्छ । आधा रात भएको थियो । मोबाइलको घण्टी बज्यो । स्क्रिनमा कलिङ्ग नाम आफ्नै छोरी प्रिज्माको देखाउँछ । कल रिसिभ गर्छिन् । स्क्रिनमा छोरी देखिन्छे । अमेरिकाबाट- ‘मम्मी, ड्यडी त ठूलो एक्सिडेन्टमा पर्नु भयो । हस्पिटलमा एडमिट गरेको छ । सिरियस हुनुहुन्छ । हजुर तुरुन्त आउनु पर्यो ।’ एकै श्वासमा रुँदै बताउँछे । त्यो खबरले धर्ती हल्लिएको आभास हुन्छ । शरीर ढलमलाउँछ । खुट्टाहरू लल्याकलुलुक गल्छ । मुर्छा खान्छिन् । आधा रातमा सुत्ने कोठामा पछारिन्छिन् । कति समयपछि होस आउँछ । त्यसपछि उनले रुँदै नन्दलाई सुनाउँछिन् । इमेर्जेन्सीमा भोलि नै अमेरिकाको लागि उड्छिन् । लोग्नेको अवस्था चिन्ता जनक भेटाउँछिन् । प्राण जानुभन्दा पहिले लोग्ने सकसले बोल्ने प्रयास गर्छ- ‘मालिणी, मलाई भेट्न तिमी कहाँदेखि कहाँसम्म एक्लै आयौ । जिन्दगीमा तिमीलाई सुख दिन सकिनँ मेरी प्राण । सुखद भविष्य सोच्दा सोच्दा वर्तमान नै भुलेछु । जिन्दगी सँगै जिउने कसम खाएपनि तिमीलाई सधैँ एक्लै छोडेर हिडेँ म । तिम्रो कति चाहना पूरा गर्न सकिनँ । मलाई माफ गर । कलिला मुना जस्ता छोराछोरीलाई अब तिमी सम्हाल्नु है । सम्हाल्छ्यौ नि…? म…ति..मी..ला..ई….एक्…लै छो.. डे .. र. .जाँ .. दै… छु…!’ त्यत्तिकैमा बोली रोकिन्छ । श्वास बन्द हुन्छ । उनलाई ठूलो बज्रपात पर्छ ।

लोग्नेको देहावसानपछि छोराछोरीलाई अमेरिकामा पढाउन सक्ने क्षमता हुँदैन । उनीहरू नेपालमै फर्किनु पर्ने हुन्छ । लोग्नेको अन्त्येष्टि गरेको केही हप्तापछि एकदिन एघार वर्षिय छोेरा सुवर्ण र चौध वर्षिय छोरी प्रिज्मालाई लिएर उनी नेपाल फर्किइन् । लोग्ने गुमाएको शोकले मन क्षतविक्षत बनाएको हुन्छ । ज्यान थिलथिलो परेको हुन्छ । विक्षिप्त हुन्छिन् । कहिलेकाहीँ उनको मानसिक स्थितिमा असन्तुलन आउन पुग्छ । त्यस्तो अवस्था देखेर सुन्दरले कति पटक सम्झाउने प्रयास गर्यो । धरधरी रोएर सुन्दरलाई अङ्गालो हाल्न आउँथिन् । त्यो हालत देखेपछि सुन्दरले पनि मन थाम्न सक्दैनथे । ऊपनि कोठामा पसेर ढोका बन्द गर्थ्यो । एकान्तमा धेरै बेर रुन्थे । के देख्नु पर्यो मैले । मैले सही गर्दैछु कि गलत गर्दैछु ? सुन्दरले आफैलाई प्रश्न गर्ने गर्थ्यो । उनको अवस्था ठिक होस् भनेर सक्ने जति उपायहरू लगाउँछन् । खाइलाग्दो भएको जिउ पनि टिङ्ग्रिङ्गको हुन्छ । अनुहारमा छाला खुम्चिएर धर्सो धर्सो पर्न थाल्छ ।

लोग्ने गुमाएको करिब दुई साल भएको हुँदो हो । बिस्तारै सामान्य अवस्थामा फर्किँदै थिइन् । एकदिन उनलाई ज्यान दुखेर फत्रक्कै पार्यो । सुन्दरले हस्पिटलमा भर्ना गरायो । दुवै मिर्गौलाले काम गर्न छोडेको रिपोर्ट आयो । मिर्गौला प्रत्यारोपणको लागि मिर्गौला दाताको खोजीमा सबै आफन्तहरूसम्म खबर गरियो । तर कसैबाट मिर्गौला दान गर्ने इच्छा प्रकट भएन । केही उपाय नलागेपछि सुन्दरले आफ्नो एउटा मिर्गौला दान गर्ने टुङ्गो गर्यो । उपचारको लागि खर्च आफूहरू बस्दै आएको घर बेच्ने निधो भएको थियो । तर सुन्दरले त्यो निर्णयलाई रोकिदियो । भक्तपुरमा आफ्नो नाममा रहेको घडेरी बेच्ने । त्यही पैसाले उपचार गराउने भनेर विश्वस्त पार्छ । घडेरी बेच्यो । उनको उपचार गरायो । मिर्गौला उसैले दान गर्यो । सुन्दरको महानताप्रति सबैले तारिफ गरे । उनको आफन्तहरूले सुन्दरलाई भगवान नै माने । तर सुन्दरले त्यति विधि बलिदानी दिनुको रहस्य उनीहरू दुईजनालाई मात्र थाहा थियो । नेपथ्यको रहस्य नबुझ्नेलाई सुन्दर भगवान नै कहलिएका थिए ।

लामो समय हस्पिटलको उपचारपछि घरबेटी निको हुन थालिन् । घरबेटीले सुन्दरको आत्मियता देखेर सधैँको लागि आफ्नै घरमा ठाउँ दिने योजना बनाएकी थिइन् । आफूसँगै नजिक देखिरहने सपना बुनेकी थिइन् । तर एकदिन घरबेटीलाई खबरै नगरी सुन्दर त्यहाँबाट भाग्छ । भाग्नु उसको रहर थिएन । गाउँमा आमा बिरामी भएर सिकिस्त भएको खबर पाउँछ । उसको मन क्षतविक्षत भएको हुन्छ । उसलाई जति छिटो गाउँ पुग्नु थियो । आमालाई भेट्नु थियो । गाउँमा पुग्दा आमालाई हस्पिटलमा भर्ना गराइसकेको हुन्छ । तर उसले आमाको अन्तिम बोली मात्र सुन्न पाउँछ । ‘बाबू सुन्दर, मर्ने बेलामा अन्तिम पटक तिम्रो मुख हेर्ने धोको थियो । तिमी आयौ ?’ त्यत्तिकैमा आमाको श्वास जान्छ । आत्तिएर डाक्टरलाई सोध्छ । दुबै मिर्गौलाले काम नगरेको । उपचारको लागि ढिलो भइसकेको डाक्टरको रिपोर्टमा देख्छ । आमाको मृत्युपछि उसलाई आत्मग्लानि हुन्छ । घरबेटीलाई दिएको मिर्गौला आमालाई दिन सकेको भए आमा जिउँदो रहने थिइन् । आमा कति खुशी हुँदी हुन् सोचेर पछुतो लाग्छ । त्यसपछि राजधानीमा कहिल्यै नफर्किने योजना बनाउँछ ।

उमेरले चालीस छुन आँटेको हुन्छ । राजधानीको बसाइँमा उसले उर्वरशील जवानी गुमायो । आधा जिन्दगी यसै बित्यो । सिर्जनशील, उपलब्धीमुलक केही काम ऊबाट भएनन् । एउटा मिर्गौला घरबेटीलाई दान गर्यो । आफ्नी आमा भने त्यही मिर्गौला नपाएर मरिन्, यसरी हेर्दा उसलाई त्यो पनि गुमाए बराबर लाग्यो । जन्म दिएकी आमा गुमाउनु पर्दा उसलाई बढी असह्य पीडा भयो । घरबेटी राजधानीको एउटा कोठमा बसेर सुन्दरको न्यास्रोमा छटपटाउँछिन् । सुन्दर भने सहर नफर्किने निश्चयसाथ गाउँमै बस्न थाल्छ ।

सुन्दर भविष्यको सपना बोकेर सहरमा छिरेको सुन्दरले छोटो वर्तमानमै सबै थोक गुमाउन पुग्छ । गाउँघरमा डुल्दा एकान्तमा बसेर विगतलाई स्मरण गर्छ । स्मृतिका पानाहरू पल्टाउँदै वर्तमानमा आइपुग्छ । त्यो बेला सुन्दरले आफूलाई रित्तो रित्तो महसुस गर्न थाल्छ । जिन्दगी नै रित्तो छ त कसको लागि कुरेर बस्नु सोच्छ । जिन्दगी नै वैराग्य लागेर आउँछ । एकदिन सुन्दरले जिन्दगीको सबै मोहलाई त्यागेर जोगीको भेष धारण गर्छ । र गाउँ छोडेर अनन्त यात्रामा निस्कन्छ ।

Facebook Comments

You may also like

error: Content is protected !!