TUMBBAD | THE ALTERNATE ENDING AND WHAT IF ? | रंगमञ्च/चलचित्र विशेष | विचार | काव्यालय-Kavyalaya

TUMBBAD | THE ALTERNATE ENDING AND WHAT IF? 

पूर्तिकी देवी अन्तहीन सुन र अन्नकी प्रतीक हुन् र पृथ्वी, देवीको कोख हो । ब्रह्माण्डको सुरुवात हुँदा देवीले त्यही कोखबाट सोह्र करोड देवी देवतालाई जन्म दिइन् । ती देवी देवतामध्ये हस्तर देवीको पहिलो सन्तान हो र सबैभन्दा प्यारो पनि । तर हस्तरको नाम आजभोलि  कुनै वेद-पुराणमा भेटिँदैन । 

उसलाई देवीको सबै सुन र अन्न चाहिएको थियो । सुन त उसले मनमानी गरेर उठायो तर जब ऊ अन्न लिन अघि सर्यो अन्य देवी देवताहरूले ऊमाथि आक्रमण गर्न थाले । हरेक आक्रमणमा ऊ कण-कण भएर छरिँदै गयो । ब्रह्माण्डको धुलोमा ऊ मिसियोस्, यो भन्दा पहिला नै देवीले उसको रक्षा गरिन्- ऊ कोहीद्वारा नपुजिने र सदैवका लागि सबैले भुलाइदिने शर्तमा । धेरै युगसम्म हस्तर देवीको कोखमा निदाइरह्यो । र एक दिन हाम्रा पूर्वजहरूले नै उसलाई सम्झिए र उसको नामको मन्दिर बनाइदिए । भनिन्छ, त्यस दिन यता देवताहरूको क्रोध तुम्बाडमा वर्षा बनेर बर्सिरहेको छ । 

निर्देशक राही अनिल बर्वे र उनको टिमले भारत सिनेमाजगतकै सबैभन्दा ठूलो मिथको रचना तुम्बाड चलचित्रमा गरेका छन् । “सोजा बेटा नहीं तो गब्बर आजाएगा” लाई टक्कर दिन सक्ने “दादी, सोजा वरना हस्तर आजाएगा”, साच्चै आँत हल्लाउन योग्य छ ।  

म यस चलचित्रमा भएका कुराहरू भन्दा नभएका कुराहरू गर्न चाहन्छु । म यस चलचित्रमाा भएको अन्त्यको साटो अर्को अन्त्य, वैकल्पिक अन्त्यको, कुरा गर्न चाहन्छु । म ‘यदि’ को कुरा गर्न चाहन्छु । 

चलचित्रमा देखिने अन्त्य

तुम्बाड लालसाको कहानी हो । विनायक रावका पूर्वजमा रहेको लालसाले गर्दा नै हस्तरलाई सम्झिइयो । विरासतमा मिलेको छ विनायक रावलाई त्यहि लालसा । ऊ पनि तुम्बाडमा लुकेको खजाना चाहन्छ । सरकार मरेपछि ऊ र उसकी आमाले तुम्बाड छोड्छन् । फर्किएर तुम्बाड नआउने वचन उसकी आमाले माग्छे र उसले दिन्छ पनि । तर ऊ फर्किएर आउँछ, उसकी आमाको देहान्तपछि । हस्तरको श्राप लागेकी हजुरआमा अहिलेसम्म जिउँदै हुन्छे । उसले हजुरआमाबाट खजानाको रहस्य पत्ता लगाउँछ र हजुरआमालाई मुक्ति दिन्छ । हस्तरले आँटाले बनेको गुडिया खाइरहँदा हस्तरको थैलीबाट केही सिक्का निकाल्छ । पैसाको आवश्यकता हुँदा ऊ सधैँ यस्तै गर्छ । तर पैसाको आगमनसँगै उसको जीवनमा बुढ्यौलि र ऐयासी पनि भित्रिन्छ । उसले आफनो छोरा पांडुरंगलाई हस्तरबाट सुनका सिक्का झिक्ने तरिका  सिकाउँछ । 

सिक्का-सिक्का टिप्नुको साटो पूरै थैली नै चोर्ने उपाय पांडुरंगले आफ्नो बुबालाई दिन्छ । तर उनीहरूले सोचेको जस्तो भइदिँदैन । जती धेरै गुडिया त्यति धेरै हस्तरहरू निस्कन्छन् । उनीहरूलाई देवीको कोखबाट निस्कनै गाह्रो पर्छ । विनायकले भएभरका गुडियालाई आफ्नो जिउमा बेर्छ । हस्तरहरूले उसलाई लखेट्छन र उसलाई हस्तरको श्राप लाग्छ । 

पांडुरंग बाहिर निस्कन्छ र देख्छ- उसको बुबाको भयावह हालत । विनायकलाई श्राप लागेता पनि ऊ हस्तरको थैली चोर्न सफल भएको हुन्छ । उसले आफ्नो छोरालाई त्यो थैली दिन्छ तर लोभको यस्तो भयानक नतिजा हुन सक्ने कुरा थाहा पाएकाले नै पांडुरंगले थैली समाउँदैन । आफूसँग भएको लालटिनले बुबालाई आगो लगाइदिन्छ र भन्छ- “सुत्नुस् बाबा, नत्र हस्तर आउँछ ।” 

 

पांडुरंग आफ्नो बाटो लाग्छ लालसाको अन्त्य गरेर, हस्तरको श्रापबाट मुक्त भएर । अमर हुनु मात्र हस्तरको श्राप होइन । लोभ पनि हस्तरको श्राप हो । विनायक र उसका पूर्वज सो लोभबाट मुक्त हुन सकेका थिएनन् तर पांडुरंग सफल भयो ।


चलचित्रको वैकल्पिक अन्त्य 

चलचित्रको पटकथा लेखक मिथेस शाह, आनन्द गान्धि, राही अनिल बर्वे र आदेश प्रसादका अनुसार चलचित्रलको अन्य अन्त्यहरू पनि थिए । यी अन्त्यहरूमध्ये एउटा अन्त्यमा पांडुरंगले आफ्नो बुबालाई तानेर लैजाने पनि थियो । यसको अर्थ पांडुरंगले पनि आफ्ना पूर्वजहरूको लालसालाई निरन्तरता दिएको भन्ने हुन्थ्यो । चलचित्रको लेखन प्रक्रियाबारे बनेको भिडियोमा यसको कुरा पटकथा लेखकहरूले गरेका छन् । त्यसैले मैले यसलाई लम्ब्याउन चाहिनँ । 

 

 

यदी पांडुरंगले बुबालाई तानेर लगेको भए ? 

यदी पांडुरंगले बुबालाई तानेर लगेको भए उसले साथमा लैजान्थ्यो हस्तरबाट चोरिएको त्यो सुन भरिएको थैली पनि । लेखकहरूले भनेजस्तै उसले साथमा लैजान्थ्यो विरासतमा हात परेको लालसालाई । तर के त्यो थैलीले उसलाई अपुग सम्पत्तिको मालिक बनाउँथ्यो त ? 

यो उत्तर दिनुभन्दा पहिला म सम्झिन चाहन्छु सानोमा पढेको कहानी । 

एकादेशमा एउटा किसान थियो । ऊसँग एउटा हाँस थियो । त्यो हाँस तिलस्मी थियो । हाँसले हरेक पटक सुनको अण्डा पार्थ्यो । किसान सो अण्डालाई बजारमा बेच्थ्यो । हाँसले सुनको अण्डा पार्नु र किसानले बजारमा लगेर बेच्नु; यो काम चलि नै रह्यो । बिस्तारै किसान धनि बन्दै गयो । धनि त ऊ बन्दै गयो तर ऊ अधैर्य पनि बन्दै गयो । एउटा अण्डा पारेपछि अर्को अण्डा पार्न हाँसलाई समय लाग्थ्यो । त्यति समयसम्म कुर्ने धैर्य किसानमा भएन र उसले एकै पटकमा सबै अण्डा लिने जुक्ति गर्यो । उसले हाँसको पेट चिर्यो तर केही हात परेन । लोभले लाभ त निम्त्यायो तर निम्त्यायो विलाप पनि । 

हस्तरको त्यो थैली पनि सुनको अण्डा दिने हाँस जस्तै हो । ऊबिना त्यो थैलीमा केही हुन सक्ने सम्भावना नै छैन । त्यसैले त विनायक र उसका पूर्वजहरूले जति सुनका सिक्का निकाले पनि हस्तरको थैलीबाट सुनका सिक्का झर्न बन्द भएनन्, ती सक्किएनन् । अनगिन्ती सुनको मालिक हो हस्तर र त्यो थैली हस्तरबिना मात्र सामान्य थैली हो । यो चलचित्र आफैमा सुनको अण्डा दिने हाँस र किसानको कथाको पुर्नकथन हो भन्दा गलत नहोला । 

त्यसैले यदि पांडुरंगले बुबालाई तानेर लगेको भए पनि उसको हातमा श्रापित बुबा मात्रै हात पर्थ्यो । उसले बुबालाई जलाएर थैली मात्रै लगेको भए पनि हात लाग्थ्यो शुन्य । यो अन्त्य राख्दा चलचित्रले दिन खोजेको सन्देशको अर्थ नलाग्ने भएकाले नै नराखिएको होला । तर हेर्न उत्तिकै मजा भने आउने थियो । 

Facebook Comments

You may also like

error: Content is protected !!