त्रि-सन्ध्या

नेपाली साहित्यका महाकवि देवकोटाले उ:बेलै लेखेका थिए:-
“हामीलाई अनन्तताले त्यसै तर्साउँछ र हामी हाम्रो जीवन माटोमा मिलाउने काम गरिरहेछौँ ।

यो जगत, यो ब्रह्माण्ड, यो संसार या यो अनन्तता ! खैर, जे भन्नुहोस देख्नलाई जति सहज र सुगम छ बुझ्नलाई उति नै जटिल र अगम पनि । जति सुलभ छ उत्ति नै दुर्लभ पनि । जति सजिलो छ त्यो भन्दा बढी कठिन पनि । जति स्थिर छ उति नै अस्थिर पनि । जति चल छ उत्ति नै जड पनि । जति सुक्ष्म छ उत्ति नै विराट पनि । न आदि छ न मध्य न अन्त्य नै छ । यो सहज-असहज, सुगम-अगम, सुलभ-दुर्लभ, थिर-अस्थिर, चल-जड, सुक्ष्म-स्थूल आदि इत्यादिको चक्रमा चक्कर लगाइरहँदा कहीँ पुग्न सकिँदैन ।

उपर उल्लिखित यावत विषयहरू यहि अनन्तताको एक आश्चर्य हो ।…. र यही अनन्तताको झिलीमिलीमा हामी हराइरहेका छौँ ।

“वादे वादे जायते तत्व बोध:”

यो संस्कृत उक्तिले स्पष्ट भनेको छ । वादविवाद, तर्क-वितर्क, शास्त्रार्थ आदि-इत्यादिको माध्यमबाट तत्व यानिकी ‘विषयको मुल रहस्य’ सम्म पुग्न सकिन्छ । त्यसैले आउनुहोस, यो ब्रह्माण्डको आश्चर्यको या भनौँ झिलामिलीको रहस्य केही हदसम्म उद्घाटन गर्न केही विचार विमर्ष गरौँ ।प्रथमत: हामी समयको बारेमा केही चर्चा र क्रमश: समयको विभिन्न मापदण्ड या भनौँ क्रिया-प्रतिक्रियाको या फेरि द्वन्द्व-अन्तर्द्वन्द्वको मुल मर्ममा प्रवेश गर्ने छौँ ।

समय के हो?

हामीलाई अलौकिक लाग्ने समय, एक भौतिक इकाई हो । अझ अगाडि गएर भन्दा समय भौतिक राशी हो । भौतिक राशी यानिकी भौतिक इकाईको चलयमानता या गतिशिलताका कारण घटित अवस्था । मतलब चलविन्दुको स्थानतरण हुनु नै घटनाको विकास हुनु हो । र लगतार घटिरहने दुई घटनाको अथवा कुनै गतिशील विन्दु, एक स्थानदेखि अर्को स्थानसम्म पुग्ने अन्तराल (प्रतिक्षानुभूती)लाई समय भनिन्छ ।

Essence of Time by Susan Krieg

Essence of Time by Susan Krieg


सापेक्षवादको सिद्धान्तले काल यानिकी समय, दिग्दे़श(स्पेस)को सापेक्ष हुने व्यहोरा बताउँदछ । सूर्यको सापेक्ष गतिबाट उत्पन्न या उदित भएको दिग्देशको सापेक्ष समयबाट नै पृथ्विको समयको मापन हुने हुन्छ । समयलाई सहज रूपमा बुझ्न या पढ्न पृथ्वीभन्दा सजिलो अर्को कुनै किताब नै छैन । भलै, पृथ्वीको गतिशीलता हामीलाई सदृश नभए पनि पृथ्वीले हामीलाई आफ्नो अक्ष र कक्षमा निरन्तर घुमेर या चक्कर लगाएर समयको बोध गराउँछ ।

पृथ्वीको परिक्रमा सदृश त छैन तर यसको गतिको सापेक्षताले हामीलाई सूर्यको गतिशीलता सदृश हुन्छ । मुख्यत: पृथ्वीको गतिको सापेक्षताले सूर्यले पूर्वदेखि पश्चिमको परिक्रमा र पूर्वदेखि उत्तर र उत्तरदेखि दक्षिणतर्फको कक्षमा भ्रमण गर्दछ । अत: समयको मापन पृथ्वीको सापेक्ष गतिको कारण सूर्यबाट प्राप्त गर्न सकिन्छ ।

मैथुन/द्वन्द्व/संक्रान्ति र सन्धि

यो जगत, यो संसार, यो ब्रह्माण्ड या भनौँ अनन्तताको विषमताको र त्यसमा निहित आश्चर्य एवं झिलीमिलीको चर्चा/परिचर्चा गर्ने क्रममा विषयान्तर भएको जस्तो लागिरहेछ । लाग्नु स्वभाविक हो । र लाग्नु पनि पर्छ किनभने यो ब्रह्माण्डको या अनन्तताको मुल मर्ममा प्रवेश गर्न विशेषत: समयलाई बुझ्न अत्यावश्यक नै हुन आउँछ ।

समयको लघुत्व-गुरूत्व । आकर्षण-विकर्षण । उत्पादन-प्रत्युत्पादन । सेचन-परासेचन । संघटन-विघटन । सबै-सबै दुई विपरित ध्रुवको मैथुन या द्वन्द्व या संक्रान्ति नै भनौँ, सन्धिको कारण हुने गर्छ । चाहे प्रकृति र पुरूषको [विषय-वस्तु] भन्नुस्, चाहे पिण्ड र उर्जाको भन्नुस या चाहे जे भन्नुस् यो सबै आश्चर्य र झिलीमिली एक-आपसमा उत्पन्न टकराव र घर्षणका कारण नै अस्तित्वरत छन् । यी दुई विपरित विन्दुको/ध्रुवको लगातारको टकराव र घर्षण किन र के का लागि ? यो प्रश्न पक्कै मनमा उठेको हुनु पर्छ । नउठे उठाउन जरुरी छ । किनभने यस प्रश्नले हामीलाई लैजाने छ समयको अनन्त गर्तमा चलायमान रहने मुख्य तीन घटक[ त्रिकालको ] अवलोकनतिर ।

३ घटक यानिकी समयको मुख्य ३ भेद । आउनुहोस् यी तीन मुख्य घटकको संक्षिप्त अध्ययन गरौँ ।

घटित क्रियाको अवधिलाई काल भनिन्छ । काल यानिकी समय । मुख्यत: कालको ३ भेद हु्न्छ । ३ कालको संगठित रूपलाई त्रिकाल !
भूत
वर्तमान
भविष्य्त

अथवा
प्राचीन
मध्य
अर्वाचीन

हामी सबैलाई ज्ञात छ त्रिकालको बारेमा । अत: यस बसाइँमा त्रिकालको चर्चा परिचर्चा गर्नु श्रेयस्कर नठहर्ला । तर यसका बाबजुद, त्रिकाल मध्येको १, भूतकालमा भने जसै चिहाऔँ । अब भूतकाल नै किन भन्नु हुँदो हो । किनभने यो ‘भूत’भित्रपनि ३ अर्थ लुकेका छन् ।

संसारमा उपस्थित भूत समस्त ब्रह्माण्डिय पिण्ड र ग्रह-उपग्रहरूमा सूक्ष्म या स्थूल रूपमा परोक्ष वा प्रत्यक्ष उपस्थित हुन्छ । संस्कृत भाषामा भूतको प्रयोग ३ अवस्थामा प्रयोग गरिएको हुन्छ ।
समय
पदार्थ
आत्मा

समयको प्रसंगमा भूतलाई
बितेर गएको-व्यतित
या
पूर्ण भइसकेको-प्राचीन भनेर बुझिन्छ ।
त्यसैले समयको एक भेदलाई भूतकाल भनिन्छ ।

Melting Of Time by Salvador Dali

Melting Of Time by Salvador Dali


त्यस्तै, पदार्थको प्रसंगमा भूत भन्नाले भौतिक पदार्थजन्य वस्तु अथवा मेटेरियल बिइङ्स भन्ने अर्थ राख्दछ ।

यस्तै आत्माको प्रसंगमा भूत भन्नाले मृत्युदेखि पुनर्जन्म सम्मको अस्थिर अवधी अथवा अन्स्टेबल ट्रान्जिसन पिरड लाई । भूत यानिकी काल-काल यानिकी समय । समयको तीन भेद मध्येको एक भेद भूतकालको चर्चा यति नै ।

उपर उल्लिखित त्रिकाल(समय)को अलावा २४ घन्टको समयावधिमा घटित हुने त्रिकाल(सन्ध्या)को बारेमा पनि केही चर्चा गरौँ ।

सन्ध्या के हो त ? अनि त्रिसन्ध्या ?

सामान्य दृष्टिकोणमा सन्ध्या दुई समयको मिलन हो । जस्तो कि दिन र रातको समय । रात र दिनको समय । सहजताको लागि दुई समयको मिलन हो भनेर बुझ्नुस् । व्याकरणगत हिसाबमा भन्ने हो भने सन्ध्या : सन्धौ भवा क्रिया सन्ध्या अर्थात् ‘सम्’ उपसर्ग पूर्वक ध्यै चिन्तायाम् धातुदेखि ‘क’ प्रत्यय लागेर सन्ध्या शब्द बन्दछ । खैर, व्याकरण तिर नजाऔँ, जटिल हुन जाला । जसरी समय त्रिकाल छ ठीक त्यसरी नै सन्ध्या पनि तीनवटा छन् । जसलाई त्रिसन्ध्या भनिन्छ ।
प्रात:सन्ध्या
मध्याह्निक सन्ध्या
सायंसंध्या

Sunrise by Claude Monet, Impressionism

Sunrise by Claude Monet, Impressionism

प्रात: सन्ध्या

रात र दिनको सम्भोग ! या भनौँ टकराव !
अर्थात् रातको अन्त्य र दिनको आरम्भको मिलनावधिलाई प्रात:सन्ध्या भनिन्छ । जुन समय रात पूर्ण रूपमा न ढलिसकेको र सूर्योदय पनि पूर्णतया नभइसकेको समय नै प्रात: सन्ध्या हो । सूर्योदय हुनु पुर्वको १५ मिनेट र सूर्योदय पश्चातको १५ मिनेटको अवधिलाई प्रात: सन्ध्या भनिन्छ ।

झिसमिसे बिहान भनेको त सुन्नु भएकै होला । योगी-सन्त मनहरु यस सन्ध्यालाई “ब्रह्म मुहूर्त’ पनि भन्ने गर्छन् । पौराणिक समयमा सन्त महात्माहरू ब्रह्म मुहूर्तमा उठ्ने चलन व्पयाक रहेको थियो । अझ पनि ब्राह्मण एवं योगीहरु समाजमा धेरै थोरै ब्रह्म मुहूर्तमा उठी प्रात: सन्ध्यास्नान गर्ने चलन रहिआएको छ ।

मध्याह्निक सन्ध्या

पूर्वाह्न अपराह्न समयको जुन मिलन विन्दु छ, त्यसलाई मध्याह्निक सन्ध्या भनिन्छ । आरोही सूर्य जब अवरोहणको आरम्भ गर्दछ तब मध्याह्निक सन्ध्या घटित हुन्छ । आरोही र अवरोही सूर्यको गठजोड यानिकी दिनको ठिक १२ बजेको समयलाई मध्याह्निक सन्ध्या भनेर बुझ्नु गलत हुन्छ । दिउँसो ११ः४५ देखि १२ः१५ को अवधि मध्याह्निक सन्ध्याको समय हो । र ठिक १२ बजेलाई अपहराह्न भनेर बुझ्न पर्दछ ।

सायं सन्ध्या

आरोही सूर्य अवरोहण गरी जब अस्ताचलका लागि प्रयाण गर्दछ तब दिनको अन्त्य र रातको आरम्भ हुने गर्दछ । यही दिनको अन्त्य र रातको आरम्भको अन्तर्घुलनलाई सायं सन्ध्या भनेर बुझ्नु पर्दछ । दिन र रातको सन्धि समयलाई धेरै ठुलो जमातले साँझ भन्ने गर्दछ । यस साँझ शब्दले सायं सन्ध्यालाई मात्र न्याय दिन सक्ने हुँदा रहल दुई सन्ध्यालाई साँझ भन्नु गलत हुन जान्छ । सूर्यास्त हुनु पुर्वको १५ मिनेट र सूर्यास्त पश्चातको १५ मिनेटको अवधिलाई सायं सन्ध्या वा साँझ भनेर बुझ्नु पर्ने हुन्छ ।

तसर्थ, २४ घण्टाको समयावधिभर साँझ केवल १ पटक घटित हुन्छ भने सन्ध्या समस्तमा ३ पटक घटित हुन्छ !

र यो पनि !
तल रहेको संस्कृत श्लोकले सन्ध्या, त्रिसन्ध्या नभई द्विसन्ध्या हुने कुरा उल्लेख गरेको छ । कुरो त बाझियो ! हेरौँ, श्लोकले के भन्छ त ।

“अहोरात्रस्य या संधिः सूर्यनक्षत्रवर्जिता।
सा तु संन्ध्यासमाख्याता मुनिभिस्तत्वदर्शिभिः”

अर्थात,
सूर्य, नक्षत्र र तारा रहित समयको मिलन नै सन्ध्या हो ।

सामान्य दृष्टिकोण या सामान्य अध्ययनको भरमा यही नै हो भनेर सत्य मान्न सकिन्नँ तर पनि हामीले यहाँ के बुझ्नपर्छ भने सन्ध्या भनेको नै दुई घटकबिचको सन्धि हो । दुई घटकबिचको मिलनलाई सन्धि मान्दा मध्याह्नको समयलाई पनि सन्ध्या मान्नु पर्ने देखिन्छ । आरोही सूर्य र अवरोही सूर्यको समय दुई विपरित समयको प्रस्थान विन्दु हो । जुन विन्दुबाट पूर्वाह्नको सूर्य अपराह्न हुँदै अस्ताचलकालागि प्रयाण गर्दछ । मतलब, सन्ध्या केवल दुई नभई तीन हुने कुरा विज्ञान सम्मत हुन जान्छ । अत: सूर्य, तारा र नक्षत्र रहित समयलाई मात्र सन्ध्या मान्नु प्रयुक्त देखिँदैन । यस विषयले थप खोज र अध्ययनको माग राख्ने हुँदा यसलाई थप अनुसन्धानको लागि हजुरहरूलाई छाडी दिएँ ।

उपसंहार

यो जगत आफैमा विचित्र छ । झन ताछ्यो झन ठूलो हुन्छ !
जति सजिलो देखिन्छ उति नै कठिन छ बुझ्न । समयको प्रत्यक्ष निर्देशनमा रहेको यो जगत विभिन्न आयामहरूको घर्षण र प्रतिघर्षण, क्रिया र प्रतिक्रिया, मैथुन,द्वन्द्व र संघटनको उपज हो । यस विचित्रताको गर्भमा मुख्य गरी ३ घटक नित्य र निरन्तर चलायमान छन् । यी ३ घटकको कक्ष वरिपरि यो ब्रह्माण्ड नित्य-निरन्तर परिक्रमा गरिरहन्छ । र ब्रह्माण्ड समयको शुन्यतादेखि अनन्ततासम्म फैलिएको छ । शुन्यदेखि अनन्तसम्म र अनन्तदेखि शुन्यसम्मको अवधि नै समय हो । र समय त्रिकाल र त्रिसन्ध्यामा विभक्त छन् ।

अस्तु !

[ नोट:-

गोधूलि र सन्ध्यामा धेरैलाई अन्योल हुन सक्छ । आउनुस् सन्ध्यापछि गोधूलि बारेमा पनि केही चर्चा गरौँ ।।

Cowdust Time by BBC

Cowdust Time by BBC

गोधूलि= गो+धूलि अर्थात, गाई हिँड्दा वतावरणमा देखिने धूलो या बालुवाका कण या रेणु ।
साँझ पर्नु अगावै गाईहरू आफ्नो वासस्थानको लागि प्रस्थान गर्छन् र प्रस्थानको समयमा वायुमण्डलमा व्यापत हुने रेणु या कणका सहायताले निकट समयमा साँझ पर्ने व्यहोरा थाहा हुन आउँछ । सजिलो शब्दमा भन्नुपर्दा ‘गोधूलि’ले साँझ घटित हुनै लागेको सङ्केत गर्दछ । त्यसैले, प्रायः ‘गोधूलि’ र ‘साँझ’ एक-आपसमा जोडिएर आउने गर्छन्- “गोधूलि साँझ” ! जब कि, यी दुवै एक अर्कामा पृथक विषय हुन तर पृथकताका बाबजुद यिनीहरूको अस्तित्व एक-आपसमा जेलिएर मात्र पूर्ण हुने हुन्छ । एक-आपसको अस्तित्व जेलिए पनि यी दुई, भिन्न-भिन्न आयाम हुन् भन्ने जानी राख्नु श्रेयस्कर हो ।

Facebook Comments

You may also like

error: Content is protected !!