ट्रमा

मैले मेरो जीवनको अठार वर्षभन्दा बढि समय काठमाण्डौँमा शहरिया भएर बिताउँदा पनि मलाई सधैँ ‘म नारी हुँ’ भन्ने एउटा झिनो डरले सताइरह्यो । यो होइन की मैले मेरा अधिकारहरु पाएकी छैन वा मलाई कुनै कुराको रोकटोक छ । मैले मेरो घर र सरकारबाट एउटा बालिक नागरिकले पाउनुपर्ने सम्पूर्ण हक र अधिकार पाएकी छु तर यी शब्दहरु निक्कै भारी हुँदा रहेछन् र कागज मात्रले यसको भार हामीसम्म बोकेर ल्याउन नसक्दो रहेछ ।

आज काठमाण्डौँजस्ता शहरमा उठ्ने नारीवादका नारा र स्वरहरु, सरकार वा घरपरिवारसँगको गुनासो पक्कै पनि होइन । यो गुनासो र चित्त दुखाई आफैसँगको हो, किनकी हामी विवशताको त्यो पराकाष्ठामा छौँ जहाँ कसैले “म बुझ्छु तिम्रो पिडा” वा “म छु नि तिम्रोलागि” भन्नु पनि अर्थहिन हुन्छ । आज जब पुरुषहरु काम, परिवार, विज्ञान, व्यापार, प्रकृति, कला, साहित्य, भाषा, भ्रमण, धर्ती, आकाश, ब्रह्माण्ड, आदिलाई प्राथमिकता बनाएर कुरा गर्छन्, हामी भने सबैभन्दा पहिला आफ्नो सुरक्षाका बारेमा नै सोच्न बाध्य हुन्छौँ । कहीँ कतै जान मन लागे, सँगै कसलाई लाने भनेर पहिला सोच्नु पर्ने अवस्था छ । अँध्यारोमा पुरुषहरु भुतप्रेतसँग डराउँदा हुन्, हामी भने पुरुषसँगै डराउनु पर्छ । हुन त लेख्दा वा भन्दा उहि पुरानै कुरा दोहोर्याएको जस्तो लाग्छ तर यो उज्यालो सहरले नदेखिने सानासाना धेरै अँध्यारा कथा उपकथाहरु बोकेको छ । कति त मैसँग पनि घटेका छन्, जुन सम्झिन थाले लहराले पहरा ताने जसरी मानसपटलमा नाच्न थाल्दछन् ।

उदाउँदो छ यो एक्काइसौँ शताब्दी । यहि शताब्दीको साक्षी भएकै कारण म जान्दछु आजभोलि अधिकांश घरहरुमा छोरीका अधिकार, इच्छा र आकाङ्क्षाहरुलाई पनि छोराका सरह नै मान्यता र प्रोत्साहन दिइन्छन् । यो हामीलाई धेरै ठूलो र प्रशंसनिय कुरा लागेपनि खासमा यो चर्चा वा प्रसंशा गरिहाल्नु पर्ने कुरा भने होइन । जे चिज जस्तो हुनु पर्ने हो त्यसलाई धेरै मेहेनत गरेर त्यत्तिको बनाउँदैमा त्यो प्रशंसा योग्य हुने हैन । जस्तो की कुनै पुरुष बलात्कार नगर्दैमा ऊ महान वा पराक्रमी हुने हैन। खैर, म कुरा गर्दै थिएँ, छोराछोरी र उनीहरुको अधिकारका बारे। मलाई लाग्छ, आज विकट ठाउँमा रहेका र अक्षर नजानेका महिलाहरु बाहेक अन्यले आफ्ना अधिकार चिन्न र तीनलाई व्यवहारमा उतार्न केही हदसम्म पाएका छन् । तर पनि किन उठिरहेका छन् त यतिका बिधि नारी हक र अधिकारका कुराहरु? गाउँमा अनि सहरमा पनि? विशेष गरि सहरमा जहाँ सबै चिजहरु समान लाग्छन्, जहाँ धेरै कुराहरुको रोकटोक छैन ?

होलीको दिन,
म चन्द्रागिरी यातायातमा बसेर घर फर्कँदै गर्दा रक्सीले मातिएर लठ्ठ परेको जस्तो देखिने मान्छे, म सँगैको सिटमा आएर बस्यो । एक त नमिठो गन्धले मलाई बान्ता आउन लागेको थियो, त्यहिमाथि उसको रिसाहा हेराई र कन्डक्टरसँग झर्केको आवाजले म कुचुक्क परेर झ्यालतिर हेर्न विवश भएँ । उसले बारम्बार झ्याल बाहिर हेर्ने निहुँमा मेरो छातीतिर आँखा दौडाइरहेको, मेरो मुख ताकिरहेको मैले थाहा पाउँदापाउँदै पनि, म त्यो दिन डरले जमेको चिसो मुर्तिझैं बनेर बसिरहनु पर्यो । त्यस्तै अर्को दिन, म छेउको सिटमा बसेकी थिएँ । कुनै अपरिचित व्यक्ति मेरो सिट नजिकै उभिएको थियो, आफ्नो पुरुषत्व देखाउन हो वा किन, म जान्दिनँ, ऊ आफ्नो कम्मर वरिपरिको भाग मेरो काँधतिर जोत्न ल्याउँदै थियो । “उता जानुस्, मलाई नछुनुस्” भन्दा ऊसँग त्यहि रेडिमेड उत्तर थियो, “गाडी प्याक् छ, कता जाने”

मैले त्यो दिन पनि घिन र घृणा घुटुक्क निलेर बस्न विवश हुनुपर्यो । बसमा हुने हुलमुलको फाइदा उठाएर को कतिबेला टाँस्सिन आउँछ, कसले कतिबेला अञ्जानमै भए जसरी कुर्ता मुनिबाट तिघ्रासम्म हात पुर्याउँछ, थाहा हुँदैन । आजकल त्यसैले त मलाई ब्याग नबोकी कतै जान मन लाग्दैन । त्यहि एउटा ब्यागले नै सही, कसैलाई आफ्नो छाती मेरो ढाडसँग टाँस्न दिँदैन । मलाई अलिकति भएपनि सुरक्षित महसुस हुन्छ ।

घरबाट धेरै बाहिर ननिस्किने म, मलाई पोहोरसम्म थाहा थिएन, केटी भएर रत्नपार्कको पुलमा उभिइराख्नु हुँदैन भन्ने कुरा । एउटा केटा मान्छेले नै मलाई यो दिव्य ज्ञान दियो, केटी भएर रत्नपार्कको पुलमा उभिइरहनु हुँदैन भनेर । म साथीलाई कुर्दै थिएँ, आकाशे पुलमा उभिएर । साथीलाई कुर्दै गर्दा पुलमा आउने जाने सबैले तलदेखि माथिसम्म हेरेका थिए मलाई । एकदुई जना अपरिचित आएर बोल्न खोजे । म आत्तिएँ र त्यहाँबाट अन्तै गएँ । मलाई पछि मात्र थाहा भयो किन हेरेका रहेछन् भनेर । आकाशेपुलमा त्यसरी उभिनु आफ्नो मोल तोक्नु हुँदोरहेछ पुरुषहरुको दृष्टीमा । आजभोलि म जता गएपनि मलाई लाग्छ कसैका आँखाले मलाई पछ्याई रहेका छन्, मानौ म दोषी हुँ, मैले उनीहरुको किड्नी चोरेको छु र उनीहरु अब केही क्षणमै ममाथि झम्टिनेछन् । वा कसैले मेरो पछाडी कागजको पुच्छर हाल्दिएको छ जसरी हामी सानोमा साथीको पछाडि हाल्दिने गर्थ्यौँ र सबैजना उसैलाई हेर्ने गर्थे ।

सायद यो मेरो बाल्यकाल देखिको डर पनि हुन सक्छ जुन मेरो कलिलो हृदयमा गढ्न पुग्यो । म त्यो बाल्यावस्थाको पीडादायी पल बिर्सन सक्दिनँ, जब त्यो टेलरवालाले भर्खर भर्खर टुसाइरहेको मेरो छाती अँठ्याएर मसँग निर्लज्ज भई आँखा जुधाएको थियो । म ती आँखाहरु कसरी बिर्सुँ ? कसरी नसुनौँ अहिलेसम्म पनि कानमा गुञ्जिरहने ती चोक र गल्लिहरुका अल्लारे सिठी र अप्रत्यक्ष हिन्दी गीतहरुका कर्कश ध्वनी ? मैले ढोका थुनेरपनि, कान बन्द गरेर पनि ती आवाजहरुलाई बाहिर राख्न सक्दिनँ ।

हुन सक्छ त्यसैले आज मलाई प्लेकार्डमा विरोधात्मक अक्षरहरु टाँस्न मन लाग्छ, चर्को चर्को स्वरमा नारा लगाउन मन लाग्छ, प्रेमिल सम्झौता अस्वीकार गर्न मन लाग्छ, मलाई मेरा हक-अधिकार, मेरो ठाउँ, मेरो अस्तित्व माग्न मन लाग्छ । तर के फाइदा ? मात्र पसलबाट घरसम्म फर्कँदापनि आफ्ना ज्यानभरि हजारौँ जज्मेन्टल आँखाहरु टाँसेर फर्किने हामी, छर्लङ्ग पेटै देखाएर साडि लगाएका काकीहरुबाट नाइटो देखाई भनेर हेपिएका हामी, छोरालाई त्यत्रो मान्यता दिने समाजबाट केटा जसरी गलल्ल हास्यो, टाङ फिजाएर बस्यो, चर्को बोल्यो भनेर गाली खाएका हामी । हाम्रा गुनासाहरु अलग्गै खालका छन् र हामी जुन अधिकारको माग गरिरहेका छौँ त्यो पनि हामीलाई अरु कसैले दिन सक्दैन ।

हामी भन्ने त गर्छौँ नारी पुरुष बराबर हुन् भनेर तर कति धेरै असह्य कुराहरु छन् जुन नचाहँदा नचाहँदै पनि, अधिकार पाउँदा पाउँदै पनि हामीले नारी भएकै कारण सहनु पर्छ । प्रकृतिले हामी छोरीहरुलाई किशोरावस्थादेखि नै दुःख सहन सिकाउँछ । धर्ती बन्न सिकाउँछ र हरेक महिना आफैलाई रक्तसिँचाइ गर्न लगाउँछ । नदी बन्न सिकाउँछ र सिमाहरु ननाघी बग्न लगाउँछ । भन्नेहरुले छोरीहरु चाँडै ठुला हुन्छन्, चाँडै बुझ्ने हुन्छन् भने पनि यो कुरा गतल हो । उनीहरु चाँडै ठूला भएका हैनन्, उनीहरुले ती दुःख, भनाई र रोकटोकहरु बाल्यकालदेखि नै सहेका हुन्छन् जो छोराहरुलाई एउटा भुसतिघ्रे भएपछि मात्र थाहा हुन्छ । एउटा हिन्दी फिल्मको अनुवादित डायलग सम्झिन्छु, “नारीहरु खरभुजा जस्तै हुन् र पुरुषहरु छुरी जस्तो, जो जसमाथि हाबी भएपनि काटिने आखिरमा खरभुजा नै हो ।” यो भन्दा सत्य वाक्य अरु के होला ?

यसरी प्रकृतिले नै ठगेको हाम्रो शारिरीक बनावटलाई सुरक्षित राख्न के हामीले मागिरहेका अधिकारहरुमात्र काफी होलान्? के यी मागहरुमा हामीले चाहेको जस्तो समुन्नत समाज अटाएको छ? यो समाज के हो र कसले बनाउँछ ? के यी समाज तिनैको हैन जो गर्वसाथ समानताका कुरा फेसबुकजस्ता सामाजिक सञ्जालमा गर्ने गर्छन्? यस्तै अर्को एउटा अनुत्तररित प्रश्न मेरो मगजमा गडेर बसेको छ,
आज मैले के के गरेँ भने मात्र भोलि मेरी छोरीले यी सारा कष्टकर भोगाइहरु सहनु पर्दैन?

Facebook Comments

You may also like

error: Content is protected !!