यो मृत्यु उपत्यका मेरो देश होइन | काव्यालय | अनुवाद कविता | मोहित जोशी

यो मृत्यु उपत्यका मेरो देश होइन

Nabarun Bhattacharya (নবারুণ ভট্টাচার্য) नवारुण भट्टाचार्य

नावारुन भट्टाचार्य (२३ जून १९४८ – ३१ जुलाई २०१४) एक भारतीय बंगाली क्रान्तिकारी र रेडिकल सौंदर्यशास्त्रको लागि प्रतिबद्ध लेखक थिए। बहरामपुर), पश्चिम बंगालमा जन्मिएका भट्टाचार्य अभिनेता बिजोन भट्टाचार्य र लेखक महाश्वेता देवीका एक्लो सन्तान थिए। भट्टाचार्यद्वारा रचिएको एक उपन्यास हरबर्टको लागि उनलाई सन् १९९७ मा साहित्य अकादमी पुरस्कारले सम्मानित गरिएको थियो।

यो मृत्यु उपत्यका मेरो देश होइन

जो पिता आफ्नो बच्चाको लास चिन्न गर्न डराउँछ
मलाई घृणा छ ऊसँग
जो भाइ अहिले पनि निर्लज्ज र सामान्य छ
मलाई घृणा छ ऊसँग
जो शिक्षक, बुद्धिजीवी, कवि, क्लार्क
खुलेआम भइरहेको यो रक्तपातको
प्रतिशोध चाहँदैनन्
मलाई घृणा छ ऊसँग

आठ लासहरू[१]
चेतनाको तराजु जोखिरहेछन्
म बिस्तारै बिस्तारै बेहोस भइरहेछु
निद्रामा आठ जोडी खुला आँखा मलाई घुर्छन्
म चिच्याउँछु
उनीहरू मलाई बोलाउँछन् समय असमय बगैंचामा
म पागल हुँदैछु
म आत्महत्या गर्नेछु
मलाई जे गर्न मन छ म गर्नेछु

यही समय हो कविता लेख्नलाई
विज्ञापनमा, नाङ्गो पर्खालमा, स्टेन्सिलमा
आफ्नो रगत, आँसु र हड्डीहरूको कोलाज शैलीमा – अहिले लेख्न सकिन्छ कविता
गम्भीर यान्त्रणाले क्षतविक्षत अनुहारले
वास्तविक आतङ्कको सामना गर्न –
आँखाहरूलाई मोटरको अन्धाधुन्ध हेडलाइटसँग टिकाई राखेर
अहिले प्रहार गर्न सकिन्छ कविता
३८ क्यालिबर पेस्तोल या अरु जे जे छ हत्यारासँग
सबैलाई उपेक्षा गरेर
अहिले पढ्न सकिन्छ कविता

लक-अपको चट्टानी हिमकक्षमा
चीर-फारको लागि बालेको पेट्रोम्याक्सको उज्यालो कपाउँदै
हत्याराहरुले चलाएको कचहरीमा
झुट र अशिक्षाको विद्यालयमा
शोषण र त्रासको राजतन्त्रभित्र
सामरिक/असामरिक कर्णधारहरूको छातीमा –
कविताको प्रतिवादलाई गुञ्जिन देऊ
बंगलादेशका कविहरू पनि, लोरका जस्तै, आफूलाई तयार राख
घाँटी निमोठेर हत्या होलान्
लासहरु गायब होलान्
मरसिन-गनको गोलीहरूले तन छेडिएलान
तयार रहनुहोस्
तब पनि कविताको शहरलाई कविताको गाउँहरूले घेर्नु निकै आवश्यक छ।

यो मृत्यु उपत्यका होइन मेरो देश
यो जल्लादको थिएटर होइन मेरो देश
यो विशाल समाधी-स्थल होइन मेरो देश
यो रक्तपिपासु वधशाला होइन मेरो देश

म मेरो देशलाई फिर्ता खोस्नेछु;
छातीमा लुकाउनेछु
कुहिरोले भिजेको सेता काँसका फूल र किरमिजी गोधूलि साँझ
शरीरको चारैतिर जूनकिरीहरूको लाम
पहाड-पहाड झुमेको खेती
अनगिन्ति हृदय, हरियाली, रुपकाथा, फूल-नारी-नदी
डुलिरहेको हावा, घाममा चम्किरहेको मिनाक्षी ताल
म एक एक ताराको नाम लिनेछु एक एक सहिदको नामबाट
र प्रेम – जसलाई म जन्मिँदादेखि नै निर्वासित गरिएको थियो कैयौं प्रकाश वर्ष दूरिका ठाउँहरूमा;
त्यसलाई पनि बोलाउनेछु समीप, क्रान्तिको उत्सवको दिन।

हजार वाटको बत्तीलाई दिनरात आँखामा धकधकाइनु
म अस्वीकार गर्छु
नङभित्र सुई घुसाउनु, बरफको टुक्रामा नाङ्गै सुताइनु
म अस्वीकार गर्छु
नाकबाट खुन बगुन्जेलसम्म उल्टा झुन्ड्याइनु
म अस्वीकार गर्छु
ओठहरूमा घोच्ने जुत्ताहरूले दबाइनु, छालाको प्रत्येक इन्चमा तातोतातो फलामको रडले जलाइनु
म अस्वीकार गर्छु
कोर्रा लाइएको रगताम्य पिठ्यूँमा छ्यापिएको अल्कोहल
म अस्वीकार गर्छु
नाङ्गो देहमा इलेक्ट्रिक शक, कुसृतिः विकृत यौन अत्याचार
म अस्वीकार गर्छु
नराम्ररी पिटेर मृत हुनु, कनपट्टीको विरुद्द रिभोल्भर च्यापेर गोली चलाइनु
म अस्वीकार गर्छु
कविता शाश्वत छ
कविता सशस्त्र छ,
कविता स्वाधिन छ,
कविता निर्भिक छ
ध्यान दिएर हेर; मायाकोवस्की, हिकमेट, नेरुदा, आरागँन, एलुआर्ड –
हामीले तिम्रा कविताहरूलाई हार्न दिएका छैनौ,
सम्पूर्ण देश मिलेर एउटा नयाँ महाकाव्य लेख्ने कोसिसमा छ
छापामार छन्दमा रचिँदै छन् सबै अलङ्कार

गर्जिएर उठेका छन् दल मादल
प्रवाल द्वीपजस्ता आदिवासी गाउँ
रगतले रातो नीलो खेत
शङ्खचूडको विषदन्तले आहत तितास[२]
विषाक्त मरणासन्न प्यासले भरिएको कुचिला[३]
टङ्कारमा अन्धो सूर्य उठेको गण्डिवको ताँदो
तीक्ष्ण तिर, ह्रिंसक किला
भाला, तोमर, फर्सा र कुठार
चम्किरहेका बर्छी, चारै दिशामा दखल दिँदै तिरहरूको वर्षा
मादलको हरेक तालमा लाल आँखाहरूको ट्राइबल टोटम[४] (Tribal Totem)
बन्दूक देऊ, खुकुरी देऊ र देऊ धेरै साहस
यति धेरै साहस कि फेरि कहिल्यै डर नलागोस्
जति सुकै हुन क्रेन, दाँत वाला बुलडोजर, फौजी कान्वाईको जुलुस
डाइनामो चालित टरबाइन्, लेथ र इन्जिन
ध्वस्त कोइलाको मिथेन अन्धकारमा सक्त हिरा जस्तै चम्किरहेको आँखा
अद्भुत स्पातको हतौडा
बन्दरगाह, जुट मिलको भट्टीजस्तै आकाशमा उठेको सयौं हात
छैन, केही डर छैन
डरको फिक्का अनुहार निकै अपरिचित लाग्छ
जब थाहा हुन्छ कि मृत्यु केही पनि होइन प्रेम बाहेक
हत्या भएछ भने
म बंगालको माटोको सबै दियोमा आगो बनेर फैलिनेछु
वर्षै पिच्छे माटोमा हरियो विश्वास बनेर फर्कनेछु
मेरो विनाश हुनेछैन सुखमा रहनेछु, दुःखमा रहनेछु
जन्ममा, सत्कारमा जति दिन बंगाल रहनेछ, मनुष्य पनि रहनेछन्

जो मृत्यु रातको चिसोमा जलिरहेको बुदबुदाहट बनेर आउँछ
त्यो दिन त्यो युद्ध त्यो मृत्यु ल्याऊ
सेवेंथ फ़्लीटलाई सात नाउवाला मधुकरले रोकिदियोस
बिगुल र शंख बजाएर युद्ध सुरुवातको घोषणा गरौँ
जब हावा रगतको उत्ताउलो गन्धमा मातिएको हुन्छ
कविताले पृथ्वीको विस्फोटक गनपाउडर जस्तो माटो प्रज्वलित गरौँ 
पेन्टिङ, गाउँ, नाउँ, शहर, मन्दिर
तराईबाट सुन्दरवनको सिमाना जब
रातभरि रोइसकेर सुक्खा र ज्वालाग्रस्त भएको छ
जब जन्मस्थलको माटो र मृत्युको हिलो एकै भएको छ
तब द्विविधा किन
सन्देह कस्तो?
त्रास किन?

आठ जना स्पर्श गरिरहेछन्
ग्रहणको अन्धकारमा कानेखुसी गरेर भन्छन्
कहिले कहाँ कस्तो निगरानी
तिनीहरूको कण्ठमा छ असंख्य तारापुञ्ज-ग्यालेक्सी-समुंद्र
एक ग्रहबाट अर्को ग्रह आउने जाने उत्तराधिकार,
कविताको ज्वलन्त मसाल
कविताको मोलोतोभ ककटेल
कविताको टौंलिन अग्नि-शिखा
आहुति दिऔँ अग्निको यो आकांक्षामा।



[ नोट :

१) पछिल्लो शताब्दीको ७०को दशकमा कलकत्तामा ८ छात्राहरूको हत्या गरेर धान बारीमा फ्याकिएको थियो। उनीहरूको पिठ्युमा लेखिएको थियो देश द्रोही।
२) तितास चिट्टागंग, बंगलादेशको कोमिला जिल्लाको उपजिल्लाको नाम हो।
३) कुचिला एक विषाक्त पादाप: हो।(वानस्पतिक नाम :Strychnos nux vomica)
४) टोटम (Totem) कुनै समुदाय वा ट्राइबको पवित्र वस्तु, प्रतिक चिह्न हो। ]



 

Facebook Comments

You may also like

error: Content is protected !!