झ्याल | नेपाली कागज | काव्यालय-Kavyalaya | अनुवाद कविता | मोहित जोशी

फरोग फारुख्जाद (Forough Farrokhzad)

फरोग फारुख्जादको जन्म सन् १९३५ मा इरानको तेहरानमा भएको थियो।उनले सार्वजनिक विद्यालयमा नौ कक्षासम्म पढिन्‌ र सिलाइबुनाइ तथा चित्रकारीको तालिम लिइन्‌। १७ वर्षको उमेरमा उनले परिवारको विरोध हुँदाहुँदै आफ्ना काकाका छोरा परविज शापुरसँग विवाह गरिन्‌। त्यसको एक वर्षपछि छोरो जन्माइन्‌ र दुई वर्ष हुँदा नहुँदा वैवाहिक सम्बन्ध विच्छेद गरिन्‌। छोरो उसकै बाबुको परिवारलाई सुम्पिएर उनी कविता लेख्दै स्वतन्त्र जीवन बाँच्न थालिन्‌।

फरोग फारुख्जादका कवितामा पारम्परिक विवाह, महिलामाथिको उत्पिडन तथा उनको आफ्नै जीवनका उतारचढाबहरू प्रतिविम्वित भएका छन्‌। उनका कविताहरूले तत्कालीन इरानी सामाजिक संरचना तथा राजनैतिक व्यवस्था प्रति विद्रोह गरेका छन्‌। पतिसँग सम्बन्धविच्छेद गरेर बसेकी एक स्वतन्त्र नारी भएकीले गर्दा फरोग फारुख्जाद तत्कालिन समाजको चासोको विषय भइन्‌। धेरै पुरुषहरूसँग उनका अल्पकालीन सम्बन्धहरू पनि रहे।

सन्‌ १९५५ मा फरोगले आफ्नो पहिलो कवितासङ्ग्रह ‘असिर’ (बन्दी) प्रकाशित गराइन्‌। सन्‌ १९५६ मा उनी पहिलोपल्ट इरान छाडेर युरोप गइन्‌। सोही वर्ष आफ्ना पूर्वपतिलाई समर्पण गरेर उनले दोस्रो कवितासङ्ग्रह ‘दिवार’ (गारो) प्रकाशित गराइन्‌। सन्‌ १९५८ र १९६४ मा उनका अन्य दुई कवितासङ्ग्रह प्रकाशित भए। फरोग फारुख्जाद १४ फेब्रुवरी सन्‌ १९६७ मा आफ्नी आमालाई भेटर फर्किँदा दर्रुसमा भएको कार दुर्घटनामा मारिइन्‌।उनको ज्यान लिने गरी भएको सो दुर्घटना साँच्चैको दुर्घटना नै थियो भन्ने प्रमाण नभेटिएकाले जानकार तथा समीक्षकहरू अत्यन्त विद्रोही कविता लेखेका कारण अन्य कवि, लेखक, कलाकारहरूको जस्तै फारुख्जादको पनि तत्कालीन शाहको सिक्रेट पुलिस सोभाकले नियोजित तवरले गराएको हत्या हो भनेर टिप्पणी गर्दछन्।

सन्‌ १९६५ मै तयार भएको फरोगको पाँचौ कवितासङ्ग्रह उनको मृत्युपश्चात्‌ प्रकाशित भयो।


झ्याल

एक झ्याल हेर्नको लागि-
एक झ्याल सुन्नको लागि-

अन्त्यहीन कुवाजस्तै एक गोलो झ्याल;
जो पुग्छ पृथ्वीको प्रज्ज्वलित अन्तर्भागसम्म।
र, उन्मुक्त हुन्छ-
आफ्नै मन्द, र सौम्य हावामा।

एक झ्याल जसले लाद्छ निर्जन, साना हातहरू-
उदार ताराहरुको रात्री गन्धसँगै।
एक झ्याल जसले निम्तो दिन्छ सूर्यलाई-
यौवनको हिम अवकाशमा।

एक झ्याल,
एक झ्याल पर्याप्त छ मेरो लागि।

म आउँदै छु कठपुतलाहरूको भूमिबाट,
र रङ्गाइएका रुखहरूको छहारी मुनिबाट-
फिक्सन किताबहरूमा छापिएको बगैंचाहरूमा।

म आउँदैछु-
रोमाञ्चको बन्जर ऋतुबाट-
र प्रेम लीलाको उसर वर्षहरूबाट-
अबोधताको मरुभूमि गल्लीहरूबाट-
हुलाकी चिठीहरूको जमानाबाट।

म आउँदैछु-
थाकेको कक्षाको अन्तिम बेन्चहरूबाट।
र, त्यो भ्रामक समयबाट-
जुनबेला मैले पाटीमा ‘कङ्क्रिट’को हिज्जे मिलाएर लेख्दा-
त्रसित चराहरू- उड्थे रुखका नाङ्गो हाँगोबाट।

मांसाहारी रुखको जरामुनिबाट म यता पुगेको छु,
र, मेरो मस्तिष्क अहिले पनि भरिएको छ -शुष्क पुतलीहरूको भयानक रोदनले-
फिका र वृद्ध ग्रन्थहरूको कुपोषित आयतनले।

जब मेरो विश्वासलाई झुन्ड्याएको थियो-
यो शहरको अनैतिक न्यायालयले,
र सडकहरूमा, उनीहरूले काटिरहेका थिए मेरो मसालको टाउको,
जब उनीहरूले पट्टी बाधिरहेको थिए मेरो प्रेमको अबोध आँखाहरूमा,
जब मेरो काँपिरहेका सपनाहरूका सबै शिरामा ताजा रगतको ज्वाला फुट्यो,
र जब मेरो जिन्दगी केही पनि थिएन-
केवल एक बुढो घडीको नियमित जप सिवाय,
मैले थाहा पाएँ कि मैले प्रेम गर्नुपर्थ्यो,
आफू पागल हुनेगरी प्रेम गर्नुपर्थ्यो।

एक झ्याल पर्याप्त छ मेरो लागि।
एक झ्याल प्रकाशको झोक्का, अन्तर्दृष्टि र शान्तिको लागि।

अहिले,
त्यो सानो ओखरको बोट-
जुन तिमीले कुनैबेला चिनेको थियौ-
विशाल, यति विशाल भइसकेको छ,
कि त्यसले वर्णन गर्नसक्छ पर्खालहरूको कथा-
आफ्ना साना पातहरूलाई।

ऐनाहरुलाई सोध त्यो उद्धारकको नाम!

के तिमी देख्दैनौ?
यो काँपिरहेको जमीन-
तिम्रो खाली खुट्टामुनि-
तिमीभन्दा एक्लो छ।

यो बर्बादीको फैसला पुगेको छ भविष्यसूचक, मोहर लागेका शब्दहरूमा;
र यी संक्रमित बादलहरू र निरन्तर विस्फोटहरू,
सायद,
पलाउँछन् तिनै पवित्र शब्दहरूबाट।

मेरो यार!
नबिर्सनु!
जब तिमी चन्द्रमामा पाइला टेक्ने छौ,
कुँद्नु हत्याकाण्डको गते-
पृथ्वीका कलिला फूलहरूको-
त्यसको निराश, कोमल, चाउरिएको अनुहारमा।

सपनाहरू सधैँ झर्छन् आफ्नै सरल उचाइबाट र मर्छन्।
र माटोमा, जहाँ पुरातन मान्यताहरू चुपचाप आराम गर्छन्,
एक सानो बिरुवा, चारवटा अति साना पातसहित,
निरन्तर पलाउँछ।
म यही बिरुवा सुँघ्छु।

एक युवतीलाई गाडिएको थियो उसकै आशाको पवित्र शव बाकसमा।
के ऊ मेरो यौवनको अवशेष हो?

एक शालीन भगवान हिँडिरहेको थियो राती-
छतको स्वच्छ हावामा।
के म फेरि चढ्नेछु, फेरि चढ्नेछु-
सिँढीको कौतुहल उकालीमा-
उसको स्वागत गर्न?

मेरो समय सकिएको म महसुस गरिरहेछु।
मेरो हिस्साको पल अतीतमा उम्रिएको म महसुस गरिरहेछु।

म महसुस गरिरहेछु म जहाँ उभिएको छु,
त्यहाँ केवल काल्पनिक शून्यता छ, जसले मेरो कपाललाई टाढा गरिरहेछ-
एक निराश, अन्जान पाहुनाको हातहरूबाट।

बोल मसँग!
र, म इनाम दिनेछु-
ज्वलन्त प्रेमसँग-
एक पूर्ण जीवन।

र, म केही आशा राख्दिनँ तिमीसँग-
बस्! त्यसको जन्मको परावर्तन-
तिम्रो आँखाको झलकमा।

मसँग बोल!
के तिमी देख्दैनौ?
मेरो झ्यालको आश्रयमा,
म सूर्यसँग जोडिएको छु।

*****



[कविको परिचय कविताकोशबाट साभार गरिएको हो।]



 

Facebook Comments

You may also like

error: Content is protected !!