च्यातिएका सपनाहरु

तिहारको माहोल। नेपाली टेलिभिजन च्यानलमा तिहारको गीत घन्किदै थियो। च्यानलहरु फेर्दै म हेर्दै थिएँ। मलाई तिहार तिहार जस्तो कहिले लाग्दैन । यसो आँखा नेपाल टेलिभिजनमा पर्यो । नेपाल टेलिभजनमा भेनाजु तिहारको शुभकामना प्रदान गर्दै हुनुहुन्थ्यो । म टोलाएँ ।
‘प्रदेशको ठाउँमा बसेता पनि मन त उतै नेपालमै हुने रहेछ है।’ साथी प्रदिप बोल्यो । मैले उमको भावमा टाउको हल्लाएँ।

प्रदिप मेरो मिल्ने साथी । सँगै नेपालबाट कतारसम्म आएका थियौँ हामी । हामी रुममेट थियौँ । आइतबारको छुट्टीमा हामी गफिदै थियौँ । खास्सै मनको कुरा नखोल्ने म । रहस्यहरु मैले मुटुमा पोको पारेर राखेको थिएँ ।

प्रदिपलाई यति थाहा थियो। मेरो घर रोल्पा हो र म एक छापामार हो भन्ने । प्रदिपले मेरो भित्रि कुरा जान्ने खुब कोसिस गर्थ्यो। तर म भने मेरो रहस्य आफुमा मात्रै सिमित राख्न चाहन्थें ।
उसले भन्यो ‘हामी सँगै बसेको यतिका वर्ष भयो। अझै पनि तपाईले आफ्नो रहस्य खोल्नु हुन्न । आज त सबै भन्नु न साथी ।’
उसको आग्रहलाई यो पटक टार्न सकिनँ अनि भनें ‘तपाई सुन्नुहुन्छ त मेरा रहस्यहरु ?’
उसले मेरो कुरा सुन्ने जिकिर गर्यो । मैले सुरु गरें ।

सपनाहरु देख्नु कुनै ठुलो कुरा होइन तर सपनालाई साकार पार्नु ठुलो कुरा हो । हामीले पनि सपना देखेका थियौँ। सरकारी जागिर खाने । सानै भए पनि सुखी परिवार थियो हाम्रो । सानो घर थियो । खान पुग्ने खेत थियो । बुवा गाउँकै प्रावि स्कुलमा अध्यापन गराउनुहुन्थ्यो । घरमा बुवा, म र दिदि मात्रै थियौँ । आमा हामी सानो छँदा नै बित्नु भयो । चिन्न नपाउदै आमा बित्नु भयो । मलाई मेरि आमा कस्तो हुनुहुन्थ्यो भन्ने पनि थाहा छैन । आमाको मृत्यु पछि बुवाले हाम्रो लागि अर्काे बिहे नगरि बस्नुभयो । बुवा नै दिदि र मेरा लागि आमा पनि हुनुहुन्थ्यो ।आमाले जति नै बुवाले हामीलाई माया अनि स्नेह गर्नुहुन्थ्यो । बुवाले हामीलाई यति धेरै माया गर्नुहुन्थ्यो कि हामीले कहिले नि आमाको अभाव महसुस गरेनौं ।

सायद घरमा आमा नभएर पनि होला दिदिलाई घरको धन्दा गर्न आउँथ्यो । परे पछि सबै जानिन्छ भन्ने कुरा सहि नै हो । चाडपर्वमा बुवाले हामीलाई सस्तै भए नि लुगा हाल्दिनु हुन्थ्यो । विस्तारै हामी बुझ्ने भयौँ । हामीले बुवाको काममा हात बत्याउन सुरु गर्यौँ । दिनचार्य सामान्य वित्दै थियो ।

गाउँमा माओवादी नामक समूहरुको चलखेल विस्तारै सुरु भयो । दश वर्षे जनयुद्ध रोल्पा देखि नै सुरु भएको हो । यस्तो देखेर बुवाले हामीलाई सुर्खेत पढ्न पठाउनु भयो । दिदि कक्षा ११ मा पढ्नु हुन्थ्यो र म कक्षा ८ मा । दिदिको आकर्षण भनौ या प्रेम दिदि एक जना मान्छे संग सम्बन्धमा बस्न थाल्नु भयो । त्यो मान्छे हाम्रो डेरामा आइरहन्थ्यो र घण्टौ बसेर जान्थ्यो । मैले दिदिलाई सोध्दा कलेजको नेता हो भनेर भन्नुहुन्थ्यो । विस्तारै त्यो मान्छे हाम्रो समिप हुन थाल्यो । म स्कुल जाँदा दिनभरि दिदि र त्यो मान्छे बस्थे रे ।

एकदिन म स्कुलबाट डेरा तर्फ फर्कदै थिएँ, दिदि आफ्नो सामान बोकेर त्यो मान्छे सँग कतै जाँदै हुनुहुन्थ्यो । मैले दिदिलाई सोध्दा म केहि दिनको लागि बाहिर जान लागेको बाबु राम्ररी बस्नु है भनेर उत्तर दिनुभयो । दिदि गएको १ हप्ता बित्यो तर दिदि डेरा फर्किनु भएन । यो कुरा मैले बुवालाई पनि सुनाएको थिइनँ । मैले दिदिलाई चारैतिर खोज्न सुरु गरें तर अँह कतै पनि दिदिको पत्तो भएन । बाध्यताले मैले बुवालाई यो खबर पठाएँ । करिब चार दिनपछि बुवा सुर्खेत आउनु भयो । बुवाले चिनेका साथीहरुलाई हामीले सम्पर्क गर्यौँ । सबैले दिदिलाई खोज्न सुरु गर्यौँ तर दिदिलाई भेट्टाउन सकेनौँ । दिदि नभेटिए पछि हामीले त्यो डेरामा आउने मान्छेलाई खोज्यौँ । क्याम्पसमा बुझ्न जाँदा त्यो मान्छे माओवादी विद्यार्थी संगठनको इन्चार्ज रहेछ । अनि उसले दिदि जस्तै थुप्रै जनालाई जङ्गल लगेको रहेछ । यो सुनेर बुवा नराम्ररी तर्सनु भयो । एक दिन हाम्रो डेरा बाहिर एउटा पत्र आयो । पत्र दिदिकै रहेछ । पत्रमा लेखिएको थियो । यो देशको मुहार फेर्न, गणतान्त्रिक नेपालको स्थापना गर्ने जिम्मेवारी बोकेको छु। बुवा कृपया! मलाई खोज्ने काम नगर्नु होला । बुवा घर फर्किनु भयो ।

देशमा परिवर्तनको नारा बोकेर हिडेको माओवादीहरु एकदिन हाम्रो विद्यालयमा पनि आए । कक्षा ८ देखि माथिका विद्यार्थीहरुलाई उनीहरुले नै शिक्षा दिने कुरा आयो हामीलाई जबर्जस्ती विद्यालयको पोषाकमा नै उनीहरुलाई आफुहरु संग लिएर गए । बन्दुकको नाल तेर्साएर हामीलाई आफुहरुसँग हिड्न बाध्य बनायो । सुरुमा हामीलाई उनीहरुको क्याम्पमा लगियो । क्याम्पमा हामीलाई ड्रेस दिइयो अनि सिकाइयो बन्दुक चलाउन । भारी बन्दुक अनि बम फुटाउने तरिकाहरु । बन्दुक अनि बमको आवाजले धेरै साथीहरुको कानबाट रगत पनि आयो । दुःखको पहाडहरु हामी माथि थपिदै आयो । सुर्खेतको क्याम्पबाट हामीलाई रोल्पा लगिने भयो । रोल्पाको क्याम्प तिर हामी लाग्यौँ । करिब तिन दिनको हिडाईपछि हामी रोल्पा पुग्यौँ । रोल्पा पुगेपछि बाटै भरि कमाण्डरहरु भेटिन थाले । हामी नयाँ भएकोले हामीलाई कसै सँग बोल्ने अनुमति थिएन । बाटोमा कसैसँग बोले अथवा भाग्ने कोसिस गरेमा हामीलाई गोली हान्ने भनिएको थियो । आखिर घरकै बाटो हामीलाई लगियो । बाटोमा बुवा स्कुल जान आउदै हुनुहुन्थ्यो । मलाई बुवाले देख्नु भयो र छोरा छोरा भन्दै मलाई समाउन आउदै हुनुहुन्थ्यो। तर कमाण्डर साहेबले बुवालाई पन्छाउनु भयो । मेरा आँखाबाट आँशुका धाराहरु बग्दै थिए । गाउँ पनि पहिले भन्दा परिवर्तीत भएको रहेछ । लोक सेवाको जागिर खुवाउने सपना देख्नुभएको छोरा छोरी दुबै युद्दमा होमिएको देख्ता बुवाको मन कस्तो भयो होला ?

गाउँ माथि नै माओवादीको क्याम्प रहेछ । हामीलाई स्वागत गर्न क्याम्पमा कमरेडहरु तैनाथ थिए । ती कमरेडहरुको पंक्तीमा अग्रगामी स्थानमा मैले चिनेको अनुहार देखें तर अनुहार साविकको भन्दा केहि फरक पाएँ । फरक यति मात्रै थियो कि सिउमा सिन्दुर थियो । दिदि मेरि दिदिले बिहे गर्नुभएछ । पहिले त दिदिले मलाई देखेर पनि कुनै प्रतिक्रिया दिनुभएन सायद सैनिकको सिद्धान्तले दिदिलाई त्यसो नभएको होला । क्याम्पमा छिरिसकेपछि हामीलाई मासुभात खान दिइयो । थकाई र भोकले निर्थुक्क परेको ज्यानले खान पाउँदा अरु केहि सम्झिएन । पछि थाहा भयो कि मासु गोरुको रहेछ । मनमा खिन्नता भयो तर मर्न भन्दा बोलाउन बेस भन्ने मलाई थाहा थियो । साँझ पख दिदि र त्यो सुर्खेतको मान्छे हामी सुत्ने टेन्टमा पस्नुभयो । दिदि भक्कानिएर रुनुभयो । पछि थाहा भयो कि मेरो भेना उहीँ मान्छे रहेछ ।

हाम्रो फेरि तालिम सुरु भयो । तालिममा थाहा पाएँ कि त्यो क्याम्पको कमाण्डर मेरो भेना हो भन्ने । अनि सहायक कमाण्डर मेरि दिदि । हामी लगातार तालिम प्राप्त गर्दै थियौँ । क्याम्पमा करिब १००० जना जवानहरु थिए । समय बित्दा गाउँका सारा युवाहरु त्यही भेटेँ । माओवादीले गाउँका सारा युवाहरुलाई आफुतिर तानेका रहेछन ।
दशैको माहोल सुरु भएको पत्तै भएन । आज दशैँ हो भन्दा मात्रै हामीलाई थाहा भयो । दशैँको दिन भेनाजु र दिदिले मलाई केहि सामान लिएर आउनु भयो । म भने घरको बुवालाई सम्झिदै थिएँ । दिदि र भेनाजुले मलाई टिका पनि लगाइदिनु भयो तर मनमा अशान्ति हुँदा टिका लगाउदा पनि माटो लगाएको जस्तो अनुभव हुदो रहेछ ।

दिदिले टिका लगाइदिदै भन्नु भयो ‘अहिले दशैँ यहि मनाऊ बाबु, तिहारमा चाहिँ हामी घरमै जाउँला ।’

दशैँको २० दिन पछि भाइटिका हुन्छ भन्ने मलाई थाहा थियो । म भाइटिका पर्खिदै दिन काट्न लागे । दिदि भेनाजुले मलाई खास्सै गाह्रो तालिममा जान दिनु भएन । मलाई तालिममा सहज गराइराख्नु हुन्थ्यो दिदिभेनाजुले ।

भाइटिकाको दिन पेट्रोलिङको समूह सँगै दिदि र म पनि सँगै गाउँ झर्यौँ । गाउँ नै सुनसुन थियो । घारीमा केरा पाकेको थियो । घरको खेतमा मार्सीधान झुल्दै थिए । घर भने अलि थोत्रिएको थियो । हामी घर पुग्दा बुवा पिडीँमा बस्दै हुनुहन्थ्यो । हामीलाई देखेर बुवाको अनुहारमा एकाएक हर्ष थपियो । हर्षका आँसु हामी तीनै जनाको आँखाबाट छचल्कियो । बुवाले हामी दुबै जनालाई अँगालोमा बेर्नुभयो ।

माओवादीको पोषाकमा बुवाले हामीलाई अलि असहज मान्नु भयो । हामी घर भित्र गएर पोषाक परिवर्तन गर्यौँ । पोहोर सालको भाइटिकाको टिका बुवाले थालीमा राखेर ल्याउनु भयो । दिदिले घरको करेसामा फुलेको मखमलको माला पिडीँमा बसेर उन्न मात्रै के लाग्नु भएको थियो, एक हुल नेपाली सैनिकहरु आएर दिदिलाई कपालमा तानेर लगे । बुवाले रोक्न पनि प्रयास गर्नुभयो तर तिनिहरुले मानेनन् । बुवा र मलाई तिनिहरुले घर भित्र थुनिदिए । मैले र बुवाले दिदिको चिच्च्याहवट सुनिरहेका थियौँ ।

मैले झ्यालबाट चियाएर हेर्दा एकपछि अर्काे गर्दै सैनिकहरु गोठमा छिर्दै थिए । त्यो अवस्था जस्तो दर्दनाक अवस्था कुन होला र, भाईटिकाको दिन दिदि बलात्कृत हुदै हुनुहुन्थ्यो । म त्यो अवस्थाको बयान गर्न सक्दिनँ ।

केहि छिन पछि गोली चलेको आवाज कानमा पर्यो । बमको आवाज गोलीको आवाज सँगसँगै मैले सुनिरहेका थिए दिदिको चिच्च्याहवट । दिदि तड्पिदै हुनुहुन्थ्यो । मैले मनमनै दिदिको छिटो प्राण गए हुन्थ्यो भन्ने प्राथना गरिरहेको थिएँ । आफ्नो सन्तानको माया कसलाई लाग्दैन होला र ? बुवाले छोरीको रुवाई सुनेर बस्न सक्नु भएन। ढोका फोरेर गोठतिर जानु भयो । मैले बुवालाई लाख रोक्ने प्रयास गरे तर बुवा मान्नुभएन । म झ्यालबाट बाहिरको दृश्य हेर्दै थिए बुवा गोठमा पुग्नै लाग्नु भएको थियो। बुवालाई गोली लाग्यो । बुवा भुँइमा लड्नु भयो । बुवाले दिदिलाई हेर्न नपाउदै संसार त्याग्नु भयो । भिड्न्त भयङ्कर भयो । विस्तारै रगतको खोला बग्न सुरु भयो। कोही आमा ! आमा ! भन्दै चिच्च्याउँदै थिए त कोही पानीको गुहार माग्दै थिए । ओहो ! त्यो अवस्था । गोलीको आवाज सँगै दिदिको चिच्च्याहवट सुन्दै थिएँ। रोइरहेको थिएँ। विस्तारै दिदिले संसार त्याग्नुभयो । गोलीको आवाज पनि कम भयो। करिब ६ घण्टा पछि शान्त भयो माहोल ।

म रुँदै बाहिर निस्किएँ। रगतको खोला नै खोला थियो । जता हेरे पनि लासै लास । लाग्यो, यो कुनै मसानघाट हो । बुवालाई काखमा राखेर म रोएँ। कराएँ । चिच्चाएँं । गाउँलेहरुको हालत पनि त्यस्तै रहेछ । बुवाको गोजीमा भाईटिकाको टिका रहेछ । विचरा बुवा महिनौपछि भेटेका सन्तानहरुलाई आर्शिवाद दिन नपाउँदै अस्ताउनु भयो । दिदिलाई हेर्न सकिनँ । दिदिले टिपेको दुबो, मखमल अनि सयपत्री नओइलाउदै दिदि जानुभयो । तिहार रगतमय बन्यो ।

आँसु पुछ्दै प्रदिप बोल्यो ‘भयो, अब यो भन्दा धेरै सुन्न सक्दिनँ ।’
म निशब्द बनें। युद्दका डोबहरुले पलपल सताइरहन्छ । भेनाजु सांसद हुनुभएछ तर अचेल मलाई चिन्नुहुन्न । ठुलालाई मात्रै युद्द सफल भयो हामी जस्ता मेरि दिदि जस्तोलाई कागलाई बेल पाक्यो हर्ष न विषमात ।

Facebook Comments

You may also like

error: Content is protected !!