बितेको १२५ वर्षमा ‘दि न्यु योर्क पब्लिक लाइब्रेरी’मा अति प्रिय साबित किताबहरु

यस वर्ष, दि न्यु योर्क पब्लिक लाइब्रेरी १२५ वर्ष पुग्दैछ । यस उपलक्ष्यलाई लाइब्रेरीका कर्मचारीहरुले, सन् १८९५ देखि हालसम्म लाइब्रेरीका सबै शाखाहरुबाट बढीभन्दा बढी पढिएका शहरकै सर्वप्रिय किताबहरुमाथि शोध गरेर मनाएका छन् ।

हरेक वर्ष, लाइब्रेरी भ्रमण गर्ने १६ करोड पाठकहरुमाथि शोध गर्नु सहज कार्य होइन । त्यसैले, शुत्रगत अवलोकन गर्दै उनीहरुले १२५ वर्षमा पहिलो पटक १० अति प्रिय किताबहरुको सुची तयार पारेका छन् । शुत्रगत अवलोकनका क्रममा उनीहरुले आवृत्तिदर, परिसंचरण तथ्याङ्क, प्रवृतिगत अध्ययन, वर्तमान घटना-कार्यक्रम, ख्याति-विश्लेषण, प्रेस सम्बन्धित अध्ययन, लाइब्रेरी क्याटलगको विश्लेषण आदिजस्ता विवरणपूर्ण अनुसन्धान पद्दतिहरु अपनाएका छन् ।

कुराकानीका क्रममा लाइब्रेरीका अध्यक्ष, एन्थनी मार्क्स भन्नुहुन्छ- “सुचीमा प्राप्त भएका किताबहरु लाइब्रेरीको सुरुवातमा जति सान्दर्भिक थिए, यत्तिका पुस्तान्तर भइसक्दा पनि अझै उस्तै सान्दर्भिक छन्, जस्तो हाम्रो लाइब्रेरी आफै छ ।” र थप्नुहुन्छ- “यस सुचीले हामीलाई १२५ वर्षको अवधिभरिका न्यू योर्करबारे केही बताउँछ । उनीहरुलाई के ले छुन्छ, के ले उत्साह दिन्छ, र यो समयको वास्तविक स्वाद कस्तो छ, यी सुचीमा प्राप्त किताबहरुले बताउन सक्छन् ।”

सबैभन्दा रोचक कुरा त, ती मध्य धेरैभन्दा धेरै किताबहरु बच्चाका लागि लेखिएका र कतिपय त चित्र-पुस्तकहरु रहेका छन् । यसले यो देखाउँछ कि, छोटा किताबहरु पूस्तकालयमा बढीभन्दा बढी पढिएका छन् । वयस्कहरुकै लागि लेखिएका किताबहरुमा पनि, छोटा किताबहरु नै बढी रुचाइएको पाइएको छ । जस्तै, “टु किल अ मकिङ बर्ड”, “1984” आदि ।

सबैभन्दा पहिलो स्थानमा बस्न सफल भएको छ, बाल-चित्र-किताब, “द स्नोयी डे” जुन पूस्तकालयमा सन् १९६२ देखि उपलब्ध छ, जो आजको मितिसम्म पूस्तकालयमै सबैभन्दा बढी परिसंचरित किताब हो । अनुसन्धानका एक दक्ष, एन्ड्रयू मिडलरका अनुसार “उठाइएको विश्वव्यापी मर्म, समयविहिन विषयवस्तु र धेरैभन्दा धेरै भाषामा उपलब्ध हुनुका साथै प्रेस-कार्यमा लगानी गरिएको येथेष्ट समयका कारण यस बाल-किताब पहिलो स्थानमा पर्न सफल भएको हो ।” मिडलर यो पनि भन्नुहुन्छ कि, “विषयवस्तु, गुण आदि पश्चात पनि अन्तिममा चाहिने त कथा नै हो, जसको प्रस्तुति पनि यस किताबमा अति शानदार छ ।”

वहाँले किताबको प्रशंसा गर्दै भन्नुभयो- “यो यति सान्दर्भिक कथा छ कि, जसले पनि यसलाई आफुसँग सम्बन्धित पाउन सक्छ । यो बच्चा र वयस्क दुवैका लागि विशुद्ध जादु हो ।”

प्रेस-कार्यमा जति समय लाग्छ, पाठकलाई त्यति नै मात्रमा किताबले तानेको पाइन्छ । धेरै समय लगाएर निस्किएको डेल कार्नेगीको किताब, “हाउ टु विन फ्रेण्ड्स एण्ड इन्फ्लुएन्स पिपल” सुचीको आठौँ स्थानमा पर्न सफल छ । तर फेरि यस मान्यताको उल्लेख्य अपवाद स्वरुप, “ह्यारी पटर एण्ड ससर्रज हाउस” लाई पाउन सकिन्छ । सन् १९९८ मा मात्र बल्ल छापिएको भएपनि, डेल कार्नेगीको किताबलाई पछ्याउँदै जे.के. रोलिङको यस किताब नवौँ स्थानमा पर्न सफल छ ।

कहिलेकाहीँ आफ्नो नियन्त्रणभन्दा बाहिरको समस्याले गर्दा किताबहरु छापिन धेरै समय लाग्ने गर्छ । जस्तो, बच्चाहरुकै किताब, “गुडनाइट मुन” लाई एन.वाइ.पि.एल कि एक प्रभावशाली लाइब्रेरियन, एन्नी क्यारोल मुरेले मन नपराइदिएपछि करिब २५ वर्षसम्म यस किताबलाई कसैले छाप्न मानेनन् । तर सन् १९७२ मा छापिएपछि धेरैले बच्चाको लागि लेखिएको यस किताबलाई मन पराइरहेकाछन् । सायद भविष्यमा, यो सुन्दर बाल-किताब आफ्नो क्षतिपूर्ति लिन न आउला भन्न सकिँदैन, मात्र समय र तथ्याङ्कले बताउन सक्ला ।

    सर्वप्रिय १० सुचीमा पर्न सफल किताबहरुः

१. द स्नोयी डे (इज्रा ज्याक किट्स, पठनदर ४,८५,५८३)

२. द क्याट इन ह्याट (डा. सिअस, पठनदर ४,६९,६५०)

३. 1984 (जर्ज अर्वेल, पठनदर ४,४१,७७०)

४. ह्वेर द वाइल्ड थिङ्स आ (मोरिस सेन्डाक, पठनदर ४,३६,०१६)

५. टु किल अ मकिङ बर्ड (हापर ली, पठनदर ४,२२,९१२)

६. चार्लट्ज वेब (इ.बी. ह्वाइट, पठनदर ३,३७,९४८)

७. फरेनहाइट ४५१ (रे ब्राडबरी, पठनदर ३,१६,४०४)

८. हाउ टु विन फ्रेण्ड्स एण्ड इन्फ्लुएन्स पिपल (डेल कार्नेगी, पठनदर २,८४,५२४)

९. ह्यारी पटर एण्ड द ससर्रज स्टोन (जे.के. रोलिङ, पठनदर २,३१,०२२)

१०.द भेरि हङ्ग्री क्याटरपिलर (इरिक कार्ले, पठनदर १,८९,५५०)

श्रोत: ScienceAlert

अनुवादः श्रीजु सरल

Facebook Comments

You may also like

error: Content is protected !!