तीर्थेणी

सम्बोधनको आयतन कति होला ? नेत्रको दृष्टिमा द्रष्टाको सामर्थ्य कि दृश्यको ? गीतादर्शनको अध्येतालाई दृश्य र द्रष्टामा के भेद ? कुरान शरिफको ‘बिस्मिल्लाहिर्रहमानिर्रहीम’ ले पनि उसको कल्याण गरेकै हो । उसो भए ‘नमाे रत्न त्रयाय नम:’ ? बुद्धिजम् ! एग्नोस्टिक हो ऊ । स्यापिएन्सको धर्म पूरा गर्छ । कसरी भन्न सकेका ए तिमोरु ? ऊ वैश्य होइन ब्राह्मण हो । मेरा लागि ? मातृत्व र पितृत्वको सम्मिश्रित अभिभावक, भ्राता, सखाजस्तै आत्मिय, कैयौं पाइलाको सहयात्री र अक्षरमार्गको योजक ! उसोभा म के भनूँ ? अक्षरको कृषण गर्ने कृषक भएकाले गुरुवर उत्तम लाग्छ । त्यसैले त भन्दै छु ऊ ब्राह्मण हो । न्वारन गरिसकेँ त । तीर्थ गुरुङ होइन, आचार्य तीर्थ ! मेरो लेख्य सम्बोधन तीर्थाचार्य ! अनि, द्रोणार्जुन जस्तै तीर्थेणी !

हिमालयन रिडर्स कर्नर, पाठकको पाठशाला । पाठशाला ? आचार्यको पुस्तक ! कथित कवितासङ्ग्रहको श्रष्टा थिएँ । ऊ त्यही पाठशालामा आइपुग्छ । धत् धर्मको चेत छैन ? आचार्यलाई, तँ ? ए, कन्पारो न तता । भनिसकेँ त, उसका खातिर मसँग एक सम्बोधन छैन । लागेको भन्छु । रिसाउँदैनन् उनी । भेट कस्तो रह्यो ? पाठशालासँगको ? पठन पश्चात् धन्न स्वयम् स्किट्सउफ्रेनिक । भाको भए गज्जव हुन्थ्यो । जोन फाेर्ब्स न्यास जुनियरले जस्तो थ्योरी पो प्रतिपादन गर्थिस् कि ! अँ, शार्त्र मनपर्छ मलाई, नोबल पुरस्कार लिन्न थेँ । यसको अर्थ क्यामु हेटर भन्ने नलागोस् । उसले मेरै खातिर लेख्यो जस्तो लाग्छ । आचार्य परिचय गरौँ भन्दै मछेऊ आइपुग्छन् । उही पाठशालामा । परिचय सकिएपछिको सोचाई, धत् ! म पो ऊ भाको ठाँउमा जानुपर्ने. . . .

'pathsala' by tirtha gurung

‘pathsala’ by tirtha gurung

ए आचार्यले ? भन्न के सिकाए ? थाहा छैन । मैले धेरै सिकेँ । न्यू योर्क टाइम्स, रिडर्स डाइजेस्ट र टाइम्स्लाई चिनाए । पामुक, टल्सटोए, क्यामु र शार्त्रसँग परिचय गराए । वाह रे ! हातपनि मिलाए होलान हगी ? खै बिर्सेँ, झिनामसिना बात । बरु टल्सटोएले भनेको याद छ । आनालाई ट्रेनमा मारेको पाप लाग्यो यार, आफूलाई स्टेशनमा बिसाउनु पर्यो मैले । मलाई त्यहाँदेखि पात्रको हत्या गर्न डर लाग्छ । आचार्य भन्छन्, “पाठशाला लेख्दा दिमागमा अर्काे कथाले कन्सर्ट गथ्र्यो, अनि म बाजेकै वार एन्ड पिस पल्टाउथेँ ।” बाफ रे ! धेरै सिकिछस् तैँले । यो सिकाई ? हा हा हा …. मैले पीडा सिकेको छु, संघर्षको विन्यास, ज्ञानको सिँचाई, खुशीको संकलन, शायद जीवको अर्थपनि !

२९ को संयोग ? फिक्सनल छ । सुनाउन मिल्दैन क्या ! प्रहिबिटेड हो । ए, धेरै कर नगर् त ! सुनाउन्न भनेपछि । तँ रिसाको ? सरि सखे । नठुस्की, सुनाउने भएँ । सुन यता । ए, हाँस न यार ।

हामी दुईको भेट २९ गते, आचार्यको फोन नम्बरको योग २९ कै खान्दानको छ, उनको पाणिग्रहण २९ वर्षमा नै, नागरिकताको संख्या योग २९ कै मल्टिपल । जीवनको आदि, इत्यादि रोल नम्बर २९ । आचार्यले भारत पनि पढे । त्यहाँ पनि २९ नै रोल नम्बर । धेरै छन् । यी मात्र अहिलेलाई । मसँग जोडिएपछिको २९ संयोग सुन्दैनस् ? सुनाउने भएँ । मुस्कुरा न त । यो हो नि पारा ।

मेरो पर्णशाला नजिकै आचार्यको छानो । एकदिन ऊ मलाई भन्छ, “कोठा खोजौँ गुफा पसेर लेख्नुपर्यो नयाँ उपन्यास ।” गालवले हुँदै नभएका चार श्यामकर्ण अश्व खोज्छ, डेरा पनि नखोजूँ म ? गालव त मुनिकुमार । साँच्चि ! न म मुनि नै थिएँ न कुमार । द्रौपदीको जस्तो वरदान कहाँ हुनु मसँग ? परम्यूटेशन र कम्बिनेसन लगाएँ । साँच्चै, कति कोठा होलान् शहरको गर्भमा ? आलु घरभेटिसँग गणित चल्दो रहेनछ । उहाँको मिर्गाैला प्रत्यारोपण गरेको । वाशरुम सिङ्गल चाहिन्छ सकभर । इन्फिक्सनको खतरा नि ! रुम हन्टको आरम्भ । भनिसकेँ त एग्नोस्टिक भनेर, एइथिस्ट भन्दा मुद्दा नहाल्लान् । साइत हेरेनौँ । कोठा भेटिएन । थाहा छ तँलाई, एकदिन हामी कोठा खोज्नकै लागि २९ हजार पाइला हिँडेका छौँ । साम्सुङ हेल्थले देखाको नि, बाँजापाटनदेखि लामागाउँसम्म पुगी फर्केका । महिनादिनमा कोठा भेटिन्छ । २८ गते, साँझको झिसमिसेमा । भोलिपल्ट आचार्यले भन्नुभो,
“आजै गृहप्रवेश गरौँ, २९ले नछाड्ने भो ।”

29

29


नूतन कोठा, साँझको खाना पाक्छ । खाइसक्दा रातको दश । मलाई पर्णशाला नपुगी हुँदैन । १०ः२९ मा निस्कन्छु । पैदल हो, २९ मिनेटको । सुनसान छैन किनकी भुस्या कुकुर छन् । हिँडिरहेको हुन्छु । फ्याट्ट ! के भो ? साँचै, शहरप्रति घृणा । यत्रो शहरमा आचार्यका खातिर डेरा छैन ? थुक्क तिमी बङ्गलाहरु ! घर देखेर रिस उठ्छ । मुर्मुरिन्छु, चक्षु रातिन्छन् । योजना मस्तिष्कमा । त्यसरात गुफा पुग्नुअघि शहरका २९ अग्ला घरका गेटमा पुर्याइपुर्याइ मुत्छु म ।

निख्लोट थिएँ । मूर्दाझैं लम्पसार पर्णशालाको वक्षस्थलमा । अष्टाध्यायीको श्री गणेश गरेको । पाणिनि म भन्दा साइको लाग्छ । अइउण् को गुण कहिल्यै बिर्सिन्न । भन्दै थ्यो, वरदराजाचार्यलाई थ्याङस् सुनाइदिनु । कर्मकाण्ड ? शंकराचार्यसँग सहमत छु । डाक्टरले टाइफाइडले हग गर्या छ भन्यो । बायोलोजी ? कलेज पढ्दा को जोक छ । प्रायः केटीले पढ्ने भएर स्त्रीलोजी । अँ साँच्चै, साथी थियो कार्डियोलोजीस्ट बन्छु भन्ने, स्त्रीलोजीको ह्याङओभरले सिभिल गरिरा’छ । पुलचोक नै निकाल्यो, नाम । टाइफाइड उग्र हुँदै गयो, आचार्य पर्णशालामा नै भेट्न आए । हर्लिक्स, जुस वा फलफूलका जमाना गएछन् । त्यही दिन बोध भएको । भेट्न न्यू याेर्क टाइम्स्को विकेन्ड लिएर आएका थिए तीर्थाचार्य । भन्दै हुनुहुन्थ्यो, “अमेरिकन भएर होला पत्रिकाले नी हैजा उतार्छ त्रिवेणी ।”

The New York Times

The New York Times


रिडर्स डाइजेस्ट कहिँ भेटिएन । भाटभटेनीमा टाइम म्याग्जिन हाँसिराथ्यो । खित्का छोडेन के अलि । उठाएँ त्यही भएपनि । डि गार्डेनमा आचार्य कुरिरहेका थिए । पुगेँ । सोल्टीसँग शास्त्रार्थ चलिरा’थ्यो उनको । बुझिन क्यै । गुरुङ भाषा थ्यो क्या ! सबलधवा, यहि मात्र हो जानेको शब्द । म सबलधबा हो रे ! आचार्यले हैन साथीले भनेको । हाँसिदिएँ । सबलधवाले के सवाल गर्नू ? आचार्यको शास्त्रार्थ सकियो । सोल्टी निस्के । हामी दुई जन्मदिन मनाउने तरखरमा । तीर्थाचार्य कै । वास्तविक जन्मदिन थाहाछैन मलाई । आफैँले फिक्स गर्देथेँ, आज तपाईंको जन्मदिन भनेर ।

अँ, गुरुको जन्मदिन तोक्ने हैसियत छ तेरो ? आचार्यको किड्नी ट्रान्स्पाल्न्ट डेट थियो त्यो । सफल प्रत्यारोपणपनि नयाँ जीवनको सुरुवात न हो । त्यही भएर टाइम किनेको, उपहार दिन । दिएँ । भनिहाले उनले, “यस्तो महङ्गो म्याग्जिन किन दिनुपर्थ्यो ? विद्यार्थी नै छौ ।” सुन्नासाथ भित्तामा हाँसेको बुद्धको पेन्टिङले भनिदियो, “तिमीभन्दा महङ्गो केहि छैन उसका लागि ।”

Source:Pinterest "Buddha"

Source:Pinterest “Buddha”


ह्यापी बर्थ डे नगाइकन जन्मदिन मनाउँदै । आचार्यलाई शौच जानुपर्यो । किन ? ह्यापी बर्थडे गाएको भए जान पर्थेन र ? उसोभए वासरुमको सट्टा ह्यापी बर्थडेको रेकडिङ किन्ने ? पेट कटक्क हुनासाथ प्ले, सुरिलो स्वरमा ह्यापी.. बर्थ.. डे……। अर्डर गरेँ । आचार्य वासरुमबाट फर्कनासाथ अर्डर टेबलमा हाई भन्न आइपुग्यो । भोजन गर्नै आँट्याथ्याौँ, के भो ? आचार्य अचानक टेबलमा घोप्टि पर्नुभो । होसविहिन । एक्कासी त्यस्तो ? हो, म अचानकसँग असाध्यै डराउँछु । ममाथि विजय पाउन अचानकको सहायता लिनु । सुझाव ! फ्रीज भएथेँ म । भरिएका आँखाले आचार्यको शिरमा दृष्टिगोचर गरिरहेँ । तर उनको ढलेको शिरले उठ्ने चेष्टा गरेन । ढलिरह्यो, मेरो सपनाजस्तै । आफैँले तोकेको उसको पहिलो जन्मोत्सव म ढलेको शिर कुरेर उघिँरहेँ । मनमा आशा विछिप्त थियो, कतै उठी पो हाल्छ कि त्यो टाउको….

ट्याक्सी आइपुग्यो । चालक दाइले उनलाई हाले । चाख्नसमेत नपाएको अर्डरले खुच्चिङ भट्याइरहेथ्यो । आ..होस् ! बिल तिरेँ । तिर्थेणीलाई बोकेर ट्याक्सी अस्पतालतर्फ बत्तियो, अर्डर अझैँ हाँसिरहेकै थियो । हो, मैले वाचा गरेँ, अर्डरले ग्राहक गिज्याउने त्यो रेष्टुरेन्ट कहिल्यै पस्ने छैन । कसम आचार्यको !

“एङ्जाईटिको कारण यस्तो भो ।” डाक्टरले यान्त्रिक भावसहित भन्यो ।
“किड्निमा पनि सम्स्या छ।” उसले थप्यो । सोचेँ, आचार्य उत्सवमा समेत एङ्जाईटिमा छन्, म उनीभित्रको खुशी खोजिरहेछु ! रातको दश बजे, इमर्जेन्सी वार्डबाट डिस्चार्ज भयो । उनलाई अघि लगाएर लुरुलुरु हिँडिरहेको छु म । आँखाले धर्म निभाइरहेका थिए । उनले देख्छन् कि भन्दै छेलिएर पुछेँ आँसु । किन थाहा छ ? मेरो आँसुपनि उनको एङ्जाईटिको प्रमुख कारण हो ।

त्यसरात आचार्यलाई छोड्न चित्त मानेन । चित्त यस्तै हो, यसलाई थर्काएर मनाउन सकिन्न । दुवै सँगै । उनलाई भोकै सुताएँ । म त्रास र पीडाले अघाइसकेको थिएँ । रातभर डकारिरहेँ डर, पीडा र बेदनामात्र । निद्राको शत्रू पीडा रहेछ, आडमा आउनै दिएन रातभर । पिरोलिएको र डराएको जीवनको त्यो पहिलो रात, छर्लङ्ग अनिदोमा बित्यो ।

एकाबिहानै उनी बोले, “यस्तै हो भने केहि भर छैन, म दुई गुणा उनन्तीस पुगेर सकिन्छु होला, मिर्गाैलाकाे भर मरिसक्यो ।” उषः कालमा म निःशब्द । उत्तर घाँटीमा अड्क्यो । थाहा छ के थ्यो उत्तर ? “त्यसो नभन्नुस्, मसँग दुईवटा स्वस्थ मिर्गौला शेष छन् ।”

Bonding

Bonding


मिर्गाैलामा फेरि समस्या देखियो । पखाला चल्यो, क्रेटिनिन ह्वात्तै बढ्यो । पोखरामा उपचार सम्भव भएन, हामी काठमाण्डाैँ कुद्यौँ । टिचिङ पुग्दा दिनको तीन बजिसकेको थियो । बिमारबारे बताउँदा नर्सले भनिन्, “उहाँलाई क्याविन चाहिन्छ नत्र इन्फेक्सन हुन्छ, हामीसँग क्याविन छैन ।” हामी निराश भएर निस्क्यौँ । होटलमा रातभर उनी छट्पछिरहे, म रसिला आँखाले उनलाई हेरिरहेँ । भोलिपल्ट प्राइभेट अस्पतालमा गयौँ । क्रेटिनिन घटेकै छैन, पोखराबाट आएको भन्ने थाहा पाएका र पाठशाला पढेका डाक्टर हुनाले उनले टिचिङमा सिफारिस गरिदिए । डाक्टरको पत्र बोकेर हामी फेरि टिचिङ हान्नियौँ, बिडम्बना नर्सले भर्ना गर्न मानिनन् । यस्तैमा म दिक्क भई अस्पतालको गार्डेनमा डुलिरहेको थिएँ, एउटी डाक्टर आईन् र समस्याबारे सोधिन् । मैले सबैकुरा बताएँ, उनले भर्ना गरिदिइन् । खासमा अस्पतालमा क्याविन खाली रहेछ, पहिलेकि नर्सले ढाँटेकी !

उपचार सुरु भयो, म पामुक पढेर बसिरहेँ । सलाइनको आफ्नै गति थियो, मध्यरातमा कसैले ढोका ढक्ढकायो । उनी तिनै डाक्टर थिइन् । भित्र पसेर जाँच गरिन्, म म्युजीयम अफ् इनोसेन्समै हराएँ । उनले मलाई पुलुक्क हेरिन् र निस्किन् । भोलिपल्ट थाहा लाग्यो, ती डाक्टरले हामीलाई सहयोग गर्नुको कारण मेरो पोशाक रहेछ । उनलाई दया लागेको थियो रे मलाई देखेर ।

Tri

Tri

“निरक्षर, तराईको कुनै गाँउको भन्ठानेको, तपाईं त पामुक पढिरहनुभएको । म त झस्केँ नि !” भोलिपल्ट उनले यहि वाक्य बोलेकी थिइन् । खैर, पोशाकले काम गर्यो, उपचार भयो । थाहा छ, मलाई फिस्टुला छाम्न असाध्यै मज्जा लाग्छ । भोल्युममा इन्ट्रिगेसन लगाएर दिनभरमा कति रगत फिस्टुलाबाट बग्छ भनेर निकाल्ने भनेको सधैँ बिर्सन्छु । कस्तो तेजसँग बग्छ रगत ! म घण्टौँ छामेर पनि अघाउन्नँ । आचार्यको उपचारको क्रममा मैले रातभर फिस्टुला छामेको छु । कराएको रगत सुनेर रात कटाउनुको आफ्नै आनन्द छ । त्यसैले त म प्रार्थना गर्छु, त्यो फिस्टुला सधैँ कराइरहोस् ।

पखेटा लागेका कमिलाहरु, छिट्टै आँखा चिम्लिन्छन् रे ! सम्बन्धमा पखेटा लागे ? दीर्घकालिन नहोला र ? कस्तो विपरित ! हो, हाम्रो सम्बन्धमा पखेटा लागोस् । उडाई लैजाओस् कतै पर, एकान्तमा । आइन्सटाइन बाजेले रिलेटिभिटी सिकाए । समययात्रा गरेर पूर्वजन्मको हाम्रो सम्बन्ध जान्ने धोको छ मलाई । साँच्चि आचार्य, हामी पूर्वजन्ममा एकअर्काका के थियौँ ? उनले उत्तर दिँदैनन् । भनिसकेँ त एइथिस्ट भनेपनि मुद्दा नहाल्लान् भनेर । रिलेटिभिटीको समययात्रा ? त्यहि भएर फिजिक्समा फिँजिएको छु । तर थाहा छ ? के ? सम्बन्धमा पखेटा लागिहाले हामी उडेर पूर्वजन्ममा जान सक्छौँ । पखेटा हुन्थ्यो त, उनलाई मनपर्ने बास्किन रुबिन्स् सात जन्म पहिल्यै खुवाउथेँ मैले । इन्डिएन हैन, खाडीको ! त्यो पनि मेगा साइज !

christ and krishna

christ and krishna

कुरुक्षेत्रको युद्ध लाइभ हेर्थ्याैँ, सञ्जयलाई हृदयघात हुन के बेर । व्यासको अटोग्राफ समेत माग्थेँ । आजसम्म कसैको मागेको छैन । दौपदी परिणयेच्छा कहाँ नभएको हो र ममा । दुवैले सीतासँग भाइटीका लगाउथ्यौँ । माेहम्मदको व्यक्तित्वमा परिवर्तन गरिदिन्थेँ । हाहा, रश्दीलाई फतवा लाग्दैन नि त यसो गर्दा । जिजसको प्रेमिका थिई नि वेश्या, उसलाई उपहारमा प्राण बाहेक हरथोक काटेर दिन्थेँ, अनि भ्यान गगलाई चिच्याएर सुनाउथेँ , हो, म हो महान् प्रेमी ! बुद्धसँग त मित लगाउथेँ शायद । द्रोणाचार्यलाई माझीऔँला देखाउथेँ । दूर्योधनसँग कक्टेल पार्टी । ए कन्हैयासँग ? बह्मचर्यबारे शास्त्रार्थ गर्थेँ, शंकराचार्यझैं परकाया प्रवेश नगर्ने शर्तमा । ए साँच्चै, भन्नै बिर्सेको, पाणिनिको सन्देश मैले वरदराजाचार्यलाई सुनाइदिएँ । कसरी ? प्रकिया गोप्य छ ।

“सबैभन्दा लघुसिद्धान्तकौमुदीमा चित्त जान्छ मेरो ।” लेखकसँग झुट बोलेको पहिलो पटक हो । पाणिनिलाई भगवानको काम असाध्यै सार्थक लागेको छ, थपेर सुनाइदिएँ । धत् मानसिक भ्रष्टाचार गर्ने ? मानवको क्यारेक्टर हो त्यो, गोप्य छ कसैलाई नभन्नु । अनि वरदराजाचार्यको मुखमण्डल उजेलियो । असाध्यै खुसी भएर उनले आज्ञा गरे, म तिमीलाई वरदान दिन्छु भन के माग्छौ ? त्यो त तँलाई थाहा नै छ मैले के मागेँ । हो, तीर्थाचार्यको दीर्घायू !

Novelist Tirtha Gurung

Novelist Tirtha Gurung

Facebook Comments

You may also like

error: Content is protected !!