आखिर कहिलेसम्म ?

“कस्तो पट्यारलाग्दा दिनहरु हुन् हौ, न काम गर्न मन लाग्छ, न त बसिरहन नै !” एक हाफ चाउमीन दिँदै भाउजुले थप्नु भयो, “न त व्यापार नै छ, न फुर्सद ! बरु बाबु हजुर चाहिँ के गर्नुहुन्छ नि दिनभरी, खासै काममा पनि जानु हुँदैन क्या हो !” नेपत्थ्मा बच्चा रोएको आवाजले “के भयो मेरो मुटुको टुक्रालाई” भन्दै आत्तिएर भाउजु अलप हुनुभयो । “साच्चै म के गरिरहेछु ! दिनहुँ ४-५ घण्टा त म अफिस गइरहेकै हुन्छु तर बाँकी रहेको समयमा म के गरिरहेको हुन्छु ?” यही प्रश्नले मथिङ्गलमा डेरा जमायो ।

खाजा खाएर कोठाको ढोका खोल्दा आज आफैँलाई आफ्नो कोठाप्रति दया जागेर आयो । चैतको महिना; दिनभरी प्रचण्ड घामले आफ्नो उद्दण्ड मच्चाइरहेकै थियो, राती गर्मीले निद्रादेवीलाई अन्यत्रै धपाइदिए जस्तै हुन्थ्यो । कोठाको एकछेउमा जाडो यामकै कपडाहरु कोचारेको थिएँ नधोइकन । करिब २० दिनदेखिका अरु कपडाहरु पानी र सरफको मिश्रणमा घोलिन तमतयार थिए । थकित शरीरलाई दिउँसै बिछ्यौनामा मुढो पल्टाएझैं पल्टाइदिएंँ । जताततै फालिएका भाँडाकुँडा, केही फुटेका बोतलहरु, केही निभेका चुरोटका ठुटाहरु, रगतले पोतिएको चक्कु र भुइँ, छरपस्ट फालिएका कपडाका पोका, भित्ताको काँटीमा झुन्डाइएको सेतो सारी अनि प्रकाशको नाममा एउटा मधुरो बत्ती मात्र बलेको निर्जन कोठाको ठूलो टेबुल अगाडि थिएँ म, जहाँ मिलाएर राखिएका थिए २ वटा पत्रहरु । म कहाँ थिए ? म यहाँ के गरिरहेको थिएँ ? कसको कोठा हो यो ? म केही हताश र डराइरहेको थिए । यो पत्रमा पक्कै पनि बाहिर जाने केही सुराकहरु भेटिनेछन् होला भन्ने आशले मैले पत्र खोल्ने दुस्साहस गरेँ ।

पहिलो पत्र

अन्धकार राती चुरोटमा बलेको आगोको सहायताले लडबडाउँदै- पछारिँदै इँटा, चिम्नीमा उडे बराबर कालो धुवाँ उडाउँदै, कोसौं परबाट ठस्स आएको रक्सीको गन्ध म सहजै अनुमान गर्न सक्थेँ, त्यो नजिकिँदै गरेको गन्ध त्यस पुरुषको हो; जसलाई मैले ८ वर्षअघि अग्निलाई साक्षी मानि समाजको सामुन्ने आफ्नो श्रीमानको दर्जा दिएकी थिएँ । रक्सीको नसामा अचेत ऊ आफ्नो बलको प्रदर्शनी गरेझैं एकतमासले ढोकामा आफ्ना लात्ती बजारिरहन्छ, निर्जीव ढोकामा हानिरहेका लात्ता आफ्नै सजिव शरीरमा बजारिएको भान हुन्छ मलाई । मुटुको स्पन्दन बेजोडले बढ्छ, म आफ्नै धड्कन र ढोकाको आवाजमा खासै फरक ठम्याउन सक्दिनँ । शरीर कमाउँदै ओठमा बनावटी मुस्कान बोकेर ढोका खोलिसक्दा आँखामा रिसको ज्वाला बोकेर सिंह जस्तै गर्जिँदै, “कुन नाठोसँग गफ गर्दै थिइस् ? ढोका खोल्नपर्छ भन्ने थाहा हुँदैन तंँलाई ?” भन्दै २-४ लात मेरो शरीरमा बजार्छ, चुल्ठो समाउँदै भुइँमा पछार्छ, बिछ्यौनामा लछार्छ अनि मेरो अवस्था देखेर प्रफुल्लित हुन्छ ।

भोकै उसको निम्ति खाना साँचेर बसिरहेकाले मसिनो स्वरमा “खाना खाउँ न” भन्दा “जाँठी ! यति लात्ती खाँदापनि तेरो भोक मरेको छैन ?” भन्दै आफूतिर तान्दै पाखुरा समाउँदै कपडाहरु च्यात्न थाल्छ । म भाग्न खोज्छु, चिच्याउँछु, उसबाट छुटकारा पाउने हरसम्भव कोसीस गर्छु तर उसका बलिया र दह्रा पन्जाहरुबाट उम्किन भने सक्दिनँ । म रुन्छु, सन्चो छैन भनेर लाख बिन्ती गर्छु तर रक्सी र हवसको मातमा अचेत ऊ ” अझै नाटक गर्छेस् ? भन कुन नाठोसँग सल्केकी छेस् ?” भन्दै झापडहरु बर्साउँदै गिद्दले शिकार लुछेझैं शरीरका अंगहरु चिथोर्छ । शिथिल र भोको शरीरसँग उसको दमन प्रतिकार गर्ने न सामर्थ्य हुन्थ्यो न त उर्जा नै, म सहन्थेँ ती सबै पीडा र गालीहरु । रक्सी र चुरोट मिश्रित गन्हाउने उसको श्वास फोक्सोसम्म पुग्दा मलाई आफ्नै श्वासपनि गन्हाउने लाग्न थालेको थियोे । आफ्नो शरीरको ताप र हवस मेटाएर ऊ मजाले सुत्दा म प्रत्येक रात आफ्ना घाउहरु सुम्सुम्याउँदै आँसुको आहालमा आफ्नो नियतीलाई दोष दिइरहेकी हुन्थेँ । बलात्कारको असह्य पीडाले म प्रत्येक रात छटपटाउथेँ । मेरो नारीत्व गिराउनुलाई ऊ आफ्नो पुरुषत्व सम्झन्थ्यो । प्रत्येक रात एउटै कहानी बोकेर आउने भएकोले होला जिन्दगी अन्धकार भएतापनि मलाई अन्धकार मनपर्न छोडेको थियो । म यसैगरी बाँचें भने मलाई यो समाजले पतिव्रताको उपाधि दिनेछ । यो परिवार मेरो चिच्याहट र क्रन्दन सुनेर पनि बेवास्ता गर्छ ।

उसको निम्ति म बजारबाट ल्याइएको एउटा सामान समान थिएँ । यो समाजले उसलाई हक दिएको छ, कानुनले उसलाई अधिकार दिएको छ र त ऊ मेरो अस्तित्व अनि शरीरलाई उसको अधिकार सम्झन्छ । कसैले नारी र पुरुष समान हुन्, नारी महान छिन् भन्दा पनि ‘नारीले मलाई हान् भन्छिन्’ भनेको जस्तै सुन्छु मैले ।

कहिले दाइजो कम ल्याइस् भनेर त कहिले छोरी जन्मी भनेर हरेक दिन जस्तो सासूको गाली, जेठाजुको गिद्दे नजर, नन्दसँगको मनमुटाव, शरीरभरि निलडाम अनि मनभरि वेदना बोकेर जसोतसो म मेरो दिनचर्या गरिरहेकी हुन्थेँ, मात्र ६ वर्षकी छोरीको खुशी र भविष्यका निम्ति ।

ईश्वरको घरमा हरेक कुराको न्याय हुन्छ भन्थे तर मलाई त्यो ईश्वर पनि झुटा लाग्थे, हुन त आफू एक भएर अनेकमा बांँडिई आफ्नै अस्तित्वमाथि प्रश्नचिह्न लागेको ईश्वरले कसरी अरुको अस्तित्व बचाउलान् र ? सहनशीलताको बांँध त्यस रात टुट्न पुग्यो जुन रात ऊ सदाझैंं रक्सीको नसामा लिप्त भई निदाइरहेकी आफ्नै छोरीको गुप्ताङ्ग सुम्सुम्याइरहेको थियो ।

उसबाट हररात म बलात्कृत भइरहेकी थिएँ तर त्यसरात ऊ आफ्नै अबोध छोरीलाई जबर्जस्ती गर्ने ताकमा थियो । छोरीलाई उसको चंगुलबाट छुटाउने थुप्रै प्रयत्नमा म विफल भइरहेकी थिएँ । मलाई भाउन्न छुट्यो, हातमा जे जे पर्छ त्यसैले उसलाई प्रहार गर्न थालेँ तर उसले मलाई केही पर घचेटेर छोरीको सुरुवाल फुस्कायो । हताश र अचेतन मैले नजिकैको तरकारी काट्ने चक्कु उठाएँ र उसलाई प्रहार गरिरहेँ । ऊ रक्ताम्य भएर भुइँमा पछारियो । म छोरीलाई लिएर त्यहाँबाट भागेँ । दुखै दुखको संजालमा रुमल्लिरहेपछि सानो-सानो खुशीको पलले पनि जीवनमा धेरै अर्थ राख्दो रहेछ ।

मैले बुझेदेखि म जीवनमा खुशी दुईपटक मात्र भएकी छु; असह्य पीडा खेपेर पहिलोपटक मातृत्वको जिम्मेवारी बोध गर्दा जसलाई म बयान पनि गर्न सक्दिनँ अनि अर्कोपटक आज ! रक्षकको नाममा राक्षस समान आफ्नै श्रीमानको प्राण घाँस दाउरा र आफ्ना घाउमा मलहम लगाउन मात्र प्रयोग भएका निर्दोष हातले हरण गर्दा । हो, म गर्वकासाथ भन्न सक्छु मैले यो संसारको बोझ केही हदसम्म कम गरेँ, म विधवा भएकोमा न कुनै गुनासो छ न त पश्चाताप नै । मैले भोगेका दुख छोरीले भोग्नु नपरोस्, मैले सहेका चोट छोरीले सहन नपरोस्, त्यसका निम्ति म आफ्नो मात्र नभई अरुको रगत पनि बगाउन सक्छु भन्ने हिम्मत अब भने आफैँमा बढेको छ ।

अर्को पत्र

“ओहो ! झन्डै अनर्थ भइसकेको ! समात समात त्यस राडंँलाई !”
“बिहान-बिहानै देवीको मन्दिर पस्न पो खोज्दी रहिछे ! विवाहको ३ महिनामै आफ्नै पोइलाई टोकी, अहिले आफ्नो पाप हामीमाथि पो थुपार्न खोज्दै छे ।”
“त्यसलाई परको डाँडा कटाएर भगाउनु पर्छ ।”
“त्यो त विधुवा मात्र होइन बोक्सी पनि हो ।”
“हो, हो ! त्यसलाई गाउँमा राख्नै हुँदैन । त्यो अलक्षिनाले गर्दा गाउँमै संकट आउन बेर लाउन्न ।”

पछाडिबाट यस्तै आवाजहरु आइरहेका थिए । म एकतमासले त्यँहाबाट दौडिएर भागेँ, जसरी हरेकपल म भागिरहेथेँ आफ्नै नियतिसँग, आफ्नै भाग्यसँग अनि आफ्नै परिस्थितिहरुसँग । विगत केही महिनायता म यसरी नै त भागिरहेछु, कहिले मन्दिर पस्न खोजेको आरोपमा त कहिले सामाजिक कार्यमा उपस्थित हुन खोजेको प्रत्यारोपमा । “कस्तो धपक्क बलेको अनुहार, कस्तो सुहाएको हातैभरी राता चुराहरु । ठयाक्कै लक्ष्मी नै भित्र्याउने सौभाग्य पाएछु मैले ।” विवाहको दिन पहिलोपटक सासूआमाले भनेका यी शब्दहरु बारम्बार कानै सामुन्ने गुञ्जिरहन्छ्न् र मलाई निमोठिरहन्छन् । केही महिना अघिसम्म देवीसमान ‘म’, देवीकै मन्दिरमा पस्न खोज्दा आज किन रोक्छ यो समाजले ? के देवीलाई देवीकै मन्दिरमा जान पनि निषेधित छ ?

मलाई बाटोमा देख्दा कतिका साइत बिग्रन्छन् त कतिका बाटो नै मोडिन्छन् । सजिलै दाग र धब्बा लगाउन सकिने भएकाले नै होला हाम्रो शरीरमा सेतो साडी नै रहनपर्ने नियम बनाइएको ।

“कस्तो लक्षिनकी बुहारी भित्र्याइन् है ठूली कान्छीले !” भन्ने छिमेकी काकीको नजरमा म किन आज अलक्षिन भएँ ? त्यस्ता सुहाएका चुराहरु ढुङ्गामा तोडिए साथमा मेरा सपना र रहरहरु पनि । खोलामा सिउंँदो मात्र पखालिएन साथमा पखालिए मेरा भावना र खुशीका आधारहरु । मलाई पनि त रहर हुँदो हो, तिजमा रातो साडीमा सजिएर रातै सिउँदो बनाई हातभरि रातै चुराहरु बजाउँदै कम्मर भाँच्न । मपनि त चाहन्छु आफ्ना दुखहरु बाँड्न, मलाई पनि त रहर हुँदो हो दन्तलहर फैलाउँदै मुस्कुराउन, मलाई पनि त चाहना हुँदो हो त्यो पन्छीजस्तै भएर निस्फिक्री रमाउन तर म त समाजको पुरातनवादी सोच र परम्परामा बाँधिएकी छु । आकाशलाई कालै बादलहरुले ढाकिरहँदा कहिलेकाहीँ आफ्ना सातै रङ्ग लिएर सजाउन आउने त्यो इन्द्रेणीसँग पनि मलाई ईष्या जाग्न थालेको छ ।

एकल महिलाको नाममा छुट्याइएको रकम लिन जाँदा सरकारी कार्यालयमा देखिने ती छ्ड्के नजर, सार्वजनिक सवारीमा यात्रा गर्दा समाइने पाखुरा, कतै जाँदा पड्किने ती जिब्राहरु, सुनिने आवाजहरु, अनि काम सघाइदिने निहुँमा नजानिँदो किसिमले कहिले वक्षस्थल त कहिले नितम्बमा पुग्ने ससुरा र जेठाजुका हातहरुको सामना म कसरी र कतिन्जेल गरौँ ?

विवाहको ३ महिनामै वैदेशिक रोजगारमा गएका पतिको अवसानपछि बचेको पुरै जीवन यस्तै कुरीति र कुसंस्कारको पिँजरामा थुनिएर म कसरी बाचौँ ? बेलाबखत बाटोमा देखिने गाउँकै हरिमाया दिदीलाई देखेर म डाह गर्छु । हिँड्नै नसक्ने भएपनि उनका श्रीमान त छन् । जाँड र रक्सी सधैँ खाइरहने भएकाले पुष्पा दिदीले आफ्ना लोग्नेले दिने गरेको दुख केही महिना अगाडि मलाई सुनाएकी थिइन् । उनलाई के थाहा, श्रीमान नै नहुनेहरुको पीडा कस्तो हुन्छ भन्ने ? म कहाँ जाउँ आफ्ना गुनासो पोख्न ? कसका सामुन्ने खोलौँ म मेरा दुखका पोका पुन्तुरा ?

धेरै पहिला पति मर्दा पत्निपनि सँगै चितामा जल्न पर्थ्यो रे । सतिप्रथाको त अन्त्य भयो तर यहाँ सतिप्रथाभन्दा बलियो भएर विधवाको चलन आएको छ । सतिप्रथाको अन्त्यको विरोधी हुँ म, यसरी सधैँ विभिन्न प्रकारले दिनहुँ मर्नुभन्दा त एकैचोटि एउटै चितामा जल्नु नै बेस हुन्थ्यो होला ।

अकस्मात आँखा खुले, जताततै अन्धकार विद्यमान थियो, शरीर पसिनाको आहालमा ढलेजस्तै भान भयो । दिउँसै कस्तो डरलाग्दो सपना देखिएछ ! रातको ८ बजिसकेको रहेछ, त्यसपश्चात् न निद्रा आँखामा आयो, न भोकले नै सतायो । अन्धकार कोठालाई केही हदसम्म प्रकाश दिने हेतुले बलेको बत्तीले सपनाजस्तै छरपस्ट कोठाबीच टेबुलमा मिलाइएका किताबहरुले त्यही परिवेशको झझल्को दियो । न मलाई सुम्निमाको मादकताले लठ्ठ पार्न वि.पी नै समर्थ रहे न त पल्पसाको सौन्दर्य छर्दै नारायण वाग्ले आफूतिर तान्न नै । म सपनामा थिएँ भन्ने कुरा मनले मान्दै मानेन । दुखको भवसागरमा डुबेकी उसले एक हत्यारा र विधवाको पगरी बोकेर कसरी आफ्नी छोरीलाई हुर्काउँछे होला यो समाजमा, धेरैबेरसम्म यही कुराले मन अमिलो भइरह्यो ।

पत्नीको मृत्युु हुदाँ ४५ वर्षिय पुरुष एक्लो हुन्छ, सहारा चाहिन्छ भन्दै अर्को विवाह गर्न प्रेरित गर्ने समाजले २० वर्षीय विधवा बेसहारा हुन्छे, उसलाई पनि साथ चाहिन्छ भनेर किन सोच्दैन ? कति गाह्रो छ है, नारी भएर यो समाजमा आफ्नो अस्तित्व कायम राखीराख्न ? कति धेरै कुप्रथा र रुढिवादी सोचमा छौँ हामी अझै ।

कुमारी र झुमा बनाएर अबोध बालिकाहरुलाई पुज्छौँ अनि उनीहरुलाई नै उनीहरुको खुशीबाट वञ्चित गराउछौँ ।

दिनभरि महिला अधिकारकर्मी भएर हिँड्ने महिला नै घरमा कमलरी राखेर अर्की महिलामाथि शोषण गरिरहेका उदाहरण अझै विद्यमान नै छ्न् । छुवाछुत प्रथाको अन्त्य भइसक्यो भन्दै चर्को भाषण गर्ने महिला नेत्रीहरुले नै पानी छोएको निहुँमा दलित महिलाहरुमाथि दमन गर्ने गरेको कुरापनि नयाँ होइन । “नारी सृष्टिकर्ता हुन्, नारी-पुरुष एकै रथका दुई पाङ्ग्रा हुन्, नारीको पूजा गरिनुपर्छ” भन्नेहरुले नै महिला हिंसा गर्दै हिँड्छन् । नारीविना पुरुषको कुनै अस्तित्व नै नरहने कुरा अवगत हुँदाहुँदै पनि किन हुन्छ नारीप्रति नै दमन र अत्याचार ?

अझै कति निर्मलाहरुको निर्ममतापूर्वक हत्या गरिन्छ ? कति मुस्कानहरुको मुहारबाट सदाका निम्ति एसिड आक्रमण गरी मुस्कान खोसिन्छ ? आखिर कहिलेसम्म दाइजो कम ल्याएको आरोपमा बुहारीहरु जलिरहन्छन् ? कति चेलीबेटीहरु आफ्नै आफन्तका हातबाट बेचिन्छन् ? बोक्सीको आरोपमा अझै कति नारीहरुलाई कुटपिट र दुर्व्यवहार गरिन्छ ? कहिले झुमा त कहिले छाउपडीको रुढिवादी परम्परासामु अझै कति अबोध नारीहरुले घुँडा टेक्नुपर्छ ? कहिलेसम्म वादी समुदायकी महिलालाई वेश्याको दर्जा दिइन्छ ? कति छोरीचेलीहरु बलात्कारको शिकार भइरहन्छन् ? बलात्कृत महिलालाई कहिलेसम्म अरु महिलासमान व्यवहार गरिँदैन ? कुसंस्कार, रुढिवादी परम्परा, धर्म अनि पुरातनवादी सोचको शिकारमा परी अरु कति नारीहरुले आफ्नो जीवन बरबाद गर्न बाध्य हुनुपर्छ ? आखिर कहिलेसम्म ?

यस्तै-यस्तै तमाम प्रश्नहरु कोसीको भेलसमान सवार भए मस्तिष्कभरि । एउटा बेग्लै संसारमा पुगिसकेको म अचानक बजेको फोनको घण्टीले झस्किएँ । फोनको अर्कोपट्टी रहनुभएकी दिदीले रुँदै भन्नुभयो, “भाइ, म सक्दिनँ अब यो परिवारमा बस्न । कहिले दाइजोको नाममा त कहिले सासूको अपमान गरिस् भन्ने आरोपमा गरिने कुटपिट अब भने सहन सक्दिनँ । मैले धेरै सहेँ, अब त सहनशीलताको बाँध पनि भत्किसक्यो, एकदिन त पक्कै माया पलाउला भनेर सबै दुख-कष्ट झेल्दै बसेकी थिएँ तर अब म एकपल पनि रहन सक्दिनँ यहाँ । म तेरो भिनाजुलाई छोडपत्र दिँदै छु । समाजले के भन्ला ? परिवारले के भन्लान् ? भन्ने विषयसँग अब मलाई सरोकार छैन । भोलि अदालतमा आइज है, अरु कुरा त्यतै गरौँला !!!” म धेरैबेर फोन कानमा लगाएर बसिरहेँ तर फोनबाट टुट् टुट् टुट् टुट् आवाज मात्र आइरह्यो, सायद फोन सम्पर्क टुट्यो होला, जसरी टुटेको थियो दिदीको सपना, आशा र चाहनाहरु । अनि साथमा हाम्रो परिवारको खुशीहरु ।

Facebook Comments

You may also like

error: Content is protected !!