पर्खाल

निमेषभरका लागि यो पर्खाल नाघेर मजस्ता छुद्र मान्छेले त्यो शुद्ध समाजमा पाउ राख्ने हो भने कस्तो परिस्थितिले जन्म लिन्छ होला ? म छुद्र यस मानेमा रहिछु कि मेरो अस्तित्व पर्खाल भन्दा यता रहेेछ र उसको उता । त्यसैले ऊ शुद्ध रहेेछ, उसको समाज जस्तै । विस्मय त के भने हामी अलग पनि पो रहेछौँ ! मैले उसको समाजमा कम्पन ल्याउने ल्याकत राख्दिरहिछु । मेरो अस्तित्व उसलाई स्विकार्य नभएता पनि उसको निद्रा खलबलाउने शक्ति ममा रहेछ । ऊ मलाई घृणा गर्दोरहेछ यद्यपि मसँग डराउँदो पनि रहेछ ।

कति फरक पेस आउँछ ऊ, पर्खाल यता हुँदा । मनौँ यही संसार हो उसको, यही स्वर्ग हो उसको, यही छ त्यो आकाश जहाँ ऊ अनन्तकाल सम्म उड्न चाहन्छ । म सोच्छु, पर्खाल उता कस्तो व्यक्तित्व झल्काउँछ होला उसले ? के उसले उसैगरी अठ्याउन सक्छ मलाई, उता हुँदा ? के उसैगरी खप्टिन सक्छ आफ्ना ओठ मेरा ओठहरुमा ? “एक चोटि आँखामा हेर न”, के उसैगरी भन्न सक्छ ऊ ? सक्दैन । हो, ऊ सक्दैन । यो जवाफ मेरो मन को उपज हैन, उसैले दिएको उत्तर हो यो । उल्टो उसले ‘सक्छ’ भन्ने भ्रममा म घन्चक्कर खाँदै डुलिरहेकी थिएँ । हुन त मैले नै जन्माएको घन्चक्कर न थियो त्यो । त्यो ढोका बजाएर जब ऊ यहाँबाट निस्किएर पर्खाल उता गयो तब मेरा मनमा अचानक सैयौं प्रश्नहरु ताँती लागे । तिनले ठुंगे मलाई । ढ्याम्म, ढोका बन्द जसै भयो तसै उत्तरहरु पनि फेला परे । टाउको घुम्न बन्द भयो, मानौँ म घनचक्करबाट निस्किएँ, यस्तो अनुभव भयो ।

umrao jaan by Banane Cuite

umrao jaan by Banane Cuite

हाम्रो सम्बन्ध यो कोठा, यो कोठी भन्दा बाहिर छ कि छैन ? पर्खाल उता छ कि छैन ? पर्खाल उता उसको संसार कस्तो छ ? मलाई थाहै छैन । उसका बारेमा म बिरलै केही जान्दछु । आफ्नो बारेमा उसले बताएका कुरा म औंलामा गनेर भन्न सक्छु । उसको घरमा पाँच जना छन्, पाँच जनामा एक ऊ हो, एक उसकी आमा र एक उसको बुबा अर्का दुई को हुन् मलाई थाहा छैन । उसले भनेको पनि त छैन । उसका बुबा र आमा छन्, यो पनि मेरै कल्पना हो । बाँकी दुईमा उसका हजुरबुबा हजुरआमा हुन सक्छन् । उसका दाजुभाइ दिदिबहिनी हुनसक्छन्, काका काकी हुनसक्छन् धेरै भन्दा धेरै उसकि स्वास्नी र बच्चा हुन सक्लान् । ऊ विद्यार्थी हो । के पढिरहेको छ, उसैले जानोस् । भनेको छैन मलाई उसले । तीन, ऊ मलाई प्रेम गर्छ । यो मैले अड्कलेको होइन उसैले मलाई बताएको थियो केही साँझअघि ।

मेरो ओछ्यानमा पल्टिएर ऊ आँखा चिम्लिरहेको थियो । ऊ निदाइरहेको भने थिएन । उसको छातिलाई सिरानी बनाएकी मैले उसैलाई हेरिरहेकी थिएँ । आँखा चिम्लँदा पनि शान्ति झल्किएको थिएन उसको मुखमण्डलमा । धेरै भएको थिएन मैले उसलाई यसरी चोर नजरले हेर्न थालेको । लगातार कुनै वस्तुको सामिप्यता हुँदा त्यो वस्तु त आदत बन्छ भने ऊ त मान्छे, जसको सामु म हप्तै पिच्छे नाङ्गिन्थेे, करिब एक बर्ष यता । यस्तोमा कसरी नबनोस् त ऊ मेरो आदत ? ऊ आदत पक्का थियो मेरो, तर प्रेम ? कहाँ छ र मलाई उसलाई प्रेम गर्ने अधिकार ?

उसका छातिका रौं खेलाइदिनु पर्थ्यो मैले, उसलाई मनपर्दो रहेछ । छातिमा भर्खर भर्खर पलाइला रौं चलाइदिँदै थिएँ, उसले अचानक आँखा खोल्यो र समात्यो मेरो चोरी । केही क्षण हेर्यो मुस्कुरायो अनि मुख खोल्यो ।

“तिमीलाई निक्कै अगाडिदेखि एउटा कुरा भन्न मन थियो ।”
“…..”
“म तिमीलाई प्रेम गर्छु ।”

Woman Laughing; BirkeloArt Home

Woman Laughing; BirkeloArt Home


मलाई हाँसिदिउँ झैं भयो । हाँसिदिएँ पनि । उसलाई थाहा थिएन ऊ कति औं मा पर्छ यसरी मलाई प्रेम प्रस्ताव राख्नेहरुको लाममा । सबै त्यसै भन्छन् । कोही होसमा भन्छन् कोहि मातेका बेला भन्छन् । कसैको प्रस्ताव यो कोठा भन्दा उता गएको थिएन । ऊ अरु भन्दा फरक थिएन कमसे कम यस मामिलामा । सायद ऊ गर्ला पनि मलाई प्रेम, तर म त्यो प्रेमको के गरौँ जसको कुनै दिशा नै छैन । भनिदिएँ उसलाई, “प्रेम त म पनि तिमीलाई गर्छु, तिमी जस्ता हरकोहीलाई गर्छु । प्रेम गरेकै पैसा त लिन्छु म । म सबैलाई प्रेम गर्छु । भोलि यहाँ तिम्रा दाजु आए भने वा बुबा आए भने म तिनिहरुलाई पनि प्रेम गरिदिन्छु । र विश्वास गर उनीहरुले पनि ‘म तिमीलाई प्रेम गर्छु’ भन्न जिब्रो रोक्दैनन् ।”

केही बोलेन ऊ । भिता हेरिरह्यो । भुइँ हेरिरह्यो । एकैछिनमा उसले धेरै कुराहरु हेर्यो । मलाई पनि हेर्यो । भिता, भुइँजस्तो हेरिरहेन बस् हेरिदिनका लागि हेर्यो । अन्त नजर लान बाँकी नभएकाले हेर्यो । झुक्किएर हेर्यो । मेरो सर्वाङ्ग नाङ्गो शरीर हेर्यो, घुर्यो र केही नबोली पैसा छेवैमा राखिदियो र बिलायो । मेरो वचन त्यति कटु थिएन । तर सत्यले ओतप्रोत त्यो वाणीले नराम्रै पेच परेको थियो उसलाई । बेलुकीपख उसको फोन आयो ।

“मैले गरिदिनका लागि वा भनिदिनका लागि तिमीसँग प्रेम गरेको होइन । साँच्चै प्रेम गर्छु म तिमीलाई । अरुहरुको जस्तो होइन मेरो प्रेम ।”

बस्, यत्ति भनिदियो र राखिदियो । केही बोलिनँ म । ऊ साँच्चै अन्धिएको थियो, प्रेममा ? ।कोही यसरी, यत्तिकै विना कारण नै किन प्रेम गर्छ कसैलाई ? ऊ प्रेममा परोस्, मैले यस्तो कुनै हर्कत गरेको पनि त थिइनँ । के हो आखिरमा प्रेम ? के पाउनु प्रेम हो ? यदि पाउनु प्रेम हो भने के पाउनु चाहिँ प्रेम हो ? यदि गुमाउनु प्रेम हो भने के चाहिँ गुमाउनु प्रेम हो ? के आफुले प्रेम गरेको मान्छे पाउनु, गुमाउनु त्यहि हो प्रेम ? यदि पाउनु प्रेम हो भने मैले त ऊ बाट पैसा, समय र प्रेम प्रस्ताव बाहेक केही पाएको छैन । यदि दिन प्रेम हो भने उसलाई मैले मेरो शरीर र समय बाहेक केही दिएकै छैन । यस्तो लाग्छ यहाँ सबै सम्झौता गरिरहेका छन् । जो जति यहाँ आए, ढोंग टल्किन्थ्यो तिनीहरुको निधारमा, वासना झल्किन्थ्यो तिनीहरुको आँखामा । उनीहरु वासना बोल्दथे । तर…..वासना पनि त प्रेम कै रुप हो । आकर्षण, वासना यो प्रेमकै रुप न हो ।

म एकक्षणका लागि उसको प्रेम स्विकारिदिन्छु । अनि ? अनि के हुन्छ ? के उसले लैजान सक्छ मलाई पर्खाल उता ? यहाँँ, जहाँ म स्वयं घुटघुटिएको छु, जहाँ म स्वयम दिनहुँ मरेर ब्यूँझिन्छु, यहाँकी मलाई उडाएर उताकी बनाउन, के ऊ सक्छ ? म आफूभन्दा टाठाबाठा वेश्याहरुको कुरा सम्झन्छु । उनीहरुले भनेका थिए, “हेर् केटी, प्रेम त धेरैले गर्छु भन्छन् । ती सबै डरछेरुवा हुन् बुझीस् । सबै । कसैले हामीलाई प्रेम गर्दैन । सित्तैमा भोग्ने उपाय हो यो ।”

Source-GoSavin

Source-GoSavin


म कसरी नकारिदिउँ उसलाई, उसको बोलीलाई । साँच्चै भन्नु पर्दा मलाई उसको लतझैं केही लागेको थियो । ऊ मेरो आदत भएको थियो । ऊ अरुहरु जस्तै पर्खाल नाघेर आएको थियो मेरो बाहुपासमा बेरिन । होइन, उसले मलाई नै खोज्दै आएको भने कदापि होइन । उसलाई मजस्ता जो कोही भएपनि चल्थ्यो । सायद नक्षत्रहरुको खेल थियो, त्यो रात ऊ मैसँग सुत्न आइपुग्यो । अनि म ? मेरो के छ र ? म त योनी बेच्ने व्यपारी, यौन बेच्ने व्यपारी। स्वीकारिदिएँ उसलाई पनि, अरुले जस्तै । ऊ मेरा लागि अरु जस्तै थियो । म उसका लागि को थिएँ उसले सुरुसुरमा केहि बताएन । उसको उमेरको अन्दाज लगाउँदा, २३-२४ को देखिन्थ्यो ऊ । ऊ कति लाजालु पेस आएको थियो सुरुको दिन । म उसको अगाडि उभिदिँदा, मलाई अझै याद छ, उसका गाला राता भएका थिए । सहि हो कि पेशामा नयाँनयाँ थिएँ तर यति त थाहा पाउने भएसकेको थिएँ कि कसको पहिलो पटक हो, को सिकारु हो र को पारखी । उसको त्यो पहिलो चोटि थियो । आफ्नो कौमार्य गुमाउन, सहवास गर्न ऊ एक वेश्यासँग बास माग्न आएको थियो ।

दोश्रो पटक ऊ उसैगरी ढोका खोलेर मेरो अगाडि आइपुग्यो । करिब दुई महिना पछि, सायद । मैले उसको अनुहार बिर्सिसकेँ जस्तो लाग्थ्यो । तर उसको सम्झना मेरो अर्धचेत मनमा कतै लुकेर बसेको रहेछ, उसलाई चिन्न मलाई गाह्रो परेन । जब ग्राहकहरु केही गर्दैनन् वा लजाउँछन् मैले उनिहरुलाई फकाउनु पर्ने हुन्छ, यही सिकाइएको थियो मलाई । उनीहरु किन यहाँ आएका हुन्, यो बताउनु पर्ने हुन्छ । ऊ कुनै नयाँ मान्छे भइदिएको भए म त्यसै गर्थेँ । उसका हात समाएर बिछ्यौनामा बसाउथेँ होला उसलाई । खोल्थेँ होला उसका लुगा, खोल्थेँ होला मेरा लुगा । ऊ नयाँ मान्छे थिएन । नाङ्गिएर, नङ्गाएर सबै गरेर, अब मेरा सामु लजाउनुको के नै पो अर्थ थियो र ?

तेस्रो पटक भने ऊ लजाएन बरु धेरै मात्रामा खुल्यो । उसले आफ्नो नाम बतायो । विद्यार्थी रहेछ ऊ । उसले मेरा बारेमा पनि निकै कुराहरु सोध्यो । जस्तै मेरो नाम, मेरो उमेर, मेरो घर, मेरो बुबा आमा, मैले सबै ढाँटे उसलाई । नढाटुँ पनि किन ? ऊ को हो ? कस्तो मान्छे हो । उसका बारेमा सम्पूर्ण कुरा नजानी किन भनुँ म उसलाई आफ्ना बारेमा केही पनि ? त्यहि पनि म किन भनुँ आफ्ना बारेमा उसलाई ?

उसलाई पुराना हिन्दी गित मनपर्दा रहेछन्, केही बेर तिनलाई बजायो ।

आज जाने कि जिद ना करो
यूँ हि पहलू में बैठे रहो
हाए, मर जाएगें हम तो लुट जाएगें
ऐसी बातें किया ना करो…
.

Mughal-e-Azam

Mughal-e-Azam


फरिदाको आवाजमा पुरै कोठा रोमाञ्चित भइरहेको बेला उसले “नाच्ने ?” भन्दै आफ्नो हात मतिर बढाँयो । सोचे, यसै गरी सुरु गर्न चाहन्छ ऊ, रोमान्टिक भएर । तर होइन रहेछ, ऊ झुल्यो एकैछिन । नाच्यो, मलाई नचायो । उसका हातहरुले मेरो कम्मर बेरे । कस्तो कोमल छुवाई ! यस्तो पनि छुवाई हुँदो रहेछ । म अनविज्ञ थिएँ । मैले कहिल्यै नगरेको कुरा गरिदिएँ । उसको अनुहारमा लुकेर हेरेँ । खैरा आँखा, थोरै दाह्री, केही उठेको नाक, माथिको अनुपातमा केही ठुलो मुनिको ओठ, भरिला हात, चौडा कुम…साँच्चै राम्रो रहेछ मोरो ! कसैले गुदगुदाए जस्तो, कसैले हल्लाइदिए जस्तो, कसैले खसालिदिए जस्तो…कस्तो कस्तो ।

“तिम्रो नम्बर..दिन मिल्छ ।” दिन त मिल्दैन थियो । कसैलाई दिएकी थिइनँ । उसलाई दिएँ ।

“फोन गर्दा रिसाउन त रिसाउँदिनौ नि ?” नाइँको भावमा टाउको हल्लाइदिएँ । मेरा गर्धन हल्लाइले लाज पनि सँगै हल्लिएको थियो । मन पनि सँगै हल्लिएको थियो । त्यो दिन यत्तिकै गयो ऊ, पैसा छेउको टेबुलमा राखेर । लिन त मन थिएन तर ‘लिन्न’ कसरी भनुँ ? किन भनी उसले प्रश्न गरिदियो भने, के जवाफ दिनु ?

उसले मलाई दिनमा कमसेकम एक पटक मात्र भए पनि फोन गरेकै हुन्थ्यो । सरकार बदल्ने, आफु बद्लिने त्यस्ता केहि गम्भिर बिषयमा बातचित हुँदैन थियो हाम्रो । ऊ बस् मेरो हालखबर सोध्थ्यो, खाना खाएको नखाएको सोध्थ्यो…बस् यत्ति । केही दिन पछि मैले पनि उसलाई यस्ता तमाम प्रश्नहरु गर्न थालेकी थिएँ । नजानिँदो तवरले मैले उसको फोनको प्रतिक्षा गर्न थालिसकेकी थिएँ । उसले फोन गर्दा अचानक केही भारी भए जस्तो हुन्थ्यो । त्यो दिन उसको अनुहार हेर्दा लागेको काउकुती फेरि लाग्थ्यो । निकै समयदेखि कसैले नचलाएको मुटु उसले चलाइदिएको थियो । भनेँ नि, कुनै पनि वस्तुको दिनहुँ वास्ता गर्दा, त्यसैको त लत बस्छ भने ऊ त झन् मान्छे थियो । उसले एकदिन फोन नगरिदिँदा दिनै अधुरो भए जस्तो, काँडा बिझेजस्तो, कतै दुखे जस्तो….कस्तो कस्तो । मैले भने आँट गरेर उसलाई फोन गर्न सकिनँ । के सोच्दो हो उसले ? यही सोचले नम्बरहरु कैयन पटक दबिएर पनि डायल भएनन् । उसले भनेको पनि थियो, “तपाईंकोबाट मलाई कल गर्न मिल्दैन है….”

ऊ आइरह्यो, मेरो मन बिथोलिदिनलाई । निक्कै दिनदेखि ऊ आएको थिएन, अचानक उसलाई देख्दा धड्कनको गति कति थियो म शब्दले बयान गर्न सक्दिनँ । उसले मलाई लजाउन सिकायो । हो, उसलाई देख्दा म लजाएकी थिएँ । फेरि फरिदा गुञ्जायो उसले कोठाभरी । कतिले चुमे मेरा ओठहरु, मैले कहिल्यै फर्काएकी थिइनँ । उसले खप्टाउँदा उसका ओठ मैले पनि खप्टाइदिएँ, चलाइदिएँ उसको जिब्रो, त्यो दिन । त्यही दिनबाट सबै कुराहरु बदलिए मेरा लागि ।

“मैले गरिदिनका लागि वा भनिदिनका लागि तिमीसँग प्रेम गरेको होइन । साँच्चै प्रेम गर्छु म तिमीलाई । अरुको जस्तो होइन मेरो प्रेम ।”

उसले अन्तिम पटक मलाई फोन गर्दा यही भनेको थियो । अहिले पनि ताजा छन्, आला छन् उसका यी शब्दहरु । यसपछि उसले मलाई फोन गरेन । मानौँ घुर्काइरहेको छ ऊ मलाई र घुर्किन दिइरहेकी छु म उसलाई । फोनको घण्टी बजिरहँदा, लाग्छ उसैले गरेको हो । कसैले ढकढक गरिरहँदा लाग्छ उहि हो ढोका उता । आएको छ ऊ मलाई लिन, निकाल्न यो खाडलबाट । तर ऊ हुँदैन ढोका पछाडि , फोनकलको आवाज पछाडि । ऊ कतै हुँदैन ।

केहिबेर समय निकालेर नियाल्छु आफैँलाई । कति थकित छु म । कति खोक्रो छ मेरो मन ? प्रेम पाउने लालसा कति बाक्लिएको छ यसमा । मगजमा कति धेरै व्याप्त छ ऊ । किन प्रेम गर्छ ऊ मलाई ? यदि यति नै प्रेम गर्छ त किन भनेन, ‘तिमी नगर यो पेशा । म तिमीलाई यस दलदलबाट उम्काएर लैजान्छु । छोडिदेउ ।’ के मैले उसलाई यति पनि अधिकार दिएकी छैन ? के यति पनि हक छैन उसको ममाथि ? कसरी सक्छ ऊ मलाई, जसलाई ऊ प्रेम गर्छ, उसलाई अरुकै बाहुपासमा बेरिएको हेर्न । मैले उसलाई ‘म तिमीलाई प्रेम गर्छु’ भनेको छैन, सायद यहि भएर पो हो कि ? तर के प्रेम शब्दमै मात्र सिमित छ त ? नबोलेरै पनि बुझ्ने कुरा हैन र प्रेम ?

अनन्त आकाशमा एक्लो घाम रमाएर रापिलो प्रकाश छरिरहेको छ । त्यही प्रकाश मेरा आँखामा परेकाले हेर्नलाई कष्ट भइरहेको छ । नछेकिने सुर्यको छेकी नसक्ने प्रकाशलाई म छेकिदिन्छु, हातले । केही दुर नजर दौडाउँछु, दुबोमा लम्पसार पल्टेको एक अधबैंसे युवकले आफ्ना दुबै खुट्टा खुम्चाएको छ र उसका खुट्टामा बसेकी छे एउटी छ-सात बर्षे बालिका । ऊ ढिकिच्याउँ खेलाउँदै छ त्यस बालिकालाई । उसको टाउको एक उस्तै अधबैंसे युवतीको काखलाई सिराने बनाएर बिसाइएको छ । उनीहरुबाट हटाएर अन्त नजर लान मलाई मन लाग्दैन । सुतेको त्यो पुरुष र त्यो युवती दम्पती होलान् भने त्यो बालिका उनीहरुको सन्तान हुनुपर्छ ।

अचानक म अनौठो दर्द महसुस गर्छु आफ्नो हृदयमा । बोझिलो तर तीखो काँडा बिझेको छ मेरो मुटुमा । के मैले चाहेको पनि एक परिवार र खुशी जीवन हैन र ? यति सपना देख्ने त छुट छ नि मलाई ! पूरा हुनु नहुनु अलग कुरा । पूरा……पूरा पनि किन हुन सक्दैन ? उसले प्रेम गर्छु भनेको छ । म पनि त प्रेम गर्छु उसलाई । उसैसँग किन बस्न सक्दैन मेरो घर ? आखिर एक घर बस्नलाई माया भए पुग्दैन र ? होला पैसा चाहिन्छ तर हामी कालान्तरमा पैसा कमाइहल्छौ नि ।

ऊ अझै सम्म आएको छैन । भेट्न मैले नै बोलाएकी थिएँ । उसको प्रेम को निचोड गर्ने सोचमा जो थिएँ ( माफ गर्नुस्, हाम्रो प्रेमको ) । अब उसको पर्खाइमा तड्पन मिसियो । छटपटाउन थालेँ म । आधा घण्टा भइसक्यो म आएको । ऊ किन आइपुग्दैन ? कि नआउने बिचार बनायो उसले ! नआउने भए त ‘आउदिनँ’ भन्थ्यो नि ।

उसका र मेरा फोटो हेरिरहेकी छु । घामको रापले होला गाला राता भएका छन् । लजाएको भने म होइन । त्यतिकैमा पछाडिबाट कसैले धाप दिन्छ । ऊ हुनुपर्छ लागेको थियो, अरु कोही रहेछ । मैले नदेखेको अनुहार । मैले नचिनेको अनुहार ।
“हजुर ।” मैले फर्किएर भनेँ ।
“……”
ऊ केही बोलेन । उसका पछाडि अरु दुई तीन जना मानिसहरु छन । पार्कमा घुम्न आएका हुनुपर्छ । मैले ती मध्य कसैलाई चिनेको छैन । न त चिनेकी छु मलाई बोलाउने पुरुषलाई नै । नियालेर हेर्छु उसको अनुहार, अहँ ! याद आउँदैन । कोही नबोलेकोले होला, वातवरण निक्कै अजीव हुँदै जान्छ । प्रश्नचिह्न झुण्ड्याएर आँखामा म उसलाई हेरिरहेकी छु । ऊ भने निक्कै अप्ठ्यारो मानेर मलाई हेरिरहेको छ । उसले धाप त दियो तर ऊ बोल्न चाहँदैन ।
“केही हैन ।” ऊ यति भन्छ र आफ्नो बाटो लाग्छ । उसँग भएका अरु पनि बाटो लाग्छन् । अलिपर पुगेर सबैजना मति छोडेर हाँस्छन् । गलल…..
त्यतिकैमा उनीहरु मध्यको एकले पछाडि फर्केर मलाई हेर्छ र भन्छ, “म भरे आउँछु है…..।”

यहि न हो मेरो पहिचान, देह बेच्ने एक तल्लो दर्जाको आइमाई जसको अस्तित्व पर्खाल उता छँदै छैन । के यता र के उता ? म यता पनि वेश्या हुँ र उता पनि वेश्या हुँ । के गलत भन्यो र त्यो पुरुषले ? आउँछु नै त भनेको छ । उसलाई आउने अधिकार छ । ऊ आइदिएन भने कसरी भरिन्छ मेरो पेट ? कसैले मसँग त्यो लिन चाहन्छ जुन बेच्नलाई नै म बसेकी छु भने यसमा के को आपति ? आखिर, मैले पुरै होसमा अप्नाएको पेशा हो यो । अधिकार त मलाई छैन यो सबै कुराहरु सोच्ने । र म किन सोचिरहेको छु यो सबै ?

अघिको जस्तो उत्साहा अहिले मनमा छैन । उसको प्रतिक्षामा अघि कस्तो उत्साहित थियो मन तर अहिले मेरो मनले उसलाई देख्दा सुख मनाउ समेत गरेन । बरु उल्टै हतास र निराश भइदियो यो । म बारबार उसलाई अघिका ती पुरुषसँग दाँजिरहेकी छु । उनीहरु बिचको समानता र भिन्नता टटोल्ने मेरो प्रयास यसै अधुरो रहन्छ उसको आगमनले । परैबाट ऊ आइरहेको देख्छु । जिन्स र शर्टमा कम्ता सुहाएको छैन उसलाई ।

भेट्ने बित्तिकै अँगालोमा बेर्ने गर्थ्यो ऊ, आज हात मात्रै मिलायो । केही क्षण छेउमा बसेर उसले आजका दिनसम्म के के गर्यो, कहाँ कहाँ गयो, किन आएन, मलाई कति सम्झियो, कति तड्पियो मलाई भेट्न नपाएर…यी तमाम कुराहरु बतायो । उसको परीक्षा रहेछ त्यसैले आउन नपाएको रहेछ । यो कुरा ऊ फोनैमा पनि बताउन सक्थ्यो तर उसले किन बताउने निर्णय गरेन ? ऊ घरिघरि वरिपरि हेरिरहन्छ । अनि म उसलाई हेरिरहन्छु । मेरा हातहरु नसमाई एकैछिन बस्न नसक्ने ऊ आज मभन्दा केही दूरी बनाएर बसिरहेको छ । उसको यो व्यवहार निक्कै मुस्किलले पचाउँदै छु म ।

उसले सिनेमाको दुई टिकेट खरिद गरेको रहेछ । हामी सिनेमा हेर्न गयौँ । करिब करिब खाली हलमा हामी दुई बाहेक अरु नौ-दस जना मानिस छन् । धेरै पछाडिको सिटमा उसले आफुलाई बिसाउँछ । त्यहाँ ऊ छेउको सिटमा बसिदिन्छु म पनि । अँध्यारोमा उसका हातहरु मति बिगार्छन् । ती कहिले मेरो पायन्टको खल्ति छाम्न भ्याउँछन् त कहिले मेरो छातीको नाम लिन भ्याउँछन् । उसले तमाम हर्कत गरेर भ्याउँछ । म चुप, भुत बनेर बसिदिन्छु, केही नबोली । ऊ थुतुनो जुधाउन ल्याउँछ म मुख खोलिदिन्छु । ऊ हातहरु छातिमा दौडाउँछ म आँखा चिम्लिदिन्छु । मलाई भेट्न नपाउँदाको उसको तड्पन उसका कामुक हातहरुले दर्शाउँदै जान्छन् ।

Source-Pinterest

Source-Pinterest


फर्किँदै गर्दा म उसलाई प्रश्न गर्छु, “तिमी मलाई किन प्रेम गर्छौ ।”
केही अल्मलिन्छ ऊ । उसका आँखाहरुमा हेर्छु, भागिरहेको देख्छु । कोठीमा आइपुग्दासम्म उसले मलाइ कुनै जवाफ दिएको छैन । म उसलाई फेरि प्रश्न गर्छु, उहि प्रश्न । ऊ जवाफहिन मलाई हेरिरहन्छ । निक्कै सोच्छ र एउटा फिल्मी डायलग फ्याँक्छ, “प्रेम गर्नलाई पनि कुनै कारण चाहिन्छ र ?” यति भनेर चिसो अँगालोमा ऊ मलाई बेर्छ र बिदाको अनुमति माग्छ मानौँ मैले अनुमति दिइनँ भने ऊ जाँदै जाँदैन । म दिन्नँ उसलाई अनुमति, भनिदिन्छु, “हतार छ ?”
“अँ, काम छ ।”

यति भनेर ऊ आफ्ना गोजी तर्फ हात लैजान्छ र हजारका तीन नोट झिक्छ । तिनलाई मेरो तर्फ बढाउँदै भन्छ, “आज धेरै रमाइलो भयो, धन्यवाद ।” छाँगाबाट खस्छु म । एकैपलमा म फेरि उही हुन्छु जसलाई म छोड्ने कल्पना गर्थें, एक वेश्या । उसका हातका ती पैसालाई हेर्छु, घृणा लागेर आउँछ उसको उपस्थिती देखि नै । ऊ मलाई एक वेश्याभन्दा माथि उठाएर हेर्नै सक्दैनँ, त्यही पनि मलाई प्रेम गर्छु भन्छ । कुन अधिकारले ऊ त्यसो भन्छ ? वासनाको धुँवामा अल्मलिएको उसको भावनालाई म धिक्कार्छु । उसको मुटु चुड्न मन भएर आउँछ ।

“आज त हाम्रो ‘डेट’ थियो जस्तै लागेको थ्यो । म त अरु नै कोही बनेर आएकी थिएँ । खैर तिमीसँग कुरा गर्नु छ ।”
“के कुरा ?” पैसा आफ्नो खल्तीभित्र राख्छ ऊ ।
“तिमी मलाई प्रेम गर्छौ है ?”
ऊ निक्कै नियालेर मलाई हेर्छ र मेरो कम्मरमा समाउँदै मलाई खाटमा बसाउँछ ।
“मेरो आँखामा हेर न ।”
“मलाई परिवार चाहिएको छ । दिलाउन सक्छौ ?”
“सक्छु…” आफ्ना ओठहरुलाई मेरो घाँटीमा बिसाउँदै ऊ मुग्ध हुन्छ । अब भने उसलाई कुनै हतार छैन । कतै जानू छैन उसलाई ।
“तिमी मलाई आफ्नै नजरमा त उठाउन सक्दैनौ ।”
उसलाई मेरो बोलीको कुनै मतलब छैन । उ सुनिरहेकै छैन । म उसलाई आफैबाट अलग्याउँछु । डस्ना उठाएर ऊ त्यहाँ राखेको कण्डम निकाल्छ । उसका ती कोमल गालामा तातो ताउ बिसाउने मन भए ता पनि निक्कै शान्त स्वरमा म उसलाई भन्छु ।
“मलाई आमा बन्नु छ ।”

अचानकको मैले पस्किएको अनौठो इच्छा सुनेर ऊ केही अलमलिन्छ । ‘के’ को भावमा मलाई हेर्छ ऊ र जवाफ दिन्छ, “बनौला न पछि ।”
“अहिले कोसिस गर्ने । आज नलगाउ त्यो ।”
“…..”
“मलाई कुनै रोग छैन बिस्वास गर ।”
“……”
“प्रेम गर्छौ हैन, यति गर्न सक्दैनौ ?”
“…..”
“त्यो हामी बिचको पर्खाल हो, भत्काऊ त्यसलाई ।”
“…..”
ऊ निक्कै छक्क परेर मलाई हेरिरहेको छ । के हुँदै छ उसलाई केही ज्ञान छैन । ऊ आफ्ना बिग्रिएका कपडाहरु मिलाउँदै भन्छ, “तिमी बहुलायौ ।”
मलाई किन हो हाँसो छुटेर आउँछ र म जोर जोरले हाँसिदिन्छु । ऊ फेरि उही कुरा दोहोर्‍याउँछ ।
“तिमी बहुलायौ ।”
यति भनेर ऊ ढोका तर्फ हानिन्छ । म उसलाई बोलाउँछु ।
“पैसा….।”
अघि खल्तिमा कोचेको नोटहरु ऊ मिल्काइदिन्छ र जान्छ ढोका बजाएर । ढ्याम्म…

Umrao jaan

Umrao jaan

Facebook Comments

You may also like

error: Content is protected !!