कुरूप खोलाहरू

मलाई औधी मन पर्ने
र औधी सुन्दर लाग्ने
धेरै कुराहरू मध्ये खोलाहरू पनि हुन् ।
तर आजकाल मलाई
खोलाहरू कुरूप लाग्न थालेको छ ।

मलाई औधी मन पर्ने खोलाहरू
किन यति बिघ्न कुरूप लाग्न थालेको होला ???
प्रश्नले सताइरहेको बेला
आँखै अगाडि
मेरो प्रश्नको उत्तर बनेर बग्दै थिए
कतै सुकुम्बासी बस्तीहरू
कतै कामबाट फर्किँदै गरेका मजदूरहरू ।

Flood Universal at Saatchi Art

यस्तो लाग्छ कहिलेकाहीँ

यस्तो लाग्छ कहिलेकाहीँ…
म उनको आँखा भइदिऊँ
र हेरिदिऊँ आफ्नै आँखा,
आखिर त्यस्तो के रहेछ मेरो आँखामा ?
कि उनी डुबिरहन चाहन्छिन्।

यस्तो लाग्छ कहिलेकाहीँ
म उनको हात भइदिऊँ
र स्पर्श गरिदिउँ आफ्नै हात ।
आखिर त्यस्तो के रहेछ मेरो हातमा ?
कि उनी स्पर्श गरिरहन चाहन्छिन् ।

यस्तो लाग्छ कहिलेकाहीँ
म उनको छाती भइदिऊँ
र आफ्नै तस्बिर टाँसेर आफैलाई सम्झिदिऊँ
आखिर त्यस्तो के रहेछ मलाई सम्झिनुमा ?
कि उनी हरेक रात छातीमा टाँसेर मेरो तस्बिर,
मलाई सम्झिरहन्छिन् ।

यस्तो लाग्छ कहिलेकाहीँ
म उनको ओठ भइदिऊँ
आखिर त्यस्तो के रहेछ मेरो आगमनमा ?
कि सबथोक बिर्सिएर उनको ओठ
मेरो आगमनमा मुस्कुराइदिन्छ ।

यस्तो लाग्छ कहिलेकाहीँ
म उनको आँसु भइदिऊँ
र छुटिने बेला उनको परेलीबाट खसिदिऊँ,
आखिर त्यस्तो के रहेछ हामी छुट्नुमा ?
कि उनको आँसु मसँगको हरेक बिदाईमा खसिदिन्छ ।

यस्तो लाग्छ कहिलेकाहीँ
म उनको पैताला भइदिऊँ
र हिँडिदिऊँ आफैसँग
आखिर त्यस्तो के छ मेरो साथको यात्रामा ?
कि उनको पैताला काँडा कुल्चिएर पनि
मसँगै हिँडिरहन चाहन्छ ।

यस्तो लाग्छ कहिलेकाहीँ
म उनको धैर्यता भइदिऊँ
र पर्खि बसुँ आफैलाई
आखिर मलाई पर्खिरहनुमा त्यस्तो के मज्जा रहेछ ?
कि म हिँड्ने बाटोमा
घण्टौंसम्म मलाई पर्खिरहन्छिन् ।

यस्तो लाग्छ कहिलेकाहीँ 
म उनी भइदिउँ
अनि आफैलाई प्रेम गरिदिऊँ
र थाहा पाइदिऊँ
यति बिघ्न मलाई प्रेम गर्नुको रहस्य ।

ता कि
यत्तिकै मैलेपनि प्रेम गर्न सकुँ उसलाई
जो मलाई यसरी एकोहोरो प्रेम गर्छे !

Vimal's Painting | Romanticism

यथार्थ

अदालतले नै बलत्कार गरेपछि
न्याय पनि निस्किएको छ
बलात्कृत शरीर लिएर
न्याय खोज्न

आत्महत्या गर्ने तरखरमा छ बुद्ध !

Suicide of Judas by Vadim Filimonov at Saatchi Art

Facebook Comments

You may also like

error: Content is protected !!