आमहत्या | SATURDAYकलम | Kavyalaya - काव्यालय

आमहत्या

“तपाईंलाई लाग्दैन कि यो तपाईंको असफलता हो?”
“अवश्य पनि, नाम ‘सुसाइड पार्क” नै हो र अक्सर मानिसहरू नाम पढेर यसको अर्थ निकालिदिन्छन्। तर, मलाई गर्व छ र म यो कुनै देखावटी मानवीय गुण छ भनी देखाउन मात्र भनिरहेको छैन। आइ मिन इट एण्ड आइ’म् सेयिङ विथ फूल कन्फिडेन्स एण्ड अवेरनेस देट आइ’म् प्राउड कि यहाँ आएका ९९९ जनामध्ये कुनै एकको पनि मृत्यु भएको छैन।”

उही आफ्नो सैनिकि रवाफमा उनले  यति भनिसकेपछि हातमा खेलाइरहेको गिलासको रमको एक घुट्को लिए। म उनको अनुहारको भाव पढ्ने प्रयत्न गरिरहेको थिएँ। किनभने, यतिबेला मलाई प्रश्नको खाँचो पर्न थालेको थियो। ‘यो मान्छे जे गरिरहेको छ त्यसलाई यति गर्वका साथ कसरी बयान गर्न सक्छ? मैले तेर्साएका प्रत्येक प्रश्नको जवाफ ऊ यस्तै रवाफमा सहजै प्रस्तुत गरिरहेछ’ मेरो अहं चिच्याउँछ। मैले उसको पनि सुन्नुपर्छ ,मलाई पनि त आफ्नो साख कायम गर्नुपर्ने छ। म यहाँ यी भूपू कर्नेलको आत्मविश्वास हेर्न वा वीरगाथा सुन्न कतै आएको होइन।

“मैले यति धेरै कुरा भने जस्तो त लाग्दैन..”
“होइन, मेरो बानी छ हजुरको कुरा सुनिसकेपछि मभित्र कस्तो विचार उत्पन्न भयो भन्ने पनि सँगै लेख्ने गर्छु। यु नो, फर जेनरल पर्पोज- एउटा, रिपोर्ट त हुने नै भयो। अर्को, मेरो संस्मरण जस्तो!”

उनलाई थाहा छ म को हुँ र यहाँ किन आएको हुँ तर, उनलाई थाहा छैन मलाई यहाँ कसले र कुन उद्देश्यले पठाएको हो। मलाई उनको आत्मरतिमा रमाउनु छैन। मलाई जानकारीहरू चाहिएका छन्, सटिक र सुक्ष्म! ती गोप्य जानकारी जसले यो संस्थालाई संस्था बनाइराखेको छ, भूपू कर्नेललाई आत्मविश्वास दिलाइराखेको छ! त्यस्ता जानकारी जसले बाहिर यो संस्थाको नाम र उद्देश्यलाई लिएर जस्तो टिका-टिप्पणि भै’रहन्छन् तिनलाई एउटा स्पष्टीकरण मिलोस् र यो संस्थालाई प्रतिबन्ध लगाउन सकी, यी भूपू कर्नेलमाथि सक्दो कारबाही होस्।

“आइ होप यु थिंक गुड फर मी” उनले रमको गिलास मतर्फ बढाउँदै भने। फेरि मैले केही भन्नुअघि नै थपे, “हेभ पेसेन्स, हजुरले भनेको स्कच पनि खोल्छु म…”

उनका ती अङ्ग्रेजी वाक्यांशहरूले उनलाईआफू भूपू सैनिक भएको महसुस गराइरहन्थ्यो, जुन उनले यस्ता वार्तालापहरूमा आफ्नो प्रबलता प्रकट गर्न प्रयोग गरिरहन्छन् भन्ने मैले अड्कल काटेँ।  ताज्जुब यो छ कि अझै उनले मलाई तिमी भनी सम्बोधन गरिसकेका छैनन् नत्र मैले अन्तरवार्ता लिएका सैनिक अफसरहरू त तिमीबाट नै सुरू गरेर आफ्नो रवाफ झार्छन्। अङ्ग्रेजी पनि मिसाएर बोल्छन् तर यी भूपू कर्नेलजति चाहिँ होइन।

मैले उनको कोठा नियालेँ। तक्मा र पदकबाहेक भित्ताहरूमा मृत्युको प्रशंसा गरी लेखिएका थुप्रै उद्धरणहरू थिए जुन मैले नसुनेको होइन बाहिर साहित्यमा लेखकहरू आफूलाई बिकाउन प्रयोग गरिरहन्छन् र यो संस्था जस्तो काम गर्छ यसरी मृत्युलाई अझ आत्महत्यालाई नै सर्वश्रेष्ठ भनी आफ्ना विचारहरू दर्शाउनु कुनै अचम्म मान्नु पर्ने कुरा होइन, तर उनको कुराहरूले यसलाई प्रष्टाउँदैन।

“एउटा मानवीय पक्षको दृष्टिकोणबाट हेर्दा कसैको मृत्यु नहुनु सुखद पक्ष होला तर संस्थागत रूपमा संस्थाको जुन उद्देश्य छ त्यसरी बुझ्दा त यो एक प्रकारको असफलता नै भन्ने लाग्दैन?”

“यसको उत्तर म मेरै छोटो कथाबाट दिन्छु। हेर्नु, जब जनयुद्ध सकियो त्यसपछि जस्तो घटनाक्रम देशमा विकसित भयो त्यो राज्यका निम्ति सुखद थियो। राजनीतिक परिवर्तनले जनताको चाहना पूरा भएको संकेत गर्थ्यो तर मेरा लागि जनयुद्ध पछिका दिनहरू निकै कष्टप्रद थिए। जनयुद्धकालमा आफैले गरेका, भोगेका, देखेका ती क्रुर हिंसा ती बिभत्स घटनाहरूले मेरो मस्तिष्कमा गहिरो प्रभाव पारेको रहेछ जुन युद्ध लडिरहँदा महसुस भएन। युद्ध सकिएपश्चात ती बिभत्सतामा च्यापिएका अनुहारहरूले बारम्बार सताउन थाले। सपननीमा होस् कि विपनीमा ती चित्कार सुनिन थाले। आफूले खाने खानाबाट पनि गोला बारूदको दुर्गन्ध आएजस्तो लाग्न थाल्यो मैले मानसिक सन्तुलन गुमाउँदै गएँ। आत्महत्या गर्ने मनस्थितिमा वर्षौं भौंतारिइरहेँ तर जब एकपटक प्रयास गरेँ, म मर्न सकिनँ। म भन्दिनँ, मैले कसरी मर्ने प्रयास गरेँ तर, त्यसपछि मलाई मभित्र रहेको जीवनाभूतिको ज्ञान भयो, मभित्र जिउने चाहना भएको थाहा पाएँ। मृत्यु, चाहना भन्दा बढी बाध्यता लाग्न थाल्यो। त्यसपछि, कहिल्यै मर्ने हतार गरिनँ र आजसम्म जिउँदै छु।”

उनका कुरा झन बढी अरूचिकर लाग्न थाले। मलाई खास उनको मानसिक स्वास्थप्रतिको धारणामा कुनै रूचि छैन। तर। म स्वयंसँग  त्यस्तो कुनै उपाय छैन कि म उनको कुरा रोकेर आफ्नो प्रश्न तेर्साउन सकूँ। यो औपचारिक बाध्यात्मक विवशताबीच म उनका कुराहरू सुनिरहेँ।

“जब मृत्युको बाध्यतालाई त्यागेर म जिउने प्रयास गर्न थालेँ, एउटा प्रश्नले फेरि दुःख दियो- म जस्तै आत्महत्या गर्नुपर्ने बाध्यताबाट गुज्रिरहेका अन्य मानिस कति होलान्? उनीहरूको अवस्था कस्तो होला?? आफूभित्र जीवनको चाह बुझ्दै नबुझी आत्महत्या गरिदिनु जस्तो पिडादायी कुरा के होला??? अनि मैले आफ्नो जीवनको सारा कमाइ लगाएर यो ‘सुसाइड पार्क’को स्थापना गरेँ। तपाईंको बुझाइ नै गलत रहिआएको छ। किनभने, तपाईं पनि त्यही बाहिरी मानसिकता; नाम हेरेर यसलाई बदनाम गरिदिने मानसिकता बोकेर भित्र पस्नु भएको छ यस संस्थाको स्थापनाकालीन उद्देश्य नै कहिल्यै मानिसको प्राण हर्ने भएन, यो यमराजको दुत होइन, यहाँ हामी जीवन जिउन सिकाउँछौँ यमका दुत त तपाईंको सहरको केन्द्रमा बसेर दाह्रा तिखारिरहेका छन्।”

उनले त्यति भन्दै एउटा फाइल मतर्फ अघि बढाउँछन्।

“यो यहाँ आएका ९९९ जनामध्ये दुईको फाइल रिपोर्ट हो। हेर्नुस्, केही सहयोग मिल्ला। हेर्नु कि कसरी तपाईंका लागि बनेको राज्य तपाईंकै ज्यान लिन चाहन्छ र त्यसलाई आत्महत्या भनेर तपाईंको मृत्युसमेत बदनाम गराइदिन्छ। यहाँ हामी जीवन मात्र चिनाउने काम गर्दैनौँ हामी तपाईंको मानसिकता पनि परिवर्तन गरिदिन्छौँ। तपाईं ठिक ठाउँमा आउनु भएको छ।”

बोतलको रम सकिइसकेको रहेछ उनले चुरोट सल्काउन थाले। आफ्ना सुस्ताएका आँखाले मैले पुन: कोठा अवलोकन गर्न थालेँ।

“म धेरै बोलेँ। अब तिमी जाऊ बाहिर पार्क हेर। हाम्रो आज विशेष कार्यक्रम पनि छ। त्यसपछि, फेरि बात मारौंला। तिमीले भनेजस्तो स्कच चाहिँ त्यतिबेला आउनेछ।”

यति भन्दै उनले आफ्नो डेस्कको घण्टी बजाएर एउटा कर्मचारीलाई बोलाए।

अघि भर्खरसम्म सुस्ताएको मस्तिष्कमा एउटा नयाँ उत्साह पलायो। उत्साह जगाउनुपर्ने बाध्यता पनि थियो। म यहाँबाट खाली हात फर्किने मनस्थितिमा थिइनँ। ती पो भूपू कर्नेल थिए र आफ्ना कुराहरू स्पष्टसँग प्रस्तुत गर्न सकिरहेका थिए। एउटा साधारण कर्मचारीमा कहाँ त्यो गुण? यतिका वर्षको अनुभव जुन छ कतै न कतै केही न केही त भेट्छु नै, जसले मेरो काम केही हदसम्म सफल बनाउनेछ।

तर, मेरो अपेक्षाविपरीत कोठामा एउटा बालक प्रवेश गर्यो।

बालकको पछि लागेर म बाहिर निस्किएँ। बालकका अनुसार ऊ भूपू कर्नेलको एक मात्र धरमपूत्र हो तर, भूपू कर्नेलका कति सन्तान छन् भन्ने प्रश्नमा उसले कुनै उत्तर दिएन। मैले अनुमान गरे विपरीत बाहिर निकै मानिसहरू थिए। यसको विपरीत दिशाबाट आउँदा प्रवेशद्वार र कम्पाउण्ड वरिपरि एकदम सुनसान थियो।

(के यी सबै भूपू कर्नेलले भने जस्तै आत्महत्याको बाध्यात्मक परिस्थितिबाट नै यहाँ आएका हुन् त? यदि यो संख्यामा मानिस आत्महत्या गर्न चाहन्छन् भने त सोच्नु पर्ने विषय हो।  तर, त्यसको समाधान चाहिँ यसरी सुसाइड पार्क बनाएर हुन्छ जस्तो मलाई लाग्दैन।)

“डराउनु पर्दैन, यहाँ यी सब आत्महत्या गर्न आएका होइनन्। यहाँका दुई तिहाइ आत्महत्याको प्रयास गरेर जीवित बचेकाहरू हुन्। जसलाई साहारा थिएन उसलाई बुवाहजुरले साहारा दिनु भयो, आफ्नो शरणमा लिनु भयो।”

“उमेर कति भयो तिम्रो?”

“१२”

“यहाँ कसरी आइपुग्यौ?”

“जसरी तपाईं आइपुग्नुभयो”

“तर म त…..”

मभित्र केही चिसो पस्यो बालक मतर्फ हेरेर मुस्कुरायो तर त्यो मुस्कान डरलाग्दो थियो। मुस्कानभन्दा बढी मुस्कानले गर्ने संकेत डरलाग्दो थियो सम्भवत:।

त्यहाँ भेटिने प्राय: व्यक्तिहरूले बालकका अगाडि शिर झुकाएर अभिवादन गरिरहेका थिए।

“म तपाईंलाई यहाँको नियमहरू बुझाउन प्रशासनतर्फ लैजाँदै छु”

“के यहाँ रमाइलो लाग्छ तिमिलाई?”

“तपाईंलाई कस्तो लागिरहेको छ?”

“म… मलाई… म त भर्खर मात्र त आएको”

“त्यसो भए हजुरलाई यो ठाउँ मन परेन”

“मैले त्यस्तो पनि त भनेको छैन”

“तपाईंलाई के लाग्छ, म किन यहाँ छु?”

जब जब बालक बोल्न मुख खोल्थ्यो, यस्तो प्रतीत हुन्थ्यो कि ऊ कुनै ठूलो रहस्यको उद्घाटन गर्न जाँदैछ। तर, ती रहस्य प्रश्नका रूपमा थिए मेरा प्रश्नको जवाफमा ऊ पनि प्रश्न नै गरिरह्यो।

“म बाहिर बस्छु हजुरलाई बुझ्न मन लागेका प्रश्न यी दुईमध्ये जसलाई सोध्दा पनि हुन्छ। अनि जाउँला पार्कको मुख्य आकर्षणको केन्द्रमा।”

यति भनेर ऊ मलाई कोठाका अन्य दुई व्यक्तिसँग  छोडेर बाहिर निस्कियो।

“तपाईंलाई लाग्दो हो कि मानिस हामी सम्म कसरी आइपुग्छन्?” ती दुईमा अलिक वरिष्ठ देखिनेले बोल्न सुरू गर्यो

“त्यो धेरै सोचको विषय नहुनुपर्ने तपाईं यहाँ जसरी आइपुग्नु भयो त्यसरी नै अरू पनि आइपुग्छन्”

“तर, म त आत्महत्या….”

“हामीलाई थाहा छ, तपाईं कुन उद्देश्यले आउनु भएको हो। यहाँ आइपुग्ने व्यक्तिबारे लगभग सबै आवश्यक जानकारी खोजेर हामीले पत्ता लागाइसकेका हुन्छौँ”

यो बडो द्विविधाको घडी थियो, कतै यिनीहरूले मेरो वास्तविक परिचयबारे जानकारी त पाएनन्? यसरी त म दुवैतर्फबाट समस्यामा पर्न सक्थेँ।

“तर, यति ठूलो संस्थाको आय स्रोत कसरी व्यवस्थापन गर्नुहुन्छ?”

“दाताहरूबाट। अझ प्रस्ट भन्ने हो भने, आत्महत्या गर्न आउने व्यक्तिहरूसँग केही विशेष शर्तमा निश्चित रकम जम्मा गर्न लागाइन्छ।”

“कस्तो विशेष शर्त?”

“आत्महत्या गर्न मन भएर यहाँ आएको व्यक्ति, अहिलेलाई हामी उसलाई ‘सब्जेक्ट’ भनौँ, सब्जेक्टलाई आत्महत्या गर्न मन लागेको छ भने ऊ यहाँ आएर दाखिला गर्नुपर्ने हुन्छ जसका निम्ति निश्चित रकम तिर्नु पर्ने हुन्छ। दाखिलाको तीन दिन पछिको जुनसुकै दिन आफूलाई सहज हुने गरी आत्महत्या गर्छु भनेर जानकारी गराउन पाउनेछ त्यतिञ्जेलमा उसको मन फेरियो र उसले आत्महत्या गर्ने निर्णय त्यागिदियो भने ऊ सहजै यहाँबाट जान पनि सक्छ। तर, याद रहोस् उसले रकम फिर्ता पउने छैन।”

“तर, ऊ मर्छु भनेर आएको अनि त्यही विश्वासले रकम तिर्छ तर तपाईंहरू भन्नुहुन्छ कोही पनि मरेको छैनौँ, केही चित्त नबुझ्ने कुरा हो कि यो?”

“यु मिन, हामीले रकम किन लिने इफ वि आर नट डुइङ व्हाट वि आर सपोज्ड टु डु?”

“त्यही…”

“एउटा कुरा के ख्याल राख्नु भने हामी एकदमै व्यवस्थित र इमान्दार संस्था हौँ। यदि त्यो सब्जेक्ट यहाँबाट जान चाहेमा उसलाई उसले जम्मा गरेको रकममध्ये आधि रकम काटेर दिइनेछ यदि ऊ यहीँ बसिरहन चाह्यो भने त उसले पनि तिर्नु परेन हामीले पनि दिनु परेन।”

“कोही छ निस्किएर गएको?”

“छैन…”

“यदि सब्जेक्टसँग  त्यो निश्चित रकम छैन भने?”

“यहाँ पैसा नहुनेहरू कालगतिले त मर्न पाउँदैनन्, आत्महत्या त झन….”

हामी तीनैजना हाँस्छौँ। हाँसो रोकिएपछि उनी दुई एकापसमा हेरेर मुस्कुराउँछन्।

“तपाईंले धेरै कुरा बुझ्नु भएजस्तो छ, हामीलाई थाहा छ बाहिर हामीबारे कस्तो कुरा हुने गर्छ। फेरि यो ठान्नु कि तपाईंमार्फत् हामी आफ्नो छवि सुधार्ने प्रयत्न गर्दैछौँ। हामी केवल केही भ्रमहरूलाई पन्छाउँदै सत्य बाहिर ल्याउन चाहन्छौँ। बाहिर मानिस अझै पनि मानसिक स्वास्थ्यलाई गम्भिरताका साथ लिँदैनन् र आत्महत्यालाई कुनै ठूलो दुर्घटनाका रूपमा लिने गर्छन्। जुन सत्य होइन। आत्महत्या गर्ने सोच आएका व्यक्तिलाई केही सहयोग आवश्यकता हुन्छ। जस्तो, सा..नो झिल्को! जसले उनीहरूमा जीवनको ऊर्जा फेरि सञ्चार गरिदेओस्..”

“र तपाईंहरूलाई लाग्छ कि तपाईंहरू त्यही झिल्को बाल्दै हुनुन्छ?”

“सही बुझ्नु भयो”

आफ्नो उद्देश्यमा असफल हुने मैले देखिसकेको थिएँ। यो संस्थालाई यस्तो सावधानीका साथ निर्माण गरिएको छ यसमा कतै खोट भेट्टाउन गाह्रो छ वा सायद कुनै खोट नै थिएन। तर होइन, खोट त नाममा नै छ। यदि जीवनसँग परिचय गराउने उद्देश्य भए नाम किन सुसाइड पार्क राख्नु? के आत्महत्या कसैको प्रचार व्यापार गर्ने जरिया हो?

म निस्किँदा बालक टोलाएर बसिरहेको थियो।

“तपाईं जुन बाटो आउनु भयो त्यस्को देब्रे पट्टी छ पार्कको मुख्य आकर्षण”

यति भन्दै बालकले मलाई एउटा विशाल भवनभित्र लिएर गयो।

हलको मध्यभागमा एउटा मशिन थियो जसको बीचमा एउटा कुर्सी थियो। मशिन सिसाभित्र कैद थियो।

“र यो हो सुसाइड मशिन” एउटा अधबैंसेले ठूलो उत्साहकासाथ मेरो सामु आएर भन्यो। मैले बालकतर्फ हेरेँ।

“उहाँ हाम्रो वैज्ञानिक जसले यो अद्भुत मशिनको आविष्कार गर्नुभयो”

मैले वैज्ञानिकतिर हेरेँ, उसले फेरि मशीनतर्फ हेर्यो।

“म बाहिर बस्छु, दुईजना कुरा गर्नू” यति भनेर बालक फेरि बाहिर निस्कियो।

“म तपाईंलाई बताउँछु यो मशिन कसरी काम गर्छ। कृपया, अलिक नजिक आउनुहोस्”

“यो कुर्सी! यहाँ सबजेक्ट आएर बस्छ। यो कुर्सीसँगै केही तारहरू जोडिएका छन् जसले यहाँ विद्युत प्रवाह गराउँछन्। बचेका तारहरू कम्प्युटरको विशेष सिस्टमसँग जोडिएका छन्। जसै सब्जेक्ट त्यहाँ बस्छ, हामी पावर अन गरिदिन्छौँ अनि माथिबाट एउटा हेल्मेट आई उसको शिरमा बस्छ। अनि उसको अवचेतनमा दबिएर बसेका ती सबै सबै यादहरू, सपनाहरू, कल्पनाहरू उसको मस्तिष्कमा खेल्न थाल्छन्। जस्तो कि, ती मरिसकेका डेट-इकस्पायर्ड सूचनाहरू फेरि ब्युँझिँदा, उसका लागि ती वास्तविक चित्र भएर देखिन पनि सक्छन्। हामी त्यो प्रक्रिया यी कमप्युटरमा हेर्न सक्छौँ। सबैभन्दा महत्तवपूर्ण कुरा, त्यहाँ एउटा रातो बटन छ ती प्रक्रियाहरूमाझ एउटा यस्तो परिस्थिति पैदा हुन्छ, जहाँ सब्जेक्टले त्यो बटन दबाउनु पर्ने हुन्छ। जसले त्यो प्रक्रिया त्यहीँ रोकिदिन्छ। त्यसो नगरेको खण्डमा सब्जेक्टको त्यहीँ मृत्यु हुन्छ। ईश्वरको कृपा भन्नुहोस्, यदि ईश्वरमा आस्था राख्नुहुन्छ भने त्यहाँ बसेका ९९९ जना सबैले ठिक समयमा त्यो बटन थिचेका छन्। मेरा लागि त्यहाँ कुनै विज्ञानको नियमले काम गरिरहेको छ, जसकारण मैले पछिल्ला सबै ९९९ सब्जेक्टको अध्ययन गरेको छु र आज एकदुईको अध्ययन गरे पश्चात म केही निष्कर्षमा पुग्नेछु।”

उसले यति धेरै कुरा एकैसाथ भन्यो कि मौन भएर सोच्न थालेँ।

“सब्जेक्ट मर्यो भने पनि त त्यो आत्महत्या कसरी हुन सक्छ, सब अपरेट त तपाईंहरू गर्दै हुनुन्छ मशिन तपाईंको, पावर दिने तपाईं…?”

“तपाईंले बुझ्नु भएन। द सब्जेक्ट चुजेज टु सिट अन द मशिन, उसले स्वतन्त्रतापूर्वक रोजेको हो, के तपाईंले रोज्न पाउनु भयो जन्मिने कि नजन्मिने? तर, उसले आफू मर्ने कि बाँच्ने भनेर स्वतन्त्रतापूर्वक रोज्न पाएको छ। मर्छु भनेर उसले त्यहाँ बस्न रोज्यो, तर, उसले जिउँछु भनेर बटन थिच्छ।”

“अनि त्यो हेल्मेट, त्यसले कसरी काम गर्छ?”

यत्तिकैमा भूपू कर्नेल भित्र पस्छन्।
“हाम्रो यो चमत्कारी मशिन देखेर हाम्रा पाहुना कत्तिको सन्तुष्ट हुनु भयो?”
भूपू कर्नेल त्यही सैनिकि रवाफमा वैज्ञानिकलाई प्रश्न गर्छन्। वैज्ञानिक दौडिँदै गएर भूपू कर्नेलको हात चुम्छ।

“विलम्ब नगरौँ सरकार हजुर, समयलाई आफ्नो जरा गाड्न नदिऊँ”
म केही बुझदिनँ, के कुरा हो। भूपू कर्नेल मशिनभित्र पस्छन्।

“आजको सब्जेक्ट १००० औं सब्जेक्ट हो। जसरी पहिलो सब्जेक्ट यस मशिनको सरकार हजुर आफै हुनुन्थ्यो आज १००० औं सब्जेक्ट पनि उहाँ आफै बस्न रोज्नु भएको छ। यस विशेष कार्यक्रममा तपाईंलाई स्वागत छ।”
वैज्ञानिक मञ्चमा कोही उद्घोष गरे जसरी सुनाउँछ तर, सुन्नलाई मबाहेक त्यहाँ कोही छैन।

यतिञ्जेल कर्नेल कुर्सीमा बसिसकेका थिए। वैज्ञानिकले गएर पावर अन गर्नासाथ एउटा झिल्को निस्कियो। मलाई लाग्यो यो त्यही झिल्को थियो जसको कुरा अघि प्रशासनका कर्मचारीहरू गर्दै थिए। तर, वैज्ञानिक आत्तियो हेर्दा हेर्दै मशिनको भित्री भागमा आगो बल्न थाल्यो भूपू कर्नेल कुर्सीबाट बाहिर निस्किन सक्ने अवस्था थिएन आगो फैलिएर मशिनलाई छोपेको सिसा चर्किन थाल्यो। भूपू कर्नेललाई एक्लै छाडेर वैज्ञानिक र म बाहिर दौडियौँ। क्षणभरमा नै त्यो भवन जलेर ध्वस्त भयो।

बालकलाई त्यहीँ छाडेर म विजयी भावमा आफ्नो कारमा गएर बसेँ र कार सुरू गरेँ। प्रशासनका दुई कर्मचारी हामीलाई पनि लैजानुको भावमा हेरिरहेँ।
***_/\_***

(लेखकीय नोट: यो कथा जर्मन उपन्यासकार फ्रान्ज काफ्काको कथा इन द पिनल कोलोनीबाट प्रभावित भएर लेखिएको हो। त्यसैले यो कथा लेखकमा तथा विश्व साहित्यमा आफ्नो अभिन्न छाप छोड्न सफल उनै काफ्कामा समर्पित!)

Facebook Comments

You may also like

error: Content is protected !!