एउटा सुन्दर इच्छा, मृत्युको !

सौन्दर्य; अमूर्तताको यदि तहहरू हुन्छन् भने, यसको अमूर्तता सबैभन्दा गहिरो हुँदो हो । मानिस पीडा महसुस गर्छ, प्रफुल्लता महसुस गर्छ । यी सबै महसुसहरू अमूर्त छन् । महसुस आफैमा एक अमूर्त तत्व हुँदै हो । यसो त सौन्दर्यलाई ‘दृष्टिकोण’मा आधारित तत्वपनि मानिन्छ । एक कोणबाट हेर्दा दृष्टिकोण स्वयं पनि अमूर्त मध्येमा एक हो । महसुस; यसको प्रभाव हृदयको साथसाथ शरीरमा पनि हुने गर्छ । दृष्टिकोण, मनबाट नभएर मस्तिष्कमा निर्मित हुन्छ । खैर, सौन्दर्य; महसुस र दृष्टिकोणभन्दा अझै निराकार एउटा अनुभूतिजन्य तत्व हो ।

यसका अलावा सौन्दर्यलाई ‘अभिव्यक्ति’सँग पनि जोडेर हेर्न सकिन्छ । र अभिव्यक्ति; अमूर्तलाई मूर्त बनाउने एउटा असफल यत्न ! जब अमूर्तलाई कोही मूर्त रुप दिने प्रयत्न गर्छ ऊ असफल हुन्छ र अमूर्त अन्ततः अमूर्त नै रहिदिन्छ । त्यसोभए, अभिव्यक्तिको औचित्य के त ? यो असफल प्रयत्नको प्रयोजन के ? असफल भएकै कारण, अमूर्त, अमूर्त नै रहिरहन्छ । र यो असफल यत्नको महत्ता यहाँनेर छ कि, यो विफल यत्न नै त्यो प्रक्रिया बनिदिन्छ अमूर्तलाई कोट्याउने, खन्ने, खोतल्ने ! जसकारण एउटा जिज्ञासाको भोक बाहिर निस्किन्छ । कतै हृदयको गर्तभित्र सुषुप्त चेतनामा हलचल उत्पन्न हुन्छ । संवेदनाको निमीलन आँखा उघ्रिन्छ र घटित हुन्छ ‘अनुभूति’ ! अनुभूति; जसले अभिव्यक्तिले मूर्त उतार्न चुकाइरहेको अमूर्तलाई स्पर्श गर्ने ल्याकत राख्दछ । अभिव्यक्ति र अनुभूतिबिच प्रसारित हुने त्यही अमूर्तताको पिंधमा स्थित हुन्छ सौन्दर्य । पिंधमा यस कारण कि यो कुनैपनि अमूर्तभन्दा ज्यादा अमूर्त हुन्छ ।

जस्तो ब्राह्मण, क्षेत्री, वैश्य, शुद्र; यी सबैभन्दा माथि हुन्छ मानिस । मानिस, पशु, पन्छी, वृक्ष; यी सबैभन्दा माथि प्राणी । सजिव, निर्जिव र यी दुवैभन्दा माथि सृष्टी ! सौन्दर्य; त्यस्तै एउटा गहन अमूर्त, गहन अनुभूति । यति गहन कि जहाँ पुगिरहँदा ठिक-बेठिक, शुभ-अशुभ, प्रिय-अप्रिय, दुःखद-सुखद, सकार-नकार, सफल-विफल सबै भेदहरूको विलय भइसकेको हुनेछ । जब सौन्दर्य घटित हुन्छ, दुःख, दुःख रहँदैन, त्यो सौन्दर्य बनिसक्छ । पीडा, पीडा रहँदैन, मात्र सौन्दर्य व्याप्त हुन्छ अनुभूतिमा !

भूमिका लामो बाँधिएछ । अँ त, १९औं शताब्दीमा नेदरल्यान्डसमा जन्मिएका एक चिरपरिचित चित्रकार, भिन्सेन्ट भ्यान गगको कुरा गरौँ । रंग र कुची आफ्नो अन्तिम श्वाससम्मका साथी बन्लान्; यस कुराको हेक्का उनलाई थोरै विलम्ब नै भयो । खैर, उनले आफ्नो छोटो जीवनकालमा धेरै रंग र कुचीहरू बाँचे । रंग र कुचीमै आफ्नो जीवन समर्पित गरेका उनले ३७ वर्षको सिमित आयूभित्र करिब २१०० चित्रकला सिर्जना गरे । बाँचिरहेका भए अझै कति गर्ने थिए ! मानिसको स्वभाव, जहाँ अञ्जान, त्यहाँ जिज्ञासा । तर, हाम्रो विषय प्रविष्टि अझै भएको छैन ।

भ्यान गग जो आजको समय विना नाम, केवल थरले मात्रपनि विश्व विख्यात छन्, हिजो उनले बाँचिरहेको समयमा उनलाई चिन्नेहरू औंलामा गन्न सकिन्थे । उनले आफ्नो सम्पूर्ण जीवन वियोग, पीडा, मानसिक द्वन्द्व, गरिबी र कष्टमा व्यतित गरे । आफूजस्तै चित्रकलामा आवद्ध साथीहरूसँग मिलेर कलाको पाठशाला खोल्ने सपना बोकेर हिँडेका उनी साथीहरूकै कारण आफ्नो कानसम्म काट्नुपर्ने जस्ता अमिला यथार्थहरूबाट गुज्रिन पुगे । जीवनभरि उनलाई सुख-दुःखमा साथ दिने एकै मात्र साथी थिए, उनको भाइ थियो भ्यान गग । जो उनलाई आर्थिक र चिठीहरू मार्फत भावनात्मक एवं मानसिक सहयोग गर्थे । यसका बाबजुद, जीवनको उत्तर कालखण्ड उनले बिग्रँदो मनसिक अवस्थाका कारण मानसिक केन्द्रमा बिताए ।

जीवनमा अर्थपूर्ण काम गर्ने इच्छा हुँदाहुँदै र प्रयास गर्दागर्दै पनि निरन्तर वियोग, असहयोग र असफलता भोग्नुपर्दा भ्यान गगको शारीरिक र मानसिक दुवै स्वास्थ्य भग्न हुन पुगेको थियो । आफ्नो जीवनकालभरि मात्र एउटा चित्र बेचेका उनको मृत्यु सन् १८९०, जुलाई २९ का दिन रहस्यात्मक तरिकाले हुन पुगेको थियो । उनको मृत्यु हत्या र आत्महत्याको विवादमा फसेको त छँदै छ । तर भलै उनले आत्महत्या गरेका थिएनन् भनेपनि, उनका थियोसँगका चिठी र केही पेन्टिङलाई गौण गरेर हेर्दा उनमा जीवनप्रति दिक्दारी र मृत्युप्रति मोह जाग्न थालेको थियो भने पक्कै भन्न सकिन्छ ।

जसरी कुनै महान साहित्यकारले शब्दहरूमा कुनै पात्रको पीडा नै अभिव्यक्त गर्दापनि एउटा सुन्दर कृति बन्न पुग्छ त्यस्तै जब एउटा कुशल कलाकारले क्यानभासमा मृत्यु नै अभिव्यक्त गर्छ भनेपनि त्यो सुन्दर हुन पुग्छ । विरोधाभास लाग्न सक्छ यो सुनिरहँदा तर, भ्यान गगको ‘स्टारी नाइट’मा पनि एउटा त्यस्तै सौन्दर्य भेट्न सकिन्छ । झिलमिल सिताराहरूले झलमल्ल आकाशमुनि एउटा अँध्यारो बस्ती । आकाश अलौकिक देखिन्छ, स्वर्गिग देखिन्छ, स्वप्निल देखिन्छ । र धर्ती लौकिक ! लौकिक धर्ती र अलौकिक आकाशलाई जोडिरहेको छ एउटा (धुपि जातको एक वृक्ष) ‘साइप्रेस ट्री’ले । युरोपेली संस्कृति अनुसार यस रूखलाई मृत्युको प्रतिक मानिन्छ र स्वयं भ्यान गगले सन् १९८८ मा ‘बनार्ड’लाई लेखेको चिठीमा ‘फ्युनेरल साइप्रेस’ भनी उल्लेख गरेका थिए । त्यस्तै, आफ्नो भाइ थियोसँग स्टारी नाइटकै प्रसङ्गमा भ्यान गगले लेखेका थिए, “कुनै निश्चित ठाउँ पुग्न ट्रेन समात्नु परेजस्तै ताराहरूसम्म पुग्न मृत्यु समात्नु पर्छ ।” मृत्यु समातेर पुगिने ताराहरू उनका लागि मोहक थिए । थियोसँगै उनले योपनि भनेका थिए कि “म निश्चित रुपमा केहीपनि जान्दिनँ तरपनि ताराहरूको दर्शनले मलाई सपना देख्न उक्साउँछ ।”

यसरी हेर्दा भ्यान गगले थियोसँग चिठीमा उल्लेख गरेजस्तै त्यो कालो, अँध्यारो साइप्रेस ट्रीलाई धर्तीबाट स्वर्ग पुग्ने ट्रेन अर्थात मृत्युको प्रतीकात्मक रुपमा चित्रमा उतारेका थिए भन्ने आशंका तार्किक देखिन्छ ।

आकाशमा उनले कोरेको घुमाउरो आकृति बादलजस्तो देखिँदैन । खगोलविदहरूका अनुसार त्यस्तो कुनैपनि तत्व वा पिण्ड हाम्रो मिल्की वे ग्यालेक्सीमा भेटिँदैन । भ्यान गगको प्रेम जीवन सधैँ अस्तव्यस्त नै रह्यो । थियोलाई लेखिएका चिठीका आधारमा भ्यान गग सधैँ कुनै असहाय स्त्रीप्रति आकार्षित भइहाल्थे र आफू तिनको साहरा बन्न तम्सिने गर्थे । ३ पटकको प्रेम वियोगका बाबजुद सन् १८८२ मा उनले सिएन हुर्निक नामकी एउटी अविवाहित गर्भवती स्त्रीलाई आफूसँगै राखेर साहारा दिइरहेका थिए । र भनिन्छ केही समयपछि नै परिस्थितिले विकराल रुप लिन थालेको थियो । यो त्यही समय थियो जतिबेला उनले स्टारी नाइट कोरेका थिए । यस चित्रलाई उनले सन् १८८२ को जुनमा कोरेका थिए र एक महिना नबित्दै जुलाईमा सिएन र उनीबिचको सम्बन्ध नष्ट भएको थियो । सायद त्यतिबेला उनको मन र मस्तिस्कमा चलेको आँधिहुरी नै चित्रमा त्यस काल्पनिक घुमाउरो आकृतिको रुपमा प्रतिबिम्बित भएको हुनसक्छ ।

पल गगिनलाई उनले लेखेका थिए, “मेरो असफलताको लागि सबैभन्दा प्रख्यात एउटा चित्र हुनेछ, त्यो हो स्टारी नाइट ।” यसको आशय यो बुझ्न सकिन्छ कि जीवनको असफलतादेखि निकै निराशिएका भ्यान गगले यो चित्र बैरागी मनोदशामा कोरेका हुन् ।

एकातिर पटकपटकको प्रेम वियोग र अर्कातर्फ चरम गरिबी ! जीवनमा कहिल्यैपनि उनले उज्याला दिनहरू भोग्न पाएनन् । कुनैपनि क्षेत्रमा उनको जीवनले स्थिरता पाउन सकेन । पेन्टिङ मात्र यस्तो कर्म थियो जसलाई उनले मृत्युपर्यन्त कायम राखिरहे तर त्यसबाटपनि सधैँ उनलाई निराशा मात्रै हात लागिरह्यो । उनले आफ्नो जीवनकालभरि एउटै मात्र पेन्टिङ बेचेका थिए, ‘द रेड भाइनयार्ड’ । उनको आर्थिक स्थिति यति भग्न थियो कि सम्पूर्ण खर्चका लागि उनले आफ्नो भाइ थियोसँग निर्भर रहनुपर्थ्यो । चुरोट र कफीका लागि समेत उनी आफै खर्च जुटाउन असमर्थ थिए । हृदयभरि महत्वाकांक्षी सपना समेटेर परजीवि जीवन बाँच्नुजति पीडादायी एउटा सिर्जनशील युवाका लागि अर्को के हुन सक्ला ?

The Red Vineyard by Vincent Van Gogh

The Red Vineyard by Vincent Van Gogh

उनले स्टारी नाइट कै प्रसङ्गमा थियोसँग यो पनि लेखेका छन् कि, “धेरै सहज हुने थियो यदि एउटा खाता जीवनका यी डरलाग्दा कुराहरूको लागि हुन्थ्यो भने जसले हामीलाई चकित र घाइते तुल्याउँछन् । यस्तो लाग्छ कि कतै जीवनको अर्कोपनि गोलार्ध हुन्थ्यो भने ? तर अदृश्य भएपनि यो सत्य हो, जब मान्छे एक ठाउँमा मर्छ, तब अर्को कुनै ठाउँमा ऊ पुग्छ । अब आशा यी ताराहरूसँग छ । पृथ्वीपनि त एउटा ग्रह न हो, अन्ततोगत्वा तारा नै हो पृथ्वीपनि !” थपेका छन्, “ र यो चित्र (स्टारी नाइट) कुनै रोम्यान्टिक वा धार्मिक सिद्धान्तमा आधारित छैन । छँदै छैन ।”

उल्लिखित पत्रांशको आधारमा भन्ने हो भने जीवनका भयानक परिस्थितिहरूदेखि उनी दिक्दार भइसकेका थिए तर सँगै आशावादीपनि थिए । खैर, उनको यो आशावादीता बाँचिरहेको जीवनमाथि नभएर बरु मृत्युमाथि थियो भन्ने कुरा उनका शब्दहरूलाई केलाउँदा सहजै थाहा लाग्छ । उनका अनुसार मृत्युपछि मानिस अर्कै कुनै ग्रहमा, नयाँ जीवनका लागि पुग्छ । यस अर्थमा स्टारी नाइटमा उनले आफ्नो नयाँ जीवनका लागि मृत्युको इच्छा व्यक्त गरेको कुरा पुस्टि हुन्छ ।

मृत्यु ! एउटा यस्तो अमूर्त यथार्थ जसको कल्पनामा मात्रपनि मानिस डराउँछ । भ्यान गगले त्यही डरलाग्दो मृत्युको इच्छा आफ्नो क्यानभासमा उतारेका छन् र रमाइलो कुरा त यो छ कि उनको मृत्युको इच्छा देख्दा डर होइन बरु अनुभूति हुन्छ, सौन्दर्यको । आज उनको सबैभन्दा चर्चित र सुन्दर चित्र स्टारी नाइट नै हुन पुगेको छ । र आज उनी, साहित्यमा सेक्सपियर, संगीतमा बिथोविन र मुर्तिकलामा माइकेलेन्जेलो जस्तै पोस्ट इम्प्रेसनिस्ट चित्रकारमध्ये सबैभन्दा चम्किला तारा बनेर झिलमिलाइरहेका छन् । “ताराहरू अब मेरो पुनर्जीवनको लागि अन्तिम आशा हुन् ।” यसो भनिरहँदा सायद उनी ठिक थिए । जुन अमूर्त मोहकपना उनी ताराहरूमा देख्थे त्यसको अभिव्यक्तिले आज सारा विश्व वशिभूत हुने सौन्दर्यको आभा फैलाएको छ । साँच्चै, जब सौन्दर्य घटित हुन्छ तब सारा भेद हराउँछन् र मात्र सौन्दर्य व्याप्त रहन्छ ! एउटा असिम, अनन्त र निराकार अनुभूति ! जब जब म यो चित्र हेर्ने गर्छु चकित पर्छु र मनमनै भनिसक्छु, “वाह ! मृत्युको इच्छापनि कति मनोरम ?”

The Starry Night by Vincent Van Gogh

The Starry Night by Vincent Van Gogh

 

Facebook Comments

You may also like

error: Content is protected !!