Murakami's The Mirror, transcreated by Raj Kumar | SATURDAYकलम | Kavyalaya - काव्यालय

तपाईंले आज राति भन्दै गरेका सबै कथाहरू दुई वर्गमा पर्छन् । यस्तो प्रकार हुन्छन् जहाँ एकातिर जिउँदाको दुनियाँ हुन्छ त अर्कोतिर मुर्दाको दुनियाँ र केही शक्ति, जसले गर्दा एकबाट अर्कोमा आवतजावत गर्न सकिन्छ । यसमा भूतप्रेत जस्ता कुराहरू पर्छन् । दोस्रो प्रकारमा अलौकिक क्षमताहरू, पूर्वसूचनाहरू, भविष्यवाणी गर्ने क्षमता जस्ता कुराहरू सामिल छन् । तपाईंका सबै कथाहरू यो समूहमध्येका एक हुन् ।

वास्तवमा तपाईंका अनुभवहरू पूर्ण रूपमा यी मध्ये एक वा अर्को अन्तर्गत पर्दछन् । मेरो मतलब, भूत देख्ने व्यक्तिले भूत मात्र देख्दछन् र उनीहरूसँग भवितव्याभास हुँदैन । र भवितव्याभास हुनेहरूले भूत देख्दैनन् । मलाई थाहा छैन किन, तर त्यहाँ एक वा अर्कोको लागि केही व्यक्तिगत भविष्यवाणीहरू देखा पर्दछन् । कम से कम मलाई त्यो आभास हुन्छ ।

अवश्य पनि केही मानिसहरू कुनै पनि श्रेणीमा पर्दैनन् । उदाहरणको लागि म । मेरा यी तीस-अनौठा वर्षहरूमा मैले एकपटक पनि भूतप्रेत कहिल्यै देखिनँ, न त पहिले कहिल्यै भवितव्याभास वा भविष्यवक्ताको सपना देखेँ । एक समय म लिफ्टमा केही साथीहरूसँग थिएँ र उनीहरू कसम खाँदै भन्दै थिए कि उनीहरूले भूत देखे तर मैले भने कुनै चीज देखिनँ । उनीहरूले दाबी गरे कि त्यहाँ मेरो छेउमा खैरो सूटमा एउटी महिला थिइन्, तर जहाँसम्म मलाई याद छ हामीसँग कुनै पनि महिला थिइनन् । लिफ्टमा हामी तीनजना मात्र थियौँ । ठट्टा होइन ! किनभने, ती साथीहरू मसँग कुनै पनि मजाक गर्ने खालका थिएनन् । सबै कुरा वास्तवमै अनौठो थियो, तर सत्य यो हो कि मैले अझैसम्म पनि भूत देखेको छैन ।

तर एक समय थियो – केवल त्यो समय – जब मैले अनुभव गरेँ, मेरो होस-हवास उडेको थियो । यो करिब दश वर्ष पहिलेको कुरा हो, जसबारे मैले कसैलाई कहिल्यै पनि केही भनेको छैन । मलाई यसको बारेमा कुरा गर्न पनि डर लाग्थ्यो । मलाई लाग्थ्यो, यदि मैले त्यो कुरा गर्दा फेरि त्यही कुराहरू दोहोरिन्छन्, त्यसैले मैले कहिल्यै त्यसबारे कुरा राखिनँ । तर आज, तपाईंहरू सबैले आ-आफ्नो डरलाग्दो अनुभव राख्नुभयो, आयोजकको नाताले म पनि आफ्नो कुरा नभनी बस्न सकिनँ । त्यसैले, आज मैले आफूसँग घटेको यथार्थ कहानी यहाँ भन्ने निर्णय गरेँ । कहानी यसरी सुरु हुन्छः

***

मैले १९६०को दशकको अन्तिमतिर आफ्नो हाइस्कुल भ्याएको थिएँ । त्यो समयमा विद्यार्थी आन्दोलन चरम उत्कर्षमा थियो अनि म पनि त्यही हिप्पी युगमा पर्थेँ । विश्वविद्यालयलाई हामीले बहिष्कार गरेका थियौँ । बरु म जापानभरि डुल्दै विभिन्न कामहरू गर्दै हिँड्थेँ । यही नै सबैभन्दा ठिक तरिका हो बाँच्ने भन्ने कुरामा म विश्वस्त थिएँ । सायद हजुर मलाई जवान र तेज भन्नुहुन्छ होला । पछाडि फर्केर हेर्दा, चाहे त्यो ठिक थियो या थिएन, तर फेरि त्यही गर्नु पर्यो भने मलाई थाहा छ, बिनासङ्कोच गर्नेछु ।

देशभर घुम्ने क्रमको दोस्रो वर्षको शरदमा केही महिनाको लागि एउटा स्कुलमा पालेको जागिर पाएँ । निगाताको एउटा सानो शहरको स्कुल थियो । गर्मी महिनाको कामले निकै नै थकित थिएँ म, त्यसैले केही आरामको लागि यो काम रोजेँ । वाचम्यान हुनु कुनै सगरमाथा चढ्नेजस्तो काम होइन । दिउँसोको समयमा म गार्ड-अफिसमा सुत्थेँ । रातको समयमा मेरो काम भनेको दुई पटक स्कुलको गस्ती गर्नु थियो, सबैकुरा सही छ कि छैन हेर्नलाई । बाँकीको समयमा संगीत कोठा गएर संगीत सिक्थेँ, कहिले लाइब्रेरीमा किताब पढ्दै बस्थेँ त कहिले बास्केटबल खेल्थेँ, अनि कहिले जिम गर्थेँ । म डराएथेँ र ? असम्भव ! जब कोही १८-१९ मा हुन्छ नि, उसलाई केहीले छुनै सक्दैन !

मलाई लाग्दैन कि तपाईंहरूमध्ये कोहीले वाचम्यानको काम गर्नु भएको छ, त्यसैले म गर्नुपर्ने काम सरसर्ती भन्छु । हरेक रात २ पटक गस्ती गर्नु पर्थ्यो, ९ बजे र ३ बजे । कामको तालिका यही नै थियो । स्कुलको नयाँ ३ तले कंक्रिट भवन थियो जसमा त्यस्तै, १८ देखि २० कोठाहरू थिए । खासै ठूलो स्कुल पनि थिएन यी सब कुराहरू हेर्दा । त्यसबाहेक एउटा संगीत कोठा, एउटा घरेलु अर्थशास्त्र कोठा, एउटा कला केन्द्र, एउटा विज्ञान प्रयोगशाला, एउटा कर्मचारी कार्यालय र हेडमास्टरको कार्यालय थिए । अरु एउटा छुट्टै चमेना गृह, स्विमिङ पुल, जिम र केही नाट्यशालाहरू पनि ! मेरो काम भनेको यी सबै कोठा-कार्यालयहरूलाई सरसर्ती जाँच गर्नु थियो ।

जब मेरो पालो हुन्थ्यो गस्तीको लागि, म ती सबै २० वटै चेकपोइन्टहरूमा काम गर्थेँ, एउटालाई पनि छुट्न नदिएरै । प्रत्येकको जाँचपड्तालपछि म चिनो लगाउँदै जान्थेँ । कर्मचारी विभाग, ठिक ! प्रयोगशाला, ठिक !… मलाई लाग्छ म ओछ्यानमा पल्टेर बाहिर निस्किने झन्झट नै नगरी पनि टिक लगाउन सक्थेँ । तर म त्यस्तो थिइनँ । खासै धेरै समय पनि लाग्थेन गस्ती गर्न । त्यसमाथि, यदि कोही म सुतिरहेको बेालामा भित्र पसे भने आक्रमण मैमाथि हुन्थ्यो ।

जे भएपनि म हरेक रात ९ र ३ बजे राउन्ड लगाउँथेँ, देब्रे हातमा टर्च र दाहिने हातमा केन्डो तलवार लिएर । स्कुलमा मैले केन्डो सिकेको थिएँ र मलाई पूरा विश्वास थियो कि म जो कोहीलाई हराउन सक्छु । यदि आक्रमण गर्ने व्यक्ति कुनै अपरिपक्व खेलाडी नै रहेछ र ऊसँग वास्तविक तलवार नै थियो भने पनि म डर मान्नेवाला थिइनँ । त्यो बेला म, जवान जो थिएँ । अहिले भएको भए ४ कोस पर भाग्थेँ होला ।

तर जे हुनु थियो, त्यो भएरै छाड्यो । यो कुरा अक्टोबरको सुरुवाति समयतिरको एउटा स्याँठिलो रातको हो । वास्तवमा, त्यस वर्ष हुनुपर्ने भन्दा निकै बाफिलो मौसम थियो । मलाई याद छ, साँझ परेपछि लामखुट्टेका हुल आँउथे । त्यसैले त म तिनीहरूलाई टाढै राख्न मच्छड धुप बाल्ने गर्थेँ । बतास वेगले कराउँदै थियो । स्विमिङ् पुलको गेट भाँचिएको थियो र हावाले त्यसलाई खोल्दै बन्द गर्दै गर्थ्यो । त्यसलाई बनाउने त सोचिरहेथेँ तर अँध्यारो भएकाले त्यसै रातभर बजिरहन छाडिदिएँ ।

मेरो रातको ९ बजेको राउण्ड सबै ठिक थियो । सूचीमा भएभरका २० वटै चेकपोइन्टमा ‘ठिक’ लगाएँ । सबै ढोकाहरू बन्द नै थिए, सबै कुराहरू ठिक ठाउँमै थिए । म केयरटेकर कोठामा फर्किएर ३ बजेको अलार्म राखेर निदाएँ ।

जब रातको ३ बजे अलार्म बज्यो, म एकदमै अजिब अनुभूतिकासाथ बिउँझिएँ । म, ठ्याक्कै यस्तै त भन्न सक्दिनँ तर, जे होस्, मैले एकदमै अनौठो आभास गरेँ । मलाई उठूँजस्तो नै लागेन । जिउ यसरी भारी भइरहेको थियो कि मानौँ मलाई कसैले थिचेर बिस्तराबाट उम्किन दिइरहेकै छैन । म मान्छे कुन स्वभावको थिएँ भने, म बिउँझिसकेपछि, बिस्तरामा टिकिरहन नै सक्दैन थिएँ । तर..त्यो रात…  हो,  मैले केही बुझ्नै सकिरहेको थिइनँ । त्यस रात मैले आफूलाई जबरजस्ती उठाएँ र बल गरेर गस्ती गर्न निस्किएँ । पुलनिरको गेट अझै बज्न छोडेको थिएन । तर, अघिको भन्दा यसपटक फरक तरिकाले बजिरहेको थियो । केही अजिब तरिकाले । एकमन त मलाई नजाऊँझैं पनि लाग्यो । तर फेरि ड्यूटी जो थियो, मैले जे परोस्, जानैपर्छ भन्ने सोचेँ र अघि बढेँ । जब तपाईं एकपटक आफ्नो कर्तव्यबाट भाग्नुहुन्छ नि, त्यसपछि तपाईं त्यही कुरा बारबार दोहोर्याउनुहुन्छ र दोहोर्याइरहनुहुन्छ । र म यस चक्रमा फस्न चाहन्न थिएँ । त्यसैले, मैले आफ्नो टर्च उठाएँ, केन्डो तलवार उठाएँ अनि लागेँ, ड्यूटी पूरा गर्न ।

त्यो वास्तवमै अजिब रात थियो । जति रात छिप्पिँदै थियो, त्यति प्रगाढ हुँदै जाँदै थियो र बतास उत्तिकै ओसिलो ! मेरो छालाहरू चिलाएजस्तो भइरहेको थियो, त्यसै कारण मैले केही कुरामा ध्यान लगाउन नै सकिरहेको थिइनँ । मैले शुरुमा जिम, थिएटर र पुलको गस्तीमा जाने सोचेँ । सबै ठिकै थियो । तर अचानक पुलछेउको ढोका बतासको झोक्काले यसरी बजायो मानौँ कुनै पागल मानिसले त्यसमा आफ्नो टाउको ठोकिरहेछ, बेढङ्गसँग ! मानौँ कसैले ढोकामा बजारेर टाउको ‘हो, होइन’ गर्दै हल्लाइरहेछ । शुरूको दुईपटक ‘हो, हो’ को तालमा अनि त्यसपछि ‘होइन, होइन, होइन…’  हुन त यसरी तुलना गर्नु नै अजिब सुनिन्छ, तर, मलाई त्यतिबेला ठ्याक्कै यस्तै केही महसुस भएको थियो । 

विद्यालय भवनभित्र, अवस्था सामान्य नै थियो । मैले वरिपरि हेरेँ र टिक लगाउँदै गएँ । असामान्य जस्तो केही कुरा भएकै थिएन । धन्न, अलिकति सास आयो । त्यसपछि म गार्ड-अफिसतिर लागेँ । गार्ड-अफिसको ठिक विपरित पूर्वतिर, क्याफेटेरिया थियो । यसको मतलब मैले लामो प्यासेजबाट केही समय हिँड्नुपर्ने हुन्थ्यो, जहाँ तपाईंले केही पनि देख्न सक्नुहुन्थेन । मैले मेरो टर्च बाल्नुपर्थ्यो, म कता जाँदैछु मेसो पाउनको लागि । त्यो खास रात, आँधी चलिरहेको थियो र आकाशमा जून थिएन । घरिघरि, बादल फाट्दा मधुरो प्रकाश परेजस्तो त हुन्थ्यो तर सेकेन्डभरका लागि ! अनि फेरि, उही चकमन्न अन्धकार !

अँ त, म स्कुल भवनबाट क्याफटेरियाको लामो प्यासेज हुँदै फर्किरहेको थिएँ । स्कुलको प्रवेशद्वारसम्म पुग्न अझै आधाबाटो बाँकी नै थियो । र जब म त्यहाँबाट कट्नै लागेथेँ मलाई लाग्यो, ल्या साला… !  मलाई लाग्यो त्यो अन्धकारमा मैले केही देखेँ । म असिनपसिन भएँ । तलवारको बिँडलाई मैले दह्रोसँग अँठ्याएँ र आकृति देखेतिर फर्किएँ । मैले मेरो टर्चलाई जुत्ता र्याकको बगलमा भित्तातिर सोझ्याएँ । 

अनि देखेँ, त्यहाँ म थिएँ । अर्को शब्दमा भन्नु पर्दा, त्यहाँ एउटा ऐना थियो । त्यो मेरो परावर्तन मात्र थियो । अघिल्लो रातसम्म त्यहाँ कुनै पनि ऐना थिएन । पक्कै पनि, कोहीले यो बीचमा राखिदियो होला । ल केटा ! म पर्नु छक परे । त्यो पूरै फुल-साइज्ड ऐना थियो, तलदेखि माथिसम्मै देखिने । ऐनामा बस्, आफ्नै छायाँ देखेको रहेछु भन्ने बुझेर राहत मिल्यो । आफैलाई गाली गरेँ । तैट, कस्तो उल्लु म ! त्यसपछि मैले टर्चलाई भुइँमा राखेँ, चुरोटको तलतल लागेको थियो । निकालेर सल्काएँ । जसै एक सर्को तानेँ, मैले ऐनामा आफैलाई देखेँ । मैले ऐनामा यो पनि देखेँ कि बाहिरबाट ल्याम्प-पोस्टको मधुरो प्रकाश त्यसमा पर्दोरहेछ । मेरो पछाडि पुलछेउको ढोका बतासले अझैपनि बजाउन छोडेको थिएन ।

अरु केही सर्को तानेपछि, अचानक मैले केही अजिब कुरा देखेँ । ऐनामा मेरै प्रतिबिम्ब त थियो, तर त्यो प्रतिबिम्ब म थिइनँ । बाहिरबाट देख्दा त काटीकुटी मजस्तै देखिन्थ्यो, तर यथार्थमा म थिइनँ । अहँ, अहँ ! त्यस्तो पनि होइन । त्यो म नै थिएँ, तर अर्कै ‘म’ । अर्को ‘म’ जो कहिल्यै नहुनुपर्ने थियो । मलाई थाहा छैन म कसरी भनूँ यसलाई । महसुस गरिएको कुरा ठ्याक्कै व्याख्या गर्न गाह्रो हुँदोरहेछ ।

मैले बुझेको एउटा कुरा के भन्दा, त्यो ‘अर्को म’ले मलाई घृणा गर्दोरहेछ । ऊभित्रको त्यो घृणा निख्खर का…लो समुन्द्रमा तैरिरहेको हिउँको चट्टानजस्तै थियो । यस्तो घृणा, जुन कहिल्यै कम हुन सक्दैन ।

म एकछिनसम्म लाटो जसरी त्यहीँ उभिरहेँ । मेरा औंलाका काँपबाट चुरोट भुइँमा खस्यो । ऐनाभित्र पनि चुरोट भुँइमा खस्यो । त्यहाँ उभिएर दुवैले एकअर्कालाई एकोहोरो हेरिरह्यौँ । यस्तो लाग्दैथियो कि, मेरा हातखुट्टा बाँधिएका छन् । म हलचल गर्न नसक्ने भएको छु ।

अन्ततः उसको हात चल्यो । दाहिने हातका औंलाहरूले उसले आफ्नो चिउँडो छोयो, र बिस्तारै किराहरू सलबलाएजसरी अनुहारभरि छुँदै गयो । एक्कासि मलाई याद भयो कि म पनि त्यही गर्दै थिएँ । यस्तो लाग्दैथियो कि, म चाहिँ त्यो ऐनाभित्रको प्रतिबिम्ब हुँ र ऊ मलाई काबु गर्न खोज्दैछ ।

मैले मेरो हातमा भएको केन्डो तलवार उठाएँ र सकेको बल लगाएर त्यो ऐनामा हानेँ । सिसा फुटेर भुँइमा खस्दै गरेको आवाज सुनेँ मात्रै तर पछाडि फर्केर एक हेरिनँ, सिधै हान्निएँ कोठातिर ! कोठाभित्र पस्ने बित्तिकै ढोका थुनेर कम्बलमुनि घुस्रिएँ । मैले त्यहाँ भुँइमै झारेको चुरोट सम्झेँ, तर अब कुनै हालतमा त्यहाँ फर्केर जानेवाला थिइनँ । हुरी वेगसँग चली नै रह्यो । पुलछेउको गेट बिहानसम्म उस्तै तालमा बजी नै रह्यो । हो, हो… होइन…. हो…. होइन, होइन, होइन…….

म विश्वस्त छु कि तपाईंहरूले मेरो कथाको अन्त्य अनुमान गरिसक्नुभएको छ । त्यहाँ कुनै पनि ऐना नै थिएन ।

जब घाम लाग्यो, तबसम्म हुरी पनि रोक्किसकेको थियो । बतास मरेर घमाइलो दिन शुरु भइसकेको थियो । म प्रवेशद्वारतिर लाग्छु । मैले फ्याकेको चुरोटको ठुटो भने त्यहीँ छ, अनि काठे तलवार पनि ! तर, ऐना छैन । त्यहाँ कहिल्यै कुनै ऐनै थिएन ।

मैले जे देखेँ, त्यो भूत छँदै थिएन । फगत म थिएँ । त्यो रात म कति त्रसित थिएँ भनेर कहिल्यै भुल्न सक्दिनँ । जब म त्यो कुरा सम्झन्छु, मनमा एउटा ख्याल आउँछ, यो दुनियाँमा सबैभन्दा डरलाग्दो कुरा आफू हो ।  तपाईंलाई के लाग्छ ?

सायद, तपाईंले ख्याल गर्नुभयो होला कि मेरो घरमा पनि कुनै ऐना छैन । विश्वास गर्नुस्, बिनाऐना दाह्री काट्न सिक्नु, कुनै चानचुने कुरा होइन !

Facebook Comments

You may also like

error: Content is protected !!