द लस्ट सोल

तपाईं टाईम ट्राभलमा विश्वास गर्नुहुन्छ? मचाहिँ थोरबहुत विश्वास गर्छु, आफ्नै दैनिक जीवनमा भइरहने घटनाहरुमा यसको प्रभाव छ जस्तो अनुभूति हुन्छ । विज्ञानले प्रतिपादन गरेको टाइम ट्राभलको मिथक जे भएपनि थट्स् ट्राभलमा चाहिँ म व्यक्तिगत हिसाबले पुरै विश्वास गर्छु। हाम्रा विचार अवचेतन रुपमै ट्राभल गरिरहन्छन् र त्यसको भिजुअल् इफेक्ट्स् हामी सपनाको रुपमा देख्छौँ। तर, यो नितान्त मेरो विचार हो।

खैर, छाड्दिऊँ यो टाईम ट्राभल र थट ट्राभलको कुरा! न म यसबारे कुरा गरेर विद्वान्को लाइनमा उभिन आएकी हुँ, न त मलाई कुनै सिद्धान्तको एक्सपेरिमेन्ट गर्नु छ! म त मेरो सपना पो त सुनाउन आएकी! यौटा अवचेतन थट् ट्राभलिङको कथा! कोरोनाको कहर संसारभरी फैलिएको बेला लकडाउनमा बसिरहँदा हाम्रो दैनिकी कस्तो भएको छ; यो त सबैले अनुभूत गरेकै कुरा हो। शहरमा लकडाउन घोषणा भएपछि मैले काम गर्ने बैंक पनि छुट्टी भयो तर, घर जानलाई यातायात खुल्ला भए पो जानु र? त्यसैले, म मेरो भाडाको कोडामै क्वारेन्टाईन्ड भएर बसेकी छु। थोरै सन्त्रास, थोरै भय र उदेकले एकदिनमै शहर उच्चाटलाग्दो बनिगएको छ।

 "Time travel," by Jelena Janic.

“Time travel,” by Jelena Janic.


सपना! खै, मेरै विचारहरु अवचेतनामै त्यसरी ट्राभल गरेर त होला, त्यस्तो सपना देखेको। सपना पूरा नभई नै ब्युँझें म । तर, त्यो सपनाले मलाई जिन्दगीको त्यो मोडमा लगिदियो जुन मैले करिबकरिब बिर्सिसकेकी थिएँ। सपनामा मैले त्यहि हराएको मेरो आत्मालाई देखेकी थिएँ। तर, सपना सुनाउनु अघि मैले तपाईंलाई पुरानो किस्सा सुनाउनुपर्ने हुन्छ, नत्र सपना सुनाउनु बेकार मात्र हुन्छ।

करिब १४/१५ वर्षअघि म मेरो फुपूको घरमा बसेर कलेज पढ्दै थिएँ। दिक्तेल बजारमा फुपूले घरमै होटल र लज खोल्नुभएको थियो। होटल भएकैले मानिसहरूको आउजाउ त भई नै रहन्थ्यो। त्यो साल मंसिरमा मुसलधारे असिना परेको थियो र त्यसले धानबाली पुरै सखापै पारेको थियो। चामलको भाउ बढेकोले होटल व्यवसायीहरुमा एक किसिमको तनाव बढेकै थियो।

बहुमुखी क्याम्पसमा ब्याच्लर्स दोस्रो वर्ष पढ्दै थिएँ। छुट्टी भएपछि फुपूलाई खानाहरु सर्भ गर्न सघाउथेँ, आफूलाई मिठो पकाउन नआउने भएकोले कुकिङमा त कहिल्यै बस्दिन थिएँ। अझै पनि आफ्नै लागि मात्र पकाउन सक्छु। मैलेभन्दा हट्के र स्पाइसी त मेरो दीपले पकाउँछ। दीप – मेरो श्रीमान् (प्रेमविवाह भएको, म उसलाई नामले नै ‘तिमी’ भनेरै सम्बोधन गर्छु।) अँ त, म त पुरानो कहानी पो सुनाउँदै थिएँ त है? वैशाखमा म बीस वर्ष पुगेँ। त्यतिखेर आजकलजस्तो धुमधामसँग जन्मदिन मनाउने चलन थिएन, हुन त मलाई अहिले पनि जन्मदिन मनाउने चलन मन पर्दैन। तर, मलाई जन्मदिनमा कसैले शुभकामना दियो भने खुब खुशी लाग्छ (विशेषगरी: कापीमा लेखेर दिईएको)। आफूलाई मनपर्ने भएर होला, सुनेसम्म चिन्ने/नचिन्ने सबैलाई शुभकामना दिइहाल्छु।

हेर्नुस् न! के सुनाउन भनेको, के मा अल्झिरा’छु। अब चाहिँ यताउता नअल्झिई कहानी सुनाउँछु ह‌ै! मेरो २० औं जन्मदिनलाई निरन्तरता दिनु अघि यौटा किस्सा पनि छुटाउनु हुँदैन।

किस्सा:

वैशाखको सुरुवाती दिनतिरै एक झोंका हावासँगै बजारमा यौटा हल्ला फैलिएको थियो; मुढेको जंगलमा यौटा राक्षसी अनुहारको नयाँ मान्छे आएको छ, त्यो देवीथान छेउको ओढारमा बस्छ। मध्यरातमा नाङ्गै भएर अलि पर खोल्साको धारामा नुहाउँछ, जूनलाई हेरेर के-के कुरा गरिबस्छ, रातभर सुत्दैन। त्यसको आँखा आगोको लप्कोजस्तो बल्छ। त्यो पागल हो। केटाकेटीहरुको लागि त हाउगुजी नै बनेको थियो।

 Jager in het woud | Beeldende kunst, Schilderij

Jager in het woud | Beeldende kunst, Schilderij


‘केटाकेटीको रगत त्यसले चुस्छ’ भनेकोले कोही पनि केटाकेटी साँझ परेपछि शौच जान पनि डराउँथे। सबैले यस्तो अरे! उस्तो अरे! भन्थे तर, मैले देखेँ भनेर कसैले भन्दैनथे। त्यसैले पनि होला; मलाई त्यो राक्षसी पागलको अस्तित्वमा विश्वास हुँदैनथ्यो! कसैकसैले त्यो पागल त प्रजापतिको जेठो छोरो हो, बाउको सम्पति धेरै भएर बिग्रेको पढ्न जान्छु भनेर हिँडेको, गुण्डागर्दी गरेर जेल परेको, यसकै कारण प्रजापतिले घर बेचेर बजार छाडेको पनि भन्थे। ख‌ै! म के जानूँ? न त मतलब थियो मलाई, त्यो पागलको कुनै किस्सासँग। तर, किस्साको कारण मैले मुढे चौरतिर साँझपख डुल्न जाने स्वतन्त्रता गुमाएँ। एकछिन चौरमा टहलिएर शेर्पाका भेडाका बथानहरु हेर्दै म बजारको हल्लाबाट मुक्ति लिएर आनन्द बटुल्थेँ।

१०/१२ दिनसम्म बाहिरफेर डुल्न नपाउँदा म बिरामीजस्तै भइसकेकी थिएँ। खान पनि मन लाग्दैन’थ्यो, बोल्न पनि मन लाग्दैन’थ्यो, गाउँको बडाको छोराले दुबईबाट आउँदा वाकमेन ल्याइदिनुभा’को थियो। यौटा रिलमा १० वटा फेवरेट लिस्ट भरेकी थिएँ, सुनिरहन्थेँ, त्यो पनि मन मर्दै गयो। त्यो शान्त चौर, चौरभरी चरिरहने ज्ञानी भेडाहरु र बुर्लुक्क-बुर्लुक्क उफ्रिरहने चकचके पाठापाठीहरु खुब सम्झिरहेँ। फुपूलाई म घुम्न साथीसँग जान्छु भनेर निस्कन्थेँ तर, असलमा म एक्लै जान्थेँ। साँझमा भेडाहरु खोर लागेपछि म पनि ओह्रालो लाग्थेँ, बजार पुग्दा झमक्कै भइसक्थ्यो। एक्लै हिँड्न डर त लागि नै हाल्थ्यो, किनकी दिन-दहाडै त्यो जंगलमा गुन्डाहरुको बिगबिगीको चर्चा हुन्थ्यो बजारभरि!

२० औं जन्मदिनको दिन मैले आफूलाई रोक्नै सकिनँ। फुपू-फुपालाई यता जान्छु, उता जान्छु पनि नभनी चुपचाप उकालो लागेँ। शरीर नै कमजोर भएछ कि, धेरै दिनपछि हिँडेर हो, मलाई त्यो उकालो काट्न धेरै समय लाग्यो। अन्तिमपटक जाँदाभन्दा बाटोवरिपरीका घाँसहरु, रुखहरु धेरै नै हरिया भइसकेका थिए। तर, चौरमा भेडाहरु भने थिएनन्। चौरको उपल्लो छेउतिर जाँदै थिएँ, जाँदा-जाँदै कताकता मैले नारायण गोपालको गीत सुनेँ, त्यो पनि मेरो फेवरेट लिस्टमा छैँठौँ नम्बरमा भएको गीत। कसैले शब्दमै डुबेर गाइरहेको थियो । र म त्यसैलाई पछ्याउँदै चौरको दक्षिणी भागतर्फ मोडिएँ।

मेरो फेवरेट लिस्ट पनि बताइदिऊँ!

१. फूलको आँखामा..
२. म आँखैमा राखिन योग्य कहाँ छु..
३. म पत्थरको देवता होइन..
४. गाजलु ती ठुलाठुला आँखा..
५. भूल हो तेरो जिन्दगीदेखि भागी हिँड्नु..
६. तिमीले पनि मजस्तै माया दिएर हेर..
७. कुन मन्दिरमा जान्छौ यात्री..
८. केही मिठो बात गर…
९. तिम्रो जस्तो मुटु मेरो पनि…
१०.हजार सपनाहरको माया लागेर आउँछ..

Timle pani ma jastai, Narayan Gopal Sings Bhim Virag

Timle pani ma jastai, Narayan Gopal Sings Bhim Virag


ऊ यस्तो डुबेर गाइरहेको थियो, म नहेरेरै पनि भन्न सक्थेँ कि त्यतिबेला उसले आँखा चिम्लेको थियो। जसै म उसको छेउमा पुगेँ, म तर्सिएँ। ऊ त्यहि अनौठो मान्छे थियो, डरै लाग्दो। म डराएँ। डराएको बेला मान्छेले कसैको मन या नियत पढिरहने भूल गरिरहँदैन रहेछ। म उसको अनुहार हेरेरै डराएँ। सायद अचेतना मै म भाग्न थालेँ, उसले मलाई ‘एई स्यानी केटी! किन त्यसरी भागेकी?’ भनेर काव्यात्मक शैलीमा बोलायो। म भाग्दाभाग्दै पनि रोकिन बाध्य भएँ।

उसलाई हेरेँ, सुरुमा देखेकोभन्दा डबल डरलाग्दो देखेँ। ठिङ्ग उभिएको ऊ; गेरुवा वस्त्रमा बेरिएको उसको शरीर त्यस्तै ६ फिटभन्दा अग्लो थियो होला । घुँघुरिएको निधारसम्म झरेको कपाल, कालो जुँगा अनि गहुँगोरो अनुहारमा सेतो छ्याकटे दाग! यस्तै डरलाग्दो सम्मिश्रण थियो, उफ् ! अहिलेपनि आँखैमा आउँछ त्यो छ्याकटे म्यान! म बढेको ढुकढुकीसँगै फेरि आफ्नै दिशातिर अघि बढेँ। छ्याकटे म्यानले मलाई उहि प्रश्न दोहोर्यायो। म रोकिन बाध्य भएँ, ऊ म भएतिरै लामा पाइलाहरु लमक-लमक सारिरहेको थियो। मेरो धड्कनको धार तेज हुँदै जाँदै थियो।

Source-GameSkinny-Layers of Fear

Source-GameSkinny-Layers of Fear


छ्याकटे म्यानले मलाई मेरो नाम र त्यो ठाउँको बारेमा २/४ कुराहरु सोध्यो, उत्तर पाएन। त्यसपछि ऊ आँखाका कोषबाट रसाउन थाल्यो, “यो लुक्सको कारण मसँग नडराउने मान्छे कहीँ रहेनछन्।” सायद उसले मेरो अनुहारमा डर देख्यो होला। डरलाग्दो किस्साहरु बोकेको त्यो छ्याकटे म्यान त्यसबेला भने त्यो श्मशानजस्तो एकान्तमा समेत मायालाग्दो देखिएको थियो। खैर, म एकै लफ्ज बोल्न नसकी फर्किएँ । तर, कसैसँग यो बारे कुरा भने गरिनँ। यस्तैमा एकदिन अचानक, शायद ५ दिनपछितिर जस्तो लाग्छ, मलाई उसलाई फेरि भेट्न मन भयो । र म फेरि उसको जंगलतिर निस्किएँ।

चौरमा ऊ आउँदैन’थ्यो। उसलाई खोज्दै म किस्सामा सुनेअनुसारको दिशा पहिल्याएर जंगलभित्र छिरेँ। ऊ आँखा चिम्लेर गुफाको मुखैमा योगासनमा थियो, मेरो उपस्थितिबोधले होला, आँखा खोल्यो तर बोलेन। मैले उसलाई ‘चौरमा किन ननिस्केको?’ भनेर सोधेँ। नबोल्ने पालो उसको थियो क्यार, बोलेन। म फर्किएँ। तर, छ्याकटे म्यान भोलिपल्ट चौर देखियो। उसले आफ्नो बारेमा धेरथोर कुराहरु सुनायो। अनुहार डरलाग्दो भएपनि कुराहरु साह्रै मिठो गर्ने रहेछ। त्यसपछि हाम्रो भेट सधैँ-सधैँ हुन थाल्यो, सँगसँगै दोस्ती पनि जम्न थाल्यो।

उसका कुराहरु सुनेर मलाई त्यो त मेरो नेक्स्ट भर्सनजस्तो लाग्थ्यो। लाग्थ्यो; भगवानलाई पनि ‘स्कार्सिटी अफ् रिसोर्सेस’ को थ्योरी लागू हुँदोरहेछ । त्यसैले त ‘अप्टिमम् युटिलाइजेसन अफ् रिसोर्स’ गर्नलाई भगवानले यौटा सोल बनाएर उब्रेको मटेरियलले नै अर्को सोल पनि बनाउँछन् होला। उसको र मेरो सोल निश्चय नै यौटै मटेरियलबाट बनेको हुनुपर्छ। सोल, अनि मटेरिल ? कस्तो अमिल्दो सुनिएको है ? खैर, मलाई भने यस्तै लाग्थ्यो। आ….. जेसुकै होस् है! थोडी म भगवानमा विश्वास गर्छु र?

ऊ मभन्दा धेरै ठुलोजस्तो भएपनि ऊसँगको दोस्ती मलाई सबैभन्दा प्रिय थियो। ऊ सानोसानो कुरामा मजाक गर्नेदेखि लिएर बहोत गम्भीर कुराहरु पनि गर्न सक्थ्यो। हामी जीवन-मरणसम्मका कुराहरु गर्थ्यौँ। उसैसँग भेटेपछि मैले जिन्दगीका नयाँ आयामहरु बुझ्न थालेकी थिएँ। बिस्तारै मलाई ऊसँग प्रेम हुन थालेको थियो। ऊसँगको मेरो प्रेम फरक स्तरको थियो। म उसलाई अलौकिक प्रेम गर्थेँ, यौटा गैरयौनिक प्रेम। भन्छन् नि; लभ् वियोन्ड सेक्स!

ऊ, अर्थात् छ्याकटे म्यानसँग मेरो दोस्ती भइसकेपछि पनि न उसका अनौठा किस्साहरु बजारमा आउन छाडे, न मैले नै संगत छाडिदिएँ। मैले उसलाई ती किस्साहरुको बारेमा कहिल्यै सोधिनँ, न त उसले नै केही भन्यो। एकदिन बजारमा यस्तो अनौठो किस्सा आयो कि; ऊ एउटा कठोर तपस्या गर्दै छ। उसलाई कसैले किचकन्नीसँग ब्ल्याक नाईटमा सम्भोग गरिरहेको भेटे। ऊ त यहाँ तपस्या पूरा गर्न आएको हो।

Fine Art America

Fine Art America


त्यसपछि ५ दिनसम्म ऊ न चौरमा भेटियो, न मैले उसलाई उसको गुफा छेउछाउ भेटेँ। छैटौं दिनमा मैले उसको गुफाबाहिर एउटा चिठी भेटेँ।

चिठी:

प्रिय स्यानी केटी!

तँसँगको दोस्ती मलाई एकदम प्रिय छ। तैँले मलाई जिन्दगीका नयाँ आयामहरु देखाइस्। मैले आफ्नो ४१ औं वर्षसम्म बुझेको जिन्दगीलाई तैँले अर्कै आयामबाट बुझाइस्। म तँलाई कहिल्यै बिर्सन सक्दिनँ। तँसँग त मलाई प्रेम भएछ, तँपनि मसँग प्रेम गर्छेस् क्यार! हैन? तर हेर्, तैँले संसार धेरै देखेकी छैनस्, जिन्दगी धेरै जिएकी छैनस्। जब तँ संसारलाई अझै राम्ररी विचरण गर्छेस् नि, तँ मलाई मन पराउँदिनस्। जा, संसारलाई तेरो आयामबाट बुझ्। शुभकामना। असीम प्रेमसहित मेरो तरफबाट तँलाई मेरो गुरुको माला छोडिदिएको छु।

-तेरो स्ट्रेन्ज म्यान

चिठीसँगै ओशोको फोटो इङ्कित चन्दनको माला (सधैँ उसैले लगाइरहन्थ्यो) थियो। त्यसपछि यसै छ्याकटे म्यान मेरो चौरदेखि, उसको गुफादेखि र बजारको किस्साहरुदेखि हरायो। मैले पनि उसलाई खोज्ने भुल गरिनँ।

त्यसपछि मेरो जिवनमा केके भए.. सबै भनूँ भने अर्कै कहानी बन्छ। जे होस्, मैले उसलाई भुलिदिएँ। तर, भुलेँ, या भुल्छु भनेर कहाँ भुलिन्छ र कसैलाई। मान्छेहरु पहिलो प्रेम भुल्न सकिन्न भन्छन् नि! प्रेम कुनै पनि भुल्न सकिन्न, किनकी हरेक प्रेम पहिलो नै हुन्छ। फरक मान्छे मात्र होइन, यौटै मान्छेसँग पनि फरकफरक आयामबाट गरिएको प्रेम पहिलो नै हुन्छ।

हो, उहि मैले बिर्सिसकेको छ्याकटे म्यान, हिजो राति सपनामा देखिन आएको थियो। ऊ मलाई आफ्नो बारेमा, किचकन्नीसँगको सम्भोगका बारेमा र त्यो अनुहारको छ्याकटे दागको बारेमा बताउँछु भन्दै थियो। तर एक्कासि मेरो झ्यालको छेवैमा घरबेटीका बिरालाहरु झगडा गरे, ङ्वाँर्र, ङ्वाँर्र गरे। तपाईंलाई थाहै होला, सम्झनुस् त एकपटक मध्यरातमा बिरालाहरुको त्यो आर्तनाद ! म बिरालाहरुको त्यही डरलाग्दो आवाजले ब्युझेँ। त्यो मेरो हराएको छ्याकटे म्यानलाई सपनामा जस्तै ‘किन लुसुक्क हराइस्?’ भनेर विपनामा सोध्न मन लागिरहेको छ। कसैले यो हुलियाको मान्छे देखे मलाई खबर गरिदिनुहोला। चिहानमा पुग्नुअघि एकपल्ट म त्यसलाई भेट्न चाहन्छु।

Howling Cat at night

Howling Cat at night

Facebook Comments

You may also like

error: Content is protected !!