अन्तिम भोज

अन्धकार, निर्जन, डरलाग्दो एकलासे जंगलबाट पार गर्दागर्दै अकस्मात् म यस्तो ठाउँमा पुगेँ, जहाँ उज्यालो नै उज्यालो थियो ।

म आनन्दले एकदम प्रफुल्लित भएँ । अघि भर्खरका दुःख कष्टहरु सबलाई बिर्सेर म दुगुर्दै हुत्तिँदै त्यस ठाउँमा पुगेँ, जहाँ मनुष्यको न्यानो माया मलाई पर्खिरहेको थियो । मैले मनुष्यको अनुहार नदेखेको धेरै दिन भइसकेको थियो । त्यसैले म व्यग्र थिएँ ।

त्यो ठाउँ अत्यन्त रमणीय थियो । एउटा ठूलो भोज त्यहाँ भइरहेको रहेछ, जताततै रङ्गीचङ्गी, नीला, राता, पहेँला, हरिया, सेता बत्तीहरु बलिरहेका रहेछन् ।

ठूलो चौरका चारैतिर कलापूर्ण बगैंचा उज्यालोमा जग्मगाइरहेको छ, विभिन्न प्रकारका रङ्गीविरङ्गी फूलहरु सुगन्ध छरेर बिउँझिरहेका छन्, र त्यसभन्दा पनि बढी विभिन्न रङका पोषाकहरुमा लोग्नेमानिस र स्वास्नीमानिसहरुका ठूला जमात नै त्यस ठाउँमा जम्मा भएर यताउति गरिरहेका छन् । ती सुगन्धित फूलहरुभन्दा पनि ती अति आकर्षक थिए । मलाई यस्तो लाग्थ्यो- स्वर्गको एक टुक्रा त्यस ठाउँमा खसेको हो । म विमोहित भएर नजिकै गएँ ।

हरियो कोमल दुबो भरिएको फाँटमा श्रेणीबद्ध रुपले टेबल कुर्सीहरु लगाइएका छन् र हरेक टेबलका मध्य भागमा फूलदानमा फूलहरु मुस्काइरहेका छन् । प्रत्येक टेबलमा एक दुई सेता पोषाक लगाएका केटाहरु खानेकुराहरु किस्तीमा बोकेर उभिएका छन्, कोही यताउति किस्ती बोकेर घुमिरहेका छन् । मलाई अत्यन्त भोक लागेको थियो ।

त्यसैले भोज भन्ने थाहा पाउँदापाउँदै लाजै पचाएर म त्यसभित्र पसेँ । नजिकै पुगेपछि मैले चाल पाएँ, ती व्यक्तिहरुका लवाइ, बोलाइ र रुपरङ एकै प्रकारका रहेनछन् । कोही अमेरिकाली जस्तो लाग्यो, कोही रुसी जस्तो, कोही जर्मनेली, कोही चिनियाँ, कोही भारतीय जस्तो, कोही अफ्रिकाली, कोही इजिप्टवासी, इरानी, कोही बेलाइती जस्तो ।

सारा संसारभरिका जातिहरु सङ्ग्रहालयमा सिँगारिएर थपक्क राखे झैं ती मानिसहरु थिए । मैले उनीहरुलाई सर्सर्ती हेरेँ, र खुशीले आफू दंग हुँदै उनीहरुका माझमा पुगेँ । विश्वका सम्पूर्ण राष्ट्रका मानिसहरु जमघट भएको ठाउँमा पुग्नु मात्र म जस्ताका लागि ठूलो गर्व थियो । त्यसैले निम्तो आफूसँग नभएकामा मैले संकोच पनि मानिनँ र म त्यसै पसिदिएँ ।

तैपनि पाहुनाहरुका हुलमा मिसिन मलाई अप्ठ्यारो लाग्दै थियो । एउटी अत्यन्त राम्री आइमाईले मलाई हात समाएर अरुसँग तान्दै अङ्ग्रेजी भाषामा भनी, ‘लौ, एक नव आगन्तुक आइपुग्यो, नयाँ देशबाट’ र मलाई सोधी, ‘कुन देशका हौ ?’

मैले भनेँ, ‘नेपाल !’

त्यसले मलाई टेबल-टेबलमा लगेर विभिन्न भाषाहरुमा बोल्दै चिनाई । मैले सबैसँग हात मिलाएर अभिवादन गरेँ । त्यहाँ नभन्दै संसारभरिका विशिष्ट र प्रसिद्ध मानिसहरु जम्मा भएका रहेछन्, ठूला ठूला नेता, राष्ट्रपति, प्रधानमन्त्री, कवि, लेखक, गायक, नर्तकी, कुलपति, वैज्ञानिक, प्राध्यापक, उद्योगपति, प्रबन्धक आदि आदि ।

उनीहरुका माझमा मलाई आफू अत्यन्त होचो र सानो जस्तो अनुभव भयो, तैपनि ठाडो भएर उभिइरहेँ । त्यसले मलाई जता जता तान्दै लगी, त्यतै त्यतै म लाग्दै रहेँ ।

आखिर तीन-चार जना मात्र भएको टेबलमा उभ्याएर त्यसले मलाई भनी, ‘यही टेबलमा बसेर आजको अन्तिम भोज मनाऔं, हुन्न ?’

आज यो विश्वमा नै अन्तिम भोज हो । यस्तो भोज यो पृथ्वीमा कहिल्यै हुन पाउनेछैन । यो रातपछि पृथ्वीमा कहिल्यै रात पर्दैंन

‘लौ लेऊ यो ब्रान्डीको गिलास ।’ गिलास हातमा लिँदै आफ्नो आत्मीय झैं सम्झेर मैले ऊसँग लाज नमानी सोधेँ, ‘आज साँच्ची यो केको भोज ? भन्नोस् ।’

आश्चर्य मान्दै त्यसले मतिर विस्फारित लोचनले हेरेर अरुसँग हाँस्तै भनी, ‘हेर, यो कस्तो अनौठो मानिस, आज केको भनेर पो सोध्छ !’

मतिर हेरेर नपत्याए झैं गरी फेरि त्यसले सोधी, ‘साँच्ची, आज केको भोज तिमीलाई थाहा छैन ?’

मैले लजाएर उत्तर दिएँ, ‘म त घुम्दै आएको, यहाँ आइपुगेँ, मलाई अत्यन्त भोक लागेकाले यहाँ पसेको, मसँग निम्तो पनि छैन । के गरुँ, म जाऊँ कि ?’

म लाजले मरेतुल्य भएको थिएँ । म चोर पक्रा परिहालेँ ।

त्यसले हतारिएर झटपट भनी, ‘होइन, होइन बस । तिमीलाई थाहा रहेनछ त के भयो ? बरु सुन, म तिमीलाई बताउँछु- आज यो विश्वमा नै अन्तिम भोज हो । यस्तो भोज यो पृथ्वीमा कहिल्यै हुन पाउनेछैन । यो रातपछि पृथ्वीमा कहिल्यै रात पर्दैंन । थाहा पायौ ?’

मैले थाहा पाए झैं टाउको हल्लाएँ । मेरो मगजमा निम्तो कार्ड मात्र घुमिरहेको थियो । निम्तो कार्ड भएको भए मलाई यसरी लज्जित हुनुपर्ने नै थिएन ।

तर ऊ उल्लसित हुँदै भन्दै गई, ‘यो पृथ्वीमा कहिल्यै रात पर्दैन; यही अन्तिम रात हो । यहाँ संसारका सम्पूर्ण राष्ट्रका उच्च पदाधिकारीदेखि लिएर महान् व्यक्तिहरु सबै जना जम्मा भएका छन् एउटा उद्देश्यले, एउटा अभिलाषाले ।

सम्पूर्ण आणविक अस्त्रहरु तथा ठूला ठूला अणुबमहरु एकैचोटि एकै समयमा विस्फोट गरिनेछन् र पृथ्वीलाई टुक्रा टुक्रा पारेर ब्रह्माण्डमा हुर्‍याएर मिलाइनेछ, पृथ्वीको अन्त्य गरिनेछ

यस्तो एक मत अहिलेसम्म विश्वका राष्ट्रहरुमा कहिल्यै देखिएको थिएन । यो एउटा अनुपम घटना हो । यो अनुपम घटना यस पृथ्वीमा फेरि कहिल्यै दोहोरिने पनि छैन ।

सुन, झिसमिसे बिहान हुन नपाउँदै यहाँका ठूला ठूला राष्ट्रका राष्ट्रपति, प्रधानमन्त्रीहरुले आफ्ना देशमा कस्ता परमादेश पठाउनेछन् भने उनीहरुका देशमा रहेका सम्पूर्ण आणविक अस्त्रहरु तथा ठूला ठूला अणुबमहरु एकैचोटि एकै समयमा विस्फोट गरिनेछन् र पृथ्वीलाई टुक्रा टुक्रा पारेर ब्रह्माण्डमा हुर्‍याएर मिलाइनेछ, पृथ्वीको अन्त्य गरिनेछ ।

मनुष्यको पृथ्वीमाथि ठूलो विजय हुनेछ । त्यसैले आजको एकमात्र अन्तिम रातमा यसरी यो प्रीति भोज मनाइँदै छ । आज तिमी हामी पनि मनुष्यको यस महान् विजयमा विजयोत्सम मनाऔं !’

त्यसले रक्सीको गिलास गर्वपूर्वक ओठसम्म उठाई, अरुहरुले पनि गम्भीरतापूर्वक त्यसै गरे ।

तर मैले गिलास उठाउन सकिनँ । कसरी म पृथ्वीको अन्त्यमा विजयोत्सव मनाउन सक्छु ? आखिर गिलास त्यसै मिल्काएर म त्यहाँबाट भाग्न थालेँ । भोलि बिहान सूर्योदय नहुँदै पृथ्वीको सर्वनास हुनेछ- म यसै कुराले लखेटिँदै भोकै भाग्दै छु, दुगुर्दै छु । मेरो प्यारो पृथ्वी, मेरो प्यारो धर्ती भोलि रहन्न ! उफ् ! भोलि रहन्न ! मेरो माटो सुँघेर म भाग्दै छु ।

The Supper from PinImage

The Supper from PinImage

Facebook Comments

You may also like

error: Content is protected !!