The Knife

आमाले भन्नुभएको थियो- तिम्रो बाबा एक धनी सेफर्ड थिए। उनिसँग हजारौँ भेडाहरू थिए। उनी हाम्रो मासु पसलमा मासु पुर्याउन आउँथे। उनी औधि हेन्सम थिए। म उनको जवान र रवाफको फिदा थिएँ। एकदिन मैले उनलाई प्रेम प्रस्ताव राखे। अर्कोदिन उनले उनका धेरै भेडाहरू बेचे र सुनको बिँड भएका दुइवटा गोल्डेन नाइफ बनाए। यौटा मलाइ प्रेमको उपहार भन्दै दिए र यौटा उनले राखे।

र आमाले अर्कोकुरा पनि भन्नुभएको थियो -घोस्ट हिलमा जुँगे भुत बस्छ। खासमा त्यो जुँगे तिम्रो बाबाको भेडिगोठालो हो। एकदिन त्यसले तिम्रो बाबाको गोल्डेन नाइफ चोर्न तिम्रो बाबाको हत्या गर्यो।
….

भर्खर साँझ पर्दै थियो। हामीले खाना खाइसकेका थियौं। बेलुका छिटो सुतेर बिहान छिटो उठ्नु हाम्रो घरको बिशेसतानै हो। निदाउनुभन्दा अघि आमाले मलाई लोरि सुनाउनुहुन्थ्यो। ‘आज घोस्ट हिलको कथा फेरि दोहोर्याउनु है’ भनेर मैले खाना खानु अघिनै अनुरोध गरेको थिएँ। आमाले स्वीकारोक्ति जनाउनभएको थियो।

हामी बेडरूमको पलङमाथी बसेका मात्र थियौं। हाम्रो घरको मूल ढोकामा कसैले जोडले ढकढक गर्यो। आमाले मलाई बेडमुनी लुक्न लगाएर ढोका खोल्न जानुभयो। तर, आमा ढोकामा पुग्नुभन्दा अघिनै उसले हाम्रो पुरानो घरको कफल्लो ढोका फोरेर भित्र पसिसकेको थियो।

मैले बेडमुनिबाट हेरिरहेको थिएँ। उसका जुँगा र दाह्री काला र लामालामा थिए। कपाल पनि लट्टा परेको र कुमकुमसम्म फैलिएको थियो। उसले लगभग भुईँमा घिस्रिने गरिको लामो कोट लगाएको थियो। उसलाई देखेर आमा चिच्याउन थाल्नुभयो।

“ए पापी किन आइस यहाँ?”

“हे हे!” दाह्री मुसार्दै ऊ थोरै मुस्कुरायो।

“तलाई यहाँ आउने कुनै अधिकार छैन ।” आमाले फेरि भन्नुभयो।

“हा हा हा हा !” यसपल्ट ऊ दिल खोलेर लामै हाँसो हाँस्यो।

मलाई खुब तिर्खा लाग्यो। चिसो मौसम भएकाले खाटमुनी मलाई जाडो पनि भयो। मलाई आमाको काखमा बसेर बुबु खान मन लाग्यो।

म खाटमुनिबाट बाहिर निस्किएँ र आमाको खुट्टामा च्याप्प पकडेँ। आमाले एकनजर मतिर हेर्नुभयो र थ्याच्च भुईँमा बस्नुभयो।

उसले च्याप्प मेरो दायाँ हात समात्यो। चिसा उसका हातहरूले छुँदा मेरो सरिर जिरिङ्ग भयो। उसले मलाई आमाबाट खोस्यो। मलाई खुव डर लाग्यो।

“छोड्दे मेरो छोरालाई” आमा चिच्याउन थाल्नुभयो।

“यो तेरो छोरो हैन। तेरो पतिले यसलाई जुवामा हारिसकेको छ। यो मेरो हो अब।” ऊ निस्फिक्री बोल्यो।

मैले उनिहरूको संवाद बुझिन। तर मलाई आमाको रूवाई देख्दा ठूलै आपत आइलागेको भन्ने कुराचाहिँ बुझिसकेको थिएँ। मलाइ थाहा छ; आमाहरू खुव डराउँछन्। अनुहारमा भय बोक्छन् तर ब्यवहारमा एकदम आस्वस्त रहन्छन्। यतिखेरभने आमा आत्तिनुभएको थियो। आमा आत्तिनु भनेको भय सिर्जना हुनु हो।

“यो मेरो श्रीमानको आखिरी निशानी हो। र मेरो एकमात्र बाँच्ने आधार पनि। मेरो श्रीमान त खाइस, खाइस अब यसलाई चाहिँ केहि नगर। म बाँच्न सक्दिन।” आमाले रूदै अनुरोध गर्नुभयो।

उसले आमाको अनुहारमा अर्कै तरिकाले हेर्यो। उसले मलाई हाम्रो डाइनिङ टेबलमाथी राख्यो। र आमाको हात पकड्यो। अनुहार हेर्यो र मायालाग्दो पाराले सुम्सुम्यो। मेरो डर अलिक कम भयो।

“तँ यो बिना बाँच्न सक्दिनस त?” उसले आमालाई सोध्यो।

“अहँ सक्दिन।” आमाले रूदै भन्नुभयो।

“यो त मेरो भैसक्यो। यसो गर न तँ अब अर्को छोरो जन्मान है।” उसले मुसुक्क मुस्कुराएर भन्यो।

“के सोचेको छस्? मारिदिन्छु तँलाई।” आमाले उसका हातबाट आफूलाई हटाएर टेबलमाथी सजाएर राखेको बाबाको प्रेमको उपहार, गोल्डेन बिँड भएको नाइफ उजाउनुभयो।

ऊ डराएन -हाँस्यो मात्र। मलाई भने बेसमारी डर लाग्यो। डरलेनै मैले मेरो कट्टुमा अलिकति सुसु गरेँ।

“कहाँ घोपेर मार्छेस? यहाँ” उसले आफ्नो सरिरको लुगा सुर्किएर नाङ्गो पेट देखायो।

आमाले यतिञ्जेल सम्ममा उसको घाँटिमा नाइफ पुर्याउन भ्याउनु भैसकेको थियो। उसले यो कुरा पत्तो पायो र आफूलाई तत्कालै सम्हाल्यो।

अब ऊ राक्षसले जस्तो हाँस्न थाल्यो- हाहाहा! हिहाहाहा! हाहाहा! हिहाहाहा!..

मलाई झन डर लाग्यो। मैले फेरि पनि कट्टुमा सुसु गरेँ।

उसले मेरी आमाका हात साँङ्लीले बाँध्यो। आमाका सरिरबाट एक एक गरेर सबै लुगा उतार्यो र आमालाई बलात्कार गर्यो। सिंहका सामु मृगको चितकार म खरायो बनेर हेरिरहें।

हैन हैन हेर्न नसकेर आँखा चिम्मा गरेँ।

निकै बेरपछि ऊ फेरि मेरो छेउमा आयो, मेरो हात च्याप्प पकड्यो र भन्यो “हिँड”। जाँदाजाँदै आमातिर फर्कियो र थप्यो ” फ्रि मा बिउ छाडेको छु। अर्को जन्माउनु। मेरै भएपनि म त्यो तलाईंनै छाडिदिन्छु।”

उसले मलाइ घोडामा बसायो, ऊ पनि घोडा चढ्यो र घोस्ट हिलतर्फ लिएर गयो।

रात परिसकेकाले आकाशमा बढेमानको चन्द्रमा झुल्किसकेको छ। सरद ऋतु लागेकाले चिसो एकदमै छ। चन्द्रमाको टकमा घोस्ट हिल पूराका पूरा गोल्डेन देखिन्छ। रूखहरूका हरिया पातहरू गोल्डेन भैसकेका छन्। रूखबाट झरेका गोल्डेन पातहरूले ढाकेकाले जमिनपनि गोल्डेन देखिन्छ।

मैले मुन्टो पछाडितिर फर्काएर मलाई लगिराखेको अनुहारतिर हेरेँ। ऊ अरू कोहि नभएर आमाले भनेको घोस्ट हिलको जुँगे भुत थियो। ऊ डरलाग्दो थियो। डरलाग्दो यसमानेमा पनि थियो -भर्खरै उसले मेरी आमालाई बलात्कार गरेको थियो। भर्खरै उसले हाम्रो घरको मूलढोका फोरेको थियो। अनि पहिल्यै हाम्रो बाबाको हत्या पनि गरेको थियो।

हामी घोस्ट हिलको मध्यभागमा पुग्यौँ। त्यहाँ यौटा सुन्दर गोल्डेन हाउस थियो। आगनभरी रूखका गोल्डेन पातहरू झरेका थिए। घरको छानामा पनि गोल्डेन लिफहरू निदाइराखेका थिए। जूनको टहकले निक्कै लोभलाग्दो देखिएको थियो गोल्डेन फ्राम हाउस। मेरो मनको घोस्ट हिल यतिञ्जेल सम्ममा गोल्डेन हिलमा परिवर्तन भैसकेको थियो। मलाइ घोस्ट हिल प्रतिको डर हराएर आनन्द लाग्न थालिसकेको थियो।

म घोडाबाट ओर्लिएपछि, बाहिरको चिसो हावा स्वाट्ट तानेर पेट भित्रको डरसरिको तातो हावा फु… गरेर फालिदिएँ।

उसले मलाई सरासर यौटा हलभित्र लिएर गयो। हलमा पनि जूनको टहक परेको थियो। हल भरि भेडैभेडा थिए। उसलाई देखेर भेडाहरू ‘भ्या… भ्याहाहा..’ गरेर कराउन थाले। भेडाहरूको एक छेउमा यौटा स्यानो कुकुर पनि रहेछ। बढेमानको साँङ्लोले बाँधिएको थियो त्यसलाई। सायद कुकुर भन्दा पनि ठूलो थियो साङ्लो। कुकुरले त्यो जुँगेलाई देखेर कुईं, कुईं… गरेर कराउन लाग्यो।

म अचम्म मानेर एकसुरले हेरिरहेको थिएँ । जुँगे सरासर हलको कुनामा गयो र केहि ठाउँ सम्यायो। बोरामा रहेको भेडाको ऊन पोख्यो। मलाई त्यहि ऊनमाथी लग्यो र मेरो खुट्टामा साङ्लाले बाँधेर यहिँ सुत भन्यो। त्यसपछि ऊ हलबाट निस्कियो।

रातभर कुकुरले एकटहकले मलाई हेरिमात्र रह्यो। मैलेपनि कुकुरलाई मात्र हेरिरहेँ। म डरले रून र बोल्नपनि सकिन। राति अबेर यौटा भेडा मेरो छेउमा आयो। त्यसपछि एक एक गर्दै सबै भेडाहरू मेरो छेउमा आए। मलाई तातो भयो। तर म निदाइन। बिहानसम्ममै कुकुर र मेरा आँखा जुधिरहे।

भोलीपल्ट बिहानै जुँगे आयो र यौटा भेडा लिएर गयो। केहि घन्टापछि उसले हातमा केहि हड्डिहरू बोकेर आयो। उसले हड्डिहरू कुकुरलाई दियो। मलाई भने एकचोक्टा काँचो मासु र मासुसँगै पिउन भनेर एक बोटुको तातो रगत दियो। त्यसपछि सबै भेडाहरू लिएर गयो।

दिनभर पनि कुकुर र मेरा आँखा जुधिरहे।

जुँगे बेलुका सबै भेडाहरू लिएर फेरि आयो। सबै भेडाहरूलाई थुन्यो र मेरो छेउ आयो। मलाइ मर्नेगरि सुसु लागेको थियो। मैले सुसु लागेको छ भने। उसले हलकै एक कुनो देखायो। मलाई बाँधेको साङ्लो लामो भएकाले म त्यो कुनामा सहजै पुग्न सकेँ। उसले खानकालागी मलाइ केहि फलफूल दिएर गयो।

भोलीपल्ट फेरि हिजोजस्तै जुँगे हलमा आयो। उसैगरि एक भेडा लिएर गयो। एकाध घन्टापछि उहि मासु र हड्डी ल्याएर दियो। अनि भेडाहरू लिएर गयो।

हप्ता हुदै महिना बित्यो तर मलाइ जुँगेले बाँधिरह्यो। र मलाइ जसरिनै स्यानो कुकुरलाई पनि। कुकुर दिनरात मतिर हेरिरहन्थ्यो। जुँगे आउँदा भने कुईं कुईं गर्थ्यो।

समय बित्दै जादाँ मेरो यौटा भेडाको पाठासँग परिचय भयो। खासमा त्यो पाठो भेडाको मात्र नभएर भेडा र बाँदरको क्रस थियो। त्यो पाठाको जात थिएन। त्यो न बाँदर थियो न भेडा नै। मलाई त्यो पाठो हेर्दा मेरी आमाको झल्को आउँथ्यो। सोच्थेँ मेरी आमाले त्यो पाठोजस्तै बिना जातको मेरो भाइ जन्माईन् कि जन्माइनन् होला?

पाठोसँग म उफ्री खेल्थेँ। पाठो मेरो ढाडमा उक्ली खेल्थ्यो। उ भ्या पनि गर्थेन, म्या पनि गर्थेन र च्याँ पनि गर्थेन। उ बाँदरजस्तै बाठो थियो, भेडाजस्तो लाटो होइन। पाठोले पनि जुँगेलाई देखि सहँदैन थियो। कुकुर म र त्यो(बेजातको भेडो) मिल्ने साथी भयौं। हाम्रो भाषा मिल्थेन तर भोकको भाषा मिल्थ्यो। जुँगेले मासु दिएकोबेला हामी तिनैजना मिलेर खान्थ्यौँ। हाम्रो हिँड्ने तरिका मिल्थेन तर खेल्ने खेल मिल्थ्यो। कुकुरले हलको खम्बामा खुट्टो उचालेर सुसु गर्दा म र पाठो दुबैले सँगै खुट्टो उचालेर सुसु गर्थ्यौँ।

रातभर भेडाहरूको भ्या भ्या, कुकुरको कुईं कुईं, र जुँगेको ला खा.. भन्दा अरूआवाजहरू मैले महिनौ सुन्न पाइन। लाग्थ्यो घोस्ट हिलमा मान्छेको बोली सबैभन्दा महँगो छ। हिरा, मोती भन्दापनि महँगो।

मैले मेरि आमालाई खुब सम्झिँए। आमाका लोरिहरू सम्झिँए। दिएको खानेकुरा पनि सम्झिँए। कति पटक त त्यो हलबाट भाग्न पनि खोजेँ तर खुट्टामा साङ्ग्लाले बाँधेकाले म भाग्न भने सकिन।

जून नलाकेको रातमा भने कुकुरका निला आँखामात्र टिलिलिलि बलिरहन्थे। मलाइ भने कुकुरका आँखा देखेर डर लाग्थ्यो। पाठो सधैँ मेरो काखमा निदाउने भएकाले मेरो डरपनि शान्त हुन्थ्यो।

अलि पछि जुँगेले भेडाहरूसँगै मलाइ र कुकुरलाई पनि उसँगै लिएर जान थाल्यो। ऊ दिनभर भेडाहरूलाई घोस्ट हिलको फरक फरक भागमा चराउँथ्यो। लामो ऊन भएका भेडाहरूको ऊन काट्थ्यो। बोरामा हाल्थ्यो। बनमा भेटिएका फलफूल टिप्थ्यो। भोकलागे तिनै फलफूल खान्थ्यो। मलाइ पनि दिन्थ्यो। कुकुरका लागी भने उसले झोलामा हड्डि बोकेको हुन्थ्यो। पाठोभने जुँगे भएको बेला हाम्रो छेउमा आउँदैन थियो।

बिस्तारी म बढ्दै गएँ। आमाको याद त आउँथ्यो तर के गर्नु बिकल्प थिएन। फेरि बिकल्प नै भएपनि म मेरो घरसम्म पुग्ने बाटो देख्दिन थिएँ। घरपनि चिन्दिन थिएँ। जुँगेले भनेको थियो “यहाँबाट भागिस भने मारिदिन्छु तलाई।”

समय बित्दै गयो। एक बिहान जुँगेले भेडा लाने बेलामा मलाइ पनि भेडासँगै लिएर गयो। अलिपर अर्को हल पनि रहेछ। जहाँ उसले बधशाला बनाएको रहेछ। उसले मलाइ भेडा मार्न आउँछ भनेर सोध्यो? मैले जान्दिन भने। हाम्रो सामुन्नेमा यौटा टेबल थियो। टेबलमाथी यौटा ठ्याक्कै हाम्रो घरको टेबलमाथीको नाइफजस्तो गोल्डेन बिँड भएको नाइफ थियो। जुँगेले त्यहि नाइफ हातमा लियो र भेडाको घाँटि सेर्यो। मलाइ जिरिङ्ग भयो। भेडा भ्या भ्या गर्दै छटपटायो। भुँडे भने कति पनि भयभित नभई भेडाको घाँटिबाट भुलभुल बगेको रगत बोटुकामा थाप्न थाल्यो। उसले एक बोटुका तातो रगत तनतन पियो र लामो ढ्याउ गर्यो। अर्को एक बोटुको मलाइ दियो। यतिञ्जेल सम्ममा मलाई रगत पिउने बानि भैसकेको थियो। मैले पनि पिएँ। त्यसपछि जुँगेले मरेको भेडालाई तातो पानीमा चोबल्यो र भेडाका रौँहरू खुइल्यायो। हड्डिबाट राम्रो मासु छुट्याएर बोरामा बाँध्यो। मलाई मासु मिसिएको करङ्गको हड्डी दिएर खा भन्यो। ऊ भने मासु पुर्याउँछु भन्दै घोडा चडेर गयो।

घन्टा नबित्दै ऊ फर्केर आयो। हामी भेडा चराउन जंगलतिर गयौँ।

भोलीपल्ट देखि मेरो लागी भेडा मार्ने नयाँ जिम्मेवारी दिइयो।

बिहानै उठेर जुँगे हलमा आउँथ्यो। यौटा बुढो भेडा छान्थ्यो र मलाई भन्थ्यो “यो बुढो भयो। यसलाई मारिदे।” उसले मेरोलागी नयाँ गोल्डेन नाइफ पनि बनाइदिएको थियो।

म हरेकदिन कतिपनि हात नकमाई गोल्डेन बिँड भएको नाइफले भेडाको घाँटि सेर्थेँ। तातो रगत थाप्थेँ र जुँगेलाई दिन्थेँ। ऊ पिएर खुशी हुन्थ्यो। बाँकि म पनि पिउथेँ।

बच्चै देखि कुकुर र म एक आपसमा मिल्ने साथी थियौँ नै, यतिञ्जेल सम्ममा कुकुर बढेर बढेमानको भैसकेको थियो। त्यो हेर्दै डरलाग्दो थियो। हामी सँगै सुत्थ्यौँ। जुँगेले हामीलाई बाँधेको फलामको साङ्ली पनि खोलिदिइसकेको थियो। हामी धेरैजसो जुँगे सँगै हुने भएकाले पाठोसँग भने हाम्रो धेरै भेट हुन्थेन। खान भने काँचो मासु र तातो रगतमात्र पाउँथें मैले। कुकुरले भने हड्डि चुसिरहन्थ्यो दिनभर। पाठाले घाँस खान सिकिसकेको थियो। लुकेर कहिलेकहिँ मासुपनि खान्थ्यो।

म जंगलमा रत्तिएँ। मैले गाउँ बिर्सिएँ। बढेर लक्का जवान पनि भैसकेको थिएँ। र निक्कै क्रुर पनि । जुँगेको सबै बिशेसताहरू म मा सरिसकेका थिए। मैले मान्छेहरू जति देख्नु नाबालक हुदै देखेँ। मान्छेको अवतारमा जंगलमा थियो त केवल जुँगे मात्र। ऊ प्राय बोल्दैन। बोलिहालेपनि उसको यौटै बोली हुन्छ “यो बुढो भयो यसलाई मारिदे।”

कुकुरले जुँगेको भन्दा धेरै मेरो माया गर्थ्यो। मसँग डराउदैन पनि थियो। हुनसक्छ उसको र मेरो हुर्काइको प्रकृति यौटै थियो। अथवा हुनसक्छ ऊ मलाइपनि उजस्तै पशु सोच्छ। खैर जेसुकै होस हामी बिच कुनै भेद थिएन। कुनै दुरी थिएन। पाठो पनि लुकिकुली हामीसँगै आउँथ्यो।

जुँगेको कोठामा छिरेर कहिलेकहीँ कुकुर पाउरोटी चोरेर ल्याउँथ्यो। हामी तिनै प्राणीहरू खोसाखोस गर्दै खान्थ्यौँ।

जुँगेका भेडाको बथान दिनप्रतिदिन बढ्दै थियो। दिनमा कयौँ भेडाहरू जन्मिन्थे। तर मार्नचाहिँ ऊ यौटैमात्र भेडा मार्थ्यो। मासुको सप्लाई त्यतिराम्रो थिएन उसको।

मैले भेडा मार्न सिकेपछि जुँगेको गोल्डेन नाइफले बिश्राम पायो। उसका हातहरूले पनि छुट्टि पाए। मेरो नाइफ भने दिनका दिन धारिलो हुँदै गयो। मेरा हातहरू झन सुरा हुँदै गए।

जिन्दगीमा मैले थोरै शब्दहरूको अर्थ बुझ्न सिकेँ। सबैभन्दा पहिले कुकुरको भाषा म राम्ररी बुझ्छु। दोस्रोमा भेडाको। कुकुरको क्वी र भेडाको भ्या भित्रपनि शयौं अर्थहरू हुन्छन्। म प्रत्येक अर्थहरू जान्दछु। बुझ्छु। मैले मान्छेको बोलीमा भने यौटा सब्दको मात्र अर्थ बुझ्छु। “यो बुढो भयो। यसलाई मारिदे” बास्तवमै यो शब्द एकदमै कठोर शब्द छ। मैले यो शब्दको मुख्य अर्थ बुढो भएपछि मार्नुपर्छ भन्ने बुझेको छु।

समयले दिन र रातहरूको साटासाट गर्दागर्दै एक बिहान मेरो प्रिय भेडो साथीले पनि मर्ने दिन आयो। जुँगेले बढ सानसँग मेरो साथीलाई मेरो सामुन्ने ल्याएर भन्यो “यसको सरिरमा ऊन पलाएन। केहि दिन नसक्नेले बाँच्नुको अर्थ छैन। यसले दिनसक्ने भनेको मासुमात्र हो। मरिदे यसलाई।”

आफ्नै काखमा खेलेर हुर्किएको आफ्नै साथिको घाँटि सेर्न मैले सकिन। हातहरू लगलग कामे। मेरो शिर घुम्यो र भुइमा लडें। म होसमा आउदा मेरो सामुन्ने एक बोटुको रगत, केहि मासुसँगका हड्डि र कुकुर थिए।

त्यस दिनदेखि मैले मासु खान र रगत पिउन छाडें। कुकुरले पनि हड्डि चुस्न छाड्यो। हामीले अरू भेडाले जस्तै घाँस खान सिक्यौं। मलाई जुँगेसँग खुव रिस उठ्यो। कयौंदिन म उसको छेउमा परिन। तर भेडाहरू भने दिनदिनै मारिरहें।

एक बिहान जुँगे मेरो छेवैमा आयो। मलाई हलबाहिर लग्यो। सरद ऋतु सुरू भैसकेकाले घोस्ट हिल गोल्डेन हिलमा परिणत भैसकेको थियो। बिहानैको झुल्के घामले गोल्डेन हिललाई झन गोल्डेन बनाएको थियो।

केहिबेर जुँगे र म चुपचाप हिंडिरह्यौं। निकैबेर हिंडेपछि अलिपर उसको गोल्डेन बगैँचा रहेछ। बगैँचाभरि फलहरू फलिरहेका थिए। उसले गोल्डेन ओरेन्जहरू टिप्यो र हुडन टेबलमाथी राख्यो। हुडन टेबलमाथी अल्रेडि बढेमानको केक पनि राखिएको रहेछ। केकसँगै केहि क्यान्डलहरू र हाम्रै घरको जस्तो यौटा गोल्डेन नाइफ पनि थियो।

जुँगेले मलाइ सामुन्नेको गोल्डेन हुडन कुर्सिमा बस्न लगायो। ऊ टेबलको गोल्डेन नाइफ उठाएर केक काट्न खोज्दै भन्न थाल्यो “आजभन्दा ठिक ८० बर्ष पहिले म जन्मिएको थिएँ। आज मेरो असियौं जन्मदिन। अब म बुढो भएँ। म मेरेपछि यो गोल्डेन हिल तेरो हुनेछ। सबै भेडाहरू तेरा हुन्छन्। यो तेरा बुबाको गोल्डेन नाइफ पनि तैं राख्नु …..

ऊ अरूपनि केहि बोलिरहेको थियो तर मैले बुढो शब्दमात्र सुनेँ। मेरो कानमा बुढो शब्दा बारबार घुमिरह्यो। अरूबेला भेडालाई देखाएर उसले बारबार भन्ने गर्थ्यो “बुढो भएपछि के काम? मारिदे” मैले तत्काल उसलाई मार्नुपर्ने सम्झिएँ। उसको हातबाट गोल्डेन नाइफ खोसेर उसको घाँटि सेरेँ। ऊ छटपटाउन थाल्यो मैले आरि भरी रगत थापें। अझै ऊ छटपटाइरहेको थियो। त्यतिनैखेर मलाई कुकुर र भेडाहरूको सम्झना आयो। म खोरमा पुगेँ। भेडाहरू खोलेंर धपाउँदै गोल्डेन बगैँचामा लगेँ।

कुकुर र भेडाहरूले जुँगे छटपटाउँदै गरेको देखे। बगैँचामा हरियो घाँस पनि थियो तर कुकुर र भेडाले घाँस खाएनन् बरू छटपटाइरहेको बुढो जुँगेको मासु चिथोर्न थाले। मैलेपनि पहिलोपल्ट मासु खाइरहेका भेडाहरूकै बथानमा मिसिएर आरिभरी थापेको रगत तनतन पिएँ।

रगत पिइसकेपछि म मातेँ। होइन, होइन, मातेको होइन होसमा आएँ। त्यतिखेरै मैले, पर क्षितिजमा मेरो पुरानो घर टल्किरहेको देखेँ। घरको बारदलिबाट आमाले मलाइ बोलाइराखेको पनि देखें।

मैले बाबाको गोल्डेन नाइफ टिपेर घरतिर लागेँ।
….

मैले हाम्रो किचनको टेबलमाथी सजाएर राखेको गोल्डेन नाइफसँग जुँगेलाई मारेर फिर्ता ल्याएको बाबाको गोल्डेन नाइफ राखेँ। यो देखेर आमाले भन्नुभयो “मेरो पतिले स्वर्गबाट अझै मलाई प्रेम गरिरहेका रहेछन्। यी हेर त छोरा हाम्रो प्रेमका निशानिहरूको भेट भएको। असल प्रेमको अवश्य एकदिन मिलन हुन्छ।”

मैले तत्कालै जवाफ फर्काएँ। आमा, यी नाइफहरू प्रेमका प्रतिक हैनन्। प्रेमले हत्या गर्दैन। यी त बाबाका अहंकारका निशानीहरू हुन्। बाबालाई जुँगेले मारेको हैन आफ्नै अहंकारले मारेको हो।

Facebook Comments

You may also like

error: Content is protected !!