त्यो बिर्सिएको दिन

११९ वर्ग किलोमिटरमा फैलिएको देशकै सबैभन्दा सानो जिल्ला भएतापनि सम्पूर्ण चिजले भरिपूर्ण भक्तपुर (मेरो निम्ति धेरै महत्त्वपूर्ण ठाउँ मध्यको एक) पुग्नै लाग्दा स्मृतिमा रहेका उनका यादहरु आँखै अगाडि नाच्न थाले । करिब ६ वर्षपछि उनको जन्मस्थलमा आँखामा कर्णाली र कोशी बोकेर हिँड्ने म उनलाई नै भेट्ने हेतुले आएको छु, एउटा मीठो बहानाको साथमा; नवराज पराजुलीको कविता वाचन कार्यक्रम । “तिमी अहिले बाहेक जहिले आएकी भएपनि हुन्थ्यो” भनेर कविताको अन्त्य हुँदा मैले उनलाई देखेँ, उनका मृगनयनी आँखाहरुले पनि मलाई “तिमी अहिले बाहेक जहिले आएको भएपनि हुन्थ्यो” भनेजस्तै भान हुन्थ्यो । अथवा हुनसक्छ, उनले मलाई देख्दै देखिनन् शायद । सुमिना; अर्थात् उनको मुटुको एक टुक्रा समान उनकी मिल्ने साथी (मेरो निम्ति उनी पछिकी खास लाग्ने केटी साथी)लाई फोन गरेँ । तिनैजना त्यो भिड छिचोलेर भक्तपुर दरबार स्क्वायर जाने बाटोको उकालो चढ्दै थियौँ । एउटा झुठो अनि देखावटी मुस्कानले मलाई स्वागत गरेकी उनले अरु केही प्रतिक्रिया नै दिइनन् । उनलाई देख्दा लाग्थ्यो, उनी बाघबाट उम्किन दौडिरहेको हरिणको अवस्थामा छिन् । उनको अनुहारमा देखिएको त्यो भावले मलाई पनि निकै उकुसमुकुस महसुस हुन थालेको थियो ।

वातावरणलाई सहज बनाउने हेतुले सुमिनाले क्याफे छिरौँ भनिन् । तर सायद उनलाई त्यो उपाय मन परेन, कसैलाई फोन लगाइन् । सम्भवतः उनकै नयाँ प्रियतमलाई । उताबाट उनले सोचे अनुरुपको जवाफ नआएर हुनसक्छ, अन्ततः उनी विवश देखिइन् क्याफे छिर्न, मतलब अझै केही समय मेरो साथमा व्यतित गर्न । त्यहीबेला बाहिर एक्कासि झरी पर्न थाल्यो, सायद मौसमपनि मनको संवेग अनुसार रुप फेर्दो हो । यस्तै सोच्न भ्याएँ ।

३ कप कफी र सामुन्ने उनको विवश अनि लाचार अनुहार ! उफ् ! सधैँ हाँसिखुसी देखिने उनी केहीबेरको मेरो आगमनले यति निरस र निराश हुन्छिन् भन्ने शंका अलिकति पनि मनमा उठेको हुन्थ्यो भने, म सायद त्यति टाढाबाट उनको हँसिलो अनुहारमा ग्रहण लगाउन पक्कै पनि आउने थिइनँ होला । म सामुन्ने रहेका, प्रेमीहरुलाई आपसमा जोड्ने ती राता गुलाफका गुच्छाहरु पनि मेरो अवस्थाप्रति दया दर्शाइरहे झैँ देखिन्थे । हेर्थिन् भने उनले सहजै मेरा आँखामा उनकै लागि छचल्किरहेको मायाको सागर देख्न सक्थिन् तर मैले भने उनको आँखामा डर, त्रास, रिस अनि कता कता दयाको भाव देखिरहेको थिएँ ।

The Brother by Vincent Van Gogh

Image from Van Gogh Museum

मानौँ केही पल मेरो अघि अडिएर टिकिदिनु बस् ममाथि उनले गरेको दया बाहेक ज्यादा केही पनि होइन, यस्तै केही सोच्थिन् उनी । यो कुरा मैले मात्र होइन, देख्ने जो कोहीले पनि उनको हावभाव र अनुहारमा व्याप्त त्यो तिरस्कारको भंगिमाले सहज पहिचान लगाउन सक्थे । उनका आँखामा आँखा जुधाइरहन सकिनँ मैले । धन्न साथमा कालो चस्मा बोकेको जाति नै साबित भयो । चुहिन नसकिरहेका मेरा आँखाहरु त्यही चस्माको पर्दा पछाडी लुकेर चुहिरहे, ठिक बाहिर आकाशमा बादल चुहेजस्तै ! तर एक्कासि कालो चस्मा पनि चुहिने भइदिए जस्तो, आँखामा झिँजो लाग्ने गरी उज्यालो पोखियो ।

नियालेर हेर्दा न त उनी अगाडि थिइन्, न त म नै क्याफेमा थिएँ । न त राता गुलाफका गुच्छा सजिएका थिए वरिपरि । म त जहाँ राती सुतेको थिएँ बस् त्यहीँ पो थिएँ ! उफ् ! सपना पनि कस्तो यथार्थ ? मनमा एकप्रकारको चिसो पस्यो, यतिका वर्षपछि फेरि उनकै सपना ! उनले त मलाई भुलाएर अरुलाई नै आफ्नो बनाइसकिन् तर म भने अझै उनकै सपनामा हराइरहेछु । आफै उपर दयालु हुन खोजेँ म, प्नयासविहिन नै ! छेउमै लेटिरहेको मोबाइल तानेँ, स्कृनमा 7:30 A.M. 15th Feb 2020 देखा पर्‍यो । ओहो ! हिजो त प्रणय दिवस पो थियो है ? भ्यालेन्टाइन्स डे ! त्यतिबेला पो झल्यास्स याद आयो डाक्टरले भनेको Anniversary Effect को बारेमा । “यदि तपाईं कसैसँग अति घनिष्ठ हुनुहुन्छ तर अकस्मात उसलाई गुमाउनुहुन्छ अझ भनौँ तपाईंलाई कुनै घटनाले एकदमै असर पारेको छ भने, त्यहि घटनाको समय आसपास आफै तपाईंलाई त्यो पलको याद आउन सक्छ । यसको असर एक साता देखि एक महिनासम्म हुनसक्छ । बिस्तारै यो आफैँ ठिक हुँदै जान्छ । मलाई पहिल्यै पनि यस्तो भएको थियो । मैले मेरो भाइलाई नयाँ वर्षको दिन एउटा दुर्घटनामा गुमाएँ, त्यस पश्चात् मलाई नयाँ वर्षमा गाडीको आवाजले पनि भाइसँगको त्यस विभत्स घटनाको यादले पिरोल्छ” ।

अनि यो प्रणय दिवस ! यो दिनसँग मेरो कति गहिरो सम्बन्ध छ त्यो त उनी बाहेक कसलाई पो थाहा थियो र ? आज म उनका हरेक प्रश्नहरुको उत्तर दिनेछु । उनले मलाई सधैँ सोध्थिन्, “आखिर प्रेम के हो ?” “सबैले प्रेमलाई फरक फरक ढंगले परिभाषित गर्छन् । मेरो निम्ति प्रेम अपरिभाषित शब्द हो, जस्को कुनै परिभाषा नै छैन । परिभाषा नै दिन परे, सायद प्रेम विश्वास हो । जहाँ प्रेम हुन्छ त्यहाँ विश्वास अनिवार्य हुन्छ ।” हरेक भेटमा उनले गर्ने अर्को प्रश्न थियो, “आखिर हजुरले किन मलाई यतिधेरै माया गर्नुहुन्छ ?” ~ उनी कुनै माध्यमबाट मलाई सुन्दैछिन् भने म उनको सवालको जवाफ दिँदै छु आज कि “माया गर्न कारण उसलाई चाहिन्छ जसले स्वार्थी माया गरेको हुन्छ । म उनलाई नि:स्वार्थ माया गर्थेँ सायद त्यसैले होला मसँग त्यस्तो कुनै कारण थिएन जसले म उनको प्रश्नको घतलाग्दो उत्तर दिन सकुँ ।”

14th Feb 2014 को दिन, मैले उनलाई न त भेटे न त फोन नै गरेँ, किनकि उनलाई प्रेम गर्न मलाई कुनै मौसम, याम, हप्ता वा दिन पर्खिनु पर्दैन थियो । म सायद त्यस दिनलाई कुनै आम दिन सम्झिएर दौडधुप ग्रस्त जिन्दगीको दैनिकी चक्रमा फसेको मैले यसै बिताइदिएँ होला । भलै उनको सम्झनाले मलाई पल-पल बाँधिरहेकै हुन्थ्यो तर व्यस्तताका बिच त्यसदिन म उनलाई मनमन सम्झिएरै मग्न थिएँ होला । मेरो निम्ति त हरेक दिन प्रेम दिवस छँदै थियो, सायद त्यसैले मलाई त्यो दिन के थियो याद रहेन । उनलाई फोन गर्नुको साटो हुनसक्छ म उनकै फोनको प्रतिक्षामा जागिरे दिन बाँचिरहेको थिएँ ।

र त्यो दिन, त्यो एक दिन (जसलाई उनी विशेष दिन सम्झन्थिन्) फोन नगर्नाले उनी म बाट टाढा भएकि हुँ भन्थिन् । तर यो सत्य हुनै सक्दैन । मुनामदनको कथा सुनेर हुर्किएको मैले उनलाई त्यस्तै माया दिन खोजेको थिएँ । चारचोटीको भेट अनि दुईचोटीको शारीरिक सम्बन्धलाई प्रेम भन्ने हुल भन्दा केही फरक पक्कै थिएँ होला म । समय अनुरुप चल्नु पर्छ त्यो म पनि मान्छु तर कपडा खोलेर प्रेम गर्नेहरुको हुलमा मलाई मिसिनु थिएन । उनले मलाई बुझ्थिन् जस्तो लाग्थ्यो तर म गलत रहेछु । उनले कहिलेकाहीँ भनेको एउटा कुरा अझै याद आइरहन्छ, “जिन्दगीमा हजुरले डोहोर्‍याएको बाटोमा हिड्न सकुँ, बस् हजुरको मुहारमा मेरो नामले सुरु हुने मुस्कुराहट सधैँभरी देख्न पाउँ । प्रत्येक जन्म हजुरकै भएर जन्मिन पाउँ।” यो जन्ममा उनले भनेको कुरा पूरा सायदै गर्न सकुँला, अर्को जन्ममा त्यो पूरा होस भन्ने कामना गर्छु ।

भावनामा मुटु त उनको निम्ति दिन सक्छु भन्ने मैले सपनामा पनि ति सुवासविहिन गुलाफका गुच्छा उनलाई सुम्पिन सकिनँ । उनलाई केही दिनसक्छु त केवल स्वार्थविहिन एकतर्फी माया । सपनामा नवराज पराजुलीले वाचन गरेको कविताको अन्तिम वाक्य विपनामा पनि याद आइरह्यो;
“Time and Tides waits for No one
हामीलाई के मतलव हामी न समय हौ न छाल
हामी एकअर्कालाई चाहे जति पर्खिन सक्छौं।”

अनि लाग्यो गुलाफका गुच्छाहरु दिन नसकेता पनि उनलाई सधैँभरी माया दिन त सक्छु नि अनि चाहे जति कुर्न पनि त ! ए साच्चै, ढिलै भएपनि Happy Belated Valentines Day है । हिजो पनि पो बिर्सिएछु !

Facebook Comments

You may also like

error: Content is protected !!