समास्या वासना ! समाधान वासना !

“सिगरेट जलिरहेको छ ! मैले एक सर्को लिएँ ! क्रमश: अर्को र फेरी अर्को ! मानौँ यो धुवाँ मेरै शरीरबाट उडेको हो ! मानौँ यो धुवाँ मेरै फोक्सो जलेर निस्किएको हो ! मानौँ यो धुवाँ मेरै चिताबाट वाष्पिकृत हुँदै यस आकाशगङ्गामा नर्तक भाँती नाचिरहेको छ ! मानौँ यो धुवाँले आफ्नो बाटो भेट्नेछ ! मानौँ यो धुवाँ मुक्त हुनेछ !

जबजब धुवाँले आकाश चुम्छ, मलाई लाग्छ मैले आकाश चुमे ! जबजब धुवाँले बादल छुन्छ, मलाई लाग्छ मैले बादल भेटे ! जबजब धुवाँले अझ उचाई पार गर्छ, मलाई लाग्छ आकाश मेरो पैतालामुनि छ ! आकाशको कार्पेटमाथि एउटा मनचिन्ते जगत खडा गरेर म त्यसको शाषक बनेको छु ! र, मेरो वरपर मेरा इच्छामुताबिकका सुन्दरीहरू, प्यालाहरू, चराहरू, पुतलीहरू, पालुवाहरू र पत्करहरू छन् ! र, त्यहाँ मेरो पैताला मिचीरहने एक झुण्ड चिप्लेकिराहरू छन् ! र, चिप्लेकिराहरू यति सुस्तरी मेरा पैतालाहरू मिचीरहेका छन् कि म् बस्, आत्ममुग्ध भइरहेको छु ! सबथोक यतिखेर मेरो अधिनमा छ, सब मेरो प्रथानामा नित्यमग्न छन् ! ”

मलाई लाग्यो, यो लेखको शुरु केही यसरी गर्छु, जसरी मैले गरेँ ! तर समस्या यो छ कि, यतिखेर मेरो साथमा एउटा पनि सिगरेट छैन ! र, सिगरेट बिना मलाई लाग्ने गर्छ- म लेख्न सक्दिनँ ! यो मैले आफैले बनाएको बनिबनाउ मान्यता हो ! सिगरेट र लेखनीलाई दुई खुट्टा या एक-एक पैताला बनाएर म लेखन यात्रालाई निरन्तरता दिइरहेको हुन्थेँ ! र, यतिखेर समस्या छ कि, मेरो साथमा सिगरेट छैन ! यसकारण त्यस्तो कुनै मनचिन्ते जगत मेरो सामुन्ने घुँडा धसेर मेरो तिघ्रा मिचिरहेको छैन !

र, यति हुँदैमा दुखी भइहाल्नु पर्ने अवस्थामा म आफूलाई पुर्याइरहेको पनि छैन ! म आफूलाई एउटा समुन्द्रमा पुर्याउन सक्छु ! ह्वेल माछासँग बसेर सार्क, गोही, हात्ती, बाघ र मान्छेका सानो कदको कुरा काट्न सक्छु ! तीनका साना पैताला र मसिना जीउडालका बारे हाँक दिएर घन्टौं गफमग्न हुन सक्छु !

मलाई लाग्यो, म् यो लेखलाई यसप्रकार पनि शुरु गर्न सक्छु ! तर समस्या यो छ कि, मेरो पैतालामुनि गुन्द्री छ, जो ५ वर्ष पुरानो हो ! जसमा मेरो आमाको घन्टौं हात चलेका छन् ! र, यतिखेर म बस यो सोचले उछ्वालित छु कि मेरा पैताला मेरी आमाले सुमासुमाइरहनु भएको छ ! मेरा पैतालाहरू, कुर्कुच्चाहरूमा, पिडूलाहरूमा आमाको हात स्पृष्ट भइरहेको छ ! अब यतिखेर गुन्द्री बुन्ने, ढिकी चलाउने, जातो चलाउने, हलो जोत्ने लगायतका पुर्ख्यौली सीप मैले सिक्न नसकेको एक प्रकारको तितो यथार्तताले मलाई पोल्छ ! छातीनेर ! र, केहीबेर म यो दुखाइ सुमसुम्याउनमा नै आफूलाई केन्द्रित गर्छु ! र दुखाइ यस प्रकार कि म आफूलाई यतिखेर थुमथुम्याउन सकिरहेको छैन !

विषयान्तर भएँ ! यो पनि स्वभावत: कुरा रह्यो ! कहाँ म मनचिन्ते जगतमा विचरण गरिरहेको थिएँ ! र, कहाँ म एक्कासी आफ्ना कमिकमजोरी सहित आफ्नो अवस्थिति देखाउन आइपुगेँ ! र, यसप्रकार मैले यतिखेर आफूलाई फेरि ती साना पैताला र पातला चप्पल सहित मस्तिष्कभरि गस्ती गर्न छाडिदिएँ ! र, आफैलाई आफ्नो सुरक्षित मस्तिष्कसाथ भेटेर दङ्गदास बनेँ !

स्कुल पुग्न १५ मिनेटको दूरी लाग्छ ! र, स्कुल शुरु हुन कम्तिमा अर्को १ घण्टा ! र, बाटोभरि म चकलेटका खोलहरू जम्मा गर्दैछु ! सुकाखाले चकलेटको रातो खोल, सुकाखाले चकलेटको कालो खोल, ल्याक्टो चकलेटको खोल, इक्लियर्स चकलेटको खोल, याक चुरोटका भित्री सिल्भर पेपर, हाजमोलाका प्याकेटहरू, ललिपपका खोलहरू..र कैयन् अरू जुन चकलेटका नाम न यतिखेर म याद गर्न सकिरहेछु, न कुनै किराना पसलमा म यतिखेर भेट्न सक्छु ! यी अहिले देखिने स्निकर्स, ट्वीक्स, बान्टी, डेरी मिलक, किटक्याट त मात्र ५ वर्षअघिदेखि खान थालेको हुँदो हुँ र ४ वर्षअघिदेखि खान छोडेको पनि हुँदो हुँ !

सुकाखाले चकलेटको कालो खोल (५ रुपियाँ), सुकाखाले चकलेटको रातो खोल (२ रुपियाँ), इक्लियर्सको खोल (१० रुपियाँ), ललिपपको खोल (५०० रुपियाँ), १००,५० रुपियाँका अन्य कैयन् खोल थिएँ (जसको नाम म भुलिरहेछु यतिखेर), याकको चुरोटको सिल्भर पेपर(१००० रुपियाँ), ललिपपको रातो र पहेंलो खोल (५० रुपिया, यदि हरियो र निलो भेटिएमा त्यसको मूल्य १०० हुन्थ्यो) ! यस प्रकार स्कुल पुग्नुअघिको १५ मिनेटको हिँडाइमा म दिनहुँ ५००० भन्दा ज्यादा रकम जम्मा गर्ने गर्थेँ ! र ५००० हजार जम्मा हुन नसकेको क्षण मैले साथीहरूको लागि पानी ल्याइदिनु पर्थ्यो, आफूले ल्याएको खाजा आधा दिनुपर्थ्यो ! उनीहरूको होमवर्क गरिदिनु पर्थ्यो ! साथमा ३ क्लास सकिँदासम्म पिसाब गर्न जान नपाउने र पेन्सिल तिखार्नको लागि सामूहिक पेन्सिल कटर प्रयोग गर्न पाउदिनँ थिएँ ! कहिलेकाहीँ यतिसम्म हुन्थ्यो, बलजफती रोएर पाएको फूल टिप्ने पेनको जम्मै मसी उनीहरूले झिकेर आफ्नोमा भर्थे, र म त्यो दिनभर बोधो पेन्सिलको टुप्पोले कापी धँसिरहेको हुन्थेँ !

र, मैले ब्याजमा दिएको पैसाले पनि म स्कुलमा धनीमै गनिन्थेँ ! म २ रूप्पे ब्याजमा साथीहरूलाई १०० रुपियाँसम्म पैसा दिने गर्थे ! र, तीनको फर्काउन पर्ने म्याद बढीमा हप्ता दिन हुन्थ्यो ! यदि उनीहरूले त्यो पैसा ब्याजसहित फर्काउन सकेनन् भने स्कुलदेखि मेरो घरसम्म उनीहरू मेरो झोला बोकेर आउनुपर्थ्यो ! नभए, मेरो लागि एउटा अंग्रेजी कपी र अंग्रेजी डिक्स्नेरी किनेर ल्याइदिन पर्थ्यो ! त्योपनि यदि उनीहरूले सकेनन् भने दिनहुँ मेरो लागि खाजा ल्याइदिनु पर्थ्यो ! खाजामा पनि चामलको रोटी, किम्बु, आँप, नासपाती (हरियो खुर्सानी मात्रै हालेर, रातो हालेमा अर्को एक हप्तासम्म यो प्रोसेस लम्बिन्थ्यो), रातो खाले मुला, र कहिलेकाहीँ ठाँडपाँखा वन छिरेर भाब्बु अमिली र तिदु ल्याइदिनु पर्थ्यो !

र, यी दिनहरूमा विचरण गरिरहँदा मैले आफूलाई पाएँ- के साच्चै ती दिनहरू मनचिन्ते थिएँ ! मनले चिताएको जस्तो ! मनले खोजेको जस्तो ! र, मनको आज्ञापालक जस्तो, रहेछन्, ती दिनहरू मेरा दासझैं रहेछन् ! र, म एक चक्रवर्ती शाशक जस्तै !

र, यतिखेर मलाई अब वर्तमानमा आफ्नो पैताला अडाउनु छ ! र, यहाँ सिगरेट नहुँदा म विचलित भएर लेख्न बसेको छु ! र, लेखिरहँदा याद भइरहेछ, बचपन लेख्न मलाई सिगरेटको आवश्यकता नपर्ने रहेछ ! या आकाशलाई कार्पेट बनाउन मलाई सिगरेटको आवश्यकता नपर्ने रहेछ ! तर, यो वर्तमान लेख्न मलाई किन सिगरेटको आवश्यकता परिरहेने गर्दछ ?

वर्तमान, जम्मामा म नै त हो ! त्यो हिजो, त्यो भोलि र यो आज, सबै म नै त हूँ ! यदि हिजो म खुसी थिएँ भने र भोलि म खुसी हुनै छ भने आज म दुःखी होइरहनु पर्ने कारण छैन !

र, यी इच्छाहरू एक वासना हुन् ! मद्वारा निर्मित ! यसलाई खतम मैले नै पार्ने हो !
र, यी सोचहरू एक वासना हुन् ! मद्वारा दुर्घटित ! यसलाई मन्द गति प्रदान मैले नै गर्ने हो !
र, यी रहरहरू पनि एक वासना हुन् ! मद्वारा उत्पादित ! यसलाई आवश्यक मात्रामा नष्ट गर्ने मैले नै हो !

जसरी भोक लाग्नु एक-वासना ! जसरी- अघाउनु अर्को वासना !
जसरी क्रोध उठ्नु एक वासना ! जसरी शान्त हुनु- अर्को वासना !
जसरी- कामोत्तेजित हुनु एक वासना ! जसरी स्खलनपश्चात निदाउनु अर्को वासना !

सपिंग गर्न जानु पनि एक वासाना ! भात पकाउनु पनि एक वासना ! पानीको जार उठाएर पानी पिउनु पनि एक वासना !
लेखेको कविता पढेर मुस्काराउनु पनि एक वासना ! लेखेर च्याती फ्याँकेको कविता सम्झेर मुर्छा परेर हाँसुपनि एक वासना !

उसैगरी विचलित हुनु पनि एक वासना ! उसैगरी उथलपुथल हुनु पनि एक वासना !
उसैगरी अस्थिर हुनु पनि एक वासना ! उसैगरी अव्यवस्थित हुनु पनि एक वासना !
उसैगरी लोभ गर्नु एक वासना ! उसैगरी लालच पैदा हुनु पनि एक वासना !

समस्या पनि वासना ! समाधान पनि वासना !
सबैथोक सुगन्धित ! सबैकुरा स्वप्निल !
दुर्गन्ध केही पनि छैन ! गन्हाउनु पनि एक सुगन्ध !

मैले आफूलाई आधाअपुरो ठान्नु र कोही अरूलाई पुरा/सम्पूर्ण मान्नु मेरो भूल थियो ! र, यहि भूलका कारण आजको बिहान म ज्यादा एक्लो, अस्थिर, क्रोधित महसुस गरिरहेको थिएँ ! र, यो पनि एक वासना थियो !
र, यतिखेर बस्, मेरो रौँ रौँबाट, तन्तु तन्तुबाट, अंगअंगबाट एक वासना उठिरहेछ/उडिरहेछ ! यो पनि वासना नै हो !
र, यतिखेर म साँचो अर्थमा सुगन्धित भएको छु ! पक्का म स्पष्ट भएको छु ! ढुक्कसाथ रमाइरहेको छु !

Facebook Comments

You may also like

error: Content is protected !!