'मृत्यु' कविता सिरिजबाट 'मृत्यु-१' | काव्यालय-Kavyalaya | Vintageकविता | कवि मञ्जुल

मृत्यु-१

वि.सं. २००३ साल फागुनमा भोजपुरको गोगनेमा पिता टीकावल्लभ र माता जम्भकुमारी शर्मा (जानुका) का माइला छोराको रुपमा जन्मिएका मेघराज शर्मा नेपाल अर्थात् ‘मञ्जुल’ नेपाली साहित्यकार तथा गायक हुन्। उनी साहित्यिक नाम ‘मञ्जुल’ अथवा ‘मञ्जुल राल्फा’ का उपनामले चिनिन्छन्। उनको नेपाली साहित्यको कविता तथा निबन्ध विधामा उल्लेखनीय योगदान छ। राल्फा आन्दोलन (२० को दशक)बाट नेपालको राजनीतिक, साहित्यिक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका मञ्जुलको पछि गएर साहित्यिक लेखन नै मुख्य क्षेत्र बन्यो। जनवादी गायकका रुपमा समेत प्रसिद्ध मञ्जुलका कविता, गीत, निबन्ध, उपन्यासका झण्डै एक दर्जन कृति प्रकाशित छन्।


मञ्जुलका साहित्यिक कृतिहरू :

मिति शीर्षक  विधा २०२४
साहिँली मोरीलाई  कविता/गीत २०२६
छेकु डोल्मा  उपन्यास २०४४
सम्झनाका पाइलाहरू   यात्रा निबन्ध
– …… मञ्जुलका नयाँ कविताहरू कविता २०४७
जाने होइन दाइ आलापोट ?  यात्रा निबन्ध २०५५
चोकटी कविता  कविता र निबन्ध २०५५
सिद्धिचरणहरू  कविता २०५५
मृत्यु कविता  कविता २०६८
पहाडजस्तो-बाटोजस्तो म   आत्मकथा


राल्फाली आन्दोलन :

बीसको दशकयता नेपाली साहित्यमा देखा परेका अभियान–आन्दोलनमध्ये केहीमात्र अस्तित्वमा छन्, धेरै आन्दोलन लामो समयसम्म टिक्न सकेनन् । तर ‘राल्फा’ यस्तो आन्दोलन थियो, जसको चर्चा हिजोआज पनि भइरहन्छ । साहित्यको भर्भराउँदो कोपिलाबाट उदाएको राल्फा प्रगतिशील संगीत बनेर फक्रियो । काठमाडौंमा जन्मिए पनि यो आन्दोलन गाउँ–गाउँसम्म पुग्यो । पारिजातको नेतृत्वमा यसका अभियन्ता मेची–महाकालीसम्म दौडिए । काठमाडौँ, धुलिखेल, ओखलढुंगा हुँदै खर्लप्पै पूर्वी पहाड छिचोलेर झापासम्म पुग्यो-राल्फा । यो यात्रा, यो अभियान त्यति सहज थिएन । धेरै अवरोध र प्रशासनिक दमनलाई पन्छाउँदै राल्फा पूर्वाञ्चलभरि छाएको थियो । अनि, राल्फा शब्दको पुरानो अर्थ र परिभाषालाई अझ नयाँ रूपमा व्याख्या हुन थाल्यो, ‘रा–राजा, ल–लाई, फा–फाल्ने । अथवा भनौँ राल्फा भन्नु नै राजालाई फाल्ने समूह ।’ राल्फा के हो भनेर कसैले सोध्दा उत्तर हुन्थ्यो- “हरेक व्यक्ति एउटा राल्फा । म पनि राल्फा, तिमी पनि राल्फा । नयाँ सोच, नयाँ विचार, नयाँ परिवर्तन र युगान्तकारी सोच राल्फा । हाम्रा सिर्जना र हाम्रो जीवन पद्धति पनि राल्फा ।”


खैर, कवि, गीतकार, गायक एवं राल्फा अगुवासमेत रहनुभएका यिनै बहुप्रतिभाशाली व्यक्तित्व मञ्जुल (मेघराज शर्मा नेपाल)को कवि रुपलाई सम्बोधन गर्दै, वहाँको मृत्युमाथि ‘मृत्यु कविता’ नै नाम दिएर लेखिएको कविता सिरिजको पहिलो कविता “मृत्यु-१” यहाँ राखिएको छ । 



मृत्यु- १

आफ्नो पछाडि
सिङ्गो राज्य छोडेर गए पनि
आफ्नो पछाडि
मात्र एउटा लौरो छोडेर गए पनि
मृत्यु त एउटै न हो दुवैको

मृत्युले
दुवैलाई एकै किसिमको नाङ्गो बनाउँछ
मृत्युले
दुवैलाई एकै किसिमको रित्तो बनाउँछ
खरानीखरानी बनाउँछ

खरानीभन्दा पनि हल्का किसिमले उडेर जान्छन्
तिनीहरूका सुख र दुःखहरू
तिनीहरूका अहम् र सङ्कोचहरू
ओहो ! मृत्यु कस्तो महान् गुरु
मृत्यु कस्तो असल मित्र
जिन्दगीलाई चिन्न खोज्नेहरूका लागि

मृत्यु
मलाई जिन्दगीको ढोकाजस्तो लाग्छ
मृत्यु
मलाई जिन्दगीको प्राप्तिजस्तो लाग्छ
मृत्यु, केवल मृत्युले
मानिसहरूबीच भाइचारा दिएर जान्छ ।


खोज/सङ्कलन : श्रीजु सरल


Facebook Comments

You may also like

error: Content is protected !!