द डार्क हाउस

जीवनमा होस् सम्हालेदेखि मैले खुसीको साथ एक पल पनि बिताउन सकिनँ । ५ वर्षको हुँदा आमाले छाडिन् न त कहिल्यै आमाको ममता नै महसुस गर्न पाएँ जीवनमा, आफ्नो भन्ने बा’ मात्र थिए । बा’को मायापनि दैवले मबाट चुँडेर कान्छी आमासँग गाँसिदिए । सायद भाग्य फरक भएर होला एउटै बगैँचामा फुलेको फूलहरु पनि केही मन्दिरमा पुग्छन् त केही चिहानमा । भगवानले मेरो भाग्य बनाउँदा सायद दुःखको चुली मात्र पुर्पुरोमा भरेका रहेछन्, त्यसैले आज यस्तो दिन देख्नु पर्यो । सारा दुःख किशोरावस्थामा नै भोग्नुपर्यो, जतिबेला खेल्ने कुद्ने रहर हुन्छ ।

घर वरिपरि गाउँ नै जम्मा भएको थियो। बा’ तुलसीमोठछेउ लमतन्न सुतेर बिना आवाज सिङ्गो गाउँ डाकिरहेका थिए । हरेकको अनुहारमा अचम्म र दुःखको रेखा कोरिएको थियो । मान्छेहरू कुरा गर्दै थिए । यो माइलाले कसरी आत्महत्या गर्न सकेको होला ? आफ्नो परिवारलाई पनि सम्झेन यसले; एउटी भएकी ‘छोरी र माईली’ अब के आधारमा बाँच्लान ? केही वर्षअघि ठूलीले पनि संसार छाडिन् । यिनका परिवारले अघिल्लो जन्ममा कस्तो पाप गरेका रहेछन् नि बाबै; यो जन्ममा यतिका दुःख भोग्नु परेको ! म पिँढीमा अर्धमृत मुद्रामा थिएँ । बज्रपातले भक्कानिए जस्तो । पानीबाट झिकेको माछा बगरमा छट्पटाएजस्तो । मेरा आँखाहरमा डर थिए, कहालिलाग्दो कहर, बिडम्बनाको बाढीले मेरा मन भित्रका डरका बाँध भत्काउनुको सट्टा, झनै बलियो बनाएको थियो ।

समाजले बा’लाई आत्महत्याको दोषी ठहर्याएको थियो । बा’ले आत्महत्या गरेको कल्पना पनि गर्न सक्दिनथेँ म । मेरा बा’ सहन शक्तिको प्रतिमुर्ति थिए तर आखिरमा अति भएपछि मुर्ति पनि चल्न बाध्य हुनेरहेछ । आजकल बा’ र कान्छी आमा बिचको सम्बन्ध चिसिँदै गएको थियो । जहिले झगडा नभएको दिन हुँदैन थियो । एक-अर्काबिच सम्बन्धित भएर मात्र जीवन चल्दो रहेनछ । जब घमण्ड र झुटका धमिराले माया खोक्रो पार्दो रहेछ ।

वर्षाको समय थियो बा’ राती खेतमा पानी मिलाउन गएका थिए । आकाशबाट भिषण पानी बर्सेर धर्ति छेडिरहेको थियो । म रेडियोमा गीत सुन्दै थिएँ । माथिल्लो कोठाबाट असहज चिच्याहट आइरहेको थियो । म बिस्तारै माथिल्लो कोठामा पुगेँ र ढोकाको चरबाट चिहाएँ । कान्छी आमा अर्धनग्न अवस्थामा गैरपुरूषसँग थिइन् । मेरा आँखाबाट आँसुका ढिक्का बरर खस्न लागे । हतारहतार आफ्नो कोठामा पुगेर सुतेको भान बनाएँ । त्यत्तिकैमा बा’ घर आइपुगे । सरासर माथि गए । मपनि चाल मारेर बा’को पछि लागेको थिएँ ।

वासनाको आगोमा लिप्त हुने किराहरूलाई डर र ईज्जतको त्रास हुँदो रहेनछ । राक्षस भनेका पौराणिक कथाको खराब शक्ति भएको पात्र मात्र रहेनछन्; दया, माया, लाज, इमान केही नरहेपछि मान्छे नै बन्ने रहेछन् राक्षस ।

एक शब्द बोल्न नपाउँदै ती राक्षसहरूले बा’को घाँटीमा पासो लगाए । बा छटपटाइरहेका थिए, हातले पासो समातेर, खुट्टा तल-माथि गर्दै जीवनको भिख मागिरहेका थिए मेरा बा । मैले धेरै कोसिस गरेँ तर बा’लाई बचाउन सकिनँ । वरिपरि नजिकै कुनैपनि घर थिएनन् जहाँ मैले गुहार्न सकुँ । म डरले चिच्याउँदै भाग्न लागेको थिएँ । मलाई पनि समाते र घटनाको पोल खोले मारिदिने धम्की दिए ।

म हरेक दिन खुला आकाशमा उड्न चाहन्थेँ तर जिन्दगीले सधैँ नै पिंजडा उपहार दियो । डरको पिंजडालाई मैले चाहेर पनि तोड्न सकिनँ । प्रत्येक दिन बा’ अनि आमालाई सम्झँदै एक वर्ष बित्यो । पीडाको त्यो एक वर्षपनि मलाई हजारौं जुनीजस्तो लागिरहेको थियो । शरीर खिएर हाड मात्र बाँकी थियो । घरको कामकाज सबै मैले नै गर्नु पर्थ्यो, नगरे कहिले तातो पन्यू त कहिले चुरोटका ठुटाले शरीरमा पोलिदिन्थे । नरोएको रात थिएन । रक्सीको मातमा दुबै जना मेरा अगाडि नै गलत हर्कत गर्न थाल्थे । प्रत्येक दिन घिनलाग्दो घटना दोहोरिरहन्थ्यो । आफूले गरेका हरेक पापको आरोप आमाले समाजको अगाडि मलाई लगाउँथिन् ।

उज्यालो खोज्दै नजिक जाँदा किराहरू बत्तीको आगोले जलेर मरेझैं, मैले हरेकपल्ट खुसी खोज्दा आफू जलेर मर्नु पर्थ्यो । ईश्वर हुन्छन् भन्ने भिडलाई म र मैले पाएका एकएक सजाय दिन चाहन्थेँ ।

अब गाउँमा हल्ला फैलने डरले कान्छी आमाले मेरो विवाह त्यही पुरुषसँग गरिदिने निर्णय गरिन्, जोसँग उनी आफै हरेक दिन वासनाको सागरमा डुबुल्की मारिरहन्थिन् । समाजमा मलाई चरित्रहिनको संज्ञा दिएर आमाले मेरो बिहे राक्षससँग गराई, त्यसलाई घरज्वाइँ राखेर आफू मोजमा बस्ने षड्यन्त्र रचेकी थिइन् । बा’को हत्यारासँग बिहे गर्ने या आत्महत्या गर्ने मेरा अगाडि यी दुई बाहेक अरु कुनै विकल्प थिएन ।

निकै मुश्किल हुँदोरहेछ ती रात कटाउन जब निन्द्राले साथ छोड्छ र मन कसैको यादमा आत्तिने गर्छ । मैले आत्महत्या गर्ने निर्णय गर्दै थिएँ तर मैले सम्झिएँ; माकुराको बच्चाले आफू ठूलो हुँदै गएपछि आफ्नै माउलाई नै खाएको । यत्तिकैमा मेरो आँसु खस्न थाल्यो । त्यो रात मैले आफ्नो आँखाबाट खस्दै गरेको आँसुको थोपालाई प्रश्न गरेँ, “तिमी कहाँ जाँदै छौ ?” आँसुले जवाफ दियो, “तिम्रो आँखामा निकै कहालिलाग्दो दृश्य छ, म त्यो हेरेर एकछिन् पनि बस्न सकिनँ ।” मेरा बा’को निर्मम हत्याको दृश्य आँसुले पनि हेरेर बस्न सकेनछ, सायद । मैले बा’को आत्मालाई न्याय दिने पुनः अठोट गरेँ ।

भोलिपल्ट मेरो विवाह भयो । बेहुलीले गर्ने सारा श्रृङ्गार मैले गरेकी थिएँ तर मसँग बेहुलीमा हुनुपर्ने कुनै भावनाहरु भने थिएनन् । थियो त केवल बा’को हत्यारासँग बदला लिने व्यग्रता । तर व्यग्रतालाई धैर्यले एउटा दिशा दिनु थियो । मैले आफूलाई संयम राखेँ । नाटक अर्थात् विवाह सम्पन्न भयो । राती उनीहरु मस्तीमा लागे । मलाई खाना बनाउन लगाई आफूहरु उत्सव मनाइरहेका थिए । आफ्नो योजना सफल भएकोमा उनीहरु रक्सी पिएर खुशी मनाउँदै थिए ।

खाना तयार भएपछि मैले उनीहरुलाई खाना पस्किदिएँ । खाना खाएर सक्नासाथ उनीहरू हल्लिँदै र छिल्लिँदै आफ्नो कोठामा गए । मपनि चाल मारेर उनीहरुको पछिपछि गएँ । त्यही कोठा जहाँ बा’लाई तिनीहरुले पासो लगाएर मारेका थिए । ढलपल ढलपल गर्दै कोठामा पुग्नासाथ उनीहरु ओछ्यानमा ढले । उनीहरुलाई लागिरहेको थियो कि उनीहरुलाई रक्सी लागिरहेको थियो । तर अचानक दुवैजना घाँटी समाउँदै छटपटाउन थाले । उनीहरुले खोक्दापनि भित्रैतिर भास्सिएर आवाज पनि निस्किन सकेन । ओछ्यानबाट राम्रोसँग उठ्नपनि सकेनन् । आँखा ठूलो-ठूलो च्यात्दै, आँखाको इशाराले उनीहरु गुहार मागिरहेका थिए । कोठामा मलाई काठ चिर्ने बञ्चरोसँग देखेर तिनीहरु काला-निला हुन थाले ।

धेरैपछि मनमा राहत मिलेको थियो । यतिसम्म ठगेर आफैले जिउँदै लाश तुल्याउन खोजेको मान्छेलाई भान्छा सुम्पिने उनीहरुको बुद्दिहिनतामाथि मलाई उपहास लागिरह्यो । अब उनीहरु मुखबाट रगत ओकल्न थालिसकेका थिए । मलाई यो दृश्यले कत्तिपनि अत्याएन बरु वर्षौंदेखि पोलिरहेको हृदय शितल भएर आयो । पालै पालो दुबैलाई ताकेर मैले कसी कसी बञ्चरो बजारेँ । अझै बजारेँ, बजारिरहेँ, बजारिरहेँ तिनीहरु काठको मुढोझैं अचल नभएसम्म बजारिरहेँ । कोठाभरि तिनीहरुको रगतको बली चढेको थियो । आउने जाने आफन्तहरुलाई, मात्रै देखाउनैका लागि आफ्नो दराजको माथिल्लो खण्डमा टाँगिछोडेकी फ्रेमभित्रबाट बा’ मुस्काइरहेका थिए । मनबाट ठूलो बोझ बिसाएझैं मैले आफूलाई बा’को फोटोअघिल्तिर भुइँमा थचक्क बसालेँ । नारीको काली रूपको साक्षात दर्शन मैले त्यही दराजको ऐनाभित्र पहिलोपटक देखेँ । रातो सारीमा जताततै रगतै रगत थियो ।

रिसको आवेग पनि यति डरलाग्दो हुनेरहेछ । यसले कुनैपनि समयमा कुनैपनि सम्बन्धलाई क्षणभरमै खत्तम पार्दोरहेछ । हुन त कहिले पो समेटिएको सम्बन्ध थियो र यो ?

बा’को आत्मा सायद त्यो कोठाबाट सिमलको भुवासरि उड्दै थियो । मैले धेरै पहिले गर्नुपर्ने काम अहिले गरेँ । तर ढिलै भएपनि अन्यायले न्याय पायो । मायाको अभावमा हुर्केकी म बा’ र आमाको साथमा जान चाहन्थेँ र उनीहरुको मायाको काखमा गुटमुटिन चाहन्थेँ, लुटपुटिन चाहन्थेँ । फेरि एकपटक पुनर्जन्म चाहन्थेँ । मेरो जीवनले अर्थ बटुल्यो अब योभन्दा ज्यादा जीवनको रहर र औचित्य दुवै थिएन । म अब कोठाबाट बाहिर बाल्कोनीमा गएँ । मलाई यस बाल्कोनीको धमिलो सम्झना छ, जहाँबाट बा’ मलाई आमाको वरिपरि आँगनमा खेलिरहेको माथिबाट हेर्थे । मैले त्यही बाल्कोनीबाट त्यही आँगनमा हाम फालेर देहत्याग गरेँ । घरको आँगन रगताम्मे भएको थियो तर मेरोे आत्माले त्यो रगतको प्रत्येक बुँदमा न्यायको रातो रंग देखेको थियो ।

आजभोलिका बच्चाहरु विस्थापित त्यस जिर्ण घरलाई डार्क हाउस भन्दारहेछन् ।

Facebook Comments

You may also like

error: Content is protected !!