हाँगा | SATURDAYकलम | Kavyalaya - काव्यालय

हाँगा

के सोच्दै हुनुहुन्छ ?

बाटाहरू सुनसान थिए । रुखहरू नतमस्तक थिए । किन ? यो वास्ता नगरी हामी निरन्तर अघि बढिरहेका थियौँ । पानी एकनासले परिरहेको थियो । हावा क्रमबद्ध चिसो ल्याइरहेको थियो । कताबाट ? यो पनि वस्ता नगरी हामी निरन्तर अघि बढिरहेका  थियौँ । सूर्यले आफ्ना बचेराहरू उदाएको थिएन । चराहरूले आफूलाई उदाएका थिएनन् । के गर्दै होलान् ? यो त झन् वास्ता नगरी हामी निरन्तर अघि बढिरहेका थियौँ । मानिसहरूको नामोनिशान थिएन । जनावरहरूको हल्लाखल्ला थिएन । के वंशनाश भयो ? यो त सुखद खबर मान्दै हामी झन् आरामले अघि बढेका थियौँ । बढिरहेका थियौँ । बढि नै रहेका थियौँ ।

बताइहालौँ, त्यो दिन म एक सुन्दर स्त्रीसँग थिएँ । अर्थात् हामी कोही थियौँ । कतै थियौँ । कतै गइरहेका थियौँ । कतैबाट त्यतातिर गएका थियौँ । वर्षाको दिनमा कोही हुनु, कतै हुनु, कतै गइरहेको हुनु र कतैबाट त्यतातिर गएको हुनु । धर्ती बिरामी भई उत्तानो परेको छ भन्ने बुझाउँदैन र ? र आकाश अझैसम्म नमरेर छटपटाइरहेको छ भन्ने लाग्दैन र ?

गाँउहरू देखिँदैन थिए । सहरहरू भेटिँदैन थिए । आफूलाई कता लुकाएका थिए कुन्नि ? भेटिहाले पनि स्कुलहरू खुलेका थिएनन् । वेश्यालयहरू बन्द थिएनन् । नानीहरू वेश्यालयतिर त गएका थिएनन् ? कविहरू कविता लेखिरहेका थिएनन् । हत्याराहरू कविता लेखिरहेका थिए । त्यसोभए, कविहरू हत्या गरिरहेका थिए ? गल्लिहरू गायब थिए । चोकहरू हुँदैन थिए । भट्टीहरू छुट्टिमा थिए । चिया पसल लेखिएका थिएनन् कतै । कतै पनि सिंहदरबार थिएन । कतै पनि कारागार थिएन । कतै पनि ट्राफिक जाम थिएन । कतै पनि कलाकार, कतै पनि बलात्कार…….

अँ, म तपाईंंहरूलाई बताउँदै थिएँ, त्यो वर्षाको दिन थियो । म कुनै सुन्दर स्त्रीसँग  थिए । अर्थात् हामी कोही थियौँ । कतै थियौँ । कतै गइरहेका थियौँ र कतैबाट त्यतातिर गएका थियौँ । साच्ची हामी को थियौँ ? कता गइरहेका थियौँ ? ठयाक्कै कहाँ थियौ ? कताबाट त्यतातिर गएका थियौ ? यो तपाईंं भन्नुहोस् । एक तपाईंं मात्र हो जसले यी सब भन्न सक्नु हुन्छ । हो हो तपाईंं । अँ अँ तपाईं । पक्का पक्का तपाईंं । धरोधर्म तपाईंं । ढाँटे मरिजाऊँ । नढाटे बाँचिजाऊँ । कि कसो ?

यो किन तपाईंंलाई जिम्मा लगाएको हुँ भने तपाईंं बेरोजगार हुनुहुन्छ नि । रोजगार दिलाउने तपाईंंको मार्कसिटभित्र कतै धर्मसिएको हुनुपर्ला । त्यो धर्मसिएको मार्कसिटलाई झनझन धर्मसिन छाडेर यथाशिघ्र तपाईंं मैले दिएको कामकुरोतिर लागिहाल्नुहोस् । काम जति दिन लगाएर गरे पनि हुन्छ । कुनै यकिन कार्यविधि छैन । म त चाहन्छु तपाईंं जिन्दगीभर यही काम गरी बस्नुहोस् । तलब ? तलबको तनाव नलिनुहोस् । त्यो हरेक घण्टा तपाईंंको बाकसमा आइपुग्छ जँहा तपाईंंको मार्कसिट चरमसीमामा धर्मसिएको फेला पर्न सक्छ । शुभकार्य ।

म बताउँदै थिएँ, म एक सुन्दर स्त्रीसँग  थिए । त्यो को स्त्री थिई होली ? भनेर अडकल नगर्नुहोस् । किनकि यो व्यर्थ हुनेछ । यसरी बुझ्नुहोस् न, ऊ जो स्त्री थिई मेरी प्रेमिका थिई । तपाईंंले आफ्नो सोच्नु त भएन ? नसोच्नुहोस् । किनकि ऊ मेरी प्रेमिका थिई । धन्न ऊ तपाईंंकी प्रेमिका भइन । के गर्ने रीत खराब रहेछ । प्रित झन जाली रहेछ । आ… भुल्नुहोस । अँ, यो भनेर भुल्नुहोस् ‘भुल्न जरुरी छ’ कि \यो जन्ममा उसलाई प्रेमिका बनाउन नसके पनि अर्को जन्ममा पक्का बनाउने छु ।’ हो, यही भनेर भुल्नुहोस् । मेरो हमदर्दी छ तपाईंंमाथि ।

म बताई नै रहेको थिएँ । म एक स्त्रीसँग थिएँ । जो किनै सुन्दर थिई  । जो मसँग  चिपिक्क टाँसिएकी थिई । किनकि हामीसँग छाता वा बर्सादि केही पनि थिएन । एक अर्कामा टिपिक्क, चिपिक्क टालिनु बाहेकको विकल्प थिएन । त्यही विकल्प उसले भरपुर मात्रमा उपयोग गरिहेकी थिई। वा हामी दुवै गरिरहेका थियौँ । कतै हामी वनमान्छे पो थियौ कि ?

यतिखेर हामी घना जङ्गलबीचको एउटा प्रतीक्षालयमा हुनुपर्ने हो । हो त हुनुपर्ने । तर हामी थियौँ घना जङ्गलबीचको डाँडामा । डाँडाको छेउमा एउटा ठूलो रूख थियो । त्यसमै अढेस लाग्यौँ । वा लाग्न पुग्यौँ । वा कसैले लाग्न पुगायो । वरवर, परपर हामीजस्तो र हामी ‘नजस्तो’ कुनै पनि आकृतिहरू देखिएका थिएनन् । यही मौका छोपेर उसले निकै कसेर अंगाली । म अंगालिएँ । अन्ततः हामी अंगालियौँ । स्वभाविक छ, हामी केहीछिन प्रेमालीन भयौँ ।

हो, म निरन्तर बताइरहेको छु । त्यसदिन, निरन्तर वर्षा भइरहेको थियो । म एक सुन्दर स्त्रीसँग थिएँ । हामी कतैबाट त्यतातिर पुगेका थियौँ । हामी घना जङ्गलबीचको एउटा ठूलो रूखमा अढेसिएर प्रेमालीन थियौँ । केहीछिनको प्रेमालीन पछि हामी बिस्तारै स्खलित भएका थियौँ । केहीबेर मौन बसेका थियौँ । एक अर्काको स्पर्श, उपस्थिति र अंकमाल आभास गरिरहेका थियौँ ।

यसैबीचमा गहिरो मौन वा सन्नाटा वा आनन्द चिर्दै, फोडदै उसले अचानक भनेकी थिई, “हिजो राति मैले देखेको अनौठो सपना स्मरण भयो । म सम्झिन चाहन्नँ तर त्यो आफै आयो । अनुमति नलिइकनै आयो । भनूँ ? वा नभनूँ ? भने पनि फेरि भोगिने डर । नभने पनि फेरि भोगिने डर । म डराइरहेकी छु, इः हेर्नु त म काँपिरहेकि छु, शरीर तातिएर आएको छ, मेरो आवाज थरथराइरहेको छ ।” अढेसिएको रूखको हाँगातिर हेरी । एकछिनसम्म हेरी । टोलाई । टोलाएकी होइन रहिछ । हेरी मात्र रहेकी रहिछ । टोलाउनु र हेरिरहनुको भिन्नता म चाल पाइरहेको थिएँ । थरथर आवाजमै अघिको वाक्यलाई क्रमशः पूरा गरी, “मेरो आत सुकेर आएको छैन र ? म धेरै नै कमजोर देखिँदै आएकी छैन र ? म क्रमशः सुक्दै सुक्दै लास हुँदै गइरहेकी छैन र ? हे, मार्क्स, तिमी कहाँ छौ ? जहाँ छौ, म भएकोतिर आऊ । म रहेकोतिर आऊ ।

प्रिय मार्क्स,

— यदि तिमी चिहानमा दफन भएका छौ भने चिहानबाट ब्युँतिएर आऊ ।

— यदि तिमी अहिलेका पूँजीवादी कम्युनिष्टहरूसँग क्रान्ति गरिरहेका छौ भने तिनीहरूमाझबाट भागेर आऊ ।

म छटपटाहटको चरम उत्सर्ग वा उत्कर्समा छु । मलाई मुक्त पार ।

यस्तो जटिल परिस्थितिमा म मौन कसरी बस्न सक्थेँ ? बस्नु पनि भएन । उसलाई यस्तो हालमा कसरी गुज्रिन दिन्थेँ ? दिनु पनि भएन… लाग्न त निकै बेर लाग्यो तर अन्ततः मैले उसलाई सम्हाल्दै वा शान्त पार्दै उक्त सपना कहन लगाएँ । उसले कही, “सपनामा आफू झुन्डिएर मर्न चाहन्छु । यति धेरै चाहना छ कि म झुण्डिन हाँगा हाँगा गइरहेकी छु तर झुण्डिनै लाग्दा ममा एक्कासि आफूलाई झुण्डिन नदिने चेतना आइपुग्छ । यही मौकामा आफूलाई झुण्डिनबाट जोगाउन म एकएक गर्दै प्रत्येक रूखका हाँगाहरू काटदै गइरहेकी छु । अचम्म कस्तो भने जति काटदै जान्छु, ती काटिएका हाँगाहरू पुनः पलाइहाल्छन् । अचानक झुण्डिने चाहना आइपुग्छ । हाँगाहरू काट्न छोडेर हतारहतार झुण्डिन तमतयार हुन्छु । त्यतिखेरै कताबाट हो नझुण्डिने चेतना आइपुग्छ । यही मौकामा आफुलाई झुण्डिनबाट जोगाउन म हागाहरू काटन लागीपर्छु । फेरि एक्कासि झुण्डिने चाहना आइपुग्छ । हाँगाहरू काट्न छोडछु । हतारहतार झुण्डिन तमतयार पर्छु । झुण्डिनै लाग्दा कताबाट हो फेरि नझुण्डिने चेतना आइपुगिहाल्छ । एकैछिन पछि फेरि झुण्डिने चाहना आइपुग्छ । फेरि नझुण्डिने चेतना आइपुग्छ । यो क्रम निरन्तर चलिरहेको छ । यस्तैमा म अत्तालिएर ब्युँझिएकी थिएँ ।”

ऊ सपनामा अत्तालिएकी थिई, सुनेर म विपनामा अत्तालिएको थिएँ । ऊ सपनाबाट ब्यूँझिएकी थिई, म विपनाबाट ब्यूँझिएको थिएँ ।

के यस्तो पनि सम्भव छ ?

एउटी स्त्री, एउटी सुन्दर स्त्री झुण्डिन चाहन्छे । जबै ऊ झुण्डिन तमतयार हुन्छे हठात उसभित्र आफूलाई झुण्डिन नदिने चेतना आइपुग्छ । र ऊ आफूलाई झुण्डिन नदिन संसारभरका हाँगाहरू काटदै जान्छे । अचम्म कस्तो भने ती काटिएका हाँगाहरू पुनः पलाउँदै जान्छन् । फेरि एक्कासि उसमा झुण्डिने चाहना आउँछ । ऊ झुण्डिन तमतयार हुन्छे । यतिखेरै कताबाट हो नझुण्डिने चेतना आइपुग्छ र ऊ आफूलाई झुण्डिनबाट जोगाउन हाँगाहरू काट्दै जान्छे । यो क्रम निरन्तर चालु छ ।

के यस्तो पनि असम्भव छ ?

म बताउँदै थिए । अँ, म के बताउँदै थिएँ ? मैले भुलेको नहुनु पर्ने हो । तर भुलेँ । भुल्नु पनि मेरो नभुल्नु पर्ने विशेषता हो । तर नभुल्नु मेरो भुल्नु पर्ने विशेष्ता होइन ।

खैर, म जे बताउँदै थिएँ त्यसलाई हामी सबैले एकछिन भुलौँ । बरु, यो कविता पढौँ ।

रूखको हाँगामा आफू झुण्डिएको सपना देखेपछि
उसले काटदै गई हाँगाहरू
यो होस नराखेर कि हाँगामा पात कति आनन्दले झुण्डिएको छ !
ठिक छ, उसको रिस हाँगासँग थियो
तर हाँगा काटने निहुँमा उसले पातलाई किन खसाली ?
ठिक छ, पात हाँगामा झुण्डिएको थियो
तर पात झुण्डिरहन चाहन्थ्यो किन झुण्डिन दिइन ?
फेरि ऊ रूखको हाँगामा सपनामा झुण्डिएकि थिई
ग्यारेन्टी के छ ऊ विपनामा झुण्डिन्छे ?
ल मानौँ ऊ विपनामै झुण्डिई, रूखको हाँगामै झुण्डिई
हाँगाले उक्साएर ऊ झुण्डिई वा समयको मैथुनले ?
हाँगाले जबर्जस्ति झुण्डायो वा ऊ जबर्जस्ति झुण्डिई हाँगामा ?

एकछिनलाई मानिदिऊँ यो संसारमा हाँगा छैन
के ऊ अब झुण्डिन्न ?
के ऊ झुण्डिनलाई अरु चिज छैनन् ?
के ऊ हाँगा भएर मात्र झुण्डिएकी हो ?
दोषी हाँगा कि हालत ?
दोषी हाँगा कि जिन्दगी ?
दोषी हाँगा कि हबिगत ?
दोषी हाँगा कि खुद ?

यो कविता घर पुगेर हतारहतार लेखेर सकेको हुँ । खै कस्तो भयो ? सोध्ने मुडमा छैन । सुत्ने मुडमा छु । किनकि निन्द्राले आक्रान्त छु । सुत्छु है त । शुभ रात्री ।

आफू झुण्डिएर मर्न चाहन्छु । यति धेरै चाहना छ कि म झुण्डिन हाँगा हाँगा गइरहेकी छु तर झुण्डिनै लाग्दा ममा एक्कासि आफूलाई झुण्डिन नदिने चेतना आइपुग्छ । यही मौकामा आफूलाई झुण्डिनबाट जोगाउन म एकएक गर्दै प्रत्येक रूखका हाँगाहरू काटदै गइरहेकी छु । अचम्म कस्तो भने जति काटदै जान्छु, ती काटिएका हाँगाहरू पुनः पलाइहाल्छन् । अचानक झुण्डिने चाहना आइपुग्छ । हाँगाहरू काट्न छोडेर हतारहतार झुण्डिन तमतयार हुन्छु । त्यतिखेरै कताबाट हो नझुण्डिने चेतना आइपुग्छ । यही मौकामा आफुलाई झुण्डिनबाट जोगाउन म हागाहरू काटन लागीपर्छु । फेरि एक्कासि झुण्डिने चाहना आइपुग्छ । हाँगाहरू काट्न छोडछु । हतारहतार झुण्डिन तमतयार पर्छु । झुण्डिनै लाग्दा कताबाट हो फेरि नझुण्डिने चेतना आइपुगिहाल्छ । एकैछिन पछि फेरि झुण्डिने चाहना आइपुग्छ । फेरि नझुण्डिने चेतना आइपुग्छ । यो क्रम निरन्तर चलिरहेको छ । 

चेतना र चाहनाको तछाडमछाडमा कसले बाजी मार्यो ? थाहा नै नपाई म बिहानपख झल्यास्स ब्यूँझिएँ । म झल्यास्स दिउँसोपख वा साँझपख पनि ब्यूँझिन सक्थेँ वा जतिखेर पनि ब्यूँझिन पाउँथेँ वा म ब्यूँझिनै चाहन्नँ थिएँ कि ? त्यो मेरो कुरो हो । यो नितान्त मेरो कुरो हो । कसले गर्यो मेरो कुरामा हस्तक्षेप वा हवाई आक्रमण ? कसको हो मेरो चाहनाविरुद्ध मलाई ब्युझाउने यत्रो हिम्मत ? होस् को तँ ? खैर, तँ जो होस् । मेरो सामुन्ने आइज । घुँडा भुइँमा टेका । माफी माग् । वचन दे ! अरे अमिताभ होइन ! कि अबदेखि अनुमतिबिना ब्यूँझाउँदिनँ भनेर । ठिक ?

घाम मेरो बिस्तारामा आइपुगिसकेको रहेछ । थाकेको होला त्यसैले मेरो बिस्तारामा लुटपुटिन खोजिरहेको छ । उठेर छेउमा बस्छु । मेरा आँखा झ्यालतिर पर्छन् । पर्दा कसले पो उघारिसकेछ । त्यो सक्सियत को होला ? वा को होली ? सपनाको ह्याङओभरमा एकछिन एकै स्थानमा बसिरहेँ । बस्नु कर थियो । कहर थियो । किनकि सपनाले निकै सताइरह्यो । अँठ्याइरह्यो । यतिसम्म दिमागलाई कँजाउन थालेको थियो कि शुरुमा आफूबाहेक सम्पूर्ण अस्तित्व शून्य सिवाय केही लागेन । एकछिन पछि सम्पूर्ण अस्तित्व बाहेक आफू शून्य सिवाय अरु केही पनि लागेन । यसकारण दुवै हात कानमा राखेर बिलकुल हलचल नगरी चुपचाप एकै स्थानमा बसिरहेँ । एकै पोजिसनमा ।

म सपनाबाट ब्यूझेँ कि सपनामा ? म विपनाबाट ब्यूझेँ कि विपनामा ?

यस्तो लागिरह्यो कि यो जुन सपना मैले देखेँ, देखे भनौँ कि भोगेँ भनौँ ! अँ, जुन सपना मैले भोगेँ, होइन सपना कहाँ भोगिन्छ ? देखिन्छ पो ! अँ, जुन सपना मैले देखेँ, के साच्ची सपना देखिन्छ र ? मेरो विचारमा सपना महसुस पो गरिन्छ ! अँ, यो ठिक छ, जुन सपना मैले महसुस गरेँ..उही सपना मलाई लागिरह्यो कि हिजो दिउँसो कसैले विपनामा सुनाएकी थिई । मलाई बिस्तारै याद आउन थाल्छ । वर्षा भइरहेको थियो । ऊ एक स्त्री थिई । ऊ निकै सुन्दर स्त्री थिई । ऊ मेरी प्रेमिका पनि थिई । पत्नि चियाको कप मेरो हातमा थमाइदिएर पुनः भान्सातर्फ जान्छिन् । हो, ऊ मेरी प्रेमिका थिई । अर्थात् हामी कोही थियौँ । कतै थियौँ । कतै गइरहेका थियौ । कतैबाट त्यतातिर गएका थियौँ । अनि हामी घना जङ्गलबीचको एउटा ठूलो रूखमा अढेसिन पुगेका थियौँ । त्यहाँ एकछिन प्रेमालीन भएका थियौँ । यत्तिकैमा अचानक झस्किँदै उसले कहन पुगेकी थिई उक्त सपना । भन्दाभन्दै ऊ अंगालोमा टाँसिएकी पनि थिई । छोरी दगुर्दै मेरो काखमा बस्छे । दाह्री चलाउँछे । गालामा म्वाइँ खान्छे र भन्छे, “मामुले भन्नुभएको हजुरको नयाँ कथा हाँगा सकिएको रे । यो सहित १५ वटा कथा पुगे रे । किताबको शीर्षक पनि हाँगा नै राख्ने रे । अँ, बाबा मलाई त्यो हाँगा कथा सुनाउनु न । पिलिज के !”

के सोच्दै हुनुहुन्छ ?

Facebook Comments

You may also like

error: Content is protected !!