बार्दलीको केटो | SATURDAYकलम | Kavyalaya - काव्यालय

बार्दलीको केटो

कथा यसरी शुरु हुन्छ-

निलो फलामे रेलिङले सुरक्षित बार्दलीको परिसरमा एउटा ६/७ वर्षको केटो खेलिरहेको छ । विभिन्न सेप र साइजका प्लास्टिकका खेलौनाहरू, गाडीहरू कुदाइरहेको छ । उसले मुखबाट गाडीको आवाज पनि निकालिरहेको छ । आवाज निस्कँदा, उसका ओठहरू थर्थराइरहेका छन् । र तिनै ओठबाट थुकका बाछिटाहरू बाहिर निस्किरहेका छन् । उसले दुईवटा गाडीहरूलाई याक्सिडेन्ट गराइदिन्छ । र याक्सिडेन्ट हुँदाको आवाज निकाल्ने नक्कल पनि गर्छ ।  

यो त कस्तो बालकथा जस्तो भयो । खैर, कथालाई यसरी पनि शुरु गर्न सकिन्छ

सिग्रेटका धुवाँहरूले बार्दलीको निलो रेलिङलाई स्पर्श गर्छन् । र बतास बन्ने तरखरमा बतासिँदै गरेका हावाहरूमा घुलिन्छन् । थाहा छैन, ती धुवाँहरू बादलसम्म पुगे, पुगेनन्- बादल बने या बनेनन् । आकाश सफा छ । घामले आफूलाई बादलमा लुकाएको छैन । बादलसँग उसले आफ्नो दूरी कायमै राखेको छ । वायुमण्डलमा वायु पनि आफ्नो गति बढाउने तयारीमा छ । आफ्ना केही झोक्काहरूलाई उसले समेटिरहेको छ ।

फकिराका ओठबाट बेवारिस उडेका धुवाँहरू, उसकै अनुहारमा वापस हुन्छन् । उसलाई झनक्क रिस उठ्छ । उसले तीन अश्लिल गालीसहित, एकचोटि बतासलाई मस्तिष्कमै सराप्छे । ऊ आफ्नो घरको बार्दलीमा बसेर अन्धाधुन्ध सिग्रेटका धुवाँहरू उडाइरहेकी छे । उसलाई चुरोटको लत त छैन । तर जबजब ऊ आफूलाई एक्लो पाउँछे वा महसुस गर्छे, ऊ चुरोटमा त्यो एक्लोपनाको समाधान भेटाउँछे । उसको जिन्दगी एक महिनादेखि नैराश्यले भरिएको छ । ऊ एक महिनादेखि लगातार चुरोट पिइरहेकी छे- डब्बाका डब्बा । 

ढाडलाई भित्तामा ढेसाएर, ऊ बार्दलीको चिसो भुइँमा थ्याच्च बसेकी छे । उसको ठिक सामुन्ने, रेलिंङको दुई डन्डालाई ओगटेर एउटा स्मल-साइज ऐना ढेसिएको छ । ऊ घरिघरि ऐनातिर हेर्छे । उसलाई आफ्नै चेहेरादेखि घृणा जागेर आउँछ । ऊ सिग्रेटको एउटा लामो फ्वाँक तान्छे, र त्यो उसको मुखमा गुज्ल्टिएको धुवाँ ऐनातिर फ्याक्छे । ऐनामा एकचोटि तुवाँलो लागेझैं हुन्छ । उसलाई ऐना हेर्न पनि मन छैन र उसलाई ऐना हेर्न पनि मन छ । ऊ आफूलाई केलाउन चाहन्छे । आफूभित्रका कमजोरीहरू प्रतिबिम्बित गराउन चाहन्छे ।

***

फकिरा आफ्नो श्रीमानको हात समातेर, डाक्टरको क्याबिन/ओपिडी-कक्षमा बसिरहेकी थिई । ऊ प्रतिक्षामा थिई । उसलाई डाक्टरको बोली सुन्ने हुटहुटी जागिसकेको थियो । ऊ चिच्याउन चाहन्थी । कराउन चाहन्थी । उसको त्यो छटपटी, तृष्णा बिस्तारै चिन्तामा परिणत हुँदै थियो ।

डाक्टर भने उसको रिपोर्टसँगै कतै हराइसकेको थियो । ओपिडी-कक्षमा सुन्यताका सन्नाटाहरू रुमल्लिरहेका थिए । फकिराको मनमा चिन्ताको हुन्डरी चलिरहेको थियो । सोही हुन्डरी दोब्बर मात्रामा बतासिएको थियो— जब हिजो बेलुका उसको योनीबाट केही अपेक्षित रगत, निराशाको भेल बनेर पोखिएको थियो  । ऊ भित्रभत्रै जलिरहेकी थिई । उसलाई डर थियो, त्यहीँ कुरा फेरि दोहोरिन्छ कि भन्ने ।

उसलाई आभास भइसकेको थियो, अब ऊ फेरि त्यहीँ दु;खको बोझलाई थेग्न सक्दिन थिई । ऊ त्यहीँ गुमाउनुको घुमोउरो गुमनाम गल्लीबाट फेरि अर्कोपटक गुज्रन चाहन्न थिई । उसले आफ्नो श्रीमानको हातलाई कसिएर समातेकी थिई । ऊ ती हातहरूमा लुक्न चाहन्थी । सुरक्षित हुन चाहन्थी । उसले एकचोटि आफ्नो श्रीमानको अनुहारलाई नियाली । ऊ त्यहाँ शिथिलता खोजिरहेकी थिई । तर उसले देखी, उसको श्रीमानको आँखामा भय- जुन उसको चिन्ताभन्दा पनि बढी भयनाक थियो ।

अन्ततः डाक्टरले फकिराको मेडिकल रिपोर्टलाई टेबलमा राख्यो । उसको मुखबाट एउटा लामो सुस्केरा निस्कियो । उसका आँखामा पश्चतापका झिल्काहरू बले । उसको त्यो गह्रौं, कुरुप आवाज फकिराले कतै टाढा सुनी-

“आई एम सरी । जे डर थियो त्यही भयो । इटस्… मिस्क्यारेज …. अगेन । यान्ड आइ एम सरी टु से, यु कान्ट ह्याभ अ बेबी एनिमोर । वी सुड डु दि अप्रेसन … जतिसक्दो चाँडो ।”

यो एउटा महाभुकम्प थियो फकिराका निम्ति ।

फकिरा अब त्यहाँ, त्यो ओपिडी-कक्षमा थिइन । ऊ हराइसकेकी थिई । उसको बाँच्नुको अस्तित्वले पनि आफ्नो अस्तित्व बिर्सिसकेको थियो । उसका लागि सबथोक सकिएको थियो । उसको संसार धुँजाधुँजा भई अन्त्य भएको थियो । उसको खुशीले चिता चढिसकेको थियो । 

उसको श्रीमानले रसाएको आँखासहित फकिरालाई अगाँल्यो । फकिराको टाउको उसको काँधमा बेवारिस ढल्यो । ऊ आफैबाट हराएकी थिई । कानमा सन्नाटा र हृदयमा खोक्रोपन बाहेक, अरु अब केही नै बाँकी थिएन ऊभित्र । उसका आँखाबाट एक थोपा आँसु पनि झरेनन् । सायद पीडाका बोझहरूले हृदय भरिएपछि, आँसुका मुहानहरू पनि सुक्ने गर्छन् ।

*

फकिराको जिन्दगी अब कायापलट भएको थियो । न ऊ, न उसको वैवाहिक जीवन— केही पनि उस्तै थिएन । सबथोक बदलिएको थियो । ऊ एकोहोरो टोलाएर बार्दलीमा बस्थी । डब्बाका डब्बा चुरोट सल्काउँथी । न मज्जाले खाना खान्थी, न त निदाउँथी । उसका दिनहरू, त्यही बार्दलीमा बसेर चुरोटका धुवाँहरू उडाउँदै उड्थ्यो । उसले आफू विवाहित हुँ भन्ने कुरा बिर्सिसकेकी थिई । उसले आफ्नो श्रीमानलाई बिर्सिसकेकी थिई । उसले आफैलाई बिर्सिसकेकी थिई । र उसको श्रीमानले पनि उसलाई, उसकै हालतमा छोडिदिएको थियो । ऊ बिहानै अफिसतिर निस्कन्थ्यो र कति साँझ त घर नै फर्किँदैन थियो ।

यसरी, एक घरमा दुई मान्छे बस्थे, जो सम्बन्धले श्रीमान श्रीमती थिए । तर, उनीहरू परिचित भएर पनि, एकाअर्काका निम्ति अञ्जान भइसकेका थिए । यो यथार्थ थियो । र यही यथार्थ हो ।

फकिराको हृदयमा आत्महत्याका खयालहरू हुस्सुझैं मडारिरहेका थिए । 

***

ठिक सामुन्नेको घरको बार्दलीबाट, एउटा ६/७ वर्षको केटोले फकिरालाई आफ्नो जिब्रो देखाइरहेको छ । जिस्काइरहेको छ । शुरूमा त उसलाई यो केही भारी लाग्छ, अनौठो लाग्छ । ऊ केटोलाई नियालेर हेर्छे । दुईटा निला रेलिङ-रडलाई समाएको छ उसले । र दुई रडबीचको कापबाट लाडे पारामा आफ्नो जिब्रो निकालिरहेको छ । उसको पछाडि केही प्लास्टिकका खेलौनाहरू छरपस्ट छन् । बार्दलीसँगै जोडिएको कोठामा- त्यो फुच्चे केटोकी आमा हुनुपर्छ- टि.भी हेरिरहेकी फकिराले प्रष्ट देखिरहेकी छे । 

एउटा लामो समयपछि, यो कुराले फकिराको मनमा केही प्रसन्नता जाग्छ । उसको ओठमा महिनौंपछि मुस्कानको एउटा धर्सो कोरिन्छ । एउटा निर्धो मुस्कान । निराश अनि फिक्का ! उसले आफ्नो हातको सिग्रेटलाई, काठको ह्याण्डक्राफ्टेड ऐश्ट्रेमा कोच्छे । ऊ रेलिङ नजिक आउँछे । र उसले पनि त्यो केटोलाई आफ्नो जिब्रो देखाउँछे । जिस्काउन थाल्छे ।

केटोले आफ्नो दुई बुढी औंलालाई, आफ्नो दुबै गालामा राख्छ र आफ्नो पुरा जिब्रो निकाल्ने कोसिस गर्दै फकिरालाई पुनः जिस्काउँछ । केटो उसलाई जित्न चाहन्छ । फकिराले पनि उसकै नक्कल गर्छे । उसलाई यो कुरा रमाइलो लाग्न थाल्छ । केही समयसम्म यही सिलसिला चलिरहन्छ । दोहोरिरहन्छ ।

*

फकिराले आफूअघिको ऐना उठाउँछे । घामको प्रकाश पर्नेगरि, ऐनालाई हल्का आकाशतिर फर्काउँछे । ऐनाबाट प्रतिबिम्बित भएको घामको ऐना, त्यसले फ्याँकेको प्रकाश; केटो खेलिरहेको बार्दलीको भित्तामा गएर ठोकिन्छ । 

केटो रमाउँछ । एकचोटि खुशीले चिच्याउँछ । ऊ त्यो उज्यालोलाई पकड्न खोज्छ । पछ्याउन थाल्छ । फकिराको ओठको मुस्कानपनि उज्यालिन्छ । ऐनाले प्रतिबिम्बित घामको प्रकाशलाई नचाएर ऊ केटोलाई जिस्काउन थाल्छे । जतिजति त्यो केटो प्रतिबिम्बित प्रकाशलाई समात्ने कोसिस गर्छ, फकिराले ऐना उति नै हल्लाइदिन्छे । प्रकाश भेट्टाउन केटो एउटा कुनामा दगुरेर पुग्दा ऊ प्रकाशलाई अर्कै कुनामा पुर्याइदिन्छे । केटो पुनः अर्को कुनातिर दौडिन्छ ।

यो खेलको दुवैले भरपुर मज्जा लिइरहेका छन् । केटो रमाइरहेको छ ।

अब खेलको लेभल अलि उन्नत हुन्छ । फकिराले भित्तामा त्यो प्रकाशलाई, केटोको उचाइभन्दा हल्का माथि राखिदिन्छे । केटो तन्किन्छ । आफ्नो शरिरको पूरा तागत लगाएर त्यो प्रकाशलाई छुन खोज्छ, भेटाउन खोज्छ । तर ऊ त्यो प्रकाशलाई छुन असफल हुन्छ । ऊ बिस्तारै बार्दलीसँगै जोडिएको ढोकाबाट भित्र पस्छ । र कोठाभित्रै कतै ओझेल हुन्छ ।

फकिराले ऊ गएको हेरिरहन्छे । उसलाई लाग्छ, त्यो केटोले आफ्नो हार स्वीकार गर्यो । उसलाई नरमाइलो पनि लाग्छ । कोठाभित्रबाट उसकी आमा हाँसेको आवाज आउँछ । बार्दलीको देब्रेपट्टिको झ्याल, जसले बार्दलीको परिमितिलाई छुँदैन । जसको पर्दा आधा खोलिएको छ, त्यहाँबाट फकिराले त्यो कोठाभित्र चिहाउने कोसिस गर्छे । उसले त्यो केटोकी आमाको आधा ढाड र टि.भीको आधा भाग देख्छे ।

बार्दलीको ढोकाबाट केटो फेरि देखिन्छ । उसले मुढालाई गुडाउँदै ल्याइरहेको छ । उसले गाडी कुद्दाको आवाज पनि निकालिरहेको छ । फकिरा फेरि मुस्कुराउँछे । उसलाई लाग्छ, ‘कस्तो हार नमान्ने केटो रहेछ यो त !’

फकिराले फेरि ऐना उठाउँछे, र घामको प्रकाशलाई भित्तामा बार्दलीको किनारमा प्रतिबिम्बित गराउँछे । केटोले मुढा गुडाउँदै त्यहीँ ठाउँमा पुर्याउँछ । त्यसलाई सिधा बनाउँछ । र त्यसमाथि चढ्छ । अब ऊ बार्दलीको रेलिङभन्दा ठूलो हुन्छ । उसले एकचोटि त्यो प्रकाशलाई छुन्छ पनि । तर फकिराले फेरि ऐनालाई हल्लाउँछे र फेरि त्यो प्रकाश ऊबाट टाढा भाग्छ ।

फकिराले ऐनालाई अलिक दाँया सार्छे । र घामको प्रतिबिम्बित प्रकाश, बार्दलीको क्षेत्रलाई नाघेर सँगै जोडिएको घरको भित्तामा पुग्छ । केटो मुढाबाट उत्रिन्छ । र जतिसक्दो छेउ, बार्दलीको दायाँ किनारमा मुढालाई ठड्याउँछ । ऊ त्यसमाथि चढ्छ । र प्रकाशलाई भेट्ने उदेश्यले अर्को घरको भित्तातिर लम्किन्छ ।

फकिराले त्यो प्रतिबिम्बित प्रकाशलाई, उसको हातबाट केही सेन्टिमिटर पर राखिदिन्छे । आफ्नो छातीलाई रेलिङमाथिको तेर्सो डण्डामा राखेर ऊ बल लगाइरहेको छ, तन्किरहेको छ । फकिराले ऐनालाई हल्का हल्लाउँछे । ऊ उत्तेजित हुन्छ । एक्कासि हडबडीमा ऊ त्यो रेलिङबाट खस्न पुग्छ । उसको टाउको भुइँको त्यो सिमेन्टेड आँगनमा बजारिन्छ । केटो एकछिन छटपटिन्छ । टाउकोबाट ह्वालह्वाल्ति रगत बग्न थाल्छ । 

यो दृश्यलाई फकिराले बाहेक अरु कसैले देखेको छैन । उसको ओठमा एउटा अनौठो, रहस्यमयी मुस्कान नाच्न थाल्छ ।

Facebook Comments

You may also like

error: Content is protected !!