थ्याङ्क यू कोरोना

कोरोना शरणम गच्छामी !
भन्दै यो लेख्न बसेको कुरा ब्ल्याक कफीको प्रमिस साचो हो ।

इन्सुरेन्सबाट त्यै दुई आउँछ । ऋण हिसाब गर्दै जाँदा एघार नाघेको देखेर कोरोना ‘दि कोभिड– १९’ सँग दुर्वाशा टाइप्सको मुड आएपछि, उठ्न सक्ने लगानीका याद, धमाधम आए । ‘लगानी प्लस इन्सुरेन्स इज इक्युल टु साँढे छ’ को आम्दानी नाघ्ने भएपछि जोड घटाउमा ‘माइनस साँढे चार’को बहि रहने छाँटकाँट आयो । कुरा कहाँ अड्कियो भने, इन्सुरेन्सको किस्ता जम्मा गर्ने मुड नचलेको निक्कै भइसकेछ । यो महिनाको तनखा इन्सुरेन्सले खाने पक्कापक्की भएपछि, दिमागमा त्यै साँढे चार न मडारिने भयो ।

त्यस साँढे चारको मनमौजी त चल्दै गर्थ्यो, विडम्बना कहानीले मोड लेला लेलाझैं भइरहेको छ । सरी साँढे चार !

कोभिड–१९ का संकेतहरुले शरीरमा कब्जा जमाएको र रातो बत्ती पिलिक पिलिक पिलिक हुँदै झलललललल बल्न थालेपछि मैले यसरी एक बारको जिन्दगीको भौतिक हिसाब लगाएको हुँ ।

चीनको वुहानमा पहिलो पटक पहिचान पाएको यो नाथे भाइरसलाई, सुन्दै सुनुँ सुनुँ लाग्ने कोरोना न्वरान गरेका छन् पण्डितहरुले । हाल यो हरामीलाई कोरोना भाइरस रोग २०१९ उर्फ कोभिड–१९ भनेर पुकार्न थालिएको छ । यो नाथे भाइरसले आज मलाइ एकै क्षणमा भूत, वर्तमान र भविष्यको एउटै राजमार्गमा दौडाइरहेछ ।

दुई हजार बावन्न सालमा छादुन्जेल खाएको जेरीको गुलियो आज अचानक जिब्रोले फिल गरिरहेछ । त्रिपन्न चौवन्नतिरै हुनुपर्छ, गुच्चा खेल्दै गर्दा मुखमा स्टक गरेको एक्सट्रा गुच्चा अचानक उल्टो दिशातर्फ ओरालो लागेपछि घाँटीमै ब्रेक फेल भयो । निल्नु कि ओकल्नु दुवै विकल्प प्रयोगमा ल्याउन नसकेपछि हेलिकप्टरमा भट्ट्ट्ट्ट्ट्ट्ट्ट्ट काठमाडुँतिर उडेको र घाँटीमा कन्फ्युज भइरहेको गुच्चै बिर्सेर हावामा कावा खाँदै रमाएको झलझली याद आइरहेछ ।

मगको कालो कफी मुल्तबीमा राखेर गुगलमा कोरोना सर्च हान्दै छु । तै, बाँचिन्छ कि भन्ने आस-आस टाइपको भइरहेछ । टाइप्स अफ जिजिविशा हगी ! अरुलाई नसार्नु होला प्लिज प्लिज प्लिज भनेझैं लाग्ने सयौं आग्रह नाचिरहेछन् गुगलको टेडो आँगनमा ।
क्वरेन्टाइन, आइसोलेसन, फलाना….फलाना….
साबुन पानी…… मिचि मिचि………. सेनिटाइजर ….. माक्स………. ढिस्का … ढिस्का…… किरिङमिरिङ उफ्फ्फ् !!!

Save Monalisa from CoViD-19, Spain Art Telecom

Save Monalisa from CoViD-19, Spain Art Telecom

बाँच्ने उपाय कसैले बताएन गुगलको आँगनबाट खाली हात फर्किएँ । सोसल मिडिया सट डाउन/अफ/डिएक्टिभेट गरेर बसेको छु, बरु ।

ताज्जुप चाहिँ विगत/भुत जिउँदो जिउँदो भएको देखेर पो लागिरहेछ । पत्रमित्रको जमाना थियो, फेसबुक थिएन । त्यै बेला त हो, चिठीमै फोटो पठाउने, माग्ने हुँदै हुँदै ….हुँदा हुँदै, एकदिन त पत्रमा आई लभ यू सहितको सुकेको गुलाब चाउरिएर आइपुगेको थियो गाँठे ! लाजले/डरले/सङ्कोचले काम्दै पसिनासरी भएर पढी भ्याएको र गुलाबलाई सिसाको बट्टाको अचार खन्याएर त्यसमा थन्क्याएको सम्झिँदा भर्खरै लाजले पानीपानी भइगएँ । डोमेस्टिक रुममा त्यो अचारको बट्टा, जो गुलाब बक्स भयो, पछि हेर्दा त थिएन । सायद फुट्यो “सिसा हो या दिल हो….. आखिर ! टुटजाता है” । या हरायो ? कि नयाँ प्रेमिकाले चाल पाउलिन् भनेर नस्ट गरियो । जे होस् चाउरिएको गुलाब बट्टै सहित हराएको थियो ।

कालान्तरमा पत्र आदान प्रदान पातलियो र बिस्तारै बिस्तारै आइ लभ यू पनि त्यै गुलाबजस्तै चाउरियो ।

Source: Pinterest

Source: Pinterest

फोटोकपी पेपरको प्याकिङ कार्टुन बक्स हुन्छ नी ? हो, त्यसमा गोरखापत्रमा बेरेर कालो टेपले चारपट्टी टालेका उसबेलाका चिठीहरु पोकै नखोली साँझपख सल्काएँ र तापेँ । यो तातोले मेरो शरीरमा सल्केको कोरोनालाई तताएर मार्ला र ? खै !

दिनहरु कति छिटो छिटो बितेछन् । कति चाँडै जवान भई गइएछ । भुतले तर्साएझैं नोस्टालजिक भइरहेछु । बायाँ खुट्टाको पाइन्ट यस्सो माथि सारेर हेरेँ, आफ्नै । कलेज लाइफको खुँखार राजनैतिक जीवन । आन्दोलन, हड्ताल, आम्मामामा ! एकपटक, स्ववियु चुनाव ताका…… भोट गन्ने क्रममा मतपत्र खसालिएको एउटा ढ्वाङ नै गायब भएपछि घमासान युद्ध हुने नै भयो । हामी फुच्चा फुच्ची त भागा रे भाग । ड्याङ्ग पड्किएको बन्दुक, यही बायाँ खुट्टामा गोलीले चुमेको निसान त बिर्सि नै पो सकेको रै’छु झण्डै !

भोग्दा आत्तिएर कठिन लागेका पल, पछि सम्झिँदा कति प्यारा लाग्ने रहेछन् । झन् भन्यो झन् प्यारो ! झन् भन्यो झन् प्यारो ! एनि वे , जानु छ/सकिँदै छ भनेपछि सिङ्गै जीवन नै प्यारो लागिरहेछ आज ।

पहिलो पटक प्रेममा डुबुल्की मार्दा फूल माया, पात माया, गमलै माया भएका ति पल आँखैका डिलमा टिलपिल गरिरहेछन् । सँगै बाँच्ने, सँगै मर्ने क्लासिक सदाबहार कसम त खाएकै हो, तर……….. साँच्ची उनलाई कोरोना लाग्यो कि लागेन होला ! खैर, खत्रा लभ परेकै हो, डिप डिप डिप……………………डिपेस्ट ! सपनामा देखेर विपनामा भेट्ने टाइप्स के ! दुःखै बाँड्ने, सुखै बाँड्ने । पछि पो बाटा भिन्न भिन्न / छिन्न भिन्न भए त । त्यसपछि, ढोका थुनेर एकान्त बनाइयो, एकान्तमा रुइयो । ओशो पछ्याइयो, रामदेव जगाइयो । युट्युवका मोटिभेसन भिडियो निखारियो । कपाल दाहि« प्रतिको हिंशा मोह त्यागियो । यस्ता पलका भोगाइ भन्दा समाधि सजिलो झैँ झैँ हुने घरी घरी त हगी ! तर अहिले सम्झिँदा गज्जप आनन्द आइरहेछ ।

प्रेमयात्रा रमाइलो थियो । वर्तमानमा, भविष्यका अनेकौं सपना थिए । उही सदाबहार सपना , बे गर्ने, घरजम गर्ने । छोरो जन्मिए नताशं नाम राख्ने, छोरी जन्मिए जेनिथ । विट नमारेका सपनाको धागो फुक्यो फुक्यो फुक्यो…. सुक्यो । उनकी छोरी छिन् रे, नाम के राखिन् कुन्नि ! एनि वे,
हे कोरोना !
दोस्रो प्रेमपनि झलझली आँखैमा छ ।
प्रेम गर्ने मान्छे, चुप लागेर बस्न कहाँ सक्छ र ! होइन ?
पात झरेको रुखमा वसन्तले फर्की फर्की मोहनी लाउनु त सृष्टीको नियम नै हो रहेछ ।

पहिलो प्रेमिकाको बिछोडमा विह्वल भएको मेरो एकलौटा जिन्दगी चाहिँ देख्दा/हेर्दा बिन्दास भई खाएछ । यो देखेर मलाई सम्हाल्न अइपुगेकी मेरी अर्की प्रेमिका आजकल कहाँ छिन् कुन्नि । पात बनेर पलाएकी उनी आफ्नै दुनियाँमा छिन् सायद । मेरो रुख चाहिँ कोरोनाको दुनियाँमा प्रवेश गरिसकेको छ ।

विगत यति रमाइलो थिएछ, फर्किएर/बटारिएर/तन्किएर पछाडि हेर्दै पो हेरिएनछ । सुनाउन/लेख्न/देखाउन लायक नै पो भइगएछ, अधकल्चो जिन्दगीपनि हगी !

वर्तमानमा जिम्मेवारी हिसाब किताब गर्दै छु, विगत सम्झन लायकको यो पल गुज्रिरहेछ शनैः शनैः । आफ्नो सबैभन्दा ठूलो जिम्मेवारी यी प्यारका निशानी माला, औँठी, घडी, किताब, कफी मग, कि-रिङ, गिटार, हेल्मेट, खुत्रुके, ट्रेकिङ स्टिीक, गौतम बुद्धको पोट्रेट, भुँडे लाफिङ बुद्ध, पानको पातवाला मैन बत्ति, सान्टा कि शान्ता क्लाउज, हेडफोन, मफलर,………..हरु मलाई कोरोनाले लगेपछि एक्लै पर्दा हुन्, के यी अब मेरो यादमा डुब्छन् ? पागल हुन्छन् ? ढोका थुनेर रुन्छन् ? मेडिटेसन गर्छन् ? आफैलाई भुलाउन/भुलेर फकिर बन्छन् ? ………… ? कि यिनलाई पनि कोरोना लाग्छ ?

तर सायद, यादहरुमा इम्मिन्युटी निकै कडै हुन्छ । यादहरु कोरोनाले मर्दैनन् । सायद !

म स्वर्थी/एकलकाँटे/घमण्डी/चिसो छु रे । खासमा चिसोले चाहिँ कहिल्यै पचाएन मलाई । हो त, म चिसोमा चिस्सिरहन्छु । चिसो नै एलर्जी भयो जिन्दगीको ।

हिमाल चढ्ने, हिउँ खेल्ने, हिमालमा गएर मेडिटेटेड हुने लगायतका चिसा सपना चाहिँ सपनै रहेकै हुन् । सपना पुरा त के, सुरु नै भएनन् । डाक्टरहरुले पनि चिसोमा नजानु भने, प्रेमिकाहरुले पनि चिसो मानव नै भन्ठाने । हिमालको सपना देख्दैमा कोही कसरी प्रेमिकाको नजरमा चिसो मानव कहलिन्छ ? ह्वाट नन्सेन्स ! हगी ?

अब भने बेला भएको छ, सपना लगेर हिमालमा खन्याउने । कोरोना स्वघोषण गर्नु महामुर्खता हुँदै हो । “इमान्दारी की बीमारी, छोडके आजा” हिमाल कलिङ मि गाइज । खासै प्याकिङ छैन, यू नो अबाउट सातुको लड्डुज ! यो त बोक्नै पर्छ । भोलि इन्सुरेन्सको किस्ता बुझाउनु छ । पर्सि बिहानै चिसो यात्राको बाटो तताउनु छ ।

एैरे गैरे… जस्तो भाइरस भएपनि, एकै श्वासमा विगत, वर्तमान र भविष्यमा डुबाउँदै उतार्दै गरिदिनुभएकोमा श्री श्री श्री एक अर्व आठ कोरोना महाराजलाई हार्दिक नमन छ ।

एउटा जिन्दगीको एउटै तमासिक सपना थियो । हिउँमा हिउँले पुरिएर/कठ्याङ्ग्रिएर/चिसिएर समाधिस्थ हुने । यही सपना पूरा हुने छेउ-भित्तो मिल्दै गरेको देखेर मन रमरम छ, ओ रोमाञ्चित छ !

हिमालय मेरो सेल्फ क्वारेण्टाइन, हिमाल मेरो आइसोलेसन । थ्यङ्क यू कोरोना ! म हिँडें हिमाल तिर फर कोरोना समाधि !

Ozone Babu @ Pahad, way to Himal

Ozone Babu @ Pahad, way to Himal

Facebook Comments

You may also like

error: Content is protected !!