अनुपम पोख्रेलका चोटिला/गहिरा/मीठा/छोटा कवितामा शिर्षक हुदैनन् । उनले शिर्षक पढ्ने मनहरुलाई आफ्नै मनले राखे हुन्छ भनेर छोड्दिएका छन् ।
१.
सिधा धर्को कोर्न जानिन भनेर
मोटरसाइकल चलाउँदा
हात खाल्टै तिर सोझिए भनेर
मैले गुनासो गर्न मिल्दैन
बानीका यिनै स – साना बाङ्गाटिङ्गा भाइबैना मिलेर
मलाई पहाड पर्वत पनि त घुमाएका छन्
आकाश मुनी सुताएका छन्
जीवन एड्भेन्चरस बनाएका छन्
सिधा धर्को तान्न जानेको भए
मैले राजमार्ग भित्रको जङ्गल
देख्नै कहाँ पाउँथे र ?

Image Source: Hoi An Motorbike Tours & Adventures
२.
बच्चा बेला
अनेक पल्ट सपनामा समेत देखेको
रोइकराइ गरेर पाएको साइकल
दुइ दिनमा धुलो बटुल्दै
एउटा कुनामा बेवास्तापूर्वक मिल्किए झैँ हो
चाहेको कुरा पाउनु
प्राप्तीको आनन्द दुइ दिनलाई
नपाउनुको तडपको आनन्द जीवनभरलाई
भगवान
मैले चाहेका कुरा मलाई
कहिले नदेउ !

Image Source: Prayers by A. Walters from Art Cameroon
३.
त्यो तानाशाहको कथा याद आयो
जसले त्यही कुखुरालाई भुत्ल्यायो
जसलाई दाना खुवायो
समय सँगै सबै ठीक हुँदै जान्छ
भनेर म कसरी पत्याउँ
जब समय नै त्यो सत्रु थियो
जसले सबै लुटेर लग्यो !

Image Source : Abstract Painting by Salvador Dali
४.
हेर्दा माटो थियो-
मैलो
छोए मात्र दागै लगाउला जस्तो
गुलाबले मात्र चिनी उसलाई
जरा दिइ आफ्नो
बदलामा फूल पाइ
सुगन्ध पाइ !

Image Source : Beautiful World Abstract Painting by Robert R. from FineArtAmerica
५.
भन्छन्
साथको लागी सङ्गत गर्ने हो
मलाई त
सङ्गत पनी तिनको मात्र गर्न मन पर्छ
जो सँग बस्दा
म आफैंसँग छु जस्तो महशुस हुन्छ
आफ्नै एकान्तमा छु
जस्तो महसूस हुन्छ
केही मान्छे भीड जस्ता हुन्छन्
आत्माको फूल
तिनको सङ्गतमा ओइलाउँछ !

Image Source: The Scream by Pablo Picasso from PaintingValley
६.
पात झर्ने एउटा याम
अन्नपुर्ण सर्किटको आवारा बाटो हिंड्दै गर्दा
मैले सोचेँ
किन यती प्यारो यो बाटो ?
के छ यो बाटोमा त्यस्तो
र म बारम्बार
यहाँ हिंड्न मन पराउने गर्छु ?
झरेका पातहरुले मलाई छुटेका प्रेमिकाहरुको याद दिलाउने रहेछन्
नटुंगिने बाटाहरुले मलाई
मैले बाँचेको जीवन सम्झाउने रहेछन्
त्यसैले म झरेका पातको सङ्गत गर्न
नटुंगिने बाटाहरुमा हिंड्न मन पराउने रहेछु…!

Image Source: Road with Fallen Leaves from WallpaperFlare
७.
अब अर्को पल्ट
तँ कतै यात्रामा निस्किनु अघि
मलाई पनि भन् न है
भन्नेहरुले जहिले म निस्किसकेपछि
त्यसो भने
मैले सोचेँ किन होला ?
अनि सोचेँ
यात्री बन्न सजिलो छैन
घर
परिवार
सुरक्षा
जागीर
जस्ता एक ठाउँ बसिरहेका चीज छाडेर
कसरी निस्किनु ?
नदिको कुरा गरेर हुन्छ ?
बाटाको कुरा गरेर हुन्छ ?
ती त आवारा हुन् जम्न नजान्ने
यात्रा त बग्नु हो
हराउनु हो
केही बेरलाई सही
आफ्नो पहिचान गुमाउनु हो
शून्यमा बिलाउनु हो
यात्रा खतरनाक हुन्छ !

Image Source: The Traveler, An Abstract Contemporary Horse Painting by Artist Laurie Pace from DailyPainters
८.
आफु को हुँ ?
भनेर थाहा नपाउँदासम्म
पानीले सधैँ आगोलाई आफ्नो शत्रु ठानेको थियो।
ठानेको थियो
आगोले उसलाई मेटाइदिन्छ
सुकाइदिन्छ
त्यसैले
पानीले खहरेको स्वरमा आगोलाई
अनेक गाली गरेको थियो,
आगोबाट लुक्दै भाग्दै गरेको थियो।
पछि उसले बुझ्यो
यहाँ नहुनु भनेको
बिलाउनु हैन
मेटिनु हैन बरु अर्को ठाउँमा हुनु हो र
त्यही नै यात्रा हो
र यात्रा नै जिवनको अर्थ हो
आगोको चुम्बन बिना
आफ्नो यात्रा पुरा नहुने कुरा बुझेपछी
पानी समुन्द्र बन्यो !

Image Source: “Earth, Fire, Water” Abstract Painting by Shenry Artist
९.
म ढुङ्गा भएँ
अनी मेरो पुजा भयो
त्यो फूल चुँडीयो र चढाईयो
मेरो नाममा
जे म कहिले बन्न सकिन !

Image Source: Saatchiart
१०.
समुन्द्रको पानी र आँशुको स्वाद
त्यसै उस्तै भएको हैन
गहिरो समुन्द्र हुँदो हो मान्छेको हृदयमा
त्यसमा उठेको छाल
आँखाबाट छचल्किँदो हो !

Image Source: Expressionist and abstract paintings by artist Niki Katiki from NikiFineArt