सायनलाई ५ प्रश्न

अहिले गाउँमा छु। गाउँले जीवन एकदमै सरल देखिन्छ। एकनासको जस्तो लाग्ने। काठमाडौँबाट फर्केपछि दुईदिनसम्म घरमै बसे। बाहिर त कोहि भए पो जानु? भए पनि कुरा मिल्दैनन्। सिर्जनात्मक क्षमता भएका युवापुस्ता सबै गाउँ बाहिर छ्न्। एउटा सुन्दर बिहान रमेश सायन दाइलाई फोन गरे। खाली नै हुनुहुँदोरहेछ। सोमबारे चौरमा भेट्ने निधो भयो। घरबाट साइकल टिपेर सोमबारे तर्फ हुइकिए! काठमाडौँ बस्दै गर्दा सायन दाइसँग भेट हुने कुरा भएको थियो। खै के भएर हो समय मिलिरहेको थिएन। पुग्दा, चौरमा बसिरहनु भएको रहेछ। परैबाट देखेँ। दाइ मुसुक्क हाँस्नुभयो। मैले पनि प्रतिउत्तरमा हाँसिदिए। छेउमा टुसुक्क बसे। र गफ गर्न लाग्यौँ-

शहरिया जीवन छोडेर अहिले त तपाईँ गाउँमा हुनुहुन्छ, तपाईँलाई कस्तो अनुभव भइरहेको छ ?

– “गाउँ मलाई रमाइलो लाग्छ। एक सुरको जिन्दगी छ। हल्ला छैन। समय प्रशस्त छ। साथीसंगत कम छन्। आफैसँग कुरा गर्न पाउने समय पाएको छु। सामान्य मान्छेसँग उठबस् हुन्छ। जो सहर पस्न सकेनन्। सपना बोकेर विदेश उड्न सकेनन्। लोकल मजदुर किसानसँग संगत गर्छु। स्कुल पढ्दै गरेका साना केटाकेटीसँग खेल्छु। उनीहरुको अर्गानिक जिन्दगीसँग नजिक छु। गाउँ गज्जब छ।”

तपाईंको गाउँमा चाहिँ कतिको साहित्यिक वातावरण छ ?

– “गाउँमा तन्नेरी छैनन्। बुढाबुढी छन्। केही मसिना केटाकेटी र तीनका आमाहरु मात्र छन्। अलिकति सपना भएकाहरु, विषेश कुरामा रुचि राख्ने शहर तिर बस्छन्। विदेश पस्छन्। उतै हराउँछन्। त्यसै ठाउँको लति बन्छन्। गाउँमा कला, साहित्यको वाताबरण कहाँ हुनु? गाउँ त लेख्ने जिनिस मात्र हो। भोग्ने वा बाँच्ने थलो त हुँदैहैन जस्तो भएको छ। त्यस्तो वातावरण हुनै कुरै भएन। र साहित्यिक वातावरणको लागि गाउँ बसेको पनि हुँइन्। आफैसँग कुरा गर्न। सोचे जसरी बाँच्न गाउँ आएको हुँ।”

तपाईंलाइ मन परेको पुस्तक? किन?

– “मन पर्ने किताब फेरबदल भइरहन्छ। मन पर्ने कुरा मेरो लागि स्थिर छैन। तीन वर्ष अघि पढेको कुनै एउटा किताब अहिले पटक्कै मन पर्दैन। एकै समयमा थुप्रै किताब मन पर्छन्। अलिक अघि देखी ‘घामका पाइला’ मनपरी राखेको छ। जहाँ बिरगन्ज जिउँदो भेटिन्छ। जसले स्वास फेरेको ध्वनी सुन्न सकिन्छ। आँखामा सजीव चित्र उत्रिन्छ। दृष्य चलचित्रको जस्तो छ। तर यो किताब कहिलेसम्म मनपर्छ भन्न सक्दिनँ।”

आजकल सबै युवा देखि बुढाबुढीसम्म पुस्तक हातमा च्यापेर हिडेको देखिन्छ। सम्झनुस त, पुस्तक थिएन भने के हुन्थ्यो?

– “किताब पढन्ते हामीहरुको लगि त कल्पना गर्न नसकिने कुरा हो। कुनै अँध्यारो ओडार जस्तो हुन्थ्यो होला हाम्रो दुनियाँ। ज्ञान र चेतनाको फैलावट खुम्चिन्थ्यो होला। ढंगले बाँच्न सकिदैन थियो होला।
तर यस्ता मानिस पनि छन् जो बाँचिरहेकाछन्। जो हामी भन्दा फरक छन्। जसले एकै किताब पनि जीवनकाल भरी पढेकाछैनन्। यसो हेर्र्नुस् त तँपाई हाम्रै सरकलमा कोर्सका किताब बाहेक अन्य किताब एउटा पनि नपढेका थुप्रै साथीभाइ छन्। उनीहरुको जिन्दगी पनि चलेकै छ। समाजमै छन्। खासमा किताब नहुँदा पनि केही हुँदैन थियो होला।
तर, मेरो लगि चाहिँ अलिक फरक मामिला हो किताब बिनाको दुनियाँ। जो अप्ठेरे छ।”

‘छुटेका अनुहार’ पढेका पाठकले त सायन बाट केहि नयाँ थोकको आस गरेका छ्न? नयाँ केहि योजना छन्?

– “लेख्ने कुराको योजना छैन। छुटेका अनुहार पनि योजनामा लेखिएको किताब हैन। लेख्दै जाँदा किताब बनिसकेछ। अहिले पनि केही फुटकर कुरा लेखिरहेको छु। किताब लेखें भने पक्कै केही नयाँ स्वाद दिन त खोज्छु नै।”

Facebook Comments

You may also like

Leave a Comment

error: Content is protected !!