स्टेजिङ एण्ड ब्लकिङ | टलकजंग vs टुल्के || रंगमञ्च - चलचित्र विशेष || काव्यालय - Kavyalaya

स्टेजिङ एण्ड ब्लकिङ | टलकजंग vs टुल्के

चलचित्रको छोटो विवरण 

आफ्नो इज्जतको खोजी गर्ने टलकजंग (टुल्के- उसको उपनाम हो । उसलाई गाउँलेहरूले यसै नामले बोलाउँछन्, जुन उसलाई मनपर्दैन ।) सोझो हुन्छ । बाउबाजेको जस्तै उसको इज्जत होस्, यही चाहन्छ ऊ । तर उसको बाउबाजेको सम्पत्ति बडाबाउले छलकपटले लिएका कारणले अहिले ऊसँग सम्पत्ति त छैन नै, ऊसँग छैन उसले चाहेको इज्जत पनि । हो, त्यही हरिएको इज्जतको भोको हुन्छ टलकजंग ! त्यसकै लागि लड्छ ऊ । अनेक हर्कत गर्छ । तर तिनै हर्कतले गर्दा पनि उसले खोजेको इज्जत नमिलेको हो कि ? यो उसले सोच्दैन । वरिपरि भइरहेका घटनाक्रमसँग ऊ अञ्जान हुन्छ, यसका बाबजुद पनि टलकजंग अनेक काममा टाठो पल्टन खोज्छ । उसको यही हर्कतहरूले गर्दा ऊ गाउँबाट निस्किएर शहर पस्न बाध्य बन्छ । शहरमा उसले नयाँ साथ पाउँछ । नयाँ बनेका साथीहरूको संगतले उसको रबाफमा परिवर्तन आएको देखिन्छ । उसको हाउभाउ बदलिन्छ । यही रबाफका साथ ऊ गाउँ छिर्छ । जति बाहिर फेरिए पनि टलकजंग भित्र फेरिको हुँदैन । ऊ पहिलाको जस्तै सोझो र अबुझ नै हुन्छ ।

निर्देशक निश्चल बस्नेत र पटकथा लेखक खगेन्द्र लामिछानेले टलकजंग नाम गरेको पात्रको मार्फत दश वर्षसम्म भएको जनयुद्धको कथा पस्केका छन् । पात्र टलकजंगले क्रान्तिको नतिजा जनाउँछ । चलचित्रमा पात्रले आफ्नो नाम, पहिचान र इज्जतको खोजी गरेको हुन्छ । क्रान्ति के यिनै कुराहरूको खोजमा भएको होइन ? के त्यत्रो युद्ध यिनै कुराहरूको लागि भएको हैन ? अन्तिममा के टलकजंगले खोजेको कुरा भयो/पायो ?

***

चलचित्र टलकजंग vs टुल्केको कहानी जति राम्रो छ, यसको बनावट उति नै राम्रो छ । स्टेजिङ र ब्लकिङकले चलचित्रमा सुनमा सुगन्ध थपेको छ । कसरी ? यो सुरु गर्नुभन्दा अगाडि बुझौँ, के हो त स्टेजिङ र के हो त ब्लकिङ ?

स्टेजिङ र ब्लकिङ,  सिनेमा बनाउँदा निकै नै मध्यनजर गर्नु पर्ने कुरा हो । सामान्य भाषामा बुझ्दा स्टेजिङले पात्र तथा वस्तु (PROPS) लाई फ्रेम भित्र कहाँ राखिएको छ भन्ने जनाउँछ र ब्लकिङले त्यो पात्रले आफ्नो वातावरण र क्यामेरासँग कसरी अन्तरक्रिया गरिरहेको छ भन्ने जनाउँछ । स्टेजिङ र ब्लकिङको प्रयोग पात्रहरूको स्थान र हिँडाइ/हलचल मात्रमा सिमित राख्नु भनेको यसको निन्दा गर्नु सरह हो । स्टेजिङ र ब्लकिङको प्रयोग गरेर भिजुअल स्टोरिटेलिङ र सब्टेक्स्ट सिनेमामा ल्याउन सकिन्छ । हो, पात्रहरूको स्थानले र हिँडाइ/हलचलमार्फत पनि एउटा कहानी भन्न सकिन्छ । दुःख लाग्छ जब यो विषयलाई हाम्रा चलचित्रहरूले नजरअन्दाज गरिदिन्छन् ।

‘टलकजंग vs टुल्के’ मा स्टेजिङ र ब्लकिङको प्रयोग

१)

टलकजंग खोलामा माछा मार्दै हुन्छ । केही व्यक्तिहरू पुलमा बसेर हेरिरहेका हुन्छन् । केहीबेरमा त्यहाँ हनुमान आउँछ र ती व्यक्तिहरूसँग हात मिलाउँछ । उनीहरूले हनुमानलाई पर्चा दिन्छन् र छुटिन्छन् । यो सब देखिरहेको हुन्छ टलकजंगले । ती व्यक्तिहरू आफ्नो बाटो लागिसकेपछि टलकजंगले हनुमानलाई रोक्छ र ती व्यक्तिहरूले के दिएको हो भनी प्रश्न गर्छ । हनुमानले उसलाई भन्दैन र उनीहरू बिच हातपात हुन्छ । त्यही बाटो आइरहेका सुके र फुलीले उनीहरू झगडा गरिरहेको देख्छन् । सुके छुट्टाउन आउँछ ।

सुके, हनुमान र टलकजंगको बिचमा आउँछ र टलकजँगलाई धकेल्छ, हनुमानलाई तान्दैन/धकेल्दैन । किनकि उसलाई थाहा छ टलकजंग कस्तो व्यक्ति हो । उसलाई थाहा छ कसरी टलकजंग टाउकोको दुखाइको कारण बन्न सक्छ । बिनाकाराण निहुँ खोज्नु, ठूलो पल्टिनु, जान्ने छु भन्ठन्नु टलकजंगको सधैँको व्यवहार हो, यो सुके जान्दछ । सुके मात्र किन यो कुरा सारा गाउँलेहरूलाई थाहा छ । यसले टलकजंगको व्यवहार मात्रै झल्काउँदैन, गाउँमा उसको स्थान पनि थाहा दिन्छ । उसलाई गाउँलेले कस्तो नजरले हेर्छन् ? यो यस दृश्यबाट पनि थाहा हुन्छ । त्यसैले त, छुट्टिएपछि सुकेले हनुमानलाई भन्छ- “यस्तासँग नि मुख लाउनु हुन्छ ?”

तर यो दृश्य यतिमा मात्र सिमित छैन । हामीले यस दृश्यबाट अन्य केहि कुरा पनि थाहा पाउन सक्छौँ । यो भन्दा अघिल्लो दृश्यमा हनुमानले बुख्याँचामा लुकाएको केही चिज (पैसा ? चिठ्ठी ?) निकाल्छ जुन उसले पर्चा लिएर ती मान्छेहरूलाई दिन्छ र आफ्नो बाटो लाग्छ । केही त गर्दै छ हनुमानले, यो शंका हाम्रो मनमा पस्छ ।

यही दृश्यमा, क्यामराको फोकस पछाडि भएका सुके र फुलीमाथि पर्छ । उनीहरू पनि त्यहाँबाट हिँड्ने तरखरमा देखिन्छन् । यसले उनीहरू पनि हनुमानसँग मिलेको हुन सक्छन् वा हनुमानमाथि निगरानी राखिरहेका छन् भन्ने जनाउँछ ।

जब हनुमान र टलकजंगको झगडा पर्छ र सुकेले छुट्टाउँछ, क्यामराले सुके, फुली र हनुमानलाई सँगै, एकतर्फ देखाउँछ र टलकजंगलाई अर्को तर्फ, एक्लै देखाउँछ । यसले हनुमान जे काममा लागेको छ, त्यो काममा सुके र फुली पनि लागेको हुनसक्ने सम्भावना रहेको जानकारी हामीलाई सुक्ष्म रुपमा प्राप्त हुन्छ । उनीहरू तिनैजना क्रान्तिकारी हुन् भन्ने कुरा हामीले पछि थाहा पाउँछौँ । यहाँ टलकजंग एक्लै छ र ऊ क्रान्तिकारी होइन भन्ने पनि हामीलाई थाहा हुन्छ ।

२)

“मलाई रक्सि खुवाएर, हनुमान क्रान्तिकारी हो भन्ने कुरा मेरो मुखबाट फुस्काएर, त्यल्लाई मार्यौ तिमीहरूले ।”

***

उसले मुख खोलेको कारण नै हनुमान मारिएको र विनय र विनयको बुबाले मारेको कुरा टलकजंगले थाहा पाउँछ र रिसको झोकमा ऊ विनयको घर पुग्छ, रक्सि पिएर । सायद, अझै पनि उसमा विनय र विनयको बुबालाई सामना गर्न सक्ने हिम्मत छैन । विनय र विनयको बुबा एउटै कोठामा बसेर छलफल गरिरहेका हुन्छन् । टलकजंग अचानक मातेएर आफ्नोमा आइपुगेको देखेर दुवै अचम्ममा पर्छन् र आफू बसेको ठाउँबाट उठ्छन् ।

चलचित्रमा टलकजंगलाई जतिपटक विनय वा विनयको बुबाको सामु देखाइएको छ, उनीहरूको बराबरीमा देखाइएको छैन । किनकि उनीहरू र टलकजंग बराबर छैनन् । हुनुपर्ने हो, तर छैनन् ! उनीहरू बरण्डामा हुँदा ऊ आँगनमा हुन्छ । ऊ बराण्डामा हुँदा उनीहरू बरण्डाको खाटमा हुन्छन् । ऊ जहिल्यै उनीहरूभन्दा मुनि नै देखिन्छ ।

पुरै चलचित्र भरिमा यो पहिलो र अन्तिम पटक हो ऊ र उनीहरू बराबरीमा देखाइएको । र सायद टलकजंगले आफ्नो जिवनमा यसरी हिम्मत देखाएर उनिहरूको सामु उभिएको पनि पहिलो पटक हो ।

टलकजंगले आफ्नो भएभरको रिस पोख्छ । यसरी रिस पोख्दै गर्दा ऊ विनयको बुबाको नजिकै हुन्छ । उसले विनयको बुबालाई ताकेर, ऊतिर लम्केर भन्छ – “अपराधी !” । टलकजंगको बाबुबाजेको सम्पत्ति लुट्ने मान्छे हो विनयको बुबा । यसकारण पनि विशेष घृणा छ, घिन छ टलकजंगको मनमा ऊप्रति । आफ्नो हालतको दोषी उसको नजरमा विनयको बुबा हो । त्यही पनि विनयको घरमा विनयको बुबाले भनेका कुराहरू हुन्छन् । विनयको बुबा घरको मुली हो ।

३ )

“सुके, क्रान्तिकारीहरूलाई मुन्छे चैँ मार्नु हुन्न भन् है !”

***

केही समय अघि मात्रै सुके र फुली क्रान्तिकारी हुन् भन्ने कुरा टलकजंगले थाहा पाएको हुन्छ । सुके र फुलीले मिलेर विनयलाई पक्राउँछन् र विनयको हत्या हुन्छ ।

सुके र फुली टलकजंगको घरमा आउँछन् । उनीहरूले आफूलाई लिन आएको हो कि भनी टलकजंगले प्रश्न गर्छ । एक-दुईवटा काम सकिएपछि लिन आउने कुरा सुकेले टलकजंगलाई बताउँछ । सुके र फुली त्यहाँ हतियार लुकाउन गएका हुन्छन् ।

टलकजंगलाई आफू पनि क्रान्तिकारी भएको भन्ने भान हुन्छ । तर के ऊ वास्तवमै क्रान्तिकारी हो त ? के उसलाई सुके र फुलीले क्रान्तिकारी मानेका छन् त ? छैनन् । उनीहरूबिच अन्तर छ । यो अन्तर देखाइएको छ उनीहरूको स्थानले । सुके र फुलीलाई टलकजंगबाट खाँबोले छुट्टाएको देखिन्छ । खाँबोको यतापट्टि टलकजंग एक्लो छ र उतापट्टि सुके र फुली सँगै छन् । उनीहरू क्रान्तिकारी हुन्, टलकजंग होइन ।

त्यो खाँबो उनीहरूबिचको पर्खाल पनि हो । यो दृश्यभरि टलकजंगले त्यो खाँबो नाघेर उता जाँदैन र सुके र फुली पनि आफ्नो स्थान छोडेर टलकजंग भएतिर आउँदैनन् । उनीहरू नजिक छन् तर पनि उनीहरू बिचमा एउटा दूरी छ । उनीहरू एउटै समाजका मान्छे हुन् तर पनि उनीहरूमा अन्तर छ ।

जानेबेला टलकजंगले सुकेलाई बोलाउँछ र भन्छ- “सुके,  क्रान्तिकारीहरूलाई मुन्छे चैँ मार्नु हुन्न भन् है !”

त्यसो भन्दै गर्दा क्यामरा बिस्तारै ऊतर्फ ‘जुम इन’ हुँदै जान्छ । हामी उसको नजिक भएको महसुस गर्छौँ । हामी (आम मानिस; जो समाजमा आएका तमाम परिवर्तनको परिणाम- ‘राम्रो वा नराम्रो’को चपेटामा पर्छौँ) टलकजंगसँग सहमत हुन सक्छौँ । उसको मर्म हामी बुझ्न सक्छौँ ।

टलकजंगले त्यसो भनेपछि हामी सुके र फुलीलाई देख्छौँ । उनीहरू टलकजंगलाई हेरिरहेका छन् । तर, क्यामरा बिस्तारै पछाडि आउँछ, उनीहरूबाट टाढा ! यसरी क्यामरा पछाडि तान्नाले उनीहरू टलकजंगले भनेको अहिंसाको कुरामा सहमत हुन सक्दैनन् भन्ने कुरा जनाउँछ । उनीहरू क्रान्तीकारी हुन् । उनीहरूले हतियार उठाएका छन् । उनीहरूले हिंसालाई रोजिसकेका छन् । जब फुलीले सुकेलाई पुलुक्क हेर्छे, हामी बुझ्छौँ, टलकजंगले नगर्न भनेको काम उनीहरूले गरिसकेका छन् । मान्छेको हत्या गरिसकेका छन् वा गर्ने तयारीमा छन् ।

***

यसरी स्टेजिङ र बल्किङको सहायताले सुक्ष्म जानकारीहरू दिन सहयोग पुर्याउँछ । यी दुई कुरालाई सहि तरिकाले प्रयोग गर्दा कहानिलाई टेका पुग्छ र सिनेमाको स्तर पनि बढ्छ । मात्र बोलिरहेका वा हिँडिरहेका पात्रहरू हेर्नमा के मज्जा, होइन ?

यस्ता कतिवटा नेपाली सिनेमा होलान् जसमा यी दुई कुरा, सहि तरिकाले, कहानी भन्न प्रयोग भएका छन् ? अफसोस ! धेरै कम । चाहन्छु, यो अफसोसको अवसान होस्, नेपाली चलचित्रबाट ! 

Facebook Comments

You may also like

error: Content is protected !!