‘कस्तो नराम्रो बच्चा ! कति कालो ?’ भवानीले बच्चा हातमा लिँदै भनी ‘तिमीहरु यति राम्रा छौ । यो बच्ची चाहिँ किन यस्ती हाँडीजस्ती जन्मिएकी ? यसको बिहे हुन्छ ?’
लक्ष्मीले निन्याउरो अनुहार बनाइन् । लक्ष्मीलाई थाहा थियो, उसका कति काला संगीहरुको बिहे भएको थिएन । कालो भएकै कारण दाइजो धेरै दिएर छोरी पठाउनुपर्ने बाध्यता थियो । भएकाहरुको राम्रो थिएन । उनीहरुको एउटै गुनासो हुन्थ्यो । ‘राम्री नभए बुढाले हेला गर्छन् । मनै पराउँदैनन् । कान्छी ल्याउँछन् भन्ने डर लाग्छ कहिलेकाहीँ त ।’ उनी आफूलाई गोरी भएर जन्मेकोमा गर्व महसुस गर्थीन् । उनको बुढाले अर्की ल्याउँदैनन् । उनी यो कुरामा ढुक्क थिइन् ।
कालो भएर छोरो भएको भए पनि हुन्थ्यो । छोरी ! त्यसमाथि काली, नराम्री ! लक्ष्मीले आफ्नी छोरीको भविष्य अन्धकार देखेर उसको गलासम्म हात पुर्याएकी थिइन् । खै, उनलाई के ले रोक्यो के ले । काली भए पनि छोरी हुर्कँदै गई । बकुल्लाको हुलमा ऊ काग बनेर हुर्किरहेकी थिई ।
छोरीलाई हातमा लिएर कैयौं रात एक्लै सुकसुकाइरहन्थी ।
छोरी काली मात्रै होइन । अरु थप बैगुणहरुले पनि पुरिएकी थिई । गाउँभरिकै बदमाश र छुच्ची । अरुको घरबाट जे भेट्यो त्यही घरमा ल्याएर थुपार्ने गर्थी । छोरी तह लाउन नसकेको भन्दै छिमेकी गाली गरिरहन्थे । छिमेकको घर जान्थी र उनीहरुका साना नानीहरुलाई कोपर्थी । छुटाउन खोज्दा बाबुआमालाई पनि कोपर्थी । गाउँभरिकै नराम्री र छुच्ची छोरी लक्ष्मीले पाएकी थिई ।
लक्ष्मीको बिहे धुमधामले भएको थियो । बत्तीसै लक्षणले युक्त थिइन् लक्ष्मी । गोरी, उज्याली । घरको काम सबै गर्न सक्ने । मेलापात, अर्मपर्म गइरहने । बिहान सबेरै उठेर भकारो सोहोर्ने, दुई घण्टा टाढा रहेको कुवाबाट पानी ओसार्ने, रुख चढेर घाँस झार्ने । सबै काम लक्ष्मी एक्लैले भ्याउँथिन् । लक्ष्मीको आमा बितेपछि उनले आमाले गर्ने सब काम गर्न थालेकी थिइन् । उनको बाबु झनझन पीरले दुब्लाउँदै गएका थिएँ । लक्ष्मीको बिहे भएदेखि आफू मरिहाल्थेँ भन्ने लागेको थियो । उनको सास लक्ष्मी थिई । राम्रो घरबाट कुरा आयो । ढिला नगरी लक्ष्मीको बिहे गरिदिए । उनलाई एस.एल.सीसम्म पढेर बिहे गर्न मन थियो । तर आठ कक्षामै बिहे भयो । भाग्य सम्झेर स्वीकारिन् ।
उनी बिहे गरेर घरमा आउँदा गाउँभरि उनको रुपको चर्चा भएको थियो । लक्ष्मीले कस्तो बच्चा जन्माउँली ? ऊ यति राम्री छ । त्यसमाथि पोई पनि राम्रो । हिरो हुन्छ होला है । पधेँरामा यस्तो गफ गर्दै घण्टौं बिताउँथे पधेर्नीहरु ।
लक्ष्मीको रुपको चर्चाको ठाउँमा अब उसकी छोरीको कुरुपको चर्चा हुन थालेको थियो ।
‘छिः कस्तो भैँसीको पाडो जस्ती हो त्यसकी छोरी । आमाबाबु दुबै राम्रो भएर के गर्नु ? के गोता गएर बच्चा त्यति नराम्रा हुन्छन् ? खै, म लक्ष्मीजत्ति राम्री नभए पनि बच्चाहरु त त्यसका भन्दा राम्रा छन् है मेरा ।’ भवानी पधेँरामा लक्ष्मीको कुरा काटिरहन्थी ।

Little Black Girl from Pinterest
गाउँभरिमै सबैभन्दा सुन्दर बुढी पाईस् भनेर भन्ने साथीहरुले धनवीरको छोरीको रुप र उसको कालो भविष्य सम्झाएर उसलाई खिल्ली उडाउन थालेका थिए । छोरी पाएदेखि धनवीर साथीभाइसँग जमघटमा भेटिन छाडेको थियो । यसरी ऊ जन्मेदेखि अशुभ लिएर जन्मेकी थिई । गाउँमा बच्चाहरुकी भूत र परिवारको अपशकुन बनेकी थिई । दुधले नुहाइदिए गोरी हुन्छे भनेर उसलाई दुधले नुहाउने पनि गरियो । अहँ, ऊ गोरी भए पो ! झन् कालोमा अझ निख्खर कालो हुँदै गई । उनीहरु गाउँमा बसिरहनै सकेनन् ।
‘त्यो बच्चा तिनीहरुको होइन जस्तो लाग्छ । सौताको होला । आमा त्यति राम्री छ ।’ उनको कोखमा प्रहार गरिएको योभन्दा धारिलो हतियार के हुन सक्थ्यो ? धनवीर लक्ष्मीको कुरा सुन्थ्यो र चुपचाप सुनिरहन्थ्यो । पूर्वजन्मको फल सम्झेर स्वीकार्न कोसिस गरिरहेको थियो । नियतिभन्दा बलियो के हुन सक्ला ? छोरी हुर्कँदै गई । उनीहरुले अर्को बच्चा पाए । छोरो ।
उनीहरुले पोखराको बेगनास ताल नजिकै फलफूल पसल थापेका थिए । राम्रो आम्दानी भइरहेको थियो । छोरोलाई बोर्डिङ्ग पढाउने भए । जमाना नै अङ्ग्रेजीको भएको बेलामा आफ्ना बच्चालाई अरुभन्दा कम बनाउन पनि भएन । छोरी नजिकैको बोर्डिङ्ग स्कुल जान थालेकी थिई ।
ऊ स्कुलबाट प्रश्न बोकेर घर आउँथी र भन्थी, ‘मलाई तपाईंहरुले बाटोमा भेट्टाएको रे हो ?’
लक्ष्मी छोरीलाई काखमा च्याप्थी र भन्थी, ‘होइन । कसले भन्यो ?’
‘हाम्रो म्यामले भन्नुभएको । नभए म यति कालो किन भएको ?’ यसको उत्तर लक्ष्मीसँग पनि थिएन ।
भाइ जन्मेपछि बच्ची झन् उद्दण्ड बन्दै गइरहेकी थिई । भाइ गोरो, राम्रो, पकुल्ले थियो । आमाले भाइलाई माया गरेको देखिसहँदैन थिई । आमालाई कोपर्न थाल्थी । झन् रिसालु बन्दै गइरहेकी थिई । बिनासित्ती झगडा गर्न खोजिरहन्थी । भाइलाई एउटा टुक्रो बढी स्याउ दियो भने, अलिकति बढी दुध हालिदियो भने असन्तुष्टि देखाइहाल्थी । ऊ झन् विद्रोही हुँदै गएकी थिई । हरकुरामा प्रश्न गरिरहन्थी ।
‘म कालो भएर तपाईंहरुले माया नगरेको हो ?’
भाइपनि स्कुल जाने उमेरको भयो । दुबैलाई बोर्डिङ्ग पढाउन सम्भव थिएन । उसलाई बोर्डिङ्गबाट निकालेर सरकारी स्कुल हालेपछि स्कुल जानै मानिन ऊ । झगडै गरेर भएपनि बोर्डिङ्गमै पढिरही । दिनहरु बित्दै गए । उनीहरुकी उद्दण्ड छोरी चुपचाप टोलाउने भएकी थिई । नौ वर्ष टेकेदेखि ऊ र भाइ किन फरक भन्ने बुझ्दैथी । हर कुरामा भाइलाई पछारेर अघि बढ्ने उसको स्वभाव कतै छुटाइसकेकी थिई उसले । भाइको साथमा सुरक्षित महसुस गर्न थालेकी थिई । हर कुरामा भाइलाई अघिअघि लगाएर पछिपछि रहन रुचाउन थालेकी थिई ।
छोरीमा आएको परिवर्तनले बाबुआमा आश्चर्यमा थिएँ । तर खोजीनीति गरिरहने कसलाई फुर्सद ? बिहान सबेरै धनवीर पसल जान्थ्यो । लक्ष्मी बच्चाहरुलाई खाना खुवाइवरी धन्दा सकेर पसलमा बस्थी ।

Biracial Siblings (Weather Anchor Mama)
केही कुरामा मुख नफर्काउने, भनेको सबै कुरा खुरुखुरु मान्ने भएकी थिई । भाइले काम नगर्ने । मैले गर्न पर्ने ? भनेर प्रश्न नगरी घरको काममा आमालाई सघाउने भएकी थिई । ज्ञानी भइरहँदा त्यसको कारण पनि कसैले सोधिराख्छ ? सुरुमा लक्ष्मीलाई यो के भइरहेछ ? भनेर अनौठो त लागेको थियो । तर बिस्तारै स्वभाविक बन्दै गयो ।
बच्ची, लाटी हुँदै गएको महसुस गरेपनि उनीहरुले आनन्दको श्वास फेरे । छोरीहरु धेरै जान्ने, सुन्ने नभएकै राम्रो । काली त्यसमाथि बाठी, विद्रोही भई भने बिहे नहुन सक्थ्यो । घरमा छोरा जन्मिएको छ र ऊ रोयो भने अझै धेरै पिटेर चुप रहन सिकाइन्थ्यो । छोरी जन्मिई भने पिट्न लाग्याजस्तो गरेर बच्ची रुन लाग्दा काखमा लिएर म्वाइँ खाने गरिन्थ्यो । ती ठूला हुँदासम्म बुझिसक्थे । छोरोलाई रुन छुट थिएन, ऊ नरोइकनै रिस देखाएरै आफ्नो माग कसरी पूरा गर्नुपर्छ भनेर बुखिसक्थ्यो, जिद्दी गर्ने र मान्छे पिट्दै हिँड्ने स्वभावको बन्थ्यो । र छोरी चाहिँ सुँक्कसुँक्क रोएरै आफ्नो कुरा पूरा गर्न लगाउँथी ।
तर अब छोरी एकाएक ज्ञानी भएकी थिई, उसलाई निकालेर लक्ष्मीले नजिकैको सरकारी स्कुलमा हालिदिई । भाग्य सम्झेर छोरी चुपचाप विद्यालय आउने र जाने गरिरही । ऊ सरकारी स्कुलमा कक्षा सातमा भर्ना भई ।
त्यस विद्यालयमा सामाजिक शिक्षा पढाउँदै आएका शिक्षक थिए, मनोहरी ढुङ्गाना । अवकाश हुनै लागेका उनीसँग अनुभवको खजाना थियो । देवकी त्यस विद्यालयमा आएदेखि उनको ध्यान देवकीले तानिदिएकी थिई । देवकी त्यो विद्यालयकै नराम्री र सकेसम्म नबोल्ने प्राणी थिई । छोराछोरी बराबरी भनेतापनि व्यवहारमा छोरालाई बोर्डिङ्ग अनि छोरीलाई सरकारी विद्यालय पढ्न पठाएर गरिने विभेदबारे शिक्षकलाई राम्रोसँग ज्ञान थियो । त्यसले ल्याइरहेको असमानता र किशोरीहरुको मनोदशा पढ्नपनि खप्पिस थिए उनी । अव्यक्त रुपमा देवकी सरकारी स्कुल आउन परेकोमा असन्तुष्ट देखिन्थी ।
‘भाइलाई बोर्डिङ्ग तिमीलाई सरकारी ?’ खाउँलाझैं गरेर उसले सरलाई हेरी । कसैले उसले लुकाइरहेको घाउ चलाइदिएको थियो ।
‘बाबुआमाले माया गर्दैनन् ?’ फेरि उसैगरी हेरी । उसको हेराई नै त्यस्तै थियो । देवकीको अनुहार, नरिसाएपनि रिसाइरहेजस्तो ।
दिनहरु बित्दै गए ।
सरले सामाजिक शिक्षा पढाउँदा विभिन्न उदाहरणसहित छोरा र छोरीको विभेद बुझाउँथे । धनी र गरिबको विभेद बुझाउँथे । समाजमा रहेका र कसैको आँखामा नपरेका विषयवस्तु टिपेर विद्यार्थीलाई सचेत बनाउँथे । एउटा समाचार आएको थियो, ‘सुँड डुबाएर मरी गर्भिणी हात्ती ’ । यसबारेमा पनि सरले उनीहरुलाई बताउँदै पशुपंक्षी सबैको बाँच्ने अधिकार उत्तिकै हुने कुरा बुझाएका थिए । बेलाबखत भइरहने जातिय संघर्षको बारेमा बताएका थिए । आफूले पढाएका विद्यार्थीहरु भोली गएर देशको जिम्मेवार नागरिक बनुन् भन्ने उनको ध्येय थियो ।
‘अन्याय गर्नुभन्दा अन्याय सहनु झन् ठूलो पाप हो ।’ पहिलोचोटी सरको आँखामा अचम्मले पुलुक्क हेरी देवकीले । शिक्षकले समानता र विभेद के हो सिकाउँथे । सही र गलत के हो भनेर छुट्याउन विद्याथीलाई सहयोग गर्थे । साँचो अर्थमा उनी विद्यार्थीको मार्गदर्शक थिए ।
बोलाउँदा एकचोटी झस्केर मात्र ‘हजुर’ भन्ने उनको स्वभावमा विस्तारै परिवर्तन आइरहेको थियो । देवकीको एकांकीपना देखेर शिक्षकको ध्यान सधैँ उसैले तानिदिएकी थिई । उसको एकोहोरोपनाको कारण जान्न चाहन्थे शिक्षक । उनी देवकीलाई समूहमा हेलमेल भएको हेर्न मन थियो ।

Source: NPR
देवकी कक्षाको अन्तिम सीटमा एक्लै बस्थी । सरले सबैको अघि उठाएर भने, ‘उसलाई आजदेखि अगाडिको बेन्चमा राख्नु ।’ तर ऊ सामाजिक शिक्षा पढाउने पिरियडमा बाहेक अरुबेला अन्तिममै रहन्थी । ती सरले छड्के जाँच गर्न आइरहँदा यो कुरा थाहा पाए । उनको पिरियडमा देवकी जति उज्याली देखिन्थी अरु पिरियडमा उति नै धुम्म परेको बादलजस्ती भएर बसिरहेकी हुन्थी ।
सरले आफ्नो कुरा मिल्ने दुई-चारजना शिक्षकसँग देवकीको बारेमा कुरा गरे । अरुलाई भन्दा बढी महत्व दिएर पढाउनु भनेर भने । उनलाई प्रत्येक कमजोर विद्यार्थीको मनोबल उच्च बनाउन सकेमा राम्रो पढ्न सक्छन् भन्ने उनको अनुभवले सिकाएको थियो । देवकी मानसिक रुपले कमजोर देखिन्थी । पढाइभन्दा उसको व्यवहार अस्वभाविक लाग्थ्यो ।
किशोर अवस्थामा टेक्दै गरेकी देवकीमा हुनुपर्ने चाञ्चल्य कत्तिपनि देखिँदैन थियो । शिक्षक यही कुराले चिन्तामा थिए ।
अर्को दिनदेखि, देवकी पहिलो पिरियडदेखि नै पहिलो बेन्चमा बस्न पाई । हरेक सरले अरुलाईभन्दा उसलाई महत्व दिएको र माया गरेको महसुस गर्न थालेकी थिई । उसलाई बिस्तारै घरभन्दा विद्यालय प्यारो भइरहेको थियो । सबै विद्यार्थीमा घर जाने हतारो देखिइरहँदा उसले भने घर जान कहिल्यै हतार गरिन । बरु विद्यालय छिटै आइपुग्न थालेकी थिई देवकी । विद्यालयप्रति उसको मोह बढिरहेको थियो ।
आफूलाई माया गर्ने सरहरुले दिएको गृहकार्य पूरा गर्ने, तर अरुको भने नहेर्ने स्वभाव थियो उसको । ऊ सामाजिक शिक्षा, गणित र अंग्रेजीको नियमित गृहकार्य गर्थी । तर अरु विषय भने घर गएर पल्टाउँदै नपल्टाउने उसको स्वभाव थियो । यसबारेमा मनोहरी सरको कानसम्म कुरा पुग्यो । अरु सरको पिटाई खाएर पनि उसले नियमित गृहकार्य बुझाउने गरेकी थिइन । बरु चुपचाप ऊ हात थापिदिन्थी ।
एकदिन मनोहरी सरले देवकीलाई अफिसमा डाके ।
मनोहरीले देवकीलाई सक्दो सम्झाए सबै विषय एउटा विद्यार्थीको लागि किन उत्तिकै महत्वपूर्ण हुन्छ भनेर । र ऊभित्र सक्दो मनोबल भरिदिँदै अब आउँदै गरेको परीक्षामा प्रथम हुने गरी तयारी गर्न भनी सुझाव समेत दिए । शिक्षकले आफूमाथि गरेको यतिबिघ्न विश्वास र स्नेह देखेर आश्चर्य र खुशी एकैसाथ हुँदै देवकी अफिसबाट फर्कनै लाग्दै थिई, मनोहरीले अचानक उसलाई कसैले कहिल्यै नसोधेको प्रश्न सोधिदिए,
‘तँ काली भएपनि किन यति राम्री छस् भन त ? यो कक्षामा तँजस्तो जान्ने कोही छैनन् । तेरोजस्तो दिमाग अरुको छैन । तर तँ किन पढ्दिनस् ? किन घोसेमुन्टो लगाएर बस्छेस् ? केही चिन्ता छ भने भन् । म तेरो साथमा सधैँ छु ।’
देवकी मनोहरी सरको पहिलो वाक्यले नै दङ्ग सँगसँगै छक्क परिसकेकी थिई । उसले पुलुक्क सरको आँखामा हेरी ।
‘भाइलाई माया गर्छन्, मलाई कसैले माया गर्दैन भन्ने लाग्छ ?’ देवकीले सुस्तरी ‘हो’ को संकेतमा टाउको हल्लाई । सरले उसलाई धेरैबेर सम्झाए ।
‘भाइ सानो छ । जहाँ पढेपनि एउटै कुरा पढ्ने हो । झन् सरकारीमा पढेकाहरु नै ठूलाठूला मान्छे भएका छन् । बोर्डिङ्ग पढ्दैमा केही हुन्न । सरकारी जागिर खाएर सचिव भएर देखा त । कति इज्जत गर्छन् । यसको लागि अहिलेदेखि मेहनत गर्नपर्छ । यसपाली प्रथम भएर देखाइदे सबलाई । बुझिस् ? यति राम्री भएर भाइ बोर्डिङ्ग पढ्ने मलाई नपढाउने भनेर चित्त सानो नबना । भाइभन्दा राम्रो पढेर देखा । अचेल छोरीहरुले नै बाउआमा पालेर बस्छन् । किरियापुत्री बस्छन् । किन कमजोर बनाउँछेस् आफूलाई ?’
कसरी जान्दथे मनोहरी सर आफ्नो मनको सबै कुरा ? देवकी चकित थिई । मनोहरी सरका कुराले उसलाई निकै गहिरोसँग छोइदियो ।

Beautiful Girl at Shade by Sandhya Kumari
त्यसदिन पछिदेखि देवकी घरमा जतिबेलै पुस्तक समातेर पढ्न थाल्ने भएकी थिई । फुर्सद पायो कि पढिरहने । स्कुल जानुअघि ऐनामा आफैलाई हेर्दै टोलाउन पनि थालेकी थिई । यता बाबुआमा पढाइमा पनि कमजोर साबित भइरहेकी आफ्नी काली छोरीको जो चिन्तामा थिए र अब एस.एल.सी फेल भएपछि जसै बिहे गराइदिनु पर्ला भन्ने सोच गरेर केटा खोजिरहेका उनीहरु, छोरीले अचानक पढाइमा गर्न थालेको मेहनतले दङ्ग थिए । देवकीको बाबुले छोरी राम्रो पढेमा डाक्टर बनाउने सपना देख्न थालेका थिए, रुप नभएपनि पढाइ हुन्थ्यो, छोरीले दुःख त पाउने थिइन । देवकीले पढाइमा गर्न थालेको मेहनत देखेर उनीहरुमा अझै काम गर्नेमा उर्जा थपिएको थियो ।
एकदिन देवकीको सर्ट लगाउनै नहुने गरी च्यातियो । उसले नयाँ सर्ट पाई । नयाँ सर्टमा आइरन लगाएर अझै नयाँ कसरी बनाइने रहेछ उसले टेलर्समा थाहा पाई । त्यही दिन उसले जिद्धी गरेर आफ्नो फ्रकमा पनि आइरन गर्न लगाई । दुई चुल्ठी बाटेर रातो रिबनको फुर्को दुईतिर लगाएर स्कुल छिरी । अलिकति लाज र अलिकति उत्साहले । मनोहरी सरले उसलाई देखिहाले र भने, ‘कति राम्री देखिएकी होस् ? नयाँ सर्ट लगाएकी ?’ उसले मुन्टो हल्लाई र लाजले भुइँतिर आँखा गाडी । साथीहहरुको भीडमा हतारहतार मिसिई ।
आठ महिनापछि उसलाई पहिलोचोटी त्यति सुन्दर देखेका थिए सरहरुले । नयाँ सर्ट र आइरन गरिएको फ्रक अनि उसको फुत्कनै लागेको मुस्कानले सबैलाई मोहित बनाएको थियो । ऊ आफैलाई पनि बिस्तारै आफू राम्री छु भन्ने लाग्न थालेको थियो । पल्लाघरमा एकजना भाउजू थिइन् । उनको आइरन थियो । उनको फ्रकमा आइरन लगाउन उनैले सिकाइदिइन् । आइरन भनेको कहिल्यै नदेखेकी अब ऊ सधैँ आइरन गरेको कपडा लगाएर हिँड्न थाली । भाउजूले पनि देवकीलाई आफ्नी बहिनीजस्तै माया गर्थीन् ।
देवकी डस्टर पुर्याउन अफिस कोठामा जाँदै थिई । एकजना म्याडमले सरलाई भन्दै गरेको उसले सुनी, ‘त्यो काली, नराम्री । त्यसको व्यवहार पनि उस्तै । अनि पोईले छोडिहाल्छ नि ।’ म्याडम गइसकेपछि उसले सुस्तरी ओठ मात्रै चलाई । आफैले मात्र सुन्ने गरी । सरले थाहा पाइहाले र भने, ‘कालो हुँदैमा सबै कहाँ नराम्रो कहाँ हुन्छन् ? तँ कति राम्री छस् । तँभन्दा राम्रो कक्षामा अरु को छ भन् त ?’ हेडसरले परैबाट कुरा सुनिरहनुभएको थियो । उहाँले सोधिहाल्नुभयो, ‘देवकी ! कालो राम्रो कि गोरो ? तिमीलाई कस्तो राम्रो लाग्छ भन त ।’ ऊ अलमल्लमा परी । के भन्नु, के नभन्नु । उसलाई कालोपनि राम्रो लाग्थ्यो । गोरोपनि । हेडसर गोरो हुनुहुन्थ्यो । मनोहरी सर कालो । बडो असमञ्जसमा परी । उत्तर नजानेर दोधार भई । उसले सहयोगको अपेक्षासहित मनोहरीसरको अनुहारमा हेरी । सरले भन्नुभयो, ‘Black is beauty’ भन्छन् क्यारे” । ऊ मुसुक्क मुस्कुराई ।
ऊ सरहरुसँग धेरै अपनत्व महसुस गर्न थालेकी थिई । विशेषगरीः मनोहरी सरले भनेको कुरामा कहिल्यै नाइँनास्ती गर्न सक्दैनथी । कक्षामा उभिएर बोल्न थरथर काँप्ने उसलाई चौरमा सबै विद्यार्थीको माझमा बोल्न प्रेरित गर्ने उनै थिए । हाजिरीजवाफ, वादविवाददेखि लिएर खेलकुदमा पनि भाग लिन प्रेरित गर्थे । मनोहरी सरलाई आँखा अगाडि देखेपछि ऊ जस्तो असम्भव लाग्ने काम पनि आँट्थी । उसको डर कता गायब हुन्थ्यो कता ।

Black Confident Girl in Sports
‘म सक्दिनँ ।’ उसले यसो भन्दा सर रिसले दाह्रा किट्थे । उसलाई झन् सरले रिसले दाह्रा किटेको मन पर्थ्यो । सरको रिसाएको अनुहार हेर्न पनि उसले सरलाई चिढ्याउँथी ।
‘म सक्दिनँ है सर ।’
सर रिसाउँदै हप्काउँथे, ‘तैँले नसके कसले सक्छ ? तैँले भाग लिनैपर्छ ।’ यसरी हरेक प्रतियोगितामा भाग लिने र कहिलेकाहीँ त पुरस्कारपनि जित्ने गर्थी ऊ ।
उसले हार्दा सर आफूपनि दुखी महसुस गर्थे र उसलाई निकैबेर सम्झाउँथे ।
सरले बुझेका थिए, शब्दमा जादु हुन्छ । उनले बोलेका शब्दले देवकीमा असर देखाउन सुरु गरिसकेको थियो । ऊ सधैँ सफा, आइरन गरेको ड्रेस लगाएर विद्यालय आउन थालेकी थिई । मन लगाएर पढ्थी । नजानेको सोध्थी । उसले कोही साथी बनाउन सकेकी थिइन एक वर्ष बित्न लाग्दा पनि । सरलाई यो कुरामा भने चिन्ता लागिरहन्थ्यो । सातबाट आठमा जाँदा ऊ तेस्रो भई । बिस्तारै उसका साथीहरु भए । देवकीको नेपालीमा थोरै नम्बर आएकोले तेस्रो भएकी थिई । अरुमा राम्रो गरेकी थिई । ऊ हाँस्न थालेकी थिई । मनोहरी सर ऊ खुशीले उफ्रिँदै खेलेको अफिसको माथिल्लो तल्लाबाट हेरिरहेका हुन्थे । अनि लामो सास फेर्थे ।
अब त ऊ आत्मविश्वासले धपक्कै बलेकी थिई । अरुभन्दा बिछट्टै सुन्दर देखिन्थी । क्रिमले बलेको अनुहारले आत्मविश्वासले धपक्कै बलेको अनुहारको आभालाई कसरी जित्न सक्नु ? ऊ झनझन् राम्री हुँदै गएकी थिई । देवकी ऐनामा आफूलाई हेर्थी र मनमनै जपिरहन्थी, “Black is beauty. Beauty lies in the eyes of the beholder.” उसले आफू राम्री छु भन्ने कुरामा विश्वास गरेकी थिई । त्यही शब्दको जादुले कुरुपता मेटिएर उसमा सौन्दर्य भरिएको थियो । ऊ शब्दको जादुले यो सब भइरहेको कुरा बुझ्न सक्दैनथी । मनोहरी सर भने आफूले बोलेको शब्दको प्रभाव उसको अनुहारमा देख्थे र निकैबेर टोलाइबस्थे ।
कुनैबेला सरलाई प्रेमिकाले भनिदिएकी थिई, ‘तँजस्तो माविको शिक्षक अनि तँजस्तो कुरुपसँग कसले बिहे गरोस् ?’ भर्खर पढाउन सुरु गरेका उनलाई प्रेमिकाले भनेको कुरुप शब्दले बिझायो । उनले प्रेमिकाको कुरामा विश्वास गरे । उनी झनझन् कुरुप हुँदै गए । त्यसमाथि डण्डीफोरले ढपक्कै ढाकिएर उनको अनुहार दागैदागले भरियो । शब्दहरुको प्रभाव उनको अनुहारभरि पोतियो । अहिलेपनि उनको अनुहारमा ती शब्दहरुले चिथोरेका दागहरु बाँकी छन् । खोपिल्टै खोपिल्टा । तर उनी त्यसलाई प्रेमले सुम्सुम्याउँछन् ।
उनको त्यही कुरुप अनुहार कसैले मन पराइदियो र उनी विवाहित भए ।
‘तिमीले मजस्तो नराम्रोसँग बिहे गर्न किन मान्यौ ?’
‘नराम्रो मान्छेको मन संसारकै सबैभन्दा सुन्दर हुन्छ । त्यही भएर ।’
उनी विगत सम्झिएर मुस्कुराए ।
देवकी बच्चाहरुको भीडमा मिसिई । हेर्दै लोभलाग्दा बच्चाहरु । सफा, गोरा, चिल्ला । छुँदा दागै लाग्लान् जस्ता बच्चाहरु । तिनै बच्चाहरुको भीडमा एउटी फोहोरी, काली, सिँगाने बच्ची एक्लै आफैँमा रमाइरहेकी । देवकीले उसलाई आफ्नो काखमा लिई र म्वाइँ खाई । अनि भनी, ‘तँ कति राम्री छेस् । तँभन्दा राम्रो यहाँ को छ भन् त ?’ बच्ची देवकीको काखबाट ओर्ली अनि उत्साहले खेल्न लागी ।

Happy Little Black Girl With Friends
‘शब्दमा जादु हुन्छ । नपत्याए मलाई हेर्नुस् त ।’ सरलाई कसैले कानमा भनेजस्तो लाग्यो । उनी झसङ्ग झस्किए । चारैतिर हेरे । तल चौरमा देवकी बच्चासँग रमाइरहेकी थिई । देवकी त्यहाँबाट हिँड्न लागेको त्यो बच्चीले चाल पाई । उसले खेलेको देवकीले हेरिराखोस् भन्ने चाहन्थी । देवकीको एटेन्सन आफूतिर तान्नको लागि उसले देवकीलाई पिपलको पात दिदैँ अल्झाइरहेकी थिई ।
‘शब्दमा जादु हुन्छ ।’
आफूले बोलेका शब्दको जादु हेरेर देवकी कक्षाकोठामा फर्किई ।