– “भाइ एक्लै बस्छु भन्दै थियौ त कोठामा कसलाई लिएर आयौ ? दुईजना बसेपछि भाडामा पनि हेरफेर गर्नुपर्छ है ?”
– “किन हल्ला गरेको भाइ?सानो आवाजमा सुन्न सक्दैनौ गीत? जतिबेला पनि गिटार बजाएर हल्ला गर्नुपर्छ तिमीलाई ?”
– “भाइ पानी सकिएछ त हिजै मैले ५००० हजार लिटरको ट्याङ्की भरेको थिएँ । रातभर धारा खुल्लै छोड्यौ कि के हो?”
-” कहाँ गएका थियौ भाइ यति अबेरसम्म ? सात बजे नै गेट बन्द हुन्छ् भन्ने तिमीलाई थाहा छैन ?”
– “के पकाएको भाइ खार आएर हामीलाई नै गाह्रो भयो?”
– “माछा, मासु र रक्सी कोठामा खान मिल्दैन, तिमीलाई पहिले नै भनेको हैन यो कुरा ? हामी शुद्ध ब्राह्रामण हौँ भनेर !”
– “भाइ भाडा समयमा दिनु पर्दैन आज ४ गइसक्यो त !”
-“बत्तीको बिल खै ?”
– “पानीको बिल खै?”
-“फोहोरको पनि पैसा दिनुपर्छ है?”
तपाईं पनि मजस्तै काठमाण्डौँको डेरावाल हो भने यी र यस्ता कुरा सुन्ने बानी भइसकेको होला । यदि नभएको भए बिस्तारै बानी हुनेछ । केही अपवादमा भेटिने घरबेटीहरूको लागि भने यो गन्थन हैन ।
घर फेरे पनि यहाँका घरबेटीका व्यवहार नफेरिने रहेछन् । बिरालोले बच्चा सार्दै हिँडे जसरी सर्न पनि नसकिने रहेछ । काठमाण्डौँमा घर भएका मान्छेले काठमाण्डौँमा घर नभएका मान्छेलाई मान्छे नै नभन्दा रहेछन् । मान्छेको जस्तो व्यवहार नै नगर्दा रहेछन् ।
तपाईं हामी यस्तै व्यवहार झेल्दै बाचेका छौँ नि है? साधारण दैनिकी हुँदा नै यस्ता तिखा प्रश्न सधैँजसो गर्ने घरधनीले यो ६ महिनाको अवधिमा केके प्रश्न गरे होलान्? कति प्रश्न गरे होलान्? के के बित्यो होला मजदूरी गरेर पेट पाल्ने डेरामा बस्ने परिवारको जीवनमा ।
°°°°°°°
२०७७ चैत्र ११ बुधबार
सरकारले औपचारिक रूपमा लकडाउनको घोषणा गर्दै थियो । भोलिदेखि लकडाउन हुने भएकाले केही जोहो आजै गर्नु थियो मैले । खल्तीमा हेरेँ चार सय पचास रूपैयाँ रहेछ जम्मा । पाँच केजी चामल, दुई केजी आलु, एक लिटर तेल किनेँ, केही अपुग पैसा उधारो खातामा लेख्न लगाएँ । सधैँ कारोबार गर्ने भएकाले कहिलेकाहीँ उधारो पनि दिने गर्छन् पसलेले ।
बाटोमा मान्छेहरूको चाप थियो । मोटरहरू हतारमा हुइँकिएका थिए । चैत्रमासको दिउँसोको प्रचण्ड गर्मी बिस्तारै सेलाउँदै गएको थियो । घाम डुबेर झिसमिसे हुँदै थियो । मान्छेहरूको मनमा त्रास थियो । सिङ्गो विश्व नै महामारीको भयले आक्रान्त थियो ।
रिङरोड पार गरेपछि करिब दुईसय मिटरको दूरीभित्र मेरो डेरा छ । डेरा मात्र हैन मेरो संसार । जहाँ मेरी ५ वर्षिया छोरी र श्रीमती पनि छन् ।
पहाडमा हलगोरूले बिहानभरि जोतिसक्ने घरसँगै जोडिएको घरबारी छ सम्पत्तिको नाममा । तीन महिना खान पनि पुग्दैन जसले । त्यसैले छोरीको पढाइको लागि भनेर भएपनि हामी आजभन्दा ६ वर्ष अगाडि काठमाण्डौँ पसेका थियौँ ।
कोठामा सामान केही ठिक ठाउँमा छैनन् । किताब कापी छरिएका छन् छोरीका । भाँडाकुँडी पनि यत्रतत्र छन् । छोरी यसैमा भुलिरहेकी छन् । “जति सामान मिलाएर राखे पनि छोरीले तितरबितर बनाउँछे । “ भन्दै श्रीमतीले गुनासो गर्छिन् बेलाबखत । “छोड्देऊ खेल्ने ठाउँ नै गाउँको जस्तो आँगन कहाँ छ र यहाँ? आँगन भने पनि घर भनेपनि जे भनेपनि यही एउटा कोठा त हो हाम्रो, खेल्न देऊ । ” भनेर भन्ने गर्छु उनीलाई मैले ।
कोठा भान्सा बनेको छ । छोरी खेल्ने आँगन बनेको छ । आरामा गर्ने सुत्ने बस्ने स्थान पनि बनेको छ । एकछेउमा पानीको जार छ । अर्को छेउमा झोलामा खाँदिएका छन् कपडाहरू सँगै चामलको बोरा पनि छ । ढोकाको भित्रपट्टि काँटि ठोकिएका छन् जहाँ केही कपडाहरू झुण्डिरहेका छन् । झ्यालपट्टि खाना पकाउने ठाउँ छ । जहाँ खाना पकाउँदै छिन् उनी । छोरी भुइँमा सामानहरू असरल्ल पारेर खैल्दैछिन् । कुनामा २१ इन्चको पुरानो टिभी रहेको छ । जो उनको दिन कटाउने साथी बनेको छ । छोरीको लागि खुशी पनि यहि नै हो । सधैँ जसो कामबाट फर्किएपछि म पनि हेर्ने गर्छु । आज कामबाट फर्किनासाथ मैले टिभी अन गरेँ सामाचार हेर्नु/सुन्नु थियो मलाई । भोलिबाट लकडाउन हुँदै थियो ।
-“चिनबाट फैलिएको कोरोना भाइरसले विश्वभरि नै माहामारीको रूप लियो । “
-“सरकारले लकडाउन हुने भनेपछि काठमाण्डौँ छोड्नेहरू संख्या बढ्यो । “
-“भारतबाट घर फर्किने मजदूरको संख्या पनि बढ्दो । “
-“आज मात्रै विश्वमा कोरोना भाइरसको कारणले चार हजार मान्छेको मृत्यु भएको छ । “
टेलिभिजनमा एक सुन्दर युवतीले यति भन्दै गर्दा बिचमा “साबुन पानीले हात धोओँ, माक्स लगाऔँ ,अनावश्यक रूपमा हिँडडुल नगरौँ, घरभित्रै बसौँ, सुरक्षित रहौँ । “ भनेर जनहितको लागि जारी सन्देश पनि आयो ।
आकाश खुल्ला छ । चराहरू निष्फ्रिक्री उडेका छ्न् । बागमतीको फोहोर ढल पनि रोकिएको छैन, आफ्नै गतिमा बगेको छ । सबै सबै सधैँजस्तो छ तर गाडीमोटरको आवाज शून्य छ । जहाजहरू उडेका छैनन् शहर शान्त छ । मान्छेहरूको भिडभाड कतै देखिँदैन । बेलाबखतमा साइरन बजाउँदै एम्बुलेन्स हुइँकिएको आवाज भने आइरहेको छ । ज्यान बचाउन अब कोठाभित्रै बस्नुपर्ने अवस्था आएको छ । मलाई २०६२/६३ को जनआन्दोलनमा लागेको कर्फ्यूको सम्झना आयो ।
एक दिन दुई दिन, हप्ता दिन हुँदै महिना दिन पुग्यो लक डाउन । अझै पनि रोकिने कुनै छाँटकाट छैन् । कोरोना नियन्त्रण हुनु पर्नेमा झन बढ्दो छ । मृत्यु हुनेको संख्या पनि बढ्दो छ । काम नगरेको पनि महिनौं भइसक्यो । केही बचत गरेको पनि सकियो । हामीलाई रोगलेभन्दा भोकले मर्ने डर भएको छ । यस्तो बेला सरसापाट पनि कोसँग माग्नु ? यो बिरानो शहरमा दिने पनि को छ र हाम्रो ? गाउँमा पो सात गाउँ पारिका मान्छेले पनि चिन्छन् यहाँ शहरमा घर जोडिएका मान्छेले चिन्दैनन् । एउटै घरमा ओल्लो पल्लो कोठामा बस्ने मान्छेले समेत चिन्दैनन् । गाउँ र शहरमा यहि त फरक छ ।
दिनभर काम गरेर साँझ छाक टार्नुपर्ने परिवार हाम्रो । यतिबेला संकटमा परेको छ । देशमा कुनैपनि माहामारी आयो भने सबैभन्दा पहिले हामी निम्न वर्गलाई नै असर पर्दोरहेछ । भोकले संकटको अवस्था छ भनेर नजान्ने रहेछ । दैनिक काम गर्न मात्र बन्द भएको हो । काम गर्ने दैनिकी रोकिए पनि खाने दैनिकी भने आफ्नै गतिमा अगाडि बढेको थियो ।
उनले चामलको बोरा टकटक्याउँदै चामल सकिएको कुरा सुनाएकी छन् आज । तरकारी पनि सकियो । दाल थोरै छ । ग्यास पनि भर्नु पर्लाजस्तो छ एक दुई दिनमा । परिवारको सबै जिम्मेवारी बोकेको मान्छे भएर होला यतिबेला यी सबै कुरा सुनेर पसिना आएको छ मेरो ।
“यत्रो महिना बितिसक्यो भाडा छ भने दिँदै गर्नु है पछि एकैपटकमा दिन गाह्रो हुन्छ ।”
घरबेटीले हिजै भनेका थिए । मैले उनको कुरा सुनेर पनि नसुनेझैं गर्नु परेको थियो । समाचारले बेलाबेला भाडा छुटको कुरा गर्थ्यो । हुन्छ कि झैं लाग्थ्यो तर त्यो समाचार मात्र भयो । छुटभन्दा पनि बिस्तारै दिनु चाहिँ भने घरबेटीले । मनमा त्रास पनि छ भाडा तिर्न नसक्दा कतिले यस्तो अवस्थामा कोठा नै छोड्नु परेका कुरा हामीले सुन्दै आएका छौँ । कति कुटिएका छन् । कतै त मारीएको कुरा समेत आउन थालेका थिए ।
यी उदाहरणको अगाडि म निरीहले के नै गर्न सक्छु र ? तिर्नुपर्ने हो थाहा छ, आउने स्रोत नभएपछि कसरी तिर्न सकिन्छ र ?
सबै सकिएपछि कोठामा के गरौँ र कसो गरौँ भएको समयमा सरकारले राहत दियो राहतको नाममा जम्मा एक बोरा चामल, एक के जी दाल र एक लिटर तेल थियो । यति भएपनि केही दिनको सास्ती हट्नेमा म विश्वस्त छु ।
दिन बित्दै गए पहिले कोठामा बस्न गाह्रो हुने मलाई अहिले बानी भइसक्यो । घरबेटी बेलाबखत हल्ला नगर्न भन्दै कोठासम्म आइपुग्छन् । पहिले छोरी स्कूल जान्थिन् र हल्ला हुँदैन थियो । सानी छोरी यतिकै पनि हल्ला गर्ने गर्छिन् । बेलाबेला रूने खेल्ने त बालापन नै हो सबैको यो कुरा घरबेटीले बुझिदिए जाती हुने थियो । बुझेर पनि नबुझ्ने मान्छेलाई बुझाउन नसकिने रहेछ ।
शहर शान्त छ तर मन भने बेचैन भएको छ । अभावले भतभती पोलेको छ । मजदूरी गरेर चार पाँच वर्षसम्म खान लगाउन बाहेक केही जोड्न सकेको छैन् । भन्नेहरूले भन्छन् काठमाण्डौँमा बसेको छ, आनन्द छ । तर आफ्नो दु:ख कसलाई थाहा ? मान्छेहरूले सुख खुशी सजिलै थाहा पाउन सक्छन् तर दु:खलाई पहिचान गर्न सकस पर्छ मान्छेलाई । मान्छेको जन्मसँगै अभावको सुरुवात भइदिन्छ कसैलाई धेरै अभाव कसैलाई थोरै अभाव, फरक यतिमात्र हो । दिनभर कमाएर साँझ खानुपर्ने अवस्थामा बाँचेको मान्छेले जसोतसो छोरीलाई बोर्डिङ स्कूलमा पढाएको छु । सपनाहरू ठूला छैनन् हाम्रा, दुई छाक खाना र एकसरो लगाउन पुगे भइहाल्छ ।
लकडाउनले छोरीको टिभी हेर्ने बानी भइसक्यो । एकछिन बत्ती गएहाले उनलाई गाह्रो हुन्छ् । नहेर भन्नलाई पनि अरू कुनै विकल्प पनि छैन । बाहिर घुम्ने अवस्था पनि छैन । सरकारले दिएको एक बोरा चामल, एक लिटर तेल, एक के.जी दाल साँझ बिहान खाँदा एक महिनामै सकियो । सरकारले ५ महिना लकडाउन गरेर एक महिना पनि नपुग्ने खाद्यान्न उपलब्ध गरायो । मान्छेहरू भोकले सडकमा ओर्लिसकेका छन् । सबैभन्दा ठूलो रोगभन्दा पनि भोक रहेछ भन्ने मान्छेहरूले बुझिसेकेका छन् अब । तैपनि मनमा भने त्रास नै थियो । चरा जसरी मान्छेहरू निस्फिक्री उडेर आहार खोज्न सक्ने भइदिएको भए मान्छे आज अभावले मर्ने थिएनन् । भोकले सडकमै देह त्याग गर्ने थिएनन । आजभोलि मजदूरहरू भोकले सडकमै मर्नु परेका समाचार हेडलाइन भएका छन् । गरीबको जीवन भोकको र रोगको शिकार हुने डरबाट ग्रुजिरहेको छ ।
हामीले भोकलाई त खप्न सक्ने थियौँ तर अबोध छोरीलाई भोकै राख्न सकिँदैन थियो । छोरीलाई पाउरोटी र चिया खुवाएर हामीले चिया मात्र पिएर पनि रात कटाउन बाध्य भएका छौँ । यो विवशता थियो । कुनै उपाय थिएन । घरबेटीले पनि भाडाको ताकेता गर्न थालिसकेका थिए तर आफूसँग एक पैसा थिएन । कामकाज सबै बन्द । यस्तो परिस्थीतीमा के गर्न सकिन्छ साह्रै सकस परेको थियो ।
अन्नको एक गेडो छैन । नुन तेल सबै सकिएपछि अब के खाने भन्ने प्रश्नचिह्न हाम्रो अगाडि उभिएको थियो । माँग्न जाऊँ भने कहाँ जाऊँ ? कसले दिन्छ ? किनौभने पैसा छैन । उधारो दिन कसले पत्याउँछ हामीलाई ? विभिन्न संघ संस्थानले खाना खुवाउने कार्य सुरू गरेका थिए । काठमाण्डौँको खुल्ला मञ्चदेखि विभिन्न ठाउँमा खाना खुवाएका कुरा मैले पनि सुनेको थिएँ । घरमा खानलाई केही नभएपछि जानैपर्ने बाध्यता सिर्जना भयो । भोकले लाज नभन्दो रहेछ । लाजभन्दा भोक ठूलो रहेछ । म भोक भोकै बसे पनि श्रीमतीलाई र छोरीलाई भोकभोकै राख्नु भनेको मैले आफ्नो जिम्मेवारी पूरा गर्न नसक्नु हो लाग्यो मलाई । अनि म खाना बाँडेको ठाउँमा गएँ । सबैले संसार भुलेर, दु:ख भुलेर खाना खाइरहेका थिए । एकपटक सबैका अनुहारमा नजर लगाएर म पनि खाना खाने लाइनमा बसेँ । मैले त्यहाँ खाना खान सकिनँ बरू प्लास्टिकमा पोको पारेँ । केही छोरीको लागि र श्रीमतीको लागि पनि बोकेर कोठामा हिँडे ।
बाटोमा प्रहरीको चेकिङ थियो । कहाँ हिँडेको ?किन हिँडेको लकडाउनको बेला ?उनीहरूको प्रश्न थियो । मैले अभाव र भोकको कुरासँगै हातमा बोकेको प्लास्टिक भित्रको खाना देखाएपछि उनीहरू केही बोलेनन् र म बाटो लागेँ । कोठामा त्यो दिन त्यहि खाना खाएर बितायौँ ।
मान्छेहरू झन धेरै संक्रमित हुँदै थिए । दिनप्रतिदिन मृत्यु हुनेको संख्या पनि बढ्दो थियो तर मान्छेले अब बेवास्ता गर्न थालिसकेका थिए किनभने भोकको अगाडि रोगको पनि केही सिप नचल्ने रहेछ । मर्नै परे रोगले नै मरौँ । भोकले मर्न चाहँदैन कुनै मान्छे । खाना बाँड्ने ठाउँबाट ल्याएको खानाले बिहानको छाक टरेको थियो बेलुका के खाने भन्ने पिरले पिरोलिरहेको थियो । त्यसैमा म प्रेसरको पनि बिरामी मान्छे गाह्रो भएको थियो । यतिकैमा म कोठाबाट निस्किएँ । बाटो सुनसान थियो । मैले केही दिन अघि सुनेको थिएँ कतै “कोही रूनु पर्दैन्”, “कोही भोकै बस्नु पर्दैन ” “कोही मर्नु पर्दैन “ भनेर । यतिबेला यी वाक्य कानमा गुञ्जिरहेका छन् । म सरासर बाटोमा हिँडिरहेको थिएँ । हिजो बिहान खाएको खान त्यसैमा प्रेसर भएर होला मलाई रिंगटा चल्यो । आँखा तिरमिर भए । खुट्टा लल्याकलुलुक भए । ओठमुख सुके । म भुइँमा पछारिएँ । फेरि उठेँ तर फेरि पनि पछारिएँ । त्यसपछि म कसरी यहाँ आए ?कसले ल्यायो ? मलाई थाहा छैन ।
उनले आफ्नो कुरा सकि नसक्दा गहभरि आँसु बनाएका छन् । उनलाई मैले बाटोमा अचेत अवस्थामा फेला पारेको थिएँ । त्यसपछि हस्पिटल लिएर आएँ । उनलाई अहिले पनि आफ्नोभन्दा छोरी र श्रीमतीको चिन्ता छ ।
यहाँ भुइँमान्छेहरू भुइँमा नै हराउने रहेछ ।